एउटा चाहना
अँगेनाबाट निस्किएको धुवाँ
माथि माथि गएजस्तै
त्यही अँगेनाको छेउमा
बसेकी मेरी आमाको उमेर पनि त
माथि माथि गएको छ
दियो बनेर
मलाई बाटो देखाउने मेरी आमा
आफू जल्दै सकिँदै
मलाई अगाडि बढाउने
मेरी आमाको मृत्युपूर्व
मेरो मृत्यु होस् ।
गल्ली नं १
यो शहर मरुभूमि हो
बालुवामा पानी सोसिएजस्तै
यहाँ श्रमिकका पसिना सोसिएका छन्
र त
श्रमिकका चुलोहरूमा
रोटी सेकिएजस्तै
कयौं नाबालकका पढ्ने सपनाहरू
सेकिएका छन् ।
म विकल्प हुँ
सिमली भुवाजस्तै
भएका छन् सम्बन्धहरू पनि
स्वार्थको बतासले
उडाउँदै उडाउँदै लगेर
अज्ञात ठाउँमा मिल्काइदिएका छन्
अस्तित्वविहीन बनाइदिएका छन्
हो, त्यही सम्बन्धमा
म विकल्प हुँ !
छैन म कसैको नशा
हिजो नशा बनेका चिजहरू
तिमी र तिम्रो साथ
आज छुट्दै छुट्दै गएका छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 









