चित्र: कृष्ण मर्सानी

 

सन् १९९९ को साहित्यतर्फको नोबेल पुरस्कारले सम्मानित हुने जर्मन साहित्यकार गुण्टर ग्रास पोलैण्डेली आमा र जर्मन पिताका सुपुत्रका रुपमा सन् १९२७ १६ अक्टोबरका दिन अहिलेको पोलैण्डको गदान्स्क नजिक दानजीगमा जन्मेका हुन् । उनका पिता खाद्यान्नका ब्यापारी थिए र साधारण अधिकृत पनि । ग्रासले प्राथमिक एवं माध्यमिक स्कूलको शिक्षा दानजीगमा प्राप्त गरेका हुन् ।

ग्रासको साहित्य यात्राको थालनी स्कूले जीवनमै शुरु भएको थियो । स्कूलको अखबारले आयोजना गरेको प्रतियोगितामा भाग लिन उनले मात्र १३ वर्षको उमेरमा उपन्यास लेखेका थिए । तर १६ बर्षको उमेरमा, माध्यमिक विद्यालयबाट स्नातकोपाधि प्राप्त गर्नुअघि नै उनले दोस्रो विश्वयद्धमा होमिन जानु पर्यो । उनी लुफ्टवाफे सहायकमा खटिए र घाइते भए । उनले नाजी जर्मनीको नौसेनामा स्वयम्सेवकको रुपमा पनि काम गरेका थिए । तदुपरान्त उनी अमेरिकी युद्धबन्दीका रुपमा नाभेरियामा पठाइए । सन् १९४६ को वसन्तमा ग्रास युद्धबन्दीबाट मुक्त भए । त्यसपछि उनले घरदेखि धेरै टाढा पश्चिम जर्मनीमा खेतीपातीको काम तथा खानी मजदुरी गरे ।

युद्धले अवरुद्ध भएको पढाइ उनले फेरि सन् १९४७ मा गोट्टिङ्गेनमा शुरु गरे तर उनमा पढाइप्रति अरुचि जाग्यो र डुसेलडोर्फमा राजमिस्त्रीको काम सिके र चिहानमा शिलालेख लेख्ने काम गर्न थाले । यही समयमा उनले ‘डुसेलडोर्फ एकेडेमी अफ आर्टस्’ मा प्रवेश गरे । त्यहाँ उनले चित्रकला, मूर्तिकला सिक्न थाले र रातको समयमा ज्याज संगीतको ड्रमवादकको काम गर्न थाले । यसै बीच उनी कविता र नाट्य रेखाचित्रहरु लेखनमा पनि संलग्न हुन थाले ।

जीवनको यतिन्जेलको उतारचढावमा उनले दुःख सुखलाई नजिकैबाट अनुभूत गर्न सक्ने भैसकेका थिए । उनलाई युद्धोत्तरकालीन भौतिकवादप्रति वितृष्णा भयो र सन् १९५३ मा उनी पश्चिम वर्लिनतिर लागे जहाँ उनले वर्लिन एकेडेमी अफ आर्टमा कार्ल हार्टुङसँग मूर्तिकला सिके ।

तेह्र वर्षको कलिलो उमेरमै उपन्यास लेख्ने ग्रासले कविता पनि यदाकदा लेखि नै रहन्थे । सन् १९५१ मा उनले इटालीको भ्रमण गरे र त्यसपछि अर्को वर्ष फ्रान्स पनि भ्रमण गरे । यी भ्रमणहरुले उनको लेखकीय व्यक्तित्वलाई प्रशस्त ऊर्जा प्रदान गर्यो । ग्रासले सन् १९५४ मा वैवाहिक बन्धनमा बाँधिने निर्णय गरे । उनले स्वीस नर्तकी अन्ना स्वार्जलाई जीवनसङ्गिनी बनाए ।

ग्रासले लेखेका कविताहरु त्यत्तिकै छरपस्ट थिए । उनकी श्रीमतीले ती कविताहरु सँगालिन्, सम्हालिन् र ग्रासलाई पत्तै नदिइकन स्थानीय रेडियो स्टेशनले आयोजना गरेको प्रतियोगितामा पठाइदिइन् । त्यसमा ग्रासले पुरस्कार पाए । यसपछि नै ग्रासका साहित्यिक रचनाहरु पत्र पत्रिकहरुमा देखा पर्न थाले, चर्चित हुन थाले, प्रसंशित हुन थाले ।

सन् १९५९ मा प्रकाशित टिन ड्रम (अंग्रेजीमा अनुवाद –१९६२ मा प्रकाशित) ले ग्रासलाई उपन्यासकारको रुपमा अद्वितीय ख्याति दियो । यो उपन्यास प्रकाशित भएको चालिस वर्षपश्चात नोबेल पुरस्कार पाउँदा पनि उनको यस प्राप्तिलाई यही उपन्यासले योगदान पुर्याएको प्रत्यक्ष एवं परोक्ष तर्क दिइएको थियो । ग्रासको नाउँ र यस उपन्यासको नाउँ पयार्यवाचीझैँ भएको थियो ।

यसरी उपन्यासको रुपमा ख्याति प्राप्त भए पनि ग्रास कवि हुन्, नाटककार पनि हुन् । उनको पहिलो कविता संग्रह १९५६ मा प्रकाशित भएको थियो । दोस्रो संग्रह १९६० मा प्रकाशित भयो । यी दुवै संग्रहहरु ग्रासका आफ्नै रेखा चित्रहरुले सजिएका छन् । पछि सन् १९६५ मा यी दुवै कविता संग्रहका कविताहरु क्रिष्टोफर मिडलटोन र माइकल ह्याम्बर्गरले अंग्रेजीमा अनुवाद गरे र ‘सेलेक्टेड पोइम्स’ का रुपमा प्रकाशित भयो । यी कविताहरु शैलीका हिसाबले अतियथार्थवादी तथा भावका हिसाबले व्यङ्ग्यले ओतप्रोत छन् । उनका कवितालाई आङल–जर्मन परम्पराको ‘ननसेन्स–पोयट्री’ को स्थानमा पनि राख्ने गरेको पाइन्छ ।

नाटककारका रुपमा पनि ग्रासको ख्याति निकै छ । उनका हाई टाइड (१९४५७), अंकल अंकल (१९५७) द विक्ड कुक्स (१९५९) व्यक्तिवादी प्रवृत्तिको पक्षमा वकालत गर्ने नाटक हो । सन् १९६६ को जनवरीमा बर्लिनको रङ्गमञ्चमा पहिलो पटक मञ्चन गरिएको नाटक “द प्लेवियन्स रिहर्स द अपराइजिङ” पूर्वी बर्लिनको सन् १९५३ को उठानसँग सम्बन्धित नाटक हो ।

सन् १९४७ मा हान्सवर्नर रिख्टरले आफ्नो पत्रिका ‘द कल’ प्रकाशनार्थ लेखकहरु भेला गरेका थिए । तर सरकारले यो पत्रिकालाई निस्कन दिएन । तर जो व्यक्तिहरु त्यस भेलामा सम्मिलित भएका थिए– तिनीहरुले लेखकहरुको साथमा समस्यामाथि छलफल गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे । तदुपरान्त हरेक साल यसै गरी भेला आयोजना गर्ने निधो भयो । यसलाई ‘ग्रुप–४७’ नामाकरण गरियो । ग्रुप–४७का थोरै महान् हस्तीहरुमा ग्रास पनि एक हुन् । उनीले स्वीडेनको सिग्टुनामा सन् १९६४ मा पहिलोपल्ट जर्मनीबाहिर आयोजना गरेको ग्रुप–४७ को दसदिने भेलामा  सम्मिलित भए । सन् १९६७ मा अमेरिकाको प्रिन्सटन विश्व विद्यालयमा आयोजित भेलामा पनि ग्रासले सहभागिता गरेका थिए ।

अद्यापि ग्रासको टिन ड्रमलाई नै उच्च कोटीको उपन्यास मानिन्छ । तर पनि उनका अन्य उपन्यासहरु क्याट एण्ड माउस (१९६३), द डग एयर्स (१९६५), लोकल एनेस्थेटिथक (१९७०), द फ्लाउण्डर (१९७८), द मिटिङ एट टेलगेट (१९८२), द कल अफ द टोड उत्तिकै महत्त्वका छन् जसले जर्मनीको स्थिति र ग्रासको चिन्तनलाई विश्व सामु पस्कन्छन् । द डग ईयर्स पढ्दा पाठकले ‘आधुनिक जर्मनको इतिहास पढेको ठान्नेछन् जव कि उनीहरु युवाहरुको इतिहास र कुकुरको इतिहास पढिरहेका हुन्छन्’ भन्ने आशय व्यक्त गर्दछन् माइकल राटक्लिक ।

‘शनी’ नामक कविता ग्रासको दादावादी कविताको रुपमा प्रख्यात छ जसमा उनको अभिव्यक्ति यस्तो छ–

चुरोट तान्दै

मैले अँध्यारोमा पत्तो पाएँ

मानौं कसैले हात उठाएको छ

जसै म चुरोटको खरानी

झार्दछु ।

 

शनी रातमा आउँछ

र आफ्नो हात उठाउँछ

मेरो खरानीले

शनीले दाँत माझ्छ

उसका गिंजामा

हामी चढ्नेछौं ।

ग्रासले अनुभव नगरीकन म लेख्नै सक्दिनँ भन्ने आत्म स्वीकृति जनाएका कारण उनका उपन्यासहरुले आत्मकथासँग दाँजिनुपर्ने स्थितिको माग गर्दछन् । तर पनि आत्मकथा आत्मकथा हो, उपन्यास उपन्यास हो । उनको उपन्यास टिन ड्रमको सफल चलचित्र समेत बनेको छ ।

गुण्टर ग्रास नोबेल पुरस्कार पाउनुअघि पनि जर्मनीमा सम्मानित थिए नै । उनले पुरस्कार र सम्मान पनि प्राप्त गरेका थिए । ग्रुप–४७ पुरस्कार १९५८, कुखनर पुरस्कार १९६५, थियोडोर हाउस पुरस्कार १९६९ जस्ता पुरस्कारहरुमा प्रवचन दिने र वाचन गर्ने कार्य गरेका छन् । उनले अमेरिका लगायतका मुलुकमा समेत ग्राफिक कार्यको प्रदर्शनीको समेत आयोजना गरेका छन् ।

ठूलाठूला पुरस्कार पाएपछि र उच्च ओहदा पाएपछि लेखकहरु थारो पल्टिने गरेको विश्राम मुद्रामा लाग्ने गरेको कैयन् उदाहरण छन् । ग्रासले पुरस्कार पाएपछि रेडियोमा यसो भनेका थिए–‘म यो खबर सुन्न विगत २० वर्षदेखि प्रतीक्षामा थिएँ । यही आशाले मलाई जवान बनाइराखेको हो । अब मेरो बुढ्यौली सुरु भयो ।’

तर ग्रासको  लेखन यात्रालाई सूक्ष्मतापूर्वक अध्ययन गर्ने जो कोहीले पनि उनको लेखनमा बुढौली आउने होइन कि नवीन ऊर्जा सहितको परिपक्व जवानीको पुनरागमन भएको मानेका थिए ।

ग्रासको आत्मकथाको पुस्तक “पिलिङ द ओनियन” प्रकाशित भएपछि उनको दोस्रो विश्वयुध्दमा जर्मनीको युध्द अपराधको आरोप लागेको एसएससँगको उनको संलग्नतालाई लिएर चर्को आलोचना र विवाद भएको थियो । उनलाई दिइएको नोबेल पुरस्कार खोसिनु पर्ने सम्मको आवाज उठेको थियो तर पछि त्यो विवाद सेलायो ।

ग्रासको अन्ना सँगको वैवाहिक जीवन सन् १९७८ मा पारपाचुके गरेपछि टुङ्गियो । उनीहरुवाट ४ सन्तान भएका थिए । सन् १९७८ मा पारपाचुके भए पनि उनीहरु सन् १९७२ देखिनै अलग रहन थालेका थिए । यसरी अलग वस्न थालेपछि ग्रासको सम्वन्ध भेरोनिका नामकी महिलासँग  भयो र सन् १९७४ मा  उनीहरुबाट एउटा सन्तान भयो । सन् १९७९ मा ईन्ग्रिड क्रुगर सँगको साहचारयले पनि एक सन्तान भयो  । तर सन् १९७९ मा भने उनले उते ग्रुनर्टसँग विवाह गरे । उनले विहा गर्दा उतेका दुई सन्तान अर्थात् झड्केला छोराहरु पनि थिए ।

यो दोस्रो विवाह भने उनको मृत्यु हुने बेलासम्मै कायम रहेको थियो ।

गुण्टर ग्रास वयस्क भएपछिका सम्पूर्ण उमेर पाइप तानेर रमाए । यो धूमपान उनको ठूलो शौख र कमजोरी थियो । त्यसैले उनलाई फोक्सोको क्यान्सर भयो । त्यही क्यान्सरले उनलाई १३ अप्रिल २०१५ का दिन यो दुनियाँबाट लिएर गयो ।

उनको मृत्युको १२ दिनपछि २५ अप्रिलका दिन उनका पारिवारिक सदस्यहरुको उपस्थितिमा सन् १९९५ देखि उनी वस्दै आएको लुवेकबाट १५ माइल टाढा वेलेनडोर्फमा अन्त्येष्टि गरियो ।

१० मे का दिन उनको सम्झनामा लुवेक थियटरमा स्मृति सभाको आयोजना गरियो । त्यस स्मृतिसभामा जर्मन राष्ट्रपति जोचिम गाउक, पूर्व चान्सलर गेर्हार्ड श्रोडर, संघीय सांस्कृतिक कमिस्नर मोनिका ग्रुटर्स, गदान्सका मेयर पावेल आदामोविच लगायत उपस्थित थिए र श्रध्दान्जली अर्पण गरेका थिए भने अमेरिकी उपन्यासकार जोन इर्भिङले विशेष श्रध्दान्जली भाषण गरेका थिए । उनलाई त्यस अवसरमा जर्मनी र पोल्याण्ड वीच पुलको काम गर्ने र कहिल्यै सम्झौता नगर्ने उपन्यासकारको रुपमा प्रशंसा गरिएको थियो ।