अचानक मेरो सपनामा
नकुल सिलवाल देखा परे
उस्तै तेजिलो अनुहार
धपक्क बलेको
अँगालोभरि सपना र योजना

सपनै त थियो उनीसँग
योजनै त थियो उनीसँग
काँधमा झोला
झोलाभरि किताबको खातमा
सपनाको चाङ लिएर
पिठ्यूँभरि योजनासहित
दौडिरहन्थे काठमाडौं भरि
सडक, गल्ली, चिया पसल
बार, रेष्टुँरा, भट्टीपसल

उनले सिर्जनात्मक सपना देख्ने
यौटा गल्ती गरे
सपना सजाउन चाहेर
अर्को गल्ती गरे
आफ्नो ज्ञानलाई
प्रयोग गर्ने मञ्चको चाह राखे
फेरि अर्को गल्ती गरे
यिनै गल्तीहरू
उनको घाँटीमा बेरियो

काठमाडौंका सडकहरुमा
गल्लीहरूमा
साझा प्रकाशनको ढोकामा
प्रज्ञा प्रतिष्ठानको पटाङ्गिनीमा
किताब पसलमा
कवि गोष्ठीमा
आँखामा सपना टाँसेर
असन्तुष्टिको हलाहल पिएर
अनेकौं नकुल सिलवालहरू
मरी मरी बाँचिरहेछन्

किन आए मेरो सपनामा
नकुल सिलवाल ?
किन उनको अनुहारमा
जाज्वलयमान तेज थियो ?

शायद सुखद सपना देख्नेहरू
उज्यालो सपना देख्नेहरू
चाहे विपनामा होस्
चाहे सपनामा
तेजिला देखिन्छन् ।

३० जनवरी २०२४, भर्जिनिया, अमेरिका ।