वसन्त ऋतुको अन्त्य अन्त्यमा
झरीले नुहाएको बस्तीका घरहरू
हिलो लतपत–लतपत हुँदै–हुँदै
सजिन तम्तयार छन्
बटुवाका पाउहरूमा वस्त्रहरूमा ।
एउटा कर्कश कागको स्वर निर्धाका लागि
अर्को सुरिलो कोइलीको स्वर शासकका लागि ।
रङ्ग एउटै कालो–कालो
रङ्ग अर्को पहेँलो–पहेँलो ।
हो, त्यहीँ कतै
पीडाले विक्षिप्त एउटा वृद्ध श्रमिक बर्बराउँदै छ ।
जीवनकालको अन्त्य–अन्त्यमा पुगेको देह
घिसार्दै–घिसार्दै
नदी किनार पुगेको छ ।
अँ त
शासकले हल्का मानेको मानवता
खोलाले पनि हल्का मानिदियो एउटा मानव ।
र त
बग्दै–बग्दै, बगायो–बगायो
एउटा प्राण र अरू सपनाहरू ।
सत्य–सत्य
पोस्टमार्टममा देखिने छ
मद्यपानको केही निशानी
पानीको केही निशानी ।
सायद
त्यहाँ देखिने छैन
राज्यको क्रूर दमन !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 










