
३० चैत्र २०७६ (१२ अप्रिल २०२०)
आज महासुनसानमा ब्यूँझेको छु— तीन बजे । निद्रा नपुगे दिनमा ढल्किँदा भैहाल्छ । तर अहिले काम आरम्भ गर्ने र दिनको योजना बनाउने समय उत्तम हुन्छ । यो बिहान ठूलो उत्साहको आरम्भ छैन । त्यसो त दैनिकी क्रम उही छ, ३ः३० मा माथि चढेको छु । हिजोको एउटा पोष्ट हेरेँ जिज्ञासावश ।
एउटामा समुद्री तटमा बाँधेको केही भारी ओसारेको र पानीका छालले स्पर्श गर्ने गरी कपडासँगै सुताइएका लास देखायो । लहरै । मानिस ओसार्दै छन्, समुद्रको छालले हिर्काइरहेछ— छप्ल्याङ्ग, छप्ल्याङ्ग पानीको ज्वारले अलिकति उचाल्छ, भाटाले अलिक पर पुर्याउँछ । हेर्दाहेर्दै महासागरमा त्यो तैरिन थाल्छ ।
तल्तिर अंग्रेजीमा सूचना छ— यसरी मृत शरीर समुद्रमा बिसर्जन गरिएको छ, यी कोरोना विषाक्त छ, त्यसैले अब उप्रान्त समुद्री आहार केही नखानू होला ।
आज बिहान फेरि अर्कै आयो । एउटा डाँडाको फेदमा नहरजस्तो गहिरो चारपाँच फीटको खाडल छ, लामो न लामो, कहाँ सम्मको भर्खर खनेको त्यो नहरको वरिपरि छ सेनाको डप्फा । मुखमा मास्क छन् हातमा शावेल बोकेर एकथरी सिपाही त्यो सुख्खा नहरको डिलडिलमा उभिए; अर्काथरी दुई दुई जना भएर काला खोलभित्र हालेका शवलाई उचाल्दै ल्याउने तल खसाउने, लहरै एक दुई तीन सयौँ उभिएका थिए । त्यसमाथि अर्काले नूनजस्तो सेतो खन्याउँथ्यो अनि बङ् कि बङ् शाबेलले माटो भर्थे— झन्डै एक मान्छे गहिरो । अब सद्गतिको कुरा भएन, चिहानघारी रहेन— मान्छेको दुर्दान्त कथा । हिटलर र यहूदी पढ्दा अथवा विश्वयुद्धका कथा पढ्दा यस्तै केही सुनिन्थ्यो । आज यति डरलाग्दो कुरा देखियो । त्यसो त माओवादी युद्धकालमा पच्चीसदेखि पचाससम्म मानिसहरु युद्ध मैदानमा ट्रेञ्चभित्र हताहत भएका, खोल्सामा खोलामा फ्याँकिएका, स्याल, कुकुर, गिद्धले टोक्तै हिँडेको दुर्गन्धले बस्तीमा हैजा फैलिन थालेको कुरा समाचारमा पढ्यौँ । त्यसको तत्कालीन चित्र ता सुकरातका पाइला उपन्यासमा पनि पाइन्छ । त्यो मानिसले गरेको थियो; यो अज्ञान प्रकृतिले आज जस्तो दिन पनि आउला भन्ने मनमा कल्पना थिएन । देखेर धेरैबेर तर्सिरहेँ । धेरैले देखे हुन्थ्यो जस्तो लाग्यो तर हातहातमा मोबाइल छ यस्तो समाचार कहाँ रोकिन्छ र ! यही रहेछ विश्वग्रामीकरण ।
मन अस्थिर भएका बेला कान्तिपुर आइपुग्यो र एकछिन हेरेँ । आज यस्ता शीर्षक छन्— आरडीटीकै किटको भरमा घर, नेपाल छिर्न अनेक जुक्ति, विश्वसनीयता सन्देह, लकडाउन बढाउन मुख्य मन्त्रीको सुझाव, युवाले बनाए स्यानिटाइजिङ टनेल, क्यानडाले फर्कायो आफ्ना नागरिक, राहत कोषबाट प्रशिक्षकलाई भत्ता, विवादमा विभेद र भ्रष्टाचार, लूटको अवसर नबनोस् महामारी, यूट्यूब, फेसबुक र टिकटकमा बढी खपत भो ब्यान्डविथ्, भारतमा लकडाउन थपिने, विपन्न र मजदुरकै हात रित्तो, कुहिएको चामल बाँडेर भ्रष्टाचार आदि । यस्तै ।
त्यसैबेला मोरङ पथरीमा रहेकी हाम्री जेठी माइजूलाई ज्वरो भन्ने खबर आयो अनि दोस्रो खबर आयो बहिनी सुमी लोहनीको गुडमानी । मैले प्रत्युत्तर गरेपछि सोधेँ— कस्तो छ बहिनी ? राम्रो छ सर । शब्द संयोजन वैशाख अंकमा सरको इन्टभ्यू आइसकेको छ; अहिले हार्ड कपी ल्याउन गारो छ । सरको इमेल आइडी पाए म पिडिएफ पठाइदिन्थेँ ।
हवस् बैनी, मेसेन्जरमा पठाउँछु भनी पठाएँ ।
एकैछिनमा आइपुग्यो— संयोजन वर्ष १७ अंक १ पूर्णाङ्क १९२, २०७७ वैशाख कभर पृष्ठमै रहेछ— विशेष सम्वादः प्रा. डा. गोविन्दराज भट्टराई । खुसी लाग्यो ।
मलाई साहित्यकार अच्युत घिमिरेले यसको लागि अन्तर्वार्ता मागेका थिए । मैले भनेँ— प्रश्न पठाउनोस्, उत्तर म आफैँ बनाएर दिन्छु । प्रत्येक वर्ष १०–१२ अन्तर्वार्ता आउँछन्, प्रत्येक पल्ट म त्यसै गर्दछु । यसका दुई फाइदा छन् सोचेर लेख्न पाइन्छ, अन्तर्वार्ताकारले आफ्नो आशय राम्ररी नबुझेर मन नपरेर, ज्यादा मनपरेर तलमाथि पार्नसक्छ भनेको थिएँ । आएपछि हेरेँ । शब्द संयोजनमा एउटा राम्रो साहित्य मण्डली खटेको रहेछ वासुदेव अधिकारी, रमेश पोख्रेल, सुमी लोहनी, अच्युत घिमिरे, गणेश जीसी, रुपक अलंकारहरुको देखेर खुसी लाग्यो ।
आज मेरो कामको प्रकृति बदलिनेछ भन्दा पनि दुई लेख–रचना हिजै आइपुगेका हुन्— आज बिहान पढ्न मन लाग्यो ।
पहिलो हो भाइ हरि गौतमको शब्द चित्रमा ताप्लेजुङ । अनि अर्काे डा. ज्ञानू पाण्डेको (मेरो अमुक प्रेमी) शीर्षक विशुद्ध निजात्मक शैलीको सुन्दर निबन्ध । हरि भाइको अनुभव र अनुसन्धान मिश्रित लेख पढेँ, यो लामो छ तर डा. ज्ञानु पाण्डेको छोटो र प्रभावकारी शैलीमा । पढ्दापढ्दै पोष चापागाइँको फोन आयो— सोधखोज गरेँ । उनले मानसरोबरबारे लेख्तैछु भने ।
“सरलाई यसबारेका विशेष कृतिको ज्ञान छ कि ?” भनी सोधे । मैले दिल्लीदेखि मगाएर दिएँ तपाईंलाई । बंगालीका विख्यात लेखक उमाप्रसाद मुखोपाध्यायको मणिमहेश (अनूदित) भन्ने पुस्तक तपाईंलाई दिइसकेको छु मुक्ति उपाध्याय बरालद्वारा बंगालीबाट नेपालीमा अनूदित भनेर स्मरण गराएँ ।
त्यो पढिसकेँ, साँच्चै राम्रो रहेछ । नेपालीले भ्रमण गरेको अर्काे छ कि ?
डा. माधव पोख्रलकोे एक मास्टरपिस लेख पनि प्रकाशित छ, त्यताको बारेमा उहाँभन्दा जान्ने अरु कोही थाहा छैन । कित राहुल साङ्कृत्यान हुनुपर्थ्यो कि जनकलाल शर्मा ।
त्यसो भए अहिल्यै माधव सरसित सम्पर्क गर्छु उहाँ ता सरल हुनुहुन्छ ।
यति गरिनसक्तै साधना प्रतीक्षाको फोन आयो— सर नमस्कार, भेट्न मन थियो कोरोनाले रोक्यो ।
नमस्कार छ बैनी, बोलिको भेट गरौँ न, के कसो गर्दै हनुहुन्छ ?
अस्ति कुरा गरेकी थिएँ सो पुस्तक पूरा गरेकी छु, सरलाई एकपल्ट पढिदिन अनुरोध गर्ने इच्छा थियो—
कुनै चिन्ता नलिनोस् बैनी वीपी कोइरालामाथि त्यत्रो अध्ययन गर्नुभो, म अवश्य पढ्नेछु, इमेलमा पठाइदिनोस् ।
त्यति सल्लाह भयो । नयाँ वर्ष २०७७ लाग्ने अघिल्लो दिन । पन्ध्र दिन अघिदेखि शुभकामनाको लहर आउँथ्यो, चित्रमा, पर्फमेन्समा, फोनमा । यसपालिको नववर्ष सुनसान छ । कसैले लेख्तैन, भन्दैन । यस्तो समयमा एउटा आयो मीठो— कीर्तिपुर मैत्री समाजतर्फको ।
चैत नआसोस् २०७७ को जस्तो
वैशाख नआओस् २०७२ को जस्तो
जीवन चंगा बनोस्
बादल कतै नछाओस्
प्रगति र समुन्नतिले
तपाईंलाई सधैँ पछ्याओस्
२०७६ पछि पनि
नयाँवर्षको शुभकामना
दिन पाइयोस ।
छोटो मिठो यस्तै हुन्छ । एउटा लेखकको जीवन यस्तैले लिन्छ । सुन्तला दाना एक सुकाएको घाममा — त्यसले हामी दुईलाई पुग्छ । चिया पकाउन उठ्ने समय भयो मेरो अब ।
तर पहिले स्नान गरेँ । सोलरको पानीले । सकेर चिया तयार पारेँ राकुराको एक पाउच डुबाएर । घाममा बसेर पिएँ । तेल दलेँ, वस्त्र धारण गरेँ । चितवनका डा. एकनारायणले फोन गरे— कार्यपत्र पाएँ सर, आभारी छु । ती नयाँ कुराले म छक्क परेँ । विषय थियो— समालोचनामा ‘म’ को उपस्थिति । मैले एकछिन बौद्धिक विमर्श गरेँ ।
आकाशमा मलीन बादलको पत्र भएकाले आज एकछिन ताप्ता रमाइलो हुन्छ । त्यसैबेला तेजेश्वरबाबु ग्वङ्ग्वले फोन गर्नुभो— तपाईंको अनन्त उज्यालोतिर पस्ने दैलाका सामु शीर्षक निबन्ध शमी (साहित्यिक) पत्रिकामा प्रकाशित भएछ भर्खर पढिसकेँ असाध्य मन पर्यो ।
धन्यवाद छ दाइ ।
यो कुरा तपाईंको मन पर्यो । आज अभि सुवेदीको अन्तर्वार्ता सुने— डा. नवराजले लिएको । उनी र लामिछाने कोको चारपाँच क्वारेन्टाइनमा त्यहीँ बस्छ रे । (त्यहीँ भनेको घर नैकाप नबसेर रेडियो नेपाल वरिपरि)
मेरा कान्छा ज्वाइँ (उज्ज्वल ढुङ्गाना) लाई पनि उता कान्तिपुरले पाल्छ रातदिन । उहाँ टिभीमा काम गर्ने । तत्पश्चात मनमा लाग्यो, धेरै दिन भएछन् सम्धीज्यू (अभिसर) लाई बधाइ दिँदै एक फोन गरौँ लाग्यो ।
एक फोन गरेँ— नमस्कार छ सर ।
नमस्कार ।
आज सरले रेडियो नेपालमा बोल्नुभो भनेर सुनाए अनि खुसी व्यक्त गर्न ।
ती महाकाव्य लेख्ने प्रेमी भाइ छन् नि डा. नवराज ।
ज्यू, नवराज लम्साल !
हो, उनैले भने अनि ओछिनमै ढल्केर पो बोलेँ । (अनि हाँस्नुहुन्छ हा हा हा) ।
अनि आजको खाजा भयो सरको ?
आज हुन बाँकी छ, एकछिनमा ।
आज चाहिँ के होला ?
उही हिजो जस्तो सातु ।
(अनि जोडले हाँस्यौँ) । अस्ति सातुको कुरा लेखेको थिएँ ।
त्यसपछि डा. ज्ञानू पाण्डेको समय आयो । १ः४५ देखि ३०० सम्म भन्नुभयो । साहित्य सम्वाद गर्ने । हिजै मैले शब्द संयोजन पीडिएफ पठाएको थिएँ । मेरो अन्तर्वार्ता छ त्यहाँ । त्यो पढिसक्नु भएछ र त्यसै विषयमा त्यसका सबल दुर्बल पक्षमा लामो वार्ता गर्यौँ । उहाँ एक बौद्धिक चेतना भएकी व्यक्ति र मलाई बात गर्न मनलाग्छ । आज मलाई त्यही अन्तर्वार्ता यहाँ साभार गर्नु छ । (तर लामो हुन्छ होला, पछि अनुसूचीमा गरौँला) ।
आज बिहानको ता मेरो अर्कै लक्ष्य थियो— दिनभरि अनुवाद सन्दर्भ ग्रन्थ करेक्सन गर्ने । आजलाई सात लेखकका प्रिन्ट–आउट ठिक पारेको थिएँ— डा. इन्दुप्रभादेवी, बलराम अधिकारी, महेश पौड्याल, नवराज न्यौपाने र प्रा.डा. उषा ठाकुर । तर दुई पल्ट हेरिसक्ता रातै पर्यो । कारण अर्थाेकले पनि समय खायो । खाने एउटा कारण थियो सम्झनाका सागरमा केही दिनको पाँचौँ अङ्क प्रशारण । हरि भाइले मेसेन्जरमा पठाइदिएपछि मैले त्यता लाग्नुपर्ने थियो । चितवनका डा. एकनारयण भाइसित बात गरको थिएँ । उनले रत्नराज्यका हेमचन्द्र भण्डारीसित पनि बात गरेछन्— कृष्णचन्द्रसिंह प्रधान र डा. गोविन्दराज भट्टराईले समालोचनालाई अनौपचारिक निबन्धात्मक शैलीमा विकास गर्ने भूमिका खेल्दै हुनुहुन्छ, उता उहिले चाल्स ल्याम्ले यसको नेतृत्व गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

