गोबिन्द-गिरीको-साहित्य-निर्माता

                                                                      गोबिन्द गिरीको साहित्य निर्माता

कवि मविवि शाह राजा श्री ५ महेन्द्र वीर विक्रम शाह देवको साहित्यिक नाम थियो । उनका रचनाहरु मूलत गीति कविताहरु थिए र अधिकाँश गाइएका थिए । उनको जीवनकालपछि र विशेष पञ्चायती व्यबस्थाको अन्तपछि उनको नाम कविको रुपमा लिन छाडेको देखिए पनि नेपाली वाङ्मयमा उनको नाम विर्सनु, ईतिहासको यौटा महत्वपूर्ण पातोलाई विस्मृतिको गर्तमा धकेल्नु हो, जुन कुनै पनि कोण वा दृष्टिकोणबाट उपयुक्त होइन ।

मविवि शाहको कवि हृदय भावुक थियो, प्रेमिल थियो र राष्ट्रप्रेमी थियो । यो तीनै तत्वको एकिकृत व्यक्तित्व नै कवि मविवी शाहको सग्लो ब्यक्तित्व थियो ।

मविवी शाहको दूरदर्शिताको नमूना थियो, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान । यो प्रतिष्ठानको स्थापना र प्रतिष्ठानको वार्षिकोत्सवमा हरेक वर्ष हुने कविता महोत्सव उनकै प्रेरणाको मूर्त रुप थियो । स्थापना कालमा आफैंले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपतित्व ग्रहण गरे पनि समयको क्रममा उनले आफू संरक्षक वसेर कवि केदारमान ब्यथितलाई पहिलोपल्ट जनताको छोरालाई कुलपतित्व हस्तान्तरण गरेका थिए ।

कविता महोत्सवमा पुरस्कृत कविताहरु श्रवण गर्नु, पुरस्कृत कविहरुलाई यथोचित सहयोग पुर्याउनु उनको अर्को विशेषता थियो । यसै क्रममा कविता महोत्सवमा पुरस्कार ग्रहण गर्न खर्साङबाट नेपाल आएकी कवयित्री बानीरा गिरिले आफूले नेपालीमा उच्च शिक्षा ग्रहण गर्न चाहेको र भारतमा त्यो उपलब्ध नभएको बताएपछि उनलाई महेन्द्र छात्रबृत्तिमा नेपाली भाषा साहित्यमा उच्च अध्ययनका लागि नेपालआमन्त्रण गरिएको थियो। त्यसपछि आजपर्यन्त नेपाली भाषा साहित्य अध्ययनका लागि भारतबाट नेपालीहरु हरेक वर्ष महेन्द्र छात्रबृत्तिमा अध्ययनका लागि आउने क्रम जारी छ । उनी नेपाली भाषालाई नेपाली भाषी नेपाल बाहिरका क्षेत्रमा प्रचार, प्रसार र दरिलो रुपमा स्थापित गराउने मनसुवा राख्तथे ।

कवि मविवी शाह अँध्यारोसँग लड्ने भन्दा दीयो वालेर अँध्यारो निर्मूल पार्नुपर्छ भन्ने विचारमा विश्वास राख्थे । त्यसैले नेपालको तराई क्षेत्रमा छिमेकी मुलुक भारतको हिन्दी भाषाको अतिक्रमण बढ्दै गएको देखि नेपाली भाषाको संरक्षणका लागि तराई छोएका सबै अञ्चलहरुमा अञ्चल प्रेसको स्थापना गरी नेपाली भाषामा अखवार प्रकाशन गर्ने र अञ्चल भरिका सबै सरकारी काम काजका सूचना र समाचार नेपाली भाषामा प्रकाशित गरी व्यापक तुल्याउने अभियान थालेका थिए। यो बेग्लै कुरा हो, उनको देहावसानपछि जजस्ले प्रेस चलाएका थिए, तिनले पोलेर खाइदिए । कवि भीम बिरागले अन्तिम नारायणी प्रेस र नारायणी पत्रिका जोगाएका थिए । पछि त्यो प्रेस पनि भीम विरागको हातवाट खोसिएपछि छिन्न भिन्न भई समाप्त भयो  ।

देशका प्रतिभालाई चिन्नु र तिनको संरक्षण गर्नु उनको अर्को खुवी थियो । आफ्नो देशव्यापि दौडाहाका क्रममा उनले धेरै त्यस्ता प्रतिभाहरुलाई उध्दार गरेका थिए । अत्यन्त अप्ठ्यारो शारीरिक अवस्थाका कवि तथा गीतकार भीम विरागलाई उनले कलकत्ता पठाएर उपचार गराएका थिए । त्यसै गरी साहित्यकार डा .ध्रुवचन्द्र गौतमलाई काठमाडौंमा उच्च शिक्षा अध्ययनको लागि पनि कवि मविवी शाहले आर्थिक सहयोग गरेका थिए । त्यो सहयोग उनको देहान्त हुनुअघिसम्म निरन्तर थियो ।

राजा भएकाले उनलाई साहित्यको लागि समय छुट्याउन त्यति सहज थिएन, तर पनि साहित्यिक गतिविधिमा संलग्न हुन उनले समय निकाल्दथे । केदारमान ब्यथितको नेतृत्वमा भएका देशब्यापि साहित्य सेमिनारमा उनले चितवन र झापामा भाग लिएका थिए । चितवनमा भएको साहित्य सेमिनारको अन्तिम दिनको राती  नारायणी नदीमा डुङ्गाहरु जोडेर, मइण्टोल बालेर भव्य कवि गोष्ठीको अभूतपूर्व आयोजना गरिएको थियो । त्यो गोष्ठीमा कवि मविवी शाहको पनि सहभागिता रहेको थियो । गोष्ठीको अन्त्यमा हावा हूरीले बबण्डर मच्चाएर पालहरु उडेको, मइण्टोल निभेको र डुङगाहरु पनि ढलपल भएको घटनाका साक्षी कविहरु अझै पनि त्यो रोमाञ्चक-कहालीलाग्दो क्षणको सम्झना गर्छन् ।

त्यसै गोष्ठीमा भाग लिन आएका कविहरुलाई कवि मविवी शाहले एक्ला एक्लै भेटेका थिए र ती कविले मागेका कुरा पुर्याइदिएका थिए । त्यही क्रममा माधव घिमिरेले चितवनमा तथा मोहन कोइरालाले हेटौंडामा जग्गा पाएका थिए । कसैले पैसा माग्थे । कसैले पद माग्थे । यही क्रममा त्यो सेमिनारमा भाग लिएर मविवी शाहसँग भेट गरेर केही नमागेका भीम बिरागले उनीसँगको सङ्गतमा त्तियवेलाको घटना मलाई बताएका थिए-” सबैले केही न केही माग्दा रहेछन् । मलाई त कलकत्तामा उपचार गरेर त्यत्रो उपकार गरिसकेको हुनाले दोहोर्राई दोहोर्राई के दिउँ भन तिमीलाई भन्दा पनि मैले केही चाहिन्न भनें ।” राजासँग भेटपछि जम्मा भएका कविहरु ककस्ले के मागे र के पाए हिसाव गर्दै थिए । भीम बिरागले केही नमागेकोमा सबले उनको उल्लीबिल्ली गरे । त्यो उल्ली बिल्लीले भीम बिरागलाई निद्रा परेन । मलाई जसले जिन्दगी दियो, उसलाई पो मैले केही दिनु पर्ने हो नि ! मैले अझै लिने हो र ?

अनि उनले आधारातमा एउटा गीत लेखे:

“जिन्दगी दियौ तिमीले, म के दिउँ तिमीलाई ? “

केदारमान व्यथितको मविवी शाहसँग राम्रो सम्वन्ध थियो । व्यथितलाई उनले फूटपाथवाट उचालेका थिए । नेपाली साहित्य संस्थानको मुखपत्र हिमानी मा प्रकाशनार्थ ब्यथितले कविता मागे । कविता प्राप्त भयो । प्रकाशित भयो । सबै प्रकाशित रचनाहरुको लागि पारिश्रमिकको ब्यबस्था थियो । कवि भए पनि मान्छे त राजा हो, देशको शासक, कसरी २५ रुपैयाँ पारिश्रमिक दिनु ? तर साहित्य संस्थानका सबैले कविको हैसियतले कविता लेखे बापत पारिश्रमिक दिनु हाम्रो कर्तब्य हो, लिनु नलिनु उनको ईच्छा हो भन्ने कुरा राखे बैठकमा । अनि त्यसपछि पत्रिका र पारिश्रमिक वोकेर केदारमान ब्यथित राजदरवार पुगे । राजासँग भेटघाटपछि संकोच मान्दै पत्रिका र पारिश्रमिक दिए । उनले पारिश्रमिक खुशीसाथ लिंदै भने-” यो हो मेरो सच्चा कमाई । ”

केदारमान ब्यथित उनले त्यसरी पारिश्रमिक ग्रहण गरेकोमा दङ्ग परे ।

केही बेरपछि उनले सो पारिश्रमिक ” मेरो तर्फबाट संस्थाको लागि ” भन्दै रकम फर्काएका थिए । कम्तिमा पारिश्रमिकको रुपमा उनले स्वीकारेकोमा केदारमान ब्यथितले धेरै पछिसम्म यो प्रसङ्गलाई रोचक ढङ्गले सुनाउने गर्थे ।

जतिखेर कवि मविवी शाहका रचनाहरु निकै चर्चामा थिए र लेखन उत्कर्षमा थियो, तारानाथ शर्माले उनका रचनाहरु उर्दू गीत गजलबाट प्रभावित मात्र भएको नभई हरफहरु समेत मिलेको भनी कडा आलोचना लेखेर प्रकाशित गरे । त्यो समालोचनाले साहित्यिक बृत्तमा मात्र नभई दरवार  र राजनीतिक क्षेत्रमा पनि हलचल मच्चायो । तारानाथ शर्मा गिरफ्तार भए र जेल चलान गरिए । तर जब कवि मविवी शाहले उनको कृतिको आलोचना गरे बापत उनलाई जेल हालेको भन्ने थाहा पाए, उनले आदेश दिएर जेलबाट मुक्त भएको डा.तारानाथ शर्माको कथन थियो ।

उनका रचनाहरुको बारेमा पुस्कर लोहनीले पनि आलोचनात्मक लेख लेखेर प्रकाशित गराएका थिए ।

आफ्नी पहिलो पत्नीको देहान्त पछि लेखिएको यो  निकै मार्मिक रचना हो :

” भन लौ तिमी नढाँटी कसरी बुझाउँ यो दिल

हेरेर तस्वीर खाली कसरी बुझाउँ यो दिल”

देशमा व्याप्त धनी वर्ग र गरीव वर्गलाई लक्षित यो रचना त अर्को रचना आज पर्यन्त जनजिब्रोमा उखान वनेर अजर अमर भएको छ ।

गर्छिन् पुकार आमा रोइ कराई जोडले

होईन भन्छिन् मेरो सन्तान थरिथरिका

आज पनि फरक स्वभाव र चरित्र देख्ने वित्तिकै मानिसहरु “सन्तान थरिथरिका” भन्न पुगिहाल्छन् ।

प्रकृति देखि रमाउने कवि मविवी शाहको “रारा कि अप्सरा”  सुन्दरतम् आधुनिक प्रकृतिवादी कविता हो। रारा तालमै पुगेर, त्यहाँको माटो स्पर्श गरेर, त्यहाँको तालको पानीमा हातले खेलाएर, देश र प्रकृतिलाई हृदयमा आत्मसात गरेर लेखिएको यो कविता उनको बेजोड कविताको नमूना हो । यसमा उनले राराको सौन्दर्यलाई अप्सराको सौन्दर्यसँग दाँजेका छन् :

सृष्टिको सम्पूर्ण सौन्दर्यमय राम्रो-

रारा ! रारा !! रारा !!!

देखेर अल्मलिएछु, सायद

म आफैं बेहोशले

तिम्रो सुन्दरतामा ।

तैपनि तिमीलाई चिन्न सकिनछु,

बोल्न सकिनछु

व्याख्या गर्न मेरो कलमै चलेनछ।

त्यसैले अत्तालिंदै सोधेछु

कराएछु, चिच्याएछु

ए ! रारा ! बताउ !

रारा भनेको तिमी को हौ ?

स्वर्गकी अप्सरा ?

परापूर्व कालदेखि नै राजसंस्था साहित्यको संरक्षक भएको पाइन्छ । दरवारमा कविता सम्मेलन गर्ने गरेको पाइन्छ । दरवारले राजकविको नियुक्त गर्ने गरिएको पाइन्छ । नेपालको सन्दर्भमा पनि यो  परम्परा रहेको पाइन्छ । एकताका नायक बडा महाराजाधिराज श्री ५ पृथ्वी नारायण शाहको उपदेशलाई नेपाली साहित्यका इतिहासकारहरुले पहिलो साहित्यिक रचनाको रुपमा स्वीकारेको पाइन्छ ।

कवि मविवीशाहले राजाको रुपमा शासन गरेको समयमा उत्तरी छिमेकी राज्य चिनमा माओत्से तुङ्गको शासन थियो । यी दुवै शासक कवि थिए । माओलाई चिनको साँस्कृतिक क्रान्तिका लागि निकै कडा आलोचना गरिन्छ । राजा महेन्द्रलाई पनि प्रजातन्त्र मासेर पञ्चायती ब्यवस्था लादेको भनी आलोचना गरिन्छ । यी दुई शासक कविहरुको भेट चिनमा भयो, राजा महेन्द्रले चिनको राजकीय भ्रमणको बेला । तर यी दुईको काव्यिक विचारको आदान प्रदान भयो कि भएन त्यो चाहीं खोज र अनुसन्धानको विषय हो ।

१३ जुन २०२०, बृन्दावन, भारत ।