दाँतको डाक्टर

ग्राबियल गार्सिया मार्खेज

सोमबार बिहान वर्षारहित गर्मीसहित उदायो । बिहान उठ्ने बानी भएका डिग्री नलिएका दाँतका डाक्टर आवरिलियो एसकोवार‌ले ६ बजे आफ्नो क्लिनिकको ढोका खोले । प्लाष्टरको साँचोमा जडिएका केही नक्कली दाँत उनले सिसाको दराजबाट निकाले र केही औजारहरू आकार अनुसार टेबुलमा फिँजाए मानौं तिनको प्रदर्शन गर्न लागिएको हो। एसकोवारले बे रङ्गको कमिज लगाएको थियो जसको कलर सुनको अङ्कुसेले बन्द थियो र पतलुन चाहिँ इजारको भरमा अडेको थियो । शारीरिक हिसाबले उ सुकेको मानिस थियो ।
औजारहरूलाई टेबुलमा सजाइ सके पछि, दाँत सफा गर्ने मेसिन आफूतिर तानेर उ कुर्सीमा बस्यो र नक्कली दाँत चम्काउने काममा मग्न भयो।
आठ बजे उ केही वेरका लागि रोकियो। झ्यालबाट बाहिर निरीक्षण गर्ने हिसाबले आकाशतिर हे-यो । छिमेकीको घरको छानामा गिद्धहरूले आफ्नो पखेटा फैलाएर सुकाइ रहेको देख्यो । उसले अनुमान लगायो – दिउँसोको खाना खाने वेला भन्दा अघि नै पानी पर्न सम्भावना छ। फेरि उ आफ्नो काममा मग्न भयो। सहसा उसको एघार वर्ष छोरोले चिच्च्याउँदै गरेको आवाजले उसको तल्लीनता भङ्ग‌‌ग गरि दियो ।
“बाबा!”
“हजुर !”
“बाहिर मेयर साहेब आउनु भएको छ, उहाँ सोध्नुहुन्छ तपाइले वहाँको दाँत निकालि दिनु हुन्थ्यो कि?”
“उसलाई भनि देउ म घरमा छैन !”
उ एउटा सुनको दाँत चम्काइ रहेथ्यो । त्यस दाँतलाई अलिक पर राखेर अनि आधा आँखा बन्द गरेर उसले गौड गरेर हे-यो । उसको छोरोले फेरि बोलायो – “बाबा ! उहाँ भन्नुहुन्छ तपाई घरमै हुनुहुन्छ । किनभने वहाँले तपाइको आवाज सुनि सक्नु भयो ।”
एसकोवार दाँत चम्काउने व्यस्त रह्यो । केही वेर पछि उसले अन्य पालिस गरेका दाँतसँगै टेबुलमा राखिसकेपछि बल्ल छोरालाई उत्तर दियो – “यो त झन् राम्रो पो भयो !”
उसले फेरि मेसिनको पाइडल हल्लाउन सुरु ग-यो । एउटा डिब्बा जसमा सबै अधूरो सामानहरू हुन्थे, त्यहाँबाट दाँतको एउटा भाग निकाल्यो र त्यसको सुन चम्काउन थाल्यो ।
“बाबा!”
“हजुर!” उसको अनुहारको प्रभावमा कुनै पनि किसिमको परिवर्तन प्रकट भएन ।
“मेयर साहेब भन्नु हुन्छ, यदि तपाई वहाँको दाँत निकालि दिनु हुन्न भने, वहाँले तपाइलाई गोली हानि दिने रे !”
कुनै पनि प्रकारको उत्सुकता विना एसकोवारले निश्चिन्ततापूर्वक मेसिनको पाइडल हल्लाउन छाड्‌यो र त्यसलाई पर धकेल्यो । फेरि उसले टेबुलको घर्रा पुरै निकाल्यो । त्यहाँ एउटा पिस्तोल थियो ।
“ठिक छ !” उसले छोरालाई भन्यो, “उसलाई भन्दे’ सक्छ भने मलाई आएर गोली हानोस !
कुर्सी घचेटेर उ ढोकाको सामुन्नेतिर फर्कियो। तर आफ्नो हात चाहिँ टेबुलको घर्रामा नै राख्यो । मेयर ढोकाको सामुन्ने प्रकट भयो। उसको अनुहारको बायाँपट्टि दाही काटिएको थियो, तर चाउरिएको र दुःख दिइरहेको दायाँ गालामा पाँच दिनको दाह्री यथावत् थियो । एसकोवारले मेयरको संज्ञाहीन निराशा र विवशताहरूले ढाकिएका अनेक रातहरूले चिहाई रहेको देख्यो। उसले एउटा औँलाले टेबुलको घर्रा बन्द ग-यो र नम्रतापूर्वक भन्यो- “बस्नुस्!”
“शुभ प्रभात !” मेयरले भन्यो ।
“हो !” उसले यति भन्यो।
दाँत फुकाल्ने औजारहरू पानीमा उम्लिरहेका थिए । मेयरले आफ्नो टाउको कुर्सीको टेकोमा अड्कायो । अलिकति उसलाई आरामको अनुभव भयो । उसको सास चिसो थियो । उसले डाक्टरको क्लिनिकको निरीक्षण ग-यो । साह्रै दरिद्र मय व्यवस्था थियो । एउटा काठको पुरानो कुर्सी, पाइडलदार मेसिन र एउटा सिसाको दराज जसमा बोतलहरू राखिएका थिए । कुर्सीको सामुन्ने झ्यालमा कम्मर सम्मको उँचाइको पर्दा झुन्डिएको थियो । डाक्टर आफूतिर आइरहेको देखेर मेयरले खुट्टि दह्रोसँग टेक्यो र मुख खोल्यो ।
एसकोवा‌‌ले उसको अनुहार उज्यालोतिर फर्कायो र उसको प्रभावित दाँत हे-यो । तब उसले मुख बन्द गर्दै भन्यो- “तिमीलाई बेहोस नगरीकन यो दाँत निकाल्नुपर्छ ।”
“किन ?”
“किनभने दाँतको मुनि गिजाभरि पीप जमेको छ।”
मेयरले डाक्टरको आँखामा हे-यो ।
“ठीक छ ।” उसले भन्यो र मुस्कुराउने प्रयत्न गन्यो। तर एसकोवारले उसको मुस्कानको उत्तर दिएन । औजारहरूले भरिएको तातो तसला उसले टेबुलमा राख्यो र एउटा चिसो चिम्टाले विस्तार विस्तार बाहिर निकाल्यो । जुत्ताको चुच्चोले पिकदानीलाई हल्लाएर ठिक ठाउँमा राख्यो र हात धुन धाराको सामुन्ने उभियो । यी सब गरिन्जेल उसले मेयरको अनुहारमा एकपल्ट पनि हेरेन जब कि मेयरले भने एक क्षण पनि डाक्टरबाट आफ्नो दृष्टि ओझेल पारेन ।
दुखेको दाँत तल्लो पट्टीको थियो। एसकोवारले -आफ्नो टाँग फैलायो र सनासोले दाँतलाई बेसरी च्याप्यो । मेयरले न्वारानको बल निकालेर कुर्सीको काठमा दुबै हातले समात्यो र खुट्टि बटारेर बस्यो । डाक्टर आफ्नो कमिजको कलर हल्लाइ रहेको थियो । कुनै द्वेष विना कटुता पूर्ण विनम्रता सहित उसले मेयरलाई भन्यो- “हाम्रा बीस नागरिकको हत्याको पीडा तिमीलाई यही यौटा दाँतले दिनेछ ।”
मेयरले आफ्नो चिउँडोको हाड कडकाएको अनुभव ग-यो। उसका आँखाबाट आँसु बग्न थाल्यो तर जबसम्म दाँत मुखबाट निस्केन, उसले साससम्म पनि फेरेन आँसुको धमिलोमा उसले आफ्नो दाँत देख्यो, उसलाई यो दाँत आफ्नो सम्पूर्ण पीडाको अगाडि यति तुच्छ लाग्यो कि उसले पछिल्ला पाँच रातका यातनाको अनुमान समेत लगाउन सकेन ।
पसिनाले छताछुल्ल मेयर, थरथर काँप्दै पिकदानमाथि घोप्टि रहयो । उसले आफ्नो कोटको टाँक खोल्यो र पाइजामाको खल्तीबाट रुमाल झिक्ने प्रयास ग-यो । एसकोवारले उसलाई सफा कपडा दियो।
“आँसु पुछ!” उसले भन्यो।
मेयरले आँसु पुछ्यो । उ अझै पनि काम्दै थियो। एसकोवारले हात धुन सुरु ग-यो । मेयरले क्लिनिक‌को जर्जर छत देख्यो जहाँ माटोले भरिएका जालोहरू थिए र तिनमा माकुराका फुल र मृत कीरो फट्याङ्ग्रोहरू तार्लाङ तुर्लुङ झुन्डिएका थिए।
डाक्टरले हात सुकाउँदै भन्यो ” घर जाऊ र नुन पानीले कुल्ला गर ।”…
मेयर उठ्यो । उसले लगभग सैनिकले झैँ डाक्टरलाई सलाम ग-यो र ढोकातिर बढ्यो । हिँड्दा हिँड्दै उसले खुट्टा झट्कारेर सिधा ग-यो र कोटको टाँक बन्द ग-यो ।
“विल पठाई दिनू !” मेयरले हिँड्दा हिँड्दै भन्यो ।
“कसको नाउँमा ? तिम्रो कि नगर पालिकाको ?”
मेयरले डाक्टरलाई नहेरीकन क्लिनिकको ढोका बन्द ग-यो । जालीको ढोका बाहिरबाट उसको आवाज आयो “केही फरक पर्दैन । कुरा एउटै हो ।”
०००