कार्यपत्र—नेपाली साहित्यको विश्वव्यापीकरण : हाम्रो अभियान

भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति;

जीत वैभव भाषामै बाँच्दछन् पछिसम्म यी”


  • – नाट्यसम्राट् बालकृष्ण सम

विश्व नेपाली साहित्य महासंघ (विनेसाम) को स्थापनाकाल (सन् २०१०) देखिको इतिहाससँग म जडित छु । सन् २०११ को अगष्टमा विश्वासदीप तिगेलाको निमन्त्रणमा बेलायत पुगी एक सम्मेलनमा भाग लिए । कार्यपत्र प्रस्तुत गरी फर्केको थिएँ । बीचका प्रत्येक पल्टका यसका वार्षिक सम्मेलनमा सहभागी हुँदै आएको छु ।

यस्ता संस्थाको जगमा बसेर काम गर्दा धेरै कठिनाइ आउँछन् कारण संस्थारूपी बिरुवालाई सानामा घाम, पानी, हावा र बतासबाट जोगाउन मुश्किल हुन्छ । वृक्ष ठूलो भएपछि त्यसको रक्षा गर्न झन् मुश्किल । एक केन्द्रबाट सर्दै गएको यो संस्था आज आएर देश र परदेश गरी पचास भन्दा बढी ठाउँमा शाखा खोल्न समर्थवान् भयो ।

दुईवटा महाविश्वयुद्धहरू रोकिएपछि विश्वको जनसंख्या छरिन थाल्यो । कति देश टुक्रिए, कति भूगोल भत्किए, समाजहरू छिन्नभिन्न भए । अरूलाई बचाउने हुँदा नेपाली जातिले पनि अवणर्नीय दुःख कष्टको भुंग्रामा पस्नुपर्‍यो । लड्दालड्दै भारत, पाकिस्तान, बर्मा, थाइल्याण्ड, जापान, सिङ्गापुर, हङकङ पुगेका नेपालीमध्ये कति कहिल्यै नफर्किने संसार पुगे, कतिको आंशिक बसोबास उतै हुँदाहुँदै स्थायी रूप लियो ।

आज नेपाली जाति संसारका प्रायः सबै देशमा पुगिसक्यो । भूपी शेरचन सम्झिन्छु— हामी वीर भएर हो कि बुद्धु भएर, आज देशका खेतबारी बाँझै छन्, घर दैलामा ठूला भोटेताला झुन्ड्याएर हाम्राहरू ठूलाठूला औद्योगिक देशमा पुगेर उतै बस्तैछन्, त्यहाँका शैक्षिक संस्थानहरू हाम्रा युवापुस्ताले ढाकेका छन्, कर्मभूमिहरू भरिएका छन् । त्यसका सँगसँगै देश रित्तिंदैछ । भारतको १८५६ को सिपाही विद्रोहदेखि सैन्य सेवामा जानेले एकपल्ट देशै रित्याए तर त्यो क्रम अझै बन्द भएको छैन सँगसँगै अरू अनेक प्रकारका बहिर्गमन द्वारहरू खुलेकाले २१ औं शताब्दी लागेदेखि देश रित्तिनै लागेको छ । यसका लाभहानी दुवै पक्ष छन्, कुनले जित्ने हो हेर्दै गरौं । सम्पति सबै थोक हो कि किनेर नपाइने आफ्नो देश सर्वस्व हो, आफ्नो संस्कृति र दुर्लभ इतिहास के हो आफ्ना सन्ततिलाई सुनाऔं ।

नेपाली जातिको आरम्भको बहिर्गमन प्रयत्नदेखि नै नेपाली भाषा साहित्यको निर्माण हुन थालेको हो । उहिले ता सैन्य सेवामा जानेहरूले बाहिरी विश्वको कुरा लेखेर नेपाली साहित्यको जग बसाले— लेन्स नायक तुलचन आलेले सन् १८९१ मा मणिपुरका लडाइँको सवाई लेखे । आज १३४ वर्ष पुगे ।

त्यसको छ वर्षपछि गोर्खा सिपाही धनवीर भण्डारीले (सन् १८९७ तिर) अब्वर्पहाडको सवाई लेखे ।

सिपाही आत्माराम थापा मगरले सन् १९०५ मा भाक्सुमा गएको भैंचालको सवाई लेखे । त्यसैगरी कृष्णबहादुर उदासले, अछामको सवाई (सन् १९०८) लेखे । शेरसिंह राना मगरले मेरो लंदन राजतिलक यात्रा लेखे । त्यसबेला मित्रसेन थापाले गीत, नाटक, डायरी लेखेको कुरा लाहुरेको रेलिमाई (आख्यान—ले. विजय हितान) बाट थाहा हुन्छ । पछि दोस्रो विश्वयुद्ध ताकाको बर्माको सम्झना लेख्ने रणसूर लिम्बू पनि एक सेना थिए । (गुप्तप्रधान, धूमिल पृष्ठहरू सन् २००८)

यो सानो दृष्टान्तले के बुझाउँछ भने उस बेला शिक्षा थिएन, वातावरण थिएन, पाठकको अभाव थियो होला तथापि प्रारम्भिक रूपको साहित्य रच्ने हाम्रा पूर्वजहरूलाई धन्य भन्नुपर्छ । कुन शक्तिले प्रेरित भएर लेखे होलान् ?

साहित्य सिर्जना गराउने तत्व केवल अन्तर प्रेरणा रहेछ । अभिव्यक्तिको तिर्खा, स्वविवेकको प्रकाशन अनि त्यसले उत्पन्न हार्दिक स्पन्दन । सबैभन्दा ठूलो कुरो त मानवतावादी आवाज । त्यसले सिकाउने कला अनुसार लेखिने रहेछ ।

साहित्य भनेको लेखकका मस्तिष्क र हृदय दुवैको अभिव्यञ्जना हो, उनका संवेग र धारणाको प्रकाशन हो । त्यसकारण हाम्रो आत्माभिव्यक्तिको प्रथम र मूल संवेग भन्नु नै साहित्य हो ।

त्यस्तो प्रारम्भिक, अविकसित अवस्थामा पनि नेपाली साहित्यको आद्यरूप शुरू भयो । आज ती अक्षर अमर भएका छन् र तिनैले हाम्रो गोरेटो देखाइरहेका छन् । आज गरेका हाम्रा कर्मले भोलिको मार्ग देखाउलान् ।

नेपाल सानो देश भएपनि अघिदेखि यहाँका मानिस बाहिर निस्कने, मुलुक घुम्ने चलन बस्यो । उनीहरूले सदियौंदेखि मुलुक छोड्ने अज्ञात रहर गर्नुको पछि जीवनको विकटता, समाजमा व्याप्त अन्याय, अत्याचार र शासकको शोषण आदि कारणले होला । एक्काइसौं शताब्दीदेखि विश्वग्रामीकरणले बहिर्गमनलाई झन् तीव्र बनायो । त्यसैले पनि होला घर छोड्न अभ्यस्त हाम्रो जाति त दैलो लाएर ताँती लाग्दैछ ।

बाहिर जहाँ पुगे पनि आफ्नो संस्कृति पालना र साहित्य सिर्जनालाई उनीहरूले भूलेका छैनन् । बाध्यता र परिवेशले ती धूमिल हुँदै जानु एउटा कुरा हो तर, आआफ्ना जातीय परिवेश, भाषिक विविधता र अनेक भौगोलिकतामा हुर्केका जीवनलाई परदेशका विचित्र भूमिहरूमा पुर्‍याउनु पर्दा एकदिन फर्कौंला भनी बस्ताबस्ता नफर्किने स्थितिमा पुगेको पनि खप्तै नेपाली जाति बसेका छन् । परन्तु स्वदेशको विविधतालाई यतै बिसाएर उनीहरू सीमा बाहिर पुग्छन्— एउटा ीध्ऋ बोकेर । जसको अर्थ हुन्छ – (language of the wider communication) अर्थात् व्यापक सञ्चारको माध्यम भाषा त्यो हो हाम्रा लागि नेपाली ।

नेपाली भाषा सर्वजातीय उद्यानको रूपमा शुरू भयो, त्यसै रूपमा विकसित भयो । भाग्सुका माष्टर मित्रसेन, बनारसका काशीबहादुर श्रेष्ठ, दार्जेलिङका सूधपाहरू— तर पृष्ठभूमिमा अरू धेरै थिए । दार्जेलिङका गुप्तप्रधानको अमूल्य ग्रन्थ धूमिल पृष्ठहरू (सन् २००८) पढदा कसरी भारतवर्षमा यो जातीय भाषा स्थापित भयो, स्थिर भयो र ठूलाठूला साहित्यसेवी जन्मे, भाषालाई उच्च स्थानमा पुर्‍याए भन्ने कुरा थाहा हुन्छ ।

त्यसो त नेपाल र पूर्वी भारत (सिक्किम दार्जेलिङ विशेष) नेपाली भाषा-साहित्यका आद्य क्रीडा भूमि हुन् । यो जातिको विस्तार हुँदै जाँदा भूटान, बर्मा, थाइल्याण्ड, हङकङ पुग्यो यद्यपि प्रत्येकका देशान्तरण प्रक्रिया र तिनको वैधानिकरण बेग्लाबेग्लै छन् ।

आज यी भूमिहरू सचेत भएर नेपाली भाषा मलीन भएका ठाउँमा यसलाई पुनर्जागृत गर्ने प्रयत्नमा छन् । जस्तै— भारतवर्षका गुवाहाटी लगायत निश्चित विश्वविद्यालयमा नेपाली भाषा/साहित्यका पाठ्यक्रम बन्नु, केही वर्षदेखि बर्मामा कक्षा १० सम्मको पाठ्यक्रम लागू हुनु, यसपालिदेखि (प्रा. लक्ष्मणप्रसाद गौतम र श्रीओम रोदनको विज्ञतामा) थाइल्याण्डका नेपाली नानीहरूलाई नेपाली पठनपाठनको लक्ष्य राखी पाठ्यक्रम तयार पार्नु— यो एक अभूतपूर्व समाचार हो ।

यी भए आधारभूत तहदेखि हाम्रो जातीय भाषा वा सम्पर्क भाषालाई जोगाउने प्रयत्न । यस्ता प्रयत्नहरू संसारभरका धेरै देशमा छन्— यूरोप, अस्ट्रेलिया र अमेरिकी महादेशमा बस्ने बाबुआमाले अनेक प्रयत्न गर्दैछन ती मध्ये केही—

“घरमा बस्ता आफ्ना सन्तान वा परिवारसँग नेपालीमा बोल्ने गरौं” भन्नु नेपालका पार्ट टाइम टिचर खोजी भर्चुअल माध्यममा एक/एक घण्टा पढाउने, मठ-मन्दिर धर्मशालामा बिदाको समयमा नानीहरू भेला गरी स्वयंसेवीहरूले पढाउने, नेपाली भाषा/संस्कृतिका अनलाइन् सामाग्रीमा बानी गराउने, सिडि, भिडियो यू ट्यूबको माध्यमले बाल कविता गीत आदि सिकाउने— यस्ता धेरै कुरा गरेको म देख्तै सुन्दै आएको छु ।

सन् २०१८ को बेलायती अनेसास सम्मेलनको व्यानर थियो “भाषा हाम्रो मान हो, संस्कृति हाम्रो शान हो ।” यसरी बोलेर, भनेर गरेर बसैं गएका, अस्थायी आप्रवासनमा रहेका प्रत्येक नेपालीले कमसेकम आफ्नो जातिबीच सम्पर्क गर्ने, माध्यम ता नेपाली नै हुन्छ । त्यसैले यसमा बोलौं, लेखौं, छापौं, यसको गोष्ठी आदि गरौं । यही ठानेर टाढाटाढाका भूमिमा पनि ठूला ठूला गोष्ठी सम्मेलन भइरहन्छन् । मैले रसिया, कतार, कोरिया, हङकङ आदि मुलुक जाँदा भएभरका नेपाली जुटेर भाषा साहित्य कर्म थामिरहेको देखें । त्यो क्रम आज झन् तीव्र छ ।

भाषा-साहित्यका जातीय गोष्ठी संसारभरि वर्षैभरि आयोजित हुन्छन्— भानुभक्त, मोती, देवकोटा, लेखनाथ, पारिजात, भूपी— अनेक मनाउँछन् । हामीले दार्जेलिङ आसाम आदि मिसाउन अलिक जानेका छैनौं । यो संस्कार पनि शुरू गर्नुपर्छ । किनभने नेपाली भाषा भनेको सबैको साझा सम्पति हो । जहाँकाले उत्पादन गरे तापनि त्यसका मूल उपयोक्ता नेपालका नेपाली नै हुन् ।

भारतमा कत्रो उत्साह र प्रेमले यी साहित्यिक पर्वको पालना गरिन्छ भन्ने कुराको दृष्टान्त भारतका अनेक पटकको मेरो दशवर्षे साहित्यिक यात्राले जनाउँछन् । ती केन्द्र हुन्— सिमला, देहरादून, देल्ही, दार्जेलिङ, सिक्किम, सिलगुढी, तेजपुर, गुवाहाटी, सिलाङ र मणिपुर जसको विवरण बोकेर शिलाङ तेजपुर गुवाहाटी नामक एक विशाल ग्रन्थ छापाखानामा पुगेको छ भने अर्कातिर विभिन्न स्थानमा वितरित भूटानी-नेपालीका दुई अन्तर्राष्ट्रिय सम्मेलन र भ्रमणको अनुभव पनि समेटर बनिएको कृति अमेरिकामा भूटान पनि छापाखाना पुगिसकेको छ ।

म यस्तै प्रयत्न, चिन्ता र मूल्यांकनमा छु । अघिल्ला दुई कृति— मेरो पहिलो बेलायत यात्रा र दोस्रो बेलायत यात्राले हाम्रा नेपाली जातिले गरेका भाषा साहित्यका विस्तार एवम् संरक्षणका प्रयत्नलाई केन्द्रमा राखेको प्रतिवेदन लिई आएका छन् । त्यसो त रुस, हङकङ, थाइल्याण्ड, कतार, मणिपुर सबै मेरा साहित्यिक यात्रा हुन् तीनका सिङ्गा कृति आउन बाँकी छन्, आउनेछन् ।

जगदम्बा नेपाली साहित्यको बृहत्त इतिहास (जनेबृइ) अन्तर्गतको भाग तीनको शीर्षक नेपाल बाहिरको नेपाली साहित्य रहेको छ । जस अन्तर्गत भारत, भूटान, मणिपुर, मलेशिया, कोरिया, रुस, हङकङ, सिङ्गापुर, इज्रायल, जर्मनी, अस्ट्रेलिया, अफ्रिका, यूरोप, गरेर संसारमा नेपाली साहित्य उत्पादक व्यक्ति र स्रष्टाको सकेसम्म विस्तृत इतिहास प्रस्तुत छ । ६०० पृष्ठमा नेपाल बाहिरका नेपाली साहित्यको इतिहास पढदा लाग्छ हाम्रो जातिले ठूलो त्याग गरेर साहित्य रचना र संरक्षण गर्दैछ । ती हुन् अनेक नेपाली डायास्पोरा – त्यहाँबाट उत्पादित साहित्य डायास्पोरिक ।

त्यसमा पनि भिन्नाभिन्नै संस्था छन् लामो इतिहाससँगका— अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) भन्ने सर्वाधिक ठूलो र विश्वव्यापि संस्था छ । यसका संस्थापक श्री होमनाथ सुवेदी, अमेरिका जसले १२०० पृष्ठको अनेसासको इतिहास लेखे । हालसम्म अनेसासका शाखा २०० वटा पुगिसकेका छन् ।

यसका देशदेशका शाखा छन्, यसले स्थापना गरेका अन्तर्राष्ट्रिय पुरस्कार, प्रकाशन जम्मा गरी एक हजार जति यसका प्रमोटर/सञ्चालकहरू नित्य सक्रिय छन् ।

त्यसपछि व्यापकता लिने संस्था होला विनेसाम । यसका सबै शाखा उत्तिकै सक्रिय छन् ।

नेपालीका वर्तमान वैदेशिक यात्रा इतिहासभित्र बढीमा तीस वर्ष समेटिएका होलान् । तर त्यसको अन्तिम विन्दु (२०७६) देखि यता पनि इतिहास बढेकै छ । नयाँ गन्तव्य थपिँदै छन्— खाडीका प्रत्येक, यूरोपका प्रत्येक देश, अष्ट्रिया, फ्रान्स, पूर्वी रसियाका अरू अफ्रिका— विस्तार छ दिनदिनै । तिनको थप्न समावेश गर्न बाँकी छ ।

उता अमेरिकाका दुई ठूलाठूला संस्थाले भूटानी नेपाली साहित्य र संस्कृतिको संरक्षण संवर्द्धनमा अत्यन्तै ठूलो प्रयत्न र लगानी गरेका छन् । ती संस्था हुन्— नेपाली साहित्य परिषद भूटान र ग्लोबल लिटरेरी अर्गनाइजेशन अव् भूटान (जिबीएलओ) । नेपाली भाषा साहित्यको व्यापकीकरणमा समर्पित, आठवटा पुनर्वासित मुलुकबाट अति सक्रिय रहेको संस्था । एक दृष्टान्त हेरौं—

भूटानी-नेपाली समाजले मात्र गतवर्ष ५० जति विविध कृति प्रकाशित गरे । अमेरिका, क्यानाडा, अस्ट्रेलिया, हङकङ आदिबाट पनि निरन्तर प्रकाशित भइरहन्छन् । नेपाली साहित्यको ठूलो भण्डार अनेक डायास्पोराबाट निरन्तर आइरहन्छ । नेपालभित्र त दिनको दश जति पुग्लान, यद्यपि यो एक अनुमान हो । विनेसामको उद्देश्य पनि नेपाली साहित्यको विश्वव्यापीकरण हो ।

देश बाहिर पनि विविध स्थानमा कला, साहित्य, संस्कृति, खेलकूद, जातीय अनुष्ठानका संस्थान छन् ती अन्तर्गत कार्य भइरहन्छन । कला साहित्यकै एकसयभन्दा बढी संगठन होलान् । कुनै एक व्यक्तिले सर्वस्व लगानी गरेर स्थापित गरेका छन्— गोविन्द गिरीको विश्वपरिक्रमा, कृष्ण बजगाईको समकालीन साहित्य । कति छन् संस्थागत संसारकै कला साहित्य चेतनालाई प्रभाव पार्ने— नेपाली साहित्य प्रतिष्ठान बेलायत जस्ता ।

अब हामीकहाँ लेख्नेको कमी छैन, छाप्ने पढ्नेको पनि कमी छैन बुझौं । तर विश्वका महान् स्रष्टा कलाकारको चाला गति बुझ्नुपर्छ । आफ्नै आँगनमा रमाएर कहीं पुगिन्न । अरूलाई चिन्नु चिनाउनु पर्छ । त्यसको लागि हामीसँग दोस्रो भाषा चाहिन्छ ।

दोस्रो कुरा एक्काइसौँ शताब्दीलाई “सक्नेले अनुवाद गरौं नत्र मरौं” भन्ने शताब्दीमा गणना गरिन्छ । तुर्की लेखक ओर्हान पामुकले आफ्नो भाषाको आख्यानलाई माइ नेम इज रेड शीर्षकमा अनुवाद गराए त्यसले सन् २००६ को नोवल पुरस्कार ल्यायो, सन् २०१२ का चिनिया मो यान्को शोर्गम पनि चिनियाबाट अनुवादै हो । भारतीय गिताञ्जली श्रीले सन् २०१८ मा रेत समाधि लेखिन् पछि डेजी रकवेलले अंग्रेजी अनुवाद गरिन् र सन् २०२२ मा टम्व अव् स्यान्डले अन्तर्राष्ट्रिय वुकर प्राइज पायो । त्यसैगरी यसपालि कोरियन स्रष्टा हाङ काङको कोरियन उपन्यासलाई डेबोरा स्मिथले द भिजिटेरियन शीर्षकमा अनुवाद गरिन् र नोबेल पुरस्कार आयो । त्यसो त नोबेल एउटा खास कृतिको लागि नभएर समग्र प्रयत्नको मूल्यांकन हो तथापि अनुवादको सहाराले अरूले ख्याति र सम्पत्ति आर्जन गरिरहेका छन् ।

यस प्रकार टाढाको उज्यालो नोबल देखे पनि हाम्रा कृति त्यसको छेउछाउ पुग्ने सम्भावना छैन । अंग्रेजीमा लेखेर भारतीय मूलकी चित्रा बेनर्जी दिवा करुनीले विविध विश्व पुरस्कार पाइन् । अहिलेका लेखक वा पाठकले चित्राको सीतायन पढेन भने लेखनको विश्व दृष्टिबाट ती वञ्चित हुन्छन् । भर्खरै शहनाज हबिबले उनको एप्र्लेन मोङः एन इरिलिभेण्ट हिस्ट्री अब ट्राभेल कृतिको लागि न्यू अमेरिकन भोइसेज अवार्ड प्राप्त गरिन् । अबको नेपाली साहित्य विश्व पहिचानको उद्देश्य समेत राखेर लेख्नु पर्छ । सक्नेले अंग्रेजीमा लेखौं, सक्नेले अनुवाद गरौं, सक्ने नसक्ने सबैले विश्वसाहित्यका नयाँ प्रवृत्ति पढौं नयाँ शैली सिकौं, आफ्नोपना र मौलिकता पनि वैश्विक तरङ्ग भित्रै जोगाऔं ।

१२२ वर्षमा जम्मा नौ जना एसियालीले नोबेल साहित्य पाएछन्— रविन्द्रनाथ ठाकुरा (भारत), यासुनारी काबाबाता (जापान), केञ्जाबुरो ओए (जापान), काजुओ इशिगुरो (जापान/बेलायत), गाओ सिन्जियान (चाइना/फ्रान्स), भीएस नैपल (भारत/बेलायत), ओर्हान पामुक (टर्की), मो यान (चीन) र हान काङ (कोरिया) । यसरी १२२ वर्षमा नोबेल साहित्य प्राप्त गर्ने प्रथम एसियाली व्यक्ति हान भइन् ।

यो एसियाका ४८ देश मध्ये जम्मा सातवटाले पाए । ती मध्ये तीन जनाले अंग्रेजीमा लेखे चारले अनुवाद गराए र पाए ।

बाहिरी विश्वमा हाम्रालाई नचिनाएसम्म हाम्रो देशलाई र भाषालाई कसैले चिन्दैन । हामी अन्धकारमा हुन्छौं । हाम्रा छिमेकका युरोपेलीले पढ्न सक्ने कुनै भाषा छैन । उतातिर अंग्रेजी, फ्रेन्च, जर्मन, डच जस्ता एउटै लिपि भएका भाषामा पनि निकटता हुन्छ । हाम्रो भारोपेलीको कुरो अलग्ग छ ।

सारांशमा हामीले अनुवादमा जोड गरौं । विनेसामले पनि वर्षको एक दुई कृति अंग्रेजी अनुवाद गर्न गराउन आरम्भ गरोस् । राम्रा स्तरीय आख्यान निबन्ध नाटक छानौं बिस्तारै अघि बढ्नुपर्छ । दश वर्षमा बीस कृति गरायौं भने केही यूरोपेली अध्येताका हात पर्लान् । हेर्नोस् हाङ काङको एउटा कृति अंग्रेजीमा पुग्नाले यो चमत्कार सम्म पुर्‍यायो ।

अन्त्यमा

सिर्जना ता साहित्यको एउटा पक्ष मात्र हो । यसलाई पूरा गराउन अन्य विविध पक्ष  सक्रिय  हुनुपर्छ । यद्यपि सिर्जना  सर्वाधिक महत्वको हो । भानुभक्तले लेखेर गए प्रकाशित भएको देख्न नपाई,  त्यसको दुई  दशक  पश्चात बल्ल छापिए ।  त्यसैले  सिर्जना मात्रले साहित्यको जन्म पूरा नहुँदो रहेछ ।  त्यसपछि प्रकाशन,  त्यसपछि पठन र मूल्यांकन, त्यसपछि प्रचार-प्रसार र सुरक्षा वा  भण्डारण । साहित्य विचारहरूको   समग्रताको लागि गोष्ठी-सम्मेलन, साहित्यिक मेला जानकारी, स्रष्टा बाहेक साहित्य सेवीको विशाल जमात् आवश्यक पर्दछ ।  उनीहरूको निरन्तर लगाव र  ध्यानले मात्र  बेउता   एउटा जातीय  साहित्यको  परिवेश वा संस्कृतिको  स्थापना हुन्छ, निर्माण हुन्छ । हाम्रा कति ठूला शहर नगरपालिका पनि एउटै पुस्तकालय बेगरका छन् । किनभने त्यहाँ साहित्यिक संस्कार चिन्ताको मानिस छैन । भए पनि सत्ताले तिनको कुरा  सुन्दैन । उनीहरू भौतिक तत्वलाई उन्नतिको मानदण्ड ठान्दछन् तर साहित्य/कला भनेको अभौतिक र भावनात्मक परिवर्तनले मात्र चिनिने तत्व हो । यो नै सभ्यताको परिचायक हो ।

अबको साहित्यलाई  राष्ट्रिय  शब्द प्रयोग गर्नुपर्दैन । त्यो संकीर्णता  बोधक सीमामा परिणत भैसक्यो । एक भूगोलाबाट   छारिएका अनेक जाति छन्  तिनीहरू राष्ट्रिय सीमा बाहिर भए पनि आफ्नो भाषाले बाँधिएर सधैं एक हुँदा रहेछन् र राइटर्स अफ दी इण्डीयन दायापोरा भन्ने पुस्तकमा विश्वमा छारिएका पचास जना स्थापित भारतीय मूलका लेखकको साहित्यिक परिचय छ । इशिगुरो बेलायाती भए पनि  जापानी भनेर चिनाइन्छ भी एस नैपाल बेलायती भए पनि भारतीय, योसेफ ब्रोदस्की अमेरिकी भए पनि रुसी । आज  सानो रूपमा भए पनि यहाँ त्यस्तै चरित्र प्रकट छ । हामी नेपाल आउँदा  आफ्नो भाषा र संकृतिको तीर्थ स्थल   आएको छु भन्ने पवन चालिङग, मनिपुर निवासी राहुल राई बोगिको, आसामका डा. देवेन सापकोटा, दार्जेलिंगका डा. राजकुमार छेत्री,खर्साङका   डा. योगेश खाती, बेलायती विश्वासदीप, अमेरिकी देंजम साम्पाङ्ग, रुसी मित्रहरू, इज्रायाली र अन्य । यो साच्चैको विश्व सम्मेलन प्रमाणित भयो । तपाईंहरू दुख खर्च सबै थोक लगानी गरेर यो जातिको सभ्यताको जग दह्रो बनाउन यहाँ उपस्थित हुनुभएको छ ।

सबैप्रति हार्दिक आभार

१० कार्तिक २०८१