नेपाली आधुनिक साहित्यको इतिहासमा साहित्यिक पत्रिका रुपरेखाले पुर्‍याएको योगदान विशेष छ, विशिष्ट छ र ऐतिहासिक छ । यो बनाउने श्रेय साहित्यकार तथा साहित्यिक पत्रकार उत्तम कुँवरलाई जान्छ । रुपरेखाले यौटा साहित्यिक युग नै निर्माण गरेको थियो । गैर सरकारी क्षेत्रबाट निस्कने यो पत्रिकाले यौटा साहित्यिक युग निर्माण गर्नु चानचुने कुरा होइन । यसरी साहित्यिक युग निर्माण गर्ने रुपरेखा नै अन्तिम साहित्यिक पत्रिका थियो । त्यसपछि युग निर्माण गर्ने कुनै साहित्यिक पत्रिका नेपालमा देखिएको छैन ।
रुपरेखाका सम्पादक थिए, उत्तम कुँवर । तर उनको एकल सम्पादनमा निस्केको रुपरेखाले रुपरेखा युग निर्माण गरेको भने पक्कै होइन । उत्तम कुँवर र वालमुकुन्ददेव पाण्डेको संयुक्त सम्पादकत्वमा रुपरेखाले साहित्यिक युगको निर्माण गरेको थियो । तर वालमुकुन्ददेव पाण्डे आन्तरिक व्यवस्थापनमा र उत्तम कुँवर वाह्य व्यवस्थापनमा भएकाले बढी चिनिने, बढी हिमचिम हुने हुनाले उत्तम कुँवर नै बढी चिनिए, जानिए, मानिए ।
अर्को चाखलाग्दो कुरा के पनि छ भने, रुपरेखा पत्रिकाको सम्पादन प्रकाशन उत्तम कुँवर र वाल मुकुन्ददेवले थालेका थिएनन् । चलेकै पत्रिका उनीहरुले अघि बढाएका थिए । पछिपछि त रुपरेखा भन्नेबित्तिकै उत्तम कुँवर र वालमुकुन्ददेवको भन्ने मात्र ठान्न थालियो, कतिले उत्तम कुँवरको मात्र ठान्न थाले ।
नेपाली साहित्यका बिशिष्ट प्रतिभाहरु मोहन कोइराला, ध्रुवचन्द्र गौतम र पारिजात एक प्रकारले रुपरेखाकै उपज हुन् । रुपरेखाले नै उनीहरुलाई अविछिन्न र निशर्त स्थान दिएर आजका विशिष्ट प्रतिभामा गनिएका हुन् । यी प्रतिभाहरुको लक्षण चिन्ने खुवी उत्तम कुँवरमा थियो ।
सम्पर्क स्थापित गर्न, सम्बन्ध सुमधुर बनाउन र श्रोत जुटाउन उत्तम माहिर थिए । प्रतिभावान नेपाली लेखकका घरघरमा पुग्दथे उनी । लेख रचना जुटाउँथे । स्तम्भ लेखाउँथे । उनको सम्बन्धको तानाबाना साधारण हैसियतका लेखकदेखि राजदरबारसम्म विस्तारित थियो । शौखिन लेखक शंकर लामिछाने, आर्थिक अवस्था कमजोर भएका मोहन कोइराला र पारिजात, सीमापारिका शिखर पुरुष ईन्द्रबहादुर राई सबैलाई उनले आ-आफ्नै किसिमले व्यवहार मिलाएर नजिक राखेका थिए । केदारमान व्यथितसँग उनको आफ्नै प्रकारको सम्बन्ध थियो भने उदाउँदै गरेका मीनबहादुर विष्टलाई उनले ह्वात्तै रुपरेखाको रङ्गमञ्चमा स्थान दिएर छोटो समयमा चर्चाको शिखरमा पुर्‍याइदिएका थिए ।
उत्तम कुँवर कम लेख्तथे तर उनको लेखनमा बेग्लै विशेषता थियो, विशिष्ट शैली थियो । उनी रुपरेखामै अनुभव र अनुभूति स्तम्भमा लेख्तथे ।
उनले अन्तरवार्ताको यौटा यस्तो सङ्ग्रह तयार गरे, जसले नेपाली साहित्यमा कोशेढुङ्गाको काम गर्यो । “स्रष्टा र साहित्य” नामक नेपाली स्रष्टाहरुसँगको अन्तरवार्ताको पुस्तक जब बजारमा आयो, त्यसले व्यापक चर्चा परिचर्चा पायो । त्यति मात्र नभई मदन पुरस्कार पाएपछि साहित्यमा अन्तरवार्ता विधाले पनि मान्यता पाएको अनुभव गरे नेपाली साहित्यकारहरुले । अन्तरवार्ताका सम्वादहरुलाई उत्तम कुँवरीय शैलीमा ढालेर प्रस्तुत गर्दा परम्परागत अन्तरवार्ताको प्रश्नोत्तर शैलीलाई विस्थापन गर्न खोजेको भान पर्दथ्यो । यो पुस्तकको लोकप्रियता र विषयगत विविधता एवम् रोचकताले पाठकहरुलाई मात्र आकर्षण गरेन, विश्वविद्यालयको सहयोगी सामग्रीको रुपमा पनि मान्यता पायो र थप व्याप्ति पायो ।
यता रुपरेखाको उत्कर्ष भने २०० अङ्कमा देखा पर्‍यो । यस अङ्कमा राजा वीरेन्द्रसँग रुपरेखाका लागि नेपाली भाषा साहित्यका विषयमा लिइएको लिखित अन्तरवार्ता प्रकाशित भएको थियो । त्यो आफैँमा यौटा महत्त्वपूर्ण घटना थियो । यस अन्तरवार्तालाई नेपालका त्यतिखेरका सञ्चार माध्यमहरु रेडियो नेपाल र गोरखापत्रले प्रमुख समाचारको रुपमा प्रकाशन एवम् प्रशारण गरेका थिए । यही अङ्कमा रुपरेखा युगको विषद् चर्चा भएको थियो । रुपरेखाले बनाएको युगका कथा, कविता, उपन्यासको चर्चा गरिएको थियो । नेपाली भाषाका सवैजसो प्रमुख विद्वानहरुका विशिष्ट रचनाहरु सो २०० औं अङ्कमा प्रकाशित गरिएको थियो । यो नेपाली वाङ्मयकै यौटा दुर्लभ उपलब्धिका रुपमा चर्चा गरिएको प्रकाशन थियो । यो सबको मुख्य डिजाइनर उत्तम कुँवर नै थिए ।
यस अङ्कमा देशका प्राय: सबै प्रमुख उद्योग व्यवसायको परिचयात्मक विज्ञापन प्रकाशित भएको थियो र निकै मोटो रकम सङ्कलन भएको भन्ने साहित्यिक जगतमा कोठगफको विषय बनेको थियो ।
यो अङ्कले एकातिर साहित्यिक विशेषाङ्कको कीर्तिमान राख्न र राष्ट्रिय चर्चा पाउन सफल भयो भने यसै अङ्कको कारण लामो समयदेखि सामूहिक सम्पादनमा रहेको रुपरेखामा आन्तरिक विग्रह देखियो । रुपरेखाबाट वालमुकुन्ददेव पाण्डे अलग भए र रुपरेखा उत्तम कुँवरको एकलौटी सम्पादनमा निस्कन थाल्यो । किशोर कुँवर सहायकको रुपमा देखा परे ।
उत्तम कुँवर कट्टु लाएर काठमाडौं प्रवेश गरेको आफैँले लेखेका थिए । तिनै व्यक्ति मैजुवहालमा आलिसान महलका मालिक बने र गाडी चढ्ने साहित्यिक पत्रकार भए । यो पनि काठमाडौंको साहित्यिक वृत्तमा तातो तातो विषय बन्यो गफाडीहरुका लागि । उनले पुरानो भक्स वेगन किनेका थिए र आफैं चलाउँथे । एकपल्ट त्रिपुरेश्वरमा तत्कालीन त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयको अगाडि आफ्नै कम्पाउण्डमा लगाएको मकै कसैलाई कोशेली दिनका लागि आएका थिए र मसँग जम्काभेट भएको थियो, म त्यही केन्द्रीय कार्यालयमा काम गर्थें एकाउण्टेण्टको रुपमा । उनले “पोलेको मकै खान मेरो घर आउनुस् न है” भनेर खुल्ला निम्तो पनि दिएका थिए, तर उनको जीवन कालमा त्यो पूरा हुन सकेन ।
रुपरेखाले लेखकसँग गर्ने समताको व्यवहार पत्याउनै नसकिने देखिन्थ्यो । यसको सम्पूर्ण श्रेय उत्तम कुँवरलाई जान्छ । हो, केही लेखक भने रुपरेखाले लेखकलाई पारिश्रमिक दिंदैन भनेर पिठ्यूँ पछाडि कुरा नकाट्ने होइनन् । तर पारिश्रमिकको विषयमा उत्तम कुँवरको आफ्नै किसिमको सोच र मान्यता थियो । तर लेखकलाई फकाई-फुल्याई लेखाउन लगाउने, राम्रा र विशिष्ट लेखकहरुलाई निरन्तर सम्पर्कमा रहेर तथा आवश्यकताअनुसार आर्थिक लगायत विभिन्न सहयोग घरमै पुर्‍याएर पनि खुशी र सन्तुष्ट तुल्याउँथे । तर लेखनको मामलामा उनी लेखकीय स्वतन्त्रता हनन नहोस् भनेर सदा सचेत हुन्थे । त्यो रुपरेखा युगमा नाम र पारिश्रमिकका लागि मधुपर्क, नामका लागि र स्वतन्त्र लेखनका लागि रुपरेखा भन्ने आहानै चलेको थियो । लेखकमा दरिन मधुपर्क र रुपरेखामा छापिनु आवश्यक न्यूनतम योग्यता झैं मानिन्थ्यो अघोषित र अनौपचारिक रुपमा । तर राजाको प्रत्यक्ष शासन काल, सरकारी संस्थानबाट प्रकाशित हुने मधुपर्कका आफ्नै प्रकारका सीमाहरु थिए, बन्देजहरु थिए । तर रुपरेखा ती सबबाट मुक्त थियो, यद्यपि अन्चलाधीशको कार्यालयबाट पास नभई बजारमा बिक्री वितरणका लागि लैजान मिल्दैनथ्यो । तर पनि निजी क्षेत्रको रुपरेखा भने अलि खुकुलो नै थियो यस मामलामा ।
रुपरेखामा प्रकाशित रचनाहरुको बारेमा तिखो आलोचना, चोरीका आरोप आदि आए भने पनि उत्तम कुँवरले तिनलाई सम्मानपूर्वक ठाउँ दिन्थे । आफूले काखी च्यापेको लेखक भनेर छूट दिँदैनथे । तर उनले यस मामलामा मूल लेखकलाई आफ्नो स्पष्टीकरणको मौका भने राम्रोसँग दिन्थे । आरोप छापेर महिनौं हल्लीखल्ली भएपछि बल्ल अर्को महिनामा स्पष्टीकरण प्रकाशन हुँदा मूल लेखकलाई निकै क्षति हुनु स्वाभाविक हो । उनी त्यस्तो अवस्था आउन नदिन सचेत हुन्थे । त्यस्तो चिट्ठी आएपछि मूल लेखकको निवासमै गएर त्यो चिट्ठी दिन्थे र आरोप र स्पष्टीकरण एक साथ प्रकाशित गरिदिन्थे । शंकर लामिछानेलाई कुमुदिनी नामक छद्मनामबाट चोरीको आरोप लाग्यो । शंकरले त्यो आरोप स्वीकारे र साहित्यबाट संन्यास लिने घोषणा नै गरिदिए । पारिजातलाई विकास देवकोटा विराटनगरको छद्मनामबाट आरोप र तीव्र आलोचना आयो, पारिजातले त्यसको खुलस्त स्पष्टीकरण दिइन् । आयामको बारेमा अभि सुबेदी र ईन्द्रबहादुर राईको बौध्दिक बहस अर्को महत्त्वपूर्ण र चाखलाग्दो प्रसङ्ग थियो ।
२०३४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले देशव्यापि साहित्य सम्मेलन आयोजना गरेको थियो । त्यस सम्मेलनका लागि हरेक अञ्चलबाट २।२ प्रतिनिधिले प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको थियो । वागमती अञ्चलबाट प्रतिनिधित्व गर्ने २ प्रतिनिधिमध्ये उनी एक थिए ।
उत्तम कुँवरको साहित्यकारहरुसँग मात्र होइन, साहित्यिक संघसंस्थाहरु, प्रकाशन संघसंस्थाहरुसँग पनि राम्रो सम्बन्ध र उठबस थियो । उनी राम्रा र मनले खाएका साहित्यकारहरुका कृतिहरु प्रकाशनका लागि साझा प्रकाशनका महाप्रबन्धक कृष्णचन्द्र सिंह प्रधानलाई सिफारिस गर्ने गर्दथे । नेपाली साहित्यकै कीर्तिमानी दुर्बोध्य उपन्यास “बालुवामाथि” (ध्रुवचन्द्र गौतम) उत्तम कुँवरकै सिफारिसमा कृष्णचन्द्र सिंहले साझा प्रकाशनबाट प्रकाशित गराइदिएका थिए । तर त्यो उपन्यासले अपेक्षित पाठकीय माया पाउन सकेन । बिक्री पनि खासै नहुने कृति भयो । त्यसले कृष्णचन्द्रलाई हच्काइदिएको थियो । उनले पिटर जे. कार्थकको उपन्यास पनि प्रकाशनलाई सिफारिस गरे । त्यतिबेला कृष्णचन्द्रले हाँस्दै सोधेका थिए, “बालुवामाथि” जस्तो त होइन ?” उत्तमले “होइन, यो कृति गज्जबको छ” भनेका थिए । हुन पनि पिटर जे. कार्थकको उपन्यास “प्रत्येक ठाउँ प्रत्येक मान्छे” नेपाली उपन्यास जगतमा नौलो शैली, शिल्प र प्रस्तुतिमा दार्जिलिङको कथा बोकेर आएको थियो । अझ यस उपन्यासमा शङ्कर लामिछानेको भूमिकाले सुनमा सुगन्ध थपेको थियो । यो उपन्यासले पाठक, अध्येता सबको माया पायो । चर्चित भयो । राम्रो बिक्री भयो र साझा पुरस्कार समेत पायो । तर यसको जगमा उत्तम कुँवर थिए, जसको सिफारिसमा यो उपन्यास साझा प्रकाशनबाट प्रकाशन हुन सम्भव भएको थियो ।
उत्तम कुँवर रुपरेखालाई आफ्नो सन्तान भन्ने गर्थे । आफू मरे रुपरेखा टुहुरो होला भनी भावुक हुन्थे र सन्ध्याकालीन रसपानको बेला त भावुक मात्र होइन अति भावुक भएर रोइदिन बेर मान्दैनथे । उनले कमल दीक्षितवाट प्राणायाम गर्न सिकेको बताउने गर्थे र त्यसैले उनलाई बचाएको बताउने गर्थे । उनको प्रमुखताको केन्द्रबिन्दुमा सधैं रुपरेखा हुन्थ्यो । उनी पूर्ण रुपले रुपरेखामै समर्पित थिए ।
रुपरेखाको आफ्नै प्रेस थियो, रुपायन प्रेस । ढोका टोलको त्यो प्रेस साहित्यकारहरुको मिलनस्थल पनि थियो । पुरानो घरको छिंडीमा भएको प्रेसको होचो भुईंतलामा लेखकहरु पुग्दथे । साँझ कहिलेकाहीं रसपानको कार्यक्रम पनि हुने गर्थ्यो । रुपरेखा सामान्य विज्ञापन र ग्राहकशुल्कबाट चलेको थियो । कुनै विशेषाङ्कमा अलिक विज्ञापन आउनु र वचत हुनु एउटा कुरा थियो, नत्र पत्रिकाको कमाइले पत्रिका धान्न गाह्रो नै हुन्थ्यो । तर औरसपुत्र झैं मानेको रुपरेखालाई स्रोत जुटाउन विभिन्न उपायको खोजीमा उत्तमको दिमाग दौडिरहन्थ्यो । उनले आर्थिक स्रोत जुटाउन “रुपरेखा” संगीतको आयोजना गरे । कलाकारहरुसँग पनि राम्रो सम्पर्क भएकाले “रुपरेखा संगीत” भव्य रुपमा सम्पन्न भयो । म पनि रुपरेखा सङ्गीत हेर्न गएको थिएँ । राष्ट्रिय सभागृहको खचाखच हलमा “रुपरेखा संगीत”को कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।
उत्तम कुँवरले नेपाली साहित्यिक पत्रपत्रिकाको ऐतिहासिक परिचयको निबन्धालेखमा शारदा पत्रिकालाई पिता, प्रगतिलाई पुत्र र रुपरेखालाई नातिको रुपमा मान्न सकिने भावना व्यक्त गरेका थिए । साँच्चै नै रुपरेखाले आफ्नो जीवनकालमा यौटा साहित्यिक युगको निर्माण गर्‍यो र त्यो उनको मनसायलाई मूर्तरुप पनि दियो । तर दु:खको कुरा रुपरेखा युगपछि साहित्यिक पत्रिकाले युग निर्माण गर्न सक्षम भएनन् । महत्त्वपूर्ण साहित्यिक पत्रपत्रिकाको प्रकाशन भए पनि युग निर्माता भने कुनै पनि बन्न सकेनन् । साहित्यिक पत्रिकाको तर्फबाट उत्तम कुँवरले निर्माण गरेको युग नै अन्तिम युग थियो ।
जब उत्तम कुँवरले बेलाबखत रुपरेखामा लेख्ने गरेको स्तम्भका तथा अन्य आलेखहरुको सङ्ग्रह “अनुभव र अनुभूति” पुस्तक प्रकाशित भयो, पुस्तकको सन्दर्भ बाहिर गएर केही तीता र तीखा टिप्पणी गरिए । एउटा त्यस्तो टिप्पणी डा.तारानाथ शर्माले गरेका थिए गोरखापत्रमा । उनले गरेको टिप्पणीले उत्तम कुँवरलाई मर्माहत पारेको थियो । अनि त्यो टिप्पणीको काउण्टर टिप्पणी ईश्वरवल्लभले गोरखापत्रमै लेखे । तर उनको अमूर्त लेखाई सामान्य पाठकले बुझ्ने खालकै थिएन र प्रतिटिप्पणी जस्तो देखिएन पनि । यही किताबको यस्तै अन्तरद्वन्द्वका बीच २०३९ साल साउन १५ का दिन आफ्नै घरको शौचालयमा अचानक हृदयाघात भएर उनको निधन भयो । नेपाली साहित्य जगतले रुपरेखा युग निर्माण गर्ने साहित्यिक पत्रकार तथा निबन्धकार उत्तम कुँवरलाई असमयमै गुमायो ।