कुनै प्रसिद्ध लेखकले
खर्चिएर आफ्नो दिमाग, समय र पसिना,
लेख्यो मलाई सुन्दर अक्षरहरूमा।
कुनै अत्याधुनिक प्रेसले
छाप्यो मलाई
सुन्दर आवरण र साजसज्जामा।
कुनै आयोजकले
विमोचन गरायो मलाई
राखेर साक्षी
केही नामुद लेखक, पत्रकार र बुद्धिजीवीहरू
सहरको कुनै भव्य समारोहबिच।

कुनै प्रख्यात समीक्षकले
मुक्तकण्ठले मेरो खुब प्रशंसा गऱ्यो।
प्रमुख अतिथि र अन्य अतिथिहरूले
दिल खोलेर मेरो स्वागत गरे।
विमोचनमा सहभागीहरू सबैले जोडजोडले ताली बजाए।
मलाई सित्तैँमा हातहातमा बाँडियो।
सबैले हाँसीहाँसी चियापान गरी घरघर फर्किए
र, मेरो तथाकथित लेखक
विमोचन कार्यक्रममा पाइएका
औपचारिक बधाई, शुभकामना र प्रशंसाहरू बोकेर
आफ्नो घर फर्कियो।
साँझ टेलिभिजनमा प्रसारित
विमोचनको समाचार हेरेर
बिहान पत्रपत्रिकामा प्रकाशित
विमोचनका समाचार पढेर
अपूर्व हर्षित भयो, एक्लै एक्लै मुस्कुरायो।


अर्थात् भर्खरै विमोचित नयाँ किताब
निकै थोरैले मात्र
केवल मेरो विषयसूची सरसरती हेरेर
मलाई आफ्ना दराजमा थन्काइदिए।
निकै थोरैले मात्र
केवल मेरो भूमिका र शुभकामनाका पृष्ठहरू पढेर
मप्रतिका आफ्ना धारणाहरू बनाए।
अनि धेरैले चाहिँ पढ्दै नपढेर
मलाई कुनै कोठाको अँध्यारो कुनामा मिल्काइदिए, थन्काइदिए।

केही समयपछि—
धेरैजसोले मलाई
थोत्रो साइकल चढेर घरघर घुमी हिँड्ने
एउटा अपठित गरिब कवाडीसँग
सस्तो मूल्यमा बेचिदिए
र, म अहिले
यो देशकै पठित र सभ्य मानिस बस्ने भनिएको
भव्य झिलीमिली सहरभित्रको
एउटा मामूली अँध्यारो कवाडीखानामा थन्किएको छु
र मलाई कतै पुऱ्याउनका लागि
भर्खर मात्रै
यो सहरकै धनी कवाडी व्यापारीले
एउटा नयाँ गाडी बुक गरेको छ।