विक्रम सम्वत् २०७७ साल वैशाख २५ गते । यो नेपाली साहित्यको लागि सम्झन लायक दिनको रूपमा शिलालेख बन्यो, “साहित्यपोस्ट” को जन्मदिनका रूपमा । यो वैशाख २५ गते मेरो निजी जीवनको पनि साह्रै महत्त्वपूर्ण दिन हो, मेरो जेठो छोरा अनुभवको जन्मदिन भएकाले । त्यसैले यो मेरा लागि एकसाथ दुई सुखद उत्सवको दिन हो ।
कतिपय काम रहरले सुरु गरिन्छ, लहडले सुरु गरिन्छ । त्यसरी सुरु भएका काम नगण्य रूपमा मात्र दिगो हुन्छन् । रहर र लहडको आयु लामो हुँदैन । कतिपय काम यौटा सपना देखेर सुरु गरिन्छ, यौटा आगामी भविष्यको कल्पनाका साथ सुरु गरिन्छ, तथापि विविध परिस्थिति र कारणले निरन्तरता दिन हम्मेहम्मे पर्दछ । त्यसमाथि साहित्यिक पत्रिकाको प्रकाशन निकै दुरूह रह्यो नेपाली वाङ्मयको क्षेत्रमा । गौरवमय इतिहास निर्माण गरेका कैयन् साहित्यिक पत्रिकाहरू समयको क्रममा विलुप्त भएका छन् । यसको पछाडि मूल रूपमा आर्थिक कारण नै जोडिएको पाइन्छ ।
अश्विनी कोइरालासँगको मेरो चिनाजानी उनको कान्तिपुरमा काम गर्ने ताका नै भएको हो । अनलाइन खबर डटकममा उनको आगमनपछि हाम्रो भेट बाक्लो भयो । उनी कार्यरत छँदा नै मैले अनलाइन खबरमा लेख्न सुरु गरेको हुँ, जुन अहिले पनि निरन्तर जारी छ ।
तर अश्विनीले अचानक अनलाइन खबर छाड्ने निधो गरे । धेरैको अडकल थियो, उनी अरू कुनै मिडियामा हाम्फाल्दैछन् किनभने यो आम प्रचलनको कुरा थियो । सम्पादकहरू, पत्रकारहरू यौटा मिडियाबाट अर्को मिडियामा नियमितजसो हाम्फाल्ने क्रम निरन्तर चलिरहेको हुन्छ तर अश्विनीले आफ्नै कामका लागि मैले छाडेको हुँ भने । उनी बिक्ने लेखक हुन्, “उनी”, “जुकरबर्ग क्याफे”, “प्रेमालय” जस्ता राम्रो बिक्रीको कीर्तिमान राख्ने पुस्तकका लेखक हुन् तर लेखेर मात्र बाँच्न नेपालमा सम्भव नभएको कुरा हो, एकाध अपवाद र अतिशयोक्तिबाहेक ।
जब “साहित्यपोस्ट” साहित्यिक वेबसाइट सञ्चालन गर्ने कुराको थालनी भयो, यो पनि उनको व्यवसाय हुने छाँटको कुरा थिएन तर तयारी सुरु भयो, अनि २५ वैशाखदेखि सञ्चालन हुने मिति तोकियो र मलाई पनि नियमित लेखनका लागि कुरा आएपछि साप्ताहिक रूपमा साहित्यपोस्टमा लेखन आरम्भ गरेँ । सञ्चालन सुरु भएको दिन जगदीश घिमिरेसँग मैले इमेलको माध्यमबाट लिएको अधुरो र अप्रकाशित अन्तरवार्ता प्रकाशनार्थ दिएँ । त्यसपछि मेरो साहित्य निर्माता स्तम्भ साप्ताहिक रूपमा सुरु भयो हरेक आइतबार । वैशाखबाट सुरु भएको मेरो स्तम्भ लेखन पौष मसान्तसम्म हरेक हप्ता निरन्तर रह्यो ।
यसरी हरेक हप्ता यति लामो समय मैले कहिल्यै लेखेको थिइनँ, लेख्न सक्छु कि सक्दिनँ भन्ने पनि थियो तर लेखेँ । यसबिचमा मैले सात दिनसम्म फरक विधामा लेखेर प्रयोग पनि गरेँ । यो पनि नितान्त नौलो प्रयोग थियो मेरा लागि ।
यसबिचमा नियमित स्तम्भका अतिरिक्त नेपाली कविता, अङ्ग्रेजी कविता पनि लेखेँ र साहित्यपोस्टका प्राय: सबैजसो रचना पढेर आफूलाई लागेका कुरा अश्विनीजीलाई भन्ने पनि गरेँ । यसले मलाई नियमित पाठक पनि बनायो । हुन त साहित्यपोस्टमा साप्ताहिक लेखन गरेर ऊर्जाशील लेखक जस्तो देखिएँ, तर अदृष्य रूपमा लेखकभन्दा बढी म पाठक भएँ । हप्तामा म यौटा लेख लेख्थेँ तर हप्तामा होइन, दैनिक रूपमा म दर्जनौँ नयाँ पुराना लेखकका रचना पढ्न थालेँ । लेखनभन्दा पठन मेरा लागि झन् उपयोगी र आनन्ददायी कुरा भयो । दिनदिनै साहित्यका विविध विधाका रचना पढ्न पाउने अवसर यसअघि कुनै पनि वेबसाइटले प्रस्तुत गर्न सकेको थिएन । नजानिँदो हिसाबले साहित्यपोस्ट त मलाई लेखनका लागि भन्दा पनि पठनका लागि अनिवार्य स्रोत भइसकेछ । मलाई मात्र किन, नेपालीभाषी विश्वका कुनाकुनाका पाठक र लेखकका लागि पनि यस्तै भैसकेछ ।
नयाँ पुराना, नवोदित, स्वदेशका विभिन्न क्षेत्रका र विदेशका कुनाकुनाका लेखक पाठक एक वर्षको अवधिमै साहित्पोस्टसँग यसरी जोडिएको देख्दा सुरुमा दुस्साहसी लागेको साहित्यपोस्टको यो यात्रा नेपालीभाषी सबैको केन्द्रबिन्दु बन्नु नेपाली साहित्यको व्याप्ति र विस्तारीकरणका लागि अत्यन्त उपयोगी माध्यम बनेको छ ।
साहित्यपोस्टको सुरुवात र कोरोना महामारीको सुरुवात सँगसँगै जस्तो भएकाले यसलाई बजारीकरण गर्ने अवसर पाएको देखिँदैन । असहज परिस्थितिले यसो भएको हो तर असहज परिस्थितिमा पनि एक वर्षको समय काटेपछि, अबका थप कठिन घामपानीका दिनरात पनि यसले अवश्य खप्न सक्ला भन्ने अनुमान गर्न सकिन्छ । अब बिस्तारै टुकुटुकु हिँडेर म्याराथन दौडने अवस्थामा पुग्नेमा विश्वस्त हुने आधारहरू देखापरेका छन् ।
कविता छ, मुक्तक छ, गीत छ, गजल छ, हाइकु छ, कथा छ, निबन्ध छ, नियात्रा छ, समीक्षा छ, समालोचना छ, उपन्यास छ, अनुवाद साहित्य छ, जीवनी छ, अन्तरवार्ता छ अर्थात् साहित्यका विविध विधाहरू छन् । नियमित दैनिक रूपले पढ्न पाइन्छन् । साहित्यपोस्ट नेपाली साहित्यको उन्नयन र विस्तारका लागि, नयाँ पुराना लेखकका लागि मञ्च प्रदानार्थ चिरकालसम्म बाँच्न जरुरी छ ।
दोस्रो वर्ष प्रवेशका अवशरमा चिरञ्जीवी होओस् भन्ने कामना गर्दछु, यौटा लेखक, यौटा पाठकको नाताले !
२४ वैशाख २०७८, काठमाडौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।