
उन्नाइसौं शताब्दीको अन्त्यतिर फ्रान्सेली कविहरूको एक समूहले शुरु गरेको एक साहित्यिक आन्दोलन हो, प्रतीकवाद । यो आन्दोलन साहित्यमा मात्र सीमित नरही कला र रङ्गमञ्चमा पनि फैलियो । साथै यसले बीसौं शताब्दीको यूरोप र अमेरिकी साहित्यलाई समेत प्रभाव पा-यो ।
प्रतीकवादी फ्रान्सेली कविहरू स्टेफेन मलार्मे, पौल भर्लाइन, आर्थर रिम्वाओ, जुलियस लाफोर्ग, हेनरू द रेनर, रेने गील तथा गुस्ताफ कान हुन् भने बेल्जियन प्रतीकवादी कविहरू इमिली वर्हेरेन, जोर्जेज गुडेन बेक, ग्रीसमा जन्मेका बेल्जियनद्वय जाँ मोरियस फ्रान्सिस भीले ग्रिफिन तथा स्टुआर्ट मेर्री (अमेरिकामा जन्मेका) थिए । रिमे द गौरमेण्ट सिद्धान्ततः प्रतीकवादी आलोचक थिए । तर जोरिस कार्ल हौसमान्सको उपन्यासमा यो सिध्दान्त पूरै लागू भएको देखिन्छ । बेल्जियमाली मौरिस मिटरलिङ्कको रङ्गमञ्चमा पनि प्रतीकवाद पूरै प्रभावित छ । फ्रान्सेली कविद्वय पाउल भ्यालेरी र पाउल क्लाउडेल २०औं शताब्दीका प्रखर प्रतीकवादी मानिन्छन् ।
साहित्यमा प्रतीक प्रायः सर्वजीववाद अथवा प्रकृतिका सम्पूर्ण मानवीकरणको रूपमा, रूपक तथा उपमाको रूपमा, चरित्र, भाव अथवा विचार विशेषको प्रतिनिधिको रूपमा तथा साधारण भाषामा जे व्यक्त हुन सक्दैन त्यसैको अभिव्यक्तिको माध्यमको रूपमा प्रयुक्त हुन्छ ।
भारतीय विद्वान् डा. मैथिली शरण गुप्ताले प्रतीकले निम्न कामहरू गर्ने बताएका छन्ः
१, वस्तु, तथ्य या विचारको व्याख्या गर्नु
२, सर्वजनीन स्वीकार्य बनाउनु
३, भाव या विचारबाट पलायन हुन सहयोग पु-याउनु
४, सुषुप्त एवम् दमित अनुभूतिहरूलाई जागृत गर्नु
५, अलङ्कार अथवा प्रदर्शनको साधनको रूपमा सहयोग पु-याउनु ।
सन् १८९१ मा आलोचक अल्बर्ट ओरियटले आफ्नो एक लेखमा प्रतीकवादको परिभाषा यसरी गरेका थिए- “प्रतीकवादी रचना भावात्मक र भाव पूर्ण हुनुपर्छ । भावलाई व्यक्त गर्ने उसको लक्ष हुनुपर्छ । त्यही भावलाई रूप र आकारमा व्यक्त गर्नु पर्दछ । यसैमा प्रतीकवादी हुनुको सार्थकता छ ।”
खासमा प्रतीकवाद रूढ मान्यता, काव्य लेखनको पुरानो पद्धति, कथा वस्तु (थिम) को विरुद्धको फ्रान्सेली कविहरूद्वारा सुरु गरिएको महत्त्वपूर्ण साहित्यिक आन्दोलन थियो । यी प्रतीकवादी कविहरूले कवितालाई विवरणात्मक कार्यबाट स्वतन्त्रता दिलाउन खोजे । मानिसको भित्री जीवनलाई सतहबाट भन्दा पनि प्रतीकको माध्यमले चिनाउने प्रयास गरे ।
बोदलेयरले भनेका छन्,” कलाकारले प्रकृतिको अनुकरणबाट धेरै टाढा रहेर साभिप्राय बिम्बहरूको चयन गर्नु पर्दछ र आफ्नो दृष्टि प्रस्तुत गर्नको लागि तिनीहरूलाई प्रखरता प्रदान गर्नु पर्दछ तथा तिनको उपयोग गर्नु पर्दछ । मानव आत्माको केही विशिष्ट एवम् प्रायः अप्राकृतिक अवस्थामा नित्यको साधारण घटनाहरूको माध्यमले जीवनको गम्भीरता व्यक्त हुन्छ । तब साधारण जीवन प्रतीक हुन्छ । ”

प्रतीकवादी चित्र
“द हेरिटेज अफ सिम्बोलिजम” मा प्रो. एम. बाओराले भनेका छन्- “कुनै पनि काव्य आन्दोलनको परिचय त्यसको काव्य नायकहरूबाट मिल्दछ । प्रतीकवादका मुख्य कविहरू वोदलेयर, भर्लाइन् र मलार्मे हुन् । वोदलेयर प्रथम व्यक्ति थिए जसले प्रतीकको प्रयोगको महिमा गान गरे, भर्लाइनले आफ्नो सहज वृत्तिको प्रेरणाले त्यसको प्रयोग गरे र मलार्मेले त्यसको व्याख्या र संगति निदर्शनको लागि तत्त्व दर्शनको निर्माण गरे । आफ्नो सिद्धान्त र प्रयोगमा मलार्मे प्रतीकवादी आन्दोलनका अन्तिम प्रतिनिधि र हस्ती थिए । …प्रतिवादीहरूले वैज्ञानिक यथार्थवादको विरोध गरे र उनका विरोध यो दृष्टिले रहस्यात्मक थियो कि त्यो एक आदर्श जगततिर गरिएको थियो जुन उनका निर्णय अनुसार इन्द्रियगोचार जगतबाट कहीँ ज्यादा यथार्थ थियो । त्यो आदर्श सौन्दर्यको धर्म थियो, एक आदर्श र सौन्दर्यको ।”
सन् १८८० को दशकमा प्रतीकवादी समीक्षाहरू प्रशस्त पत्रपत्रिकाहरूमा प्रकाशित भए । तिनीहरूले स्थापित समालोचकहरूले आक्रमण गरेकोमा पनि विवादास्पद लेखकहरूलाई लेखकहरूले स्वतन्त्रतापूर्वक र स्वतः स्फूर्त ढङ्गले झेले र मलार्मे प्रतीकवादी आन्दोलनका नेता भए । उनको “झुकावहरू” (Divagations-1897) यो आन्दोलनको अत्यन्त महत्त्वपूर्ण वक्तव्य (Statement) मानिन्छ । समकालीन कविताको स्वरूप “स्वतन्त्र कविता” (Free Verse) को काव्यिक स्वरूप आजको कवितामा पनि मान्यता प्राप्त छ ।
प्रतीकवादी कविहरूका कृतिहरूले बीसौं शताब्दीको बेलायती र अमेरिकी साहित्यलाई ठूलो प्रभाव पारेको छ । तिनीहरूको प्रयोगवादी रचना तरिका ( Technique) ले आधुनिक कवितालाई निकै धनी बनाएको छ । प्रतीकवादी सिद्धान्त वाई.वी. यिटस् र टि.एस. इलियटका कविताहरू र जेम्स ज्वायस एवम् भर्जिनिया उल्फका उपन्यासहरूमा प्रस्ट देख्न सकिन्छ ।
प्रतीकवादी उपन्यासहरूमध्ये थोरै उपन्यास मात्र सफल छन् । ती मध्ये जे.के. हौसमान्सको “प्रकृतिको विरुद्ध”(१८८४) उत्तम मानिन्छ । त्यस्तै बीसौं शताब्दीका प्रख्यात अमेरिकी आलोचक एडमण्ड वी. विल्सनको “एक्सेल्स क्यासल”(१९३१) यो आन्दोलनको महत्त्वपूर्ण एवम् प्रामाणिक व्याख्या मानिन्छ ।
प्रतीकवादको क्षेत्र साहित्य बाहेक कला पनि हो । कलाकारहरु पाउल गाउगीन, भिसेन्ट भ्यान गग र नाविज प्रतीकवादी कलाकार मानिन्छन् । प्रतीकवादको आदर्श स्वीकार्ने अरू तीन प्रमुख कलाकारहरू गुस्ताफ मारिय, ओडिलन रेडोन र पियरे पुभिस द चाभान्स हुन् ।
त्यस्तै रङ्गमञ्चलाई पनि प्रतीकवादले प्रभाव पा-यो । फ्रान्सेली कवि मलार्मेबाट नै नाट्य क्षेत्रमा पनि नेतृत्व प्राप्त भयो । सन् १८७० को दशकमा मलार्मेले यथार्थवादी रङ्गमञ्चको दबाबको विरोधमा र मानवभित्र लुकेको काव्यिक रङ्गमञ्च र शाश्वततालाई जोड दिए ।
मलार्मेका अनुसार नाटकमा काव्य नाटककारले दृश्य र अदृश्य संसारहरू बीच यस्तो समन्वय कायम गर्नुपर्छ कि जसले गर्दा काव्यिक भाषाको चमत्कार देखियोस् । प्रतीकवादी नाटकको लागि गहन सत्यहरूको अस्तित्वलाई प्रत्यक्ष नभई परोक्ष ढङ्गबाट प्रतीक, मिथ र मूडद्वारा अभिव्यक्त गरिनुपर्छ । प्रतीकवादी प्रमुख नाटककारहरू मौरिस मिटरलिङ्क (बेल्जियन), भिलियर्स दे लोसेल आदम र पौल क्लाउडेल (फ्रान्स) प्रमुख थिए ।
प्रतीकवादी सिध्दान्तवाट प्रभावित मध्ये स्विडिस नाटककार अगस्त स्ट्रिनबर्ग र आइरिस कवि एवम् नाटककार वाई. वी. यिटस् प्रमुख मानिन्छन् ।
सन् १८९० मा फ्रान्सिसी कवि पाउल फोर्टले Theatre d’Art को स्थापना गरेका थिए जहाँ प्रतीकवादी नाटकहरू प्रदर्शन गरिनुका साथसाथै प्राचीन एवम् आधुनिक कविताहरू पनि वाचन गरिन्थ्यो । सन् १९८२ मा फोर्टले अवकाश लिएपछि आर्लियन मारी लुङ पो ले यसलाई अघि बढाए । तर यो लामो समयसम्म भने टिक्न सकेन ।
जर्मनीका प्रतीकवादी कविहरु रिल्के र स्टेफेन जोर्ज निकै महत्त्वपूर्ण मानिन्छन् भने अमेरिकी नाटककार युजिन ओ’निल पनि प्रतीकवादबाट अत्यन्तै प्रभावित देखिन्छन् ।
हुन त प्रतीकवादले आन्दोलनको रुप लिनु अघि र वादको स्वरुप पाउनु अघि नै प्लेटोले प्रतीकको वारेमा आफ्नो धारणा यसरी राखेको पाइन्छ -It is easier to say what a thing is like that’s what it is.
प्रतीकवादी आन्दोलनको चरमोत्कर्ष १८९० को दशकमा देखा प-यो । अनि १९०० को आसपासमा प्रतीकवादी आन्दोलनमा क्रमसः ह्रास आउन थाल्यो । पछि यसको उत्तराधिकारीको रुपमा विम्बबादको प्रादुर्भाव भएको देखिन्छ ।
०००
१३ डिसेम्वर २०२४, फल्स चर्च भर्जिनिया, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

