गोविन्द गिरी प्रेरणा
चित्र: कृष्ण मर्सानी
सन् १९८६ को साहित्यतर्फका नोबेल पुरस्कार विजेता वोले सोयिन्का यस्ता नाइजेरियाली साहित्यकार हुन्, जसले आफ्नो जीवनका अमूल्य वर्षहरू जेलमा बिताए, निर्वासनमा बिताए र चेतावनीहरू खप्दै बिताए तर अफ्नो विचारमा दृढ, लेखनमा इमान्दार र प्रतिबद्ध सोयिन्का पेशाले प्रोफेसर छन् र आफ्नो वैचारिकतालाई मलजल गर्न दृढ छन् ।
स्यामुवनल आयोडेल र ग्रास एनिभोला सोयिन्काका दोस्रो सन्तानका रुपमा १३ जुलाई १९३४ मा जन्मेका सोयिन्काले आफ्नो बाल्यकाल पश्चिमी नाइजेरियाको आवेहोकुटामा बिताएका हुन् । उनका मातापिता योरुवा जातिका हुन् । उनका पिता सेन्ट पिटर्स प्राइमरी विद्यालयका प्रधानाध्यापक थिए ।
सुरुमा आफ्नै पिता प्रधानाध्यापक भएको स्कुलमै वोले सोयिन्काले शिक्षारम्भ गरे । त्यसपछि उनले एक वर्ष आवेहोकुटा ग्रामर स्कुलमा बिताए । तत्पश्चात् उनी इवादान सरकारी कलेजमा दाखिला भए । यिनै वर्षहरूमा उनले घरेलु नाटकहरू लेख्ने गर्न थाले र पुरस्कारहरू हात पार्न थाले । स्कुले शिक्षा पूरा गरेपछि उनले सन् १९५० मा राजधानी लागोसमा यौटा क्लर्कको रुपमा काम गर्न थाले ।
भर्खरै स्थापना भएको विश्वविद्यालय कलेजमा वोले सोयिन्काले सन् १९५२ मा प्रवेश गरे । उनले त्यहाँ अङ्ग्रेजी, ग्रिक र इतिहासको अधययनमा आफूलाई एकोहोर्याए । उनले अध्ययनक्रममै द पिराट्स नामक संस्था खोले तथा विद्यार्थी समूहको प्रकाशन ‘द इगल’ को पनि सम्पादन गरे । त्यसपछि सन् १९५४ मा बेलायतको लिड्स विश्वविद्यालयमा थप अध्ययनका लागि प्रस्थान गरे । यसबीच पनि उनको लेखन यात्रा भने चली नै रह्यो ।
सन् १९५७ मा अनर्स डिग्री प्राप्त गर्न सफल भएपछि उनले एम.ए. को तयारी गर्न थाले तर उनको मन भने पढाइको साथसाथै अझ भनौं पढाइमा भन्दा ज्यादा लेखनप्रति अभिमुख भयो । यसै समयमा उनका दुई महत्त्वपूर्ण नाटकहरु लेखिए । त्यस्तै सन् १९६० मा अरु दुई वटा रेडियो नाटकहरू लेखे ।
यौटा सर्जकको सही काम भनेको समाजमा मूल्य र मान्यतालाई समसामयिक परिप्रेक्ष्यमा तस्वीर बनाउनु हो । मूलतः कवि र नाटककारको रुपमा ख्यातिप्राप्त तथा उपन्यासमा पनि सिद्धहस्त प्रमाणित वोले सोयिन्का जीवनका क्रूर यथार्थलाई शब्दवाणी दिने मात्र होइन, नाटकहरुलाई रङ्गमञ्चसम्म पुर्याएर दर्शकको हृदयलाई जित्ने कामसमेत गर्दछन् ।
वोल सोयिन्का राजनीतिमा सकृय रहँदा सन् १९६५ मा उनले पश्चिमी नाइजेरिया ब्रोडकाष्टिङ सर्भिसको स्टुडियो नै कब्जा गरेका थिए र पश्चिमी नाइजेरियाको क्षेत्रीय निर्वाचन रद्द गर्ने माग गरेका थिए ।
सन् १९६७ मा नाइजेरियाको गृहयुध्दको बेला जनर; याकुवु गोओनको संघीय सरकारले उनलाई पक्राउ गरेको थियो र उनलाई दुई वर्षको कठोर काराबासको सजाय भएको थियो ।
उनी जेलमै भए पनि सन् १९६७ सेप्टम्बमा उनको नाटक ” द लायन एण्ड द ज्वेवेल” आक्रामा प्रदर्शन भएको थियो । नोभेम्बरमा ” द ट्रायल्स अफ ब्रदर जेरो ” र ” द स्ट्रोङ ब्रीड” न्यूयोर्क शहरको ग्रीनवीच मिउजमा प्रदर्शन भएको थियो ।
सोयिन्काले जेलमा रहँदा नाइजेरिया सरकारको विरोधमा कविता र प्रशस्त लेखहरू लेखे र प्रकाशन गरे ।
उनी जेलमै रहेको बेला न्यूयोर्कको निग्रो इन्सेम्वल कम्पनीले उनको ” कोन्गीज हार्भेष्ट” सन् १०६८ मा प्रदर्शन गर्यो ।
सन् १९६९ मा गृहयुध्दको समाप्तिसँगै उनको रिहाई भएको थियो । जेलबाट मुक्त भएपछि उनको “पोयम्स फ्रम प्रिजन” कविता सङग्रह प्रकाशन भयो ।
वोले सोयिन्कालाई सन् १९८६ को साहित्यतर्फको नोबेल पुरस्कार कवितात्मक ढङ्गले नाटकको अस्तित्व जोगाएर साँस्कृतिक पक्ष उजागर गरेवापत भन्ने विशेषणसहित नोबेल कमिटीले पुरस्कार गर्ने निर्णय गरेको हो ।
सोयन्काका नाटकहरूमा पश्चिमी तत्त्वलाई अत्यन्त कुशलतापूर्वक प्रयोग गरिएको हुन्छ । उनका यी नाटकहरुको जरो चाहिँ योरुवा परम्परासँग गाँसिएको पाइन्छ । प्रतीकवाद पनि उनका नाटकहरूको यौटा गुण र विशेषता हो ।
सन् १९८२ मा प्रकाशित ‘एके’ मा उनले जीवनको प्रथम साढे एघार वर्षका सम्झनाहरूलाई आत्मसंस्मरणका रुपमा प्रस्तुत गरेका छन् । यसपछिका संस्मरणलाई पनि उनले क्रमागत रुपमा आत्मसंस्मरण शृङ्खलाबद्ध रुपमा प्रकाशित गरेका छन् ।
उनका हालसम्म नोबेल पुरस्कार प्राप्त भएपछि तपाईंको जीवनमा कस्तो प्रभाव पार्यो भन्दा सोयिन्का भन्छन्– नोबेल पुरस्कारले मेरो जीवनमा परिवर्तन नै ल्यायो भनेर त म भन्दिनँ । तर यसको रकमले भने राम्रै मद्दत गर्यो, जीवनका आवश्यकतालाई पूर्ति गर्न ।
अफ्रिकी संसार सदा कुनै न कुनै राजनीतिक समस्याले ग्रसित पाइन्छ । यस्तो अवस्थामा कुनै पनि सचेत लेखकले त्यसबाट विमुख हुन मिल्दैन । सबैजसो अफ्रिकी लेखकहरुको नियति यही हो । यस्तो अवस्थामा सरकारविरोधी लेखक हुनु भनेको जोखिम निम्त्याउनु हो । यस्तो जोखिम वोले सोयिन्काले पनि उठाएका छन् । सन् १९९६ मा नाइजेरियामा यौटा पोस्टर निकालियो, जसमा लेखिएको थियो–अराजक प्रोफेसर सोयिन्का र तिम्रा मतियारहरू हो ! यो आँधीमा तिमी कुद्न त सक्छौ तर भाग्न, लुक्न भने सक्ने छैनौ ! यस्तो प्रकारको चेतावनी प्रतिबध्द राष्ट्रवादीहरुले दिएका थिए ।
सोयिन्काको वैवाहिक जीवन खासै स्थिर रहेन । उनको २ वटा विवाह पारपाचुकेमा टुङ्गियो । पहिलो विवाह बेलायती लेखिका वार्वरा डिक्सनसँग भएको थियो जुन मुस्किलले ५ वर्ष टिक्यो । उनीहरूबाट यौटा छोरा जन्मिएको थियो । उनले सन् १९६३ मा दोश्रो बिहे गरे नाइजेरियाकी पुस्तकालयाध्यक्ष ओलाइडे ईडोउसँग । उनीहरूबाट ३ छोरीहरू र एक छोरा भएका थिए, जसमध्ये एक छोरीको मृत्यु भएको थियो ।
सन् १९८९ मा उनले तेस्रो बिहे गरे फोलाके डोहेर्टीसँग जुन आजपर्यन्त सफल देखिएको छ । उनले सन् २०१४ मा प्रोष्टेट क्यान्सरसँग जुध्नुपर्यो, तर उनले त्यसलाई पराजित गरे ।
उनको हालसम्म ३० नाटक, ३ उपन्यास, ३ कथा सङ्ग्रह, ५ संस्मरण तथा आत्मकथा, ८ कविता सङ्ग्रह, १४ निबन्ध कृतिहरु प्रकाशित छन् । उनको लेखनमा आधारित तीन फिल्म बनेका छन् ।
सोयिन्का भन्ने गर्छन्-“स्वतन्त्रताको लागि सबैभन्दा ठूलो चुनौती भनेको आलोचनाको अभाव हो ।” यो नै उनको जीवनको र लेखनको मूलमन्त्र हो ।
एउटा लेखक नैतिकतामा बाँच्छ । एउटा लेखक वैचारिक प्रतिबध्दतामा बाँच्छ । एउटा लेखक आफ्नो अद्वितीय लेखनमा बाँच्छ । एउटा लेखक निरन्तर संघर्षमा बाँच्छ । एउटा लेखक समर्पणमा बाँच्छ– लेखकीय समर्पणमा यौटा लेखकलाई बचाउने उसको आफ्नै क्रियाकलापले हो । नोबेल पुरस्कार पाउनुअघि पनि वोले सोयिन्का एक प्रतिष्ठित लेखक कवि नाटककारका रुपमा ख्यातिप्राप्त भइसकेका थिए । नोबेल पुरस्कारले उनको लेखन यात्राको फैलावटलाई अझ बनाइदियो, ख्यातिलाई व्याप्ति दियो ।
उनको व्याप्ति र ख्यातिको यात्रा जारी छ ।
परदेशी !
तिमीले प्रस्थान गर्नैपर्छ
झिसमिसेमै
म विश्वास दिलाउँछु
भालेको डाँक
साइतको सङ्केत हो
चमत्कारी सगुन हो !
(वोले सोयिन्का)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।