गोबिन्द-गिरीको-साहित्य-निर्माता

गोबिन्द गिरीको साहित्य निर्माता

तीसको दशकमा साहित्यकार हुन मधुपर्क र रूपरेखामा छापिनुपर्छ भन्ने अघोषित मान्यता थियो । दुवै पत्रिका पाठकीय आकर्षणको शिखरमा थिए । मधुपर्क सरकारी प्रकाशन थियो, रूपरेखा निजी । तर दुवैमा प्रवेश पाउन सहज थिएन । ती पत्रिकामा प्रकाशित लेख रचना र नामको तौल हेर्दैखेरि रचना पठाउन आँट गर्न गाह्रो थियो । अरू पत्रपत्रिकामा रचनाहरू प्रकाशित गरेर पूर्ण अभ्यास गरेपछि सबैभन्दा राम्रो लागेको रचना ती पत्रिकामा पठाउने जमर्को गर्दथे किंवा गर्दथ्यौं त्यो दशकमा ।

गोरखापत्रको शनिबारीया र मधुपर्कको लेख रचना सम्पादन एकछत्र रूपमा केशवराज पिंडालीले गर्ने गर्दथे । तर किन हो कुन्नि ? उनी नयाँ पुस्ताका लेखक/कविलाई फुटेको आँखाले हेर्न रुचाउन्नथे । नयाँ लेखकका रचनालाई गोरखापत्र र मधुपर्कमा छिर्नै दिंदैनथे । त्यो उनको रवैयाले तरुण पुस्ताका लेखक/कविहरू उनीप्रति उग्र थिए । तर गर्नै के सकिन्थ्यो र ! राजाको सक्रिय शासन, पञ्चायतको जगजगीको बेला । सरकारी पत्रिका, मुर्मुरिनु र पिठ्यूपछाडि धारे हात लाएर गाली गर्नु र साँझ एकआपसमा बसेर सत्तोसराप गर्नुको विकल्प थिएन । एकाधपल्ट केही लेखकहरूको समूह डेलिगेसनको रूपमा गएको पनि सुनें मैले, तर त्यसले पनि केही काम गरेन ।

गोविन्द गिरी प्रेरणा

उनको सम्पादनकालमा नयाँ लेखकको रचना छापिएको एकै व्यक्ति मात्र थिए, केश पथिक । उनको कथा प्रकाशित भएको थियो अपवादको रूपमा । घटराज भट्टराईले लेखेका लेखकहरूको जीवनीमूलक लेख भने निरन्तर प्रकाशित हुन्थे । मधुपर्कका त्यसताकाका अङ्कहरू हेर्दा स्वनामधन्य लेखकका रचनाहरू नियमित देख्न पाइन्थे, योचाहिँ पाठकको लागि खुशी र प्रशन्नताकै विषय हुन्थ्यो ।

साप्ताहिक पत्रपत्रिकाहरू र नीजि क्षेत्रका साहित्यिक पत्रपत्रिकामा आफ्ना रचनाहरू प्रकाशित गरिसकेपछि एकदिन बडो हिम्मत गरेर आफ्ना कथा/कविता बोकेर गोरखापत्र संस्थानको माथिल्लो तलाको केशवराज पिंडाली बस्ने कोठामा पुगें । नमस्कार टक्र्याएँ । तिनी पान चपाउँदै आफ्ना दुवै खुट्टा टेवलमाथि राखेर बसिरहेका थिए । मेरो दस औंला जोरी नमस्कारको प्रतिक्रिया पुलुक्क मतिर हेर्नुसिवाय अरू केही भएन । मैले विनम्रतापूर्वक, “मैले रचना ल्याएको थिएँ प्रकाशनार्थ” भनें ।

उनले चिउँडो उठाएर भने, “छाडेर जानूस्, उपयुक्त भए छापिन्छ।”, उनको चिउँडोले टेबुलतिर इशारा गरेको थियो । मैले टेबुलमा रचना राखिदिएँ । अब त्यहाँ उभिइरहनुको कुनै तात्पर्य थिएन, मैले पुन: दस औंला जोडेर, “हस् त नमस्ते !” भनेँ |

मेरो यो बिदाई अभिवादनको उनले कुनै प्रत्युत्तर दिन आवश्यक ठानेनन् । उनको आँखा सामुन्नेको झ्यालबाहिरतिर थियो, मतिर थिएन । एकप्रकारको अपमान, ग्लानी लिएर म गोरखापत्रको कम्पाउण्डबाट बाहिरिएँ ।

मान्छेको जातै सायद आश गर्ने खालको हुन्छ कि क्या हो ! मैले निकै हप्ता गोरखापत्रको शनिबारीय अंक हरेक हप्ता भूगोल पार्कमा टाँसिएको ठाउँमा हेर्न गएँ, मेरो नाम र रचना कहिल्यै आएन । पछि आश मारें ।

त्यो त्यत्तिकै भो ।

अनि एक साल साहित्यिक पत्रिका निकाल्ने हुटहुटी जाग्यो, र गोरखापत्रकै कम्पोजिटर ज्ञानु सिंहले दर्ता गरेको “स्वदेश” पत्रिका लव गाउँले र म भएर निकाल्ने अठोट गर्यौं । ज्ञानुले पनि सहर्ष सहमति जनाए । शुरुवात “गाइजात्रा अङ्क”बाट गर्ने सल्लाह भयो र रचना को-कोसँग माग्ने भनेर लिस्ट बनाउन शुरु गरियो । पहिलो नम्बरमै केशवराज पिंडालीको नाम राखियो र रचना माग्न म जाने भएँ । योक्रममा उनीसँग हिमचिम होला र गोरखापत्रको प्रकाशनमा प्रवेश पनि पाइएला कि भन्ने पनि थियो । म फेरि पुगें गोरखापत्रको माथिल्लो तल्ला केशवराज पिंडालीको कोठामा । मेरो शिष्टाचार उस्तै थियो र उनको पनि उस्तै थियो, बदलिएको थिएन। मैले ‘गाइजात्रा अङ्क’का लागि रचना माग्न आएको बताएँ । उनले भने, “पैसा ल्याउनुभएको छ ? कति ल्याउनु भा’को छ । मलाई १०० रुपैयाँ चाहिन्छ एउटा लेखको । रेडियो नेपालले थोरै दिने भएकोले मैले त्यहाँ दिन छाडें ।”

उनको कुरा सुनेर म हक्क न बक्क भएँ । १०० रुपैयाँ २०३७ सालमा ठूलो कुरा थियो । गोरखापत्रले नै २५।३० रुपैयाँ पारिश्रमिक दिने जमानाको कुरा थियो ।

“१०० रुपैयाँ लिएर आउनोस् अनि दिउँला !”, उनले भने । म झस्किएँ र सुकेको ओठमुख लिएर कोठाबाहिर निस्किएँ । रचना मागेर सम्बन्ध बढाउँला भन्ने मेरो महत्वाकाँक्षामा तुषारोपात भइसकेको थियो। त्यसपछि म तेश्रोपल्ट उनको कोठामा जाने अवसर नै पाइनँ ।

केशवराज पिंडाली

एकदिन न्यूरोड पीपलवोटमा हल्ला आयो, केशवराज पिंडाली गोरखापत्रको सम्पादकबाट हटे । यो समाचार डडेलोझैं फैलियो र युवापुस्ताका लेखक/कविहरूले खुसीयाली नै मनाए । साँच्चै त्यसपछि मात्र युवा लेखकहरूको ठूलो जमातले गोरखापत्र संस्थानका प्रकाशनहरूमा निर्वाध प्रवेश पाए र एक किसिमको नयाँ लहर आयो, एउटा नयाँपुस्ताको औपचारिक र मान्यताप्राप्त उदय भयो ।

पत्रकारिताको सन्दर्भमा गोरखापत्रको सम्पादक पदमा जानुअघि उनले त्यसको पृष्ठभूमि नेपाल र कलकत्ताबाट बनाइसकेका थिए । केशवराज पिंडालीले आफ्नै सम्पादनमा २०१२ सालमा “विकास” साप्ताहिक तथा वि.सं. २०१८ तिर कलकत्ताबाट “नेपाल आव्हान” साप्ताहिक निकालेका थिए ।

केशवराज पिंडालीको रचनागत ख्याति “खै खै” ले चुल्याएको हो । त्यो उनको माष्टरपिस रचना थियो । साथीभाइमा ठट्टा गर्दै “खै खै” भन्ने चलनसमेत यसले ल्याएको थियो । एउटा लेखकको लागि यो गर्व र सन्तोषको विषय हो। यो कृति नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०१७ सालमा प्रकाशित गरेको थियो । यो कृति प्रकाशित भएको करिब एक दशक अवधिसम्म पनि उनको पहिचानको एक्लो सूचक यही “खै खै” नै भैरह्यो ।

२०२६ सालमा “एकादेशकी महारानी” प्रकाशित भएपछि यो उपन्यासले नेपाली पाठकको ध्यान तान्यो । साहित्यिक जगतमा एकप्रकारको खलबली नै मच्चाइदियो । किनभने यस किसिमको विषयवस्तुमा यसअघि कुनै उपन्यास लेखिएको थिएन । कतिपयले यस उपन्यासलाई केशवराज पिंडालीको आत्मकथात्मक उपन्यास हो भनेर पनि चर्चा गरे । यो चर्चालाई पिंडालीले भने इन्कार गरे, तर यो चर्चा हुनुका आधार भने बलिया नै थिए ।

केशवराज पिंडाली श्री ३ मोहन शम्शेरकी छोरीको प्राइवेट सेक्रेटरीको रूपमा राणाको दरवारमा काम गर्न पुगेका थिए । ती छोरीको विवाह भारतको उडिसामा भयो र विवाहपछि पिंडाली पनि उनको साथमै उडिसा पुगे । त्यो बसाईको अनुभव “एकादेशकी महारानी”को लागि आधारभूमि भयो । शाही नेपाल चलचित्र संस्थानले चलचित्र निर्माणका लागि कथा माग गरेको थियो । उनले “एकादेशकी महारानी” बुझाए । तर पछि यसलाई फिलिम बनाउने कुरा अघि बढेन । यसको सुटिंगका लागि भारत पनि जानु पर्ने, त्यसो गर्दा लागत बढ्ने भएकोले बरु अर्को कथाको लागि आग्रह गरियो र उनले नयाँ उपन्यास लेखे- “अन्तदेखि शुरू” । यस उपन्यासको आधारमा चलचित्र त बन्यो तर एउटा आक्षेप लाग्यो- यो फिलिम हिन्दीको ‘कोरा कागज’सँग मेल खान्छ भनेर । यसलाई पनि उनले इन्कार गरे ।

२०१७ सालको राजनैतिक सङ्कटपछि केशवराज पिंडाली काँग्रेसी नेताहरूका साथ भारतमा निर्वासनमा थिए । त्यो निर्वासन कालमा उनले काँग्रेस पार्टीको मुखपत्र “नेपाल आव्हान” सम्पादन गरेका थिए नेता कृष्णप्रसाद भट्टराईको साथमा । तर त्यसलाई ईन्दिरा गान्धीको सरकारले प्रकाशनमा प्रतिबन्ध लगाइदिएपछि त्यहीबेला उनले भारतमा निर्वासनको समयमा लेखेका थिए । अनि २०२६ सालमा नेपाल फर्कदा साथै लिएर आएका थिए र त्यसै साल साझा प्रकाशनबाट प्रकाशित भएको थियो । उनले त्यस उपन्यास आत्मकथात्मक भएको अस्वीकार गरे पनि र प्रमुख पात्र दीनानाथ उनै भएको चर्चा अस्वीकार गरे पनि सो उपन्यास ६० प्रतिशत कल्पना र ४० प्रतिशत तथ्यमा आधारित भएको भने स्वीकारेका छन्, मैले उनीसँग २०५० सालमा लिएको प्रत्यक्ष अन्तरवार्तामा ।

उनको “अन्त्यदेखि शुरु” उपन्यासको कथा पनि कुनै राणा प्रधानमन्त्रीको छोरीको जीवनगाथा भएको पनि आफैंले स्वीकारेका थिए ।

पछि उनले अरू २ वटा उपन्यास लेखे जसको पृष्ठभूमि विदेशको रहेको थियो । उनले गोरखापत्रबाट अवकास पाएपछि केही लामै समय आफ्ना छोराहरूसँग क्यानाडा र अमेरिकामा बिताएका थिए । उनका पछिल्ला उपन्यास त्यसै बसाईका अनुभवका उपलब्धी हुन् ।

२०२६ सालमा भारत निर्वासनबाट फर्किएपछि उनी कुखुरा पालेर बसे । प्रधानमन्त्री किर्तिनिधि विष्टसँग उनको राम्रो मित्रता थियो । एउटा लेखक, पत्रकार कुखुरा पालेर बसेको विष्टलाई जँचेन । उनले राजालाई बिन्ती गरे । उनको लागि उपयुक्त ठाउँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान हुन सक्थ्यो, तर त्यसको पुनर्गठन भैसकेकोले त्यहाँ मिल्ने अवस्था भएन र गोरखापत्र संस्थानमा साहित्यकै कामका लागि उनी नियुक्त भए, गोरखापत्रको शनिबारीया र मधुपर्क साहित्यिक मासिकको सम्पादनको जिम्मेवारीसहित । पछि गोरखापत्रबाट निवृत् भएपछि चाहिँ उनको संलग्नता पत्रकारितामा भयो ।

केशवराज पिंडालीले साप्ताहिक विमर्शसँग लामो समय सम्बद्ध रहे । सो पत्रिकालाई हरिहर विरही समूहले सञ्चालन गरेको थियो पछि, उनी निमित्त सम्पादक थिए र नियमित स्तम्भमात्र उनको प्रमुख जिम्मेवारी थियो । डिल्लीबजारको बाटुले घरको विमर्श कार्यालयको सम्पादकको कक्षमा उनी शोभायमान हुन्थे नियमित रूपमा । तर यही पत्रिकाले उनलाई सात महिना जेलको हावा खुवाइदियो ।

नेपाली राजनीतिमा पञ्चायतकालमा रसियाली कम्युनिष्टप्रति झुकाव भएका मकवानपुर जिल्लाका राजनितिज्ञ रूपचन्द विष्ट, उनले बोल्ने शैली र भाषाको तिख्करता र अर्ध अमूर्तताले गर्दा चर्चित थिए । उनी कवितात्मक शैलीमा पर्चा लेख्थे र त्यो पर्चा बेची हिंड्थे । पर्चामा लेखिएका कविताजस्ता लाग्ने उनको मौलिक शैलीका अभिव्यक्तिलाई उनले कविता भनेर बिभिन्न पत्रपत्रिकाले प्रकाशित पनि गर्दथे । त्यसै क्रममा उनको  “होशियार” शीर्षकको विद्रोही अभिव्यक्ति कविताका रूपमा विमर्शमा छापियो । त्यही कविताका कारण दशैंको मुखमा उनलाई आफ्नो घरबाटै गिरफ्तार गरियो । शुरुमा २ हप्ता हनुमान ढोकामा प्रहरी हिरासतमा सहित उनी सात महिना जेल परे ।

यो बेग्लै कुरा हो, ‘मेरो कविता छाप्नेलाई किन जेल हालेको, लेख्ने म हुँ, मलाई जेल हाल’, भनेर रूपचन्द विष्टले सरकारसित आक्रोश व्यक्त गरेपछि उनलाई पनि जेल हालियो, तर उनलाई जेल हाले पनि केशवराज पिंडालीलाई तत्कालै छोडिएन । जेलको बसाइको क्रममा उनले खासै केही पनि लेखेनन् । तर जेलबाट मुक्त भएपछि भने उनले आफ्नो स्तम्भमा जेलका अनुभव र अनुभूतिलाई प्रशस्त लेखे, झण्डै एउटा पुस्तक नै निकाल्न पुग्ने जति सङ्ख्यामा ।

केशवराज पिंडालीको “गोदिप्रसाद वदेहाम” शीर्षकको एउटा व्यंग्य लेख निकै चर्चित भयो । साहित्य जगतमा त्यो जन-जनले बात मार्ने विषय बन्यो । कारण थियो, उनले त्यो व्यंग्य लैनसिहं वाङ्देललाई लिएर लेखेका थिए । त्यसको खुलासा समालोचक डा.तारानाथ शर्माले गरिदिएपछि त्यो निबन्ध खोजीखोजि पढिएको थियो ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा जाने पिंडालीको मनसुवा र ठूलो धोको थियो । तर परिस्थितिवश उनलाई त्यो जुरेन । त्यसैले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू र प्राज्ञहरूलाई उनी बेलाबेलामा चिथोरिरहन्धे, कोपरिरहन्थे, व्यंग्यको माध्यमले । आफ्नो लेखनका लागि राष्ट्रिय रूपमा त्रिभुवन प्रज्ञा पुरस्कार, बालचन्द्र पुरस्कार, वेदनीधि पुरस्कार, भैरव पुरस्कार, वासुदेव लुईंटेल पुरस्कार लगायतका पुरस्कार प्राप्त गरेका थिए । तर अच्युतरमण अधिकारीले आफ्नो सम्पादन/प्रकाशनमा प्रकाशित हुने “उन्नयन” पत्रिकाको एउटा बृहत् विशेषाङ्क जुन निकाले उनको सम्मानमा, त्यो विभिन्न कोण र दृष्टिकोणबाट निकै महत्वपूर्ण थियो । त्यो विशेषाङ्कको विमोचन पनि निकै भव्यताकासाथ सम्पन्न गरिएको थियो । जनस्तरबाट गरिएको यो उनको जीवनकालको निकै ठूलो सम्मान थियो । यो सम्मानले उनी निकै खुशी भएका थिए ।

उनी ‘बिकारका लागि म काँचो पिंडालु हुँ, कोक्याउँछु, अविकारका लागि म पाकेको पिंडालु हुँ’ भन्ने गर्थे । साँचो अर्थमा उनको व्यंग्य लेखन काँचो पिंडालु थियो भने उपन्यासहरूचाहिँ पाकेको पिंडालु । उनको यो स्वभाव जीवनपर्यन्त रह्यो ।

खासमा केशवराज पिंडालीका नाममा प्रख्यात भए पनि उनको औपचारिक नाम थर केशवप्रसाद लामिछाने थियो । उनी कृष्णराज लामिछानेका सुपुत्रका रूपमा वि=सं १९७१ माघ १६ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मेका थिए । तर उनको पुर्ख्यौली धादिङका पिंडा भन्ने ठाउँका भएकाले उनले आफ्नो नाममा थरको साटो पिंडाली राखेका थिए। जीवनको उत्तरार्धमा उनलाई प्रोस्टेट क्यान्सर भएको थियो र उनी वि.सं २०५५ साल जेठ २६ गते परलोक भए ।

केशवराज पिंडालीका दुई छोरा र एक छोरी भए पनि उनको साहित्यिक बिंडो उनकी छोरी कुन्दन शर्माले थामिन् कवियित्रीको रूपमा, जो २०१७ सालमा पञ्चायतको विरुद्ध निक्लेको जुलुसमा सामेल भएकी थिइन् । उनको विवाह भारतको दिल्लीमा भएकोले उनको नेपाली भाषाको लेखन उनको क्षमता अनुसार अघि बढ्न सकेन, तथापि एउटा कवितासङ्ग्रह भने साझा प्रकाशनबाट प्रकाशित भएको छ ।

२ जुलाई २०२०, बृन्दावन, भारत ।