जसले, जहाँ, जहिले, जसरी
जस्तो अवस्थामा भेटिन्छ
उसैले त्यस्तै अवस्थामा त्यहीँ
ठाउँको ठाउँ ठहरै हुनेगरी
कुट्नैपर्ने कुलङ्गार कुपुत्रहरू पुगेका छन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा !
खत्तम पारी छाड्नुपर्ने खलनायकहरू पुगेका छन्-
बलियो बोरामा हालेर तार्सेभिरबाट गुल्ट्याइदिनुपर्ने
गतिछाडा मतिहीन गोबरगणेशहरू पुगेका छन्-
आजीवन उक्किनै नसक्ने गरी भित्तोमा टाँसेर
भित्तैसित घुचेटिदिनुपर्ने घुर्यानहरू पुगेका छन्-
पुरै नाङ्गेझार पारी मैनीखामोमा बाँधेर
सिस्नोपानीले चुट्नैपर्ने चोरहरू पुगेका छन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा !
घर-परिवारभित्रैबाट घोक्रेठ्याक लगाएरै भए पनि
अब कुनै बहाना नगरिकन जतिसक्दो छिटो निकाल्नैपर्ने,
कुलघरानकै सबैभन्दा नालायक “किरो” लागिसकेका,
अन्धभक्तसहित आफैंले आफैंलाई “हिरो” सम्झिरहेका
तर हरेक हिसाबले “जिरो” भइसकेका द्रव्यपिचास
उत्तरआधुनिक कुम्भकर्णे “निरो”हरू पुगेका छन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा !
आफू घरमूली भएको अहंकारमा
हिउँजस्तै स्वाभिमान पग्लिएर
वर्षौंदेखि घरानिया मूलनीतिलाई
रछ्यानजस्तै बनाइरहेको हुनाले
बेतबासको लठ्ठी टेकेरै भए पनि
निर्धक्कसँग उभिएर आफ्नै खुट्टामा
घण्टी बजाउँदै सुइरुपी कुचो लगाएर
घरायसी निर्वाचनको माध्यमबाट
बढार्नैपर्ने कसिङ्गरहरू पुगेका छन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा,
जसले बिझाइरहेका छन् वर्षौंदेखि
अल्झिबसेर आफ्नै परिवारजनको आँखामा !
आजीवन प्रवेश-निषेधको घोषणा गरेर
मूलघरबाट जतिसक्दो छिटो
अन्तिम बिदाइ गर्नैपर्ने बदमाश
बोक्सी बिरालोका छौँडाहरू पुगेका छन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा !
आफूहरू भोकै बसेर पिता-पुर्खाले
आर्जेर बचाइदिएको नासोरुपी
सुन्दर, शान्त हाम्रो प्यारो मूलघरलाई
दिनप्रतिदिन कुरुप, अशान्त बनाउँदै
आत्मसम्मान बेचेरै भए पनि
सबैभन्दा माथिल्लो तलामा पुगिछाड्ने
आफ्नो निहित स्वार्थ पूरा गर्नकै लागि
मूलघरको साँध क्रमशः साँघुर्याइरहेका
मझेरीकै माटो बेचेर दौरासुरुवाल लगाइरहेका
पतिपत्नीको साइनो बिर्सेर व्यभिचारमा रमाउँदै
सिद्वि प्राप्तिको खोजीमा भौंतारिरहेका
छोरालाई भाकेर बलिपूजा गर्दै
छोरी बेचेर घरमूलीको श्रीपेच लगाइरहेका
पुर्ख्यौली संस्कारलाई चटक्कै भुलेर
“होली वाइन”को डलरमा बिकिरहेका
समृद्धिको मुहान चिप्रिक्कै थुनिदिएर
गरीवीको अनन्त गहिराईमा डुबुल्की मार्दै
र्याल काढ्दै बसेर “तर” मार्न पल्किएका
विवेकहीन ढाडे बिरालाहरूलाई हराउँदै
स्वाभिमानी घरपरिवारजनको
जीत सुनिश्चित गर्नैका लागि
जमानतसमेत जफत हुने गरी
हराउनैपर्ने हरामीहरू पुगेका छन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा !
छाला काढी नूनखुर्सानी दलेर
मध्येरातमा मसानघाटको बाटो
लखेट्नै पर्ने लुटेराहरू पुगेका छन्-
ज्यूँदै डढाएर छाड्नुपर्ने डाकाहरू पुगेका छन्-
खाल्टोमा ज्यूँदै गाड्नुपर्ने काकाहरू पुगेका छन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा !
बसेर विस्मृतिको असीमित अँध्यारोमा
कथेर भ्रम र द्विविधाको बोक्रे आत्मकथा
अन्यौल र दोधाररुपी दुई आँखामा
अज्ञानताको ढ्याब्रे चस्मा लगाइरहेका
उत्तरआधुनिक धृतराष्ट्रहरू पुगेका छन्-
केही अपवादबाहेक अहिलेसम्म पनि
मूलघरको सबैभन्दा माथिल्लो तलामा !
करादीखोला, स्याङ्जा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 










