अस्ति थिएँ म
प्रेम गरुँ या नगरुँ भन्ने दोबाटोमा
कसरी व्यक्त गरुँ प्रेम
कि नगरुँ लाग्थ्यो डरले
कहाँबाट सुरुवात गरुँ
नसुनी झर्को मान्दै झपारी भने-
के होला त्यो पल ? मुटु काम्थ्यो
शायद आफ्नो आफैँलाई भरोसा नभएर
यस्तै यस्तै
सोचाइले रात अनिदोमै बिते

हिजो
यात्री बनेर प्रेमको यात्रामा थिएँ
रमाइलो थियो त्यो क्षण
घुम्तीहरूमा हात थियो
उकाली ओरालीमा साथ थियो
र समथर बाटोमा सपनाकी रानी
गन्तव्य थियो अन्तिम क्षणसम्म साथमै रहने
हरेक दु:खमा साथमै रहने
र थिए सुन्दर सपनाहरू
अनि थियो एउटा भ्रम
भ्रममा रमाएरै रात अनिदोमै बिते

आज
दुर्घटनाग्रस्त भयो विश्वासको मोटर
टुङ्गियो प्रेमको यात्रा बीचमै
टुट्यो सम्बन्ध
छुट्यो कतै प्रेम भित्रको प्रेम
उचाई नाप्दा नाप्दै
थाके मन पनि
रोकिए पाइलाहरू
भत्किए सपनाहरूको महल
यादको वर्षातले
आँशुको मूल फुटाए आँखामा
र त
रात अनिदोमै बितिरहेछ।