बर्खा यामको झरीमा
क्याफेको एउटा कुनामा बसेर
एक कवि आफैँलाई सवाल गरिरहेछ
मैले किन एउटा सशक्त कविता कोर्न सकिनँ ?
देखेर पनि लेख्न किन सकिनँ?
समाजका कुरीति, कुसंस्कार
जातीय विभेद, थिचोमिचो
वर्गीय भिन्नता
नांगो आँखाले नदेखेका कयौं समस्याहरू

चिया सुरुप्प पार्दै
कवि सोचिरहेछ
किन सकिरहेको छैन
कर्णालीको पीडा देखाउन
सुत्केरी महिलाको व्यथा देखाउन
औषधि र नूनको अभाव देखाउन
बेरोजगार युवाहरूको तनाव देखाउन

चुरोटको लामो सर्को तान्दै
कवि एकोहोरिरहेको छ
कुन लेखुँ पहिले
कविता कहाँबाट सुरु गरी
कहाँ अन्त्य गरुँ !
आज कवि दोधार र तनावमा छ।