काठमाडौँ । लघुकथा समाज नेपालले यस वर्षका लागि दुई प्रतिष्ठित पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। समाजको कार्यसमिति बैठकले ‘सावित्री केशर कथा पुरस्कार–२०८१’ अग्रज कथाकार ध्रुव सापकोटालाई र ‘बाटुली–खिलध्वज लघुकथा पुरस्कार–२०८१’ लघुकथाकार किशन पौडेललाई प्रदान गर्ने निर्णय गरेको हो। प्रत्येक पुरस्कारमा २१,००० रुपैयाँ नगद राशि समावेश गरिएको छ।

लामो समयदेखि नेपाली साहित्यमा सक्रिय सापकोटाको एक दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन्, जसमा उपन्यास र कथासङ्ग्रहहरू समावेश छन्। उहाँको कथा लेखन दक्षता र योगदानलाई सावित्री केशर कथा पुरस्कारले सम्मानित गरिएको हो।

यसैगरी, लघुकथा चौतारी मकवानपुरका संयोजक समेत रहेका पौडेल लघुकथा लेखनमा उल्लेखनीय योगदानका लागि बाटुली–खिलध्वज लघुकथा पुरस्कारबाट सम्मानित हुँनुहुँदैछ । पौडेलका ‘खुसी’ र हिन्दीमा अनुवादित ‘अन्तर्दृष्टि’ नामक लघुकथा सङ्ग्रह लोकप्रिय छन्। लघुकथा मात्र नभई गजल, मुक्तक र कविता विधामा पनि कलम चलाउँदै आउनुभएको पौडेलको ‘कहर’ नामक गजल सङ्ग्रह पनि प्रकाशित छ।

स्रष्टा छनोटका लागि समाजले समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिको सिफारिसका आधारमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको समाजका अध्यक्ष गोपाल अस्कले जानकारी दिनुभयो। यी दुई प्रतिष्ठित पुरस्कारले नेपाली साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मान गर्ने लघुकथा समाजको प्रयासको प्रशंसा भएको छ।