किशन पौडेल

१.  
———-

रमाउनका लागि सबैको एउटा घर होस्
भित्र सबैसँग एउटा विश्वास र भर होस्
चार जात छत्तीस वर्ण फूल थरीथरीका
आत्मीयता गाँस्ने सबैको एउटा थर होस् ।

 

२.  
————

बढ्दै गएको छ यो दिलभित्र दुरी आज
कसैले चलाएछ यो मुटुभित्र छुरी आज
शान्त तलाउमा आज देखिँदै छ हलचल
अचानक चलेछ आज मनभित्र हुरी आज ।

 

३. 
———–

आउँछन् अनि जान्छन् सफरमा
आत्मीय मनहरु बस्छन् नजरमा
बग्दै जाने नदीजस्तै हो जिन्दगी
देवताहरु पनि भेटिन्छन् बगरमा ।

 

४.
————–

घडी हेर्दाहेर्दै त्यो दिन आउँछ
रात पछि फेरि बिहान आउँछ
आज छन् भोलि सँगै हुँदैनन्
छोडेर जानुपर्ने त्यो छिन आउँछ ।

५.
————

कोही कसैको प्रभावले बाँच्छन्
कोही कसैको दबाबले बाँच्छन्
हुनेखानेलाई त सधैं छ रवाफ
हुँदाखानेहरु अभावले बाँच्छन् ।

हेटौंडा -४