डेब्यु काव्यकृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’का लागि उत्कृष्ट ११ काव्यकृतिहरूको सूचीमा मिलन समीरको कविता सङ्ग्रह ‘प्रिय दुश्मन’ पर्न सफल भएको छ ।
युवा कवि मिलन समीरको पहिलो कृति हो शृङ्खला–कविता ‘प्रिय दुश्मन’ । समीरले कवितामा दुश्मनलाई मीठो सम्बोधन गरेका छन् । उनले शृङ्खलाबद्ध कविताका माध्यमबाट मानिसको परस्परमा विरोधी प्रवृत्ति तथा बहुरुपी चरित्रको उजागर गरेका छन् । नेपाली साहित्यमा कमै लेखिने शृङ्खला–कविताका माध्यमबाट समीरले समग्र समाज र समाजको वैचारिकीको चिरफार समेत गरेका छन् ।
कवितासङ्ग्रहमा ‘प्रिय दुश्मन’ शीर्षकमा ३१ शृङ्खला–कविताहरु सङ्ग्रहित छन् । राजकुमार ज्ञवाली प्रकाशक रहेको कविताकृतिको प्रमुख वितरकमा सम्पूर्ण किताब रहेको छ ।
छानिएका डेब्यु काव्यकृतिहरूमा कमला महतको बाछिटासङ्ग्रह ‘अनन्त’, रेहित सैजुको मुक्तकसङ्ग्रह ‘परावर्तन’, बुद्धिप्रसाद शर्मा रेग्मीको महाकाव्य ‘मेरी आमा’, प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, सौरभ शर्माको कवितासङ्ग्रह ‘अनन्त प्रेम’, प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह ‘अनुभूतिको इन्द्रेनी’, रोहिणी रसिकको छन्द कवितासङ्ग्रह ‘छन्द आराधना’, मिमबहादुर परियारको कवितासङ्ग्रह ‘कर्नाली हाँस्दो छ’, लक्ष्मी रेशमीको कवितासङ्ग्रह ‘ज्याकारान्डाको शहर’ र विष्णु आचार्य ‘अतृप्त’को कवितासङ्ग्रह ‘घर फर्किने तिर्खा’ रहेका छन् ।
यो सूची नयाँ लेखकहरूले २०७९ सालमा प्रकाशनमा ल्याएका ४२ काव्यसङ्ग्रहबाट छानिएको हो । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भीक निर्णायकहरूको टीमले छानेको हो ।
यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।
‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल काव्यकृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ प्रदान गरिने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।