१६ कार्तिक आइतबार २०७७

आज बिहानै उठेको हुँ तर मन विभाजित भयो। पहिलो तीन घण्टा हिजोकै निबन्ध पूरा गर्न बसेँ । अनिताको निकै दिन पश्चात् फोन आयो। उनलाई अलिकति सुनाएँ । त्यसपछि म उही परमपावन दलाइ लामा पढ्न थालेँ ।

धेरै ता सकिनँ २५ पृ. पुग्यो । यसमा दलाई लामाको सन् १९५९ देखिको निर्वासन, भारतमा शरण अनि त्यसपछिको धार्मिक यात्राजस्तो छ । अनेक धर्मका कुरालाई समेटेर अनेक धर्मको सारतत्व बुझ्ने प्रयत्न गरेको अनुभव छ । जस्तो कि आज आएका गेल्सेभनी, मेर्टन, लगायतका चार जना व्यक्ति तिनको अलिकति परिचय भएको भए खुल्थ्यो होला । धर्म अर्कै क्षेत्र, सर्वधर्म अर्कै, उत्तरधर्म झन् बेग्लै तर पठनीय छ ।

विजय हितानका कथा नं. ३ र ४ पढिसकेर रङ दलेर पठाएँ । एक घण्टा लाग्यो । स्नान गरेँ । दुई नबज्दै खाजा बनाएकी अञ्जनाले, आधा घण्टा, आज पास्तामा सब्जी थियो कति मिठो ! त्यसपछि दुई बजेदेखि जूममा बस्नु थियो । लोकबहादुर लोप्चनका नाटकको । नाटकको शीर्षक छ, दोर्जै सरको पदचाप । यसको एक फ्लायर अस्तिदेखि उड्दै थियो । यसमा लेखिएको छः दोर्जे सरको पदचाप नामक नाटक विमोचन एवम् दीपावली २०७७ शुभकामना आदान प्रदान कार्यक्रम । २०७७ कार्तिक १६ गते दिनको २ बजे प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई, टिप्पणी श्रीओम श्रेष्ठ ‘रोदन’ र सावित्री कक्षपति ।

यसमा धेरै विशिष्ट व्यक्तिको बोली र विचार सुन्न पाइयो । साहित्यइतरका राजनीति, समाज र दलित विषयका । एक बौद्धिक छलफल चल्यो तीन घण्टा लवदेव अवस्थी, उषा हमाल, गोपीनाथ मैनाली, घिमिरे युवराज, गणेश विके, विद्यानाथ कोइराला, बासुदेव काफ्ले, यस्तै यस्तै ६० जति । दुई बजे २६२६९६२७५० खुवाएर जुममा पसेँ अनि १२३४५ खुवाएर दैलो खोलेँ । साँच्चै रमाइलो र बौद्धिक भयो । उता… उज्यालो एफएमले लाइभ प्रसारण गरिरह्यो । कार्तिक महीनाको शायद यही जुम अन्तिम हो मेरा लागि ।

मैले धेरै बोलिनँ, अन्त्यमा थियो । त्यसमा मेरै भूमिका भएकाले धेरैले मेरै नाम दिएकै थिए । मेरो कुरा भूमिकामै थियो । एक नयाँ प्रयत्न थियो । पुरानो समस्याको समाधान प्रयत्न थियो । भित्री गाउँमा चल्ने छुवाछुत, शोषण, अत्याचारको विरुद्ध हजारौँ वर्षको पीडाविरुद्ध उठेको आवाज थियो, मृत्युको बदला मृत्यु ।

आज १७ गते सोमबार । यो हप्ताको अभि सरको लेख पढ्न बाँकी थियो र कान्तिपुर पल्टाएँ । शीर्षक लेखमा एउटा नवीन दृष्टिकोण रहेछ । देशको वास्तुकला र न्यायप्रणाली कसरी अन्तर्सम्बन्ध रहन्छ भन्ने कुरा । तीन सय वर्षदेखि पाश्चात्य बुर्जा शैलीका काराबास दरबार बनिँदै आएर नेपाल पनि पस्यो । त्यसको परिप्रेक्षमा कारागार भोक्तामाथि कत्रो अन्याय हुँदैछ त्यो विषय छ । कस्तो नवीनतम विषय अथवा दृष्टिकोण ! नेपालको नयाँ प्रणालीलाई कसरी सर्वसत्तावादले निलेको छ भन्ने प्रसङ्ग छन् । सोही दिनका पत्रिकामा यस्ता शीर्षकका लेख पनि प्रकाशित छ । यी लेख तात्कालिक भए पनि सर्वकालीकजस्ता सयौँ वर्षदेखिनका उत्पीडन प्रणाली हुन् ।

दिनमा उनै परम पावन दलाई लामा पढेँ । बेलुकीसम्ममा ६४ पृ. पुगेछ । यो सबै सचेतले पढ्नै पर्ने कृति अनुवाद गरेछन् । पशुपतिले सर्वधर्मको सार जोडेर अध्ययनले अनुभवले साधनाले निखारिएका एक महान् तपस्वीको जीवन छ ।

सन्ध्याकालमा एक फोन आयो मुकुन्दशरण उपाध्यायको । उपाध्याय एक तपस्वी हुनुहुन्छ, भाषा चिन्तामा जीवन समर्पण गर्ने व्यक्ति । विगत ४० वर्षदेखि नेपालीमा स्थापित हुन लागेका संस्कृत मूलबाट आएका सर्वनाम इनी–तिनी, एस–तेस आदि थिए । बिगारेर यस, त्यस, पारए । हाम्रो अग्रज महानन्द सापकोटा आदिले स्थापित गरेको यस्तो नगरौँ भनी २०३४ सालदेखि म बोल्दै लेख्तै छु सुनिएन । आजसम्म मैले प्रस्ताव गरे अनुसार ८२ वटा पुस्तकमा मेरो सिद्धान्त अनुशरण प्रुफ हेरेर प्रकाशित भए । यसका ठूला समर्थक जगदीश शमशेर राणा हुनुहुन्थ्यो ।

उहाँको विनयशीलताले म सधैँ प्रभावित छु । त्यसकारण मैले संस्कृत मूलको इमानी बाट आएको यिनीलाई इनी बनाउनेछ । सर्वप्रथम त्यो प्रयोग मेरो आगामी मेरो दोस्रो बेलायतको यात्रा शीर्षक कृतिमाम ‘इ’ ‘इनीहरू’ गरौँला भन्ने वाचा गरेको छु ।

त्यसपछि उहाँले अलिकति आफ्ना विद्वान् पुत्रको कुरा सुनाउनु भयो— डा. लोकमणि पौड्यालको भाषा नेपाली अध्ययनमा गहिरिएका ती विद्वान् भाइ । उता अयोध्या क्षेत्र नेपालमै रहेछ भन्ने आधार केही प्रस्तुत गरी मसँग बोलेका थिए । मलाई त्यो विषयक्षेत्रको त्यति ज्ञान छैन । तर उनले माडीदेखि त्रिवेणीसम्म जोडेर रामायण कथाको भूगोल पढेर नयाँ कुरा दाबी गरे, लेखे । अर्काले त्यो ‘सेन्टिमेन्ट’ बोले र सनसनी भो । माडीले ओलीको सहयोगमा त्यहाँ अयोध्या स्थापना गर्ने योजना सुनाए । तर म भन्दिनँ त्यो कतिको प्रमाणिक हुने हो । भारतीय होजिमोनीले सधैँ थिचेको यो देशमा । सत्य भए ता निर्भिक कदम चल्नु पर्छ भरे त्रुटी भए के होला ? धेरै विद्वान् नधुरिई अलिक हतार होला कि ?
त्यस्तै सम्पर्क भए । बेलुकी ज्ञानजीलाई मेरो सार्त्र विषयक एक निबन्ध सुनाएँ । उनी यस्तै सुन्ने पढ्ने तिर्खा भएका मान्छे हुन् । दिनमा सेवा छोरी आइन्, अम्बा लिएर गइन् एकछिनपछि । ऋचा छोरी टेक्सासदेखि घुम्दै आज एरिजोना पुगेको खबर आयो । टेक्सासमा मेरा भाइ बुहारीसँग सात दिन बसी दशैँ मनाए । देश देखून्, आफूलाई हर्ष छ ।
आज १८ गते । मध्यराततिर च्यादरका छानामा ठोकेको र उक्काउन थालेको सुनेँ, तर्सेर उठेँ । बत्ती बाल्दै बरण्डामा पुगेँ । को हो ? भनी कराउँछु अझै ठोक्तै छ । तल ओर्लेर हेर्छु आफ्नै ग्यारेजका छानामाथि एक हूल कुकुर नाच्ने, उफ्रिने लर्ने काम गर्दारहेछन् । हकारेँ, झटारो हानेँ, बल्ल भागेपछि माथि चढेँ । घडी हेर्दा बल्ल दुई बजेको । एक कप पानी पिएँ अनि सुतेँ । तीन बजेसम्म केले हो आँखा जोडिएनन् । बल्ल निधाइएछ धेरैबेरपछि ।

बिहान ब्यूँझँदा छ बज्नै लागेको छ । यस्तो कहिले भएको थिएन । माथि चढेर एकैछिनमा व्यायामको बेला भयो । अरु एकैछिनमा खानाको । बीचमा केही कर्म भए परन्तु केवल सम्पर्कका । उता धरानदेखि डा. भवानी मिश्रले फोन गरे— लुइँटेल गुरुको नाममा एउटा अनुसन्धानमूलक संस्था खोल्ने र रोफरीड जर्नल निकाल्ने कुरा हुँदैछ ।

मैले भनेँ— साँच्चैका अनुसन्धान सामग्रीको अभाव छ । अनुसन्धाता पाइन्नन् । धरानजस्तो ठाउँमा प्रयत्न गर्ने ठूलै दल प्राज्ञिक दल नभै त्यो सपना साकार हुँदैन । म चाहिँ सहयोग गर्न सक्तिनँ होला ।

यो क्यानाडाबाट हरिदाइले व्यक्त गर्नुभएको इच्छा हो । उहाँसित सरलाई एकपल्ट भेट गराउँछु । हुन्छ हाम्रा पारिवारिक भाइ, धरान लोकनाथ लुइँटेल गुरुका छोरा, डा. हरि लुइँटेल, अञ्जनाका फुपूका छोरा ।

एकैछिनमा हरि पनि जोडिए । तीनमुख भएर बोल्यौँ । उनले उच्च आकांक्षाका अन्तर्राष्ट्रिय जगत्का कुरा सुनाए । मैले यसरी धरानको परिप्रेक्षामा यो सम्भव छ भने । अनि उनी पनि मत्थर भए सामान्य कुनै पत्रिका निकाल्ने सल्लाहमा कुरा टुङ्गियो तर एक घण्टा त्यता लागनी भयो ।

म बिहानभरिमा यो पवित्र दलाइ लामा धेरै माथि पु-याउँला भन्थेँ यसरी अल्झेरै, चुँडिएरै आजको समय गयो । खाना खाएर एकछिन रेष्ट गरेपछि मात्र मलाई फुर्सद भयो । फुर्सद के भनौँ एकसुरले काम गर्न सक्ने भएको थियो ।

तब केही टाइम पास टोक्तै, चिया पिउँदा पवित्र दलाइ लामामै निहुरी रहेँ । आजको पाठमा हिन्दु , इसाइ, बौद्ध ती धर्मका सारतत्व पढेँ । कस्तो गम्भीर ग्रन्थ छ, समग्ररुपले करुणा र एकतत्वमा समर्पित । भर्खरै एक नेपालीले थालेको ‘प्रेमवाद’ भन्दा नयाँ विचार वा धर्मको लाइनबारे पढेँ, टोकनारायणको अनुवाद पनि तर ती नयाँ धर्मगुरुले आफ्नो नाम क्रिश्चियन रााखेकाले मैले केही लेख्न अस्वीकार गरेँ । गीतामा परधर्मो भयावह भनिएको । यत्रो महान् धर्मको फूलबारीमा नाच्तानाच्तै फेरि अर्को धर्म गतिलो भन्दै उता उफ्रिनु परेको छैन । अथवा लोकले टीका, वस्त्र, खरानी, आवरण र यस्तै ढर्रालाई जसरी धर्म भन्छ, त्यता मलाई चाख छैन । कुनैको अपमान पनि गर्नु हुँदैन । आआफ्नो मान्नू जसरी सकिन्छ त्यसरी अरुको निन्दा नहोस् । केही राम्रा कुरा भए अपनाउनु सकिने भए जीवनमा अपनाउनू । तर मेरो निम्ति साहित्य भन्दा ठूलो कुनै धर्म छैन । अर्थोक मलाई केही चाहिन्न । यो नै मेरो परम तृप्तिको धर्मको परम शान्तिको ।

मध्य दिनमा एकछिन विश्राम गरेर श्री मुक्ति बरालको डोनाउको स्वच्छ किनार नामक यात्रा संग्रहमाथि केही शुभकामनाका शब्द लेखी पठाएँ । जुन यस प्रकार छ— श्री मुक्ति बरालका बहुसर्जक चेतनाबाट म प्रभावित छु । साहित्यप्रेमीको निमित्त अध्ययन, कल्पना र श्रृष्टिभन्दा अर्को सत्य केही छैन । उहाँ निमग्नतापूर्वक त्यसैमा लाग्नु भएको छ । प्रस्तुत कृति उहाँको युरोपको प्रथम यात्रा भएकै द्रस्टा वा लेखकबाट अपेक्षित सरल जिज्ञासाभाव कौतुहल र एक निर्दोषिता वा अवोधपन प्रशस्त आउँछ । यस कृतिको मूल्य तिनैमा छ । अकृत्रिम भाषामा प्रस्तुत यसकोमन जित्ने वर्णनले गर्दा पुस्तक हात परेपपछि छोड्न मन लाग्दैन । यसमा भूगोल, इतिहास र संस्कृतिका झल्का, दर्शनीय स्थान, नेपालीको जीवन र विशेष गरी मैले पनि चिनेकी शीला दिदीकी छोराको विवाहको अवसर छ । नेपाली संस्कृति मिसृतताको महासागरमा छ । मेरो नियमित यो अनिवार्य पाठनको सूचीमा रहेको कृति हो । यस्ता कृतिका सर्जक उहाँको यत्रा साहित्यको उत्थानतिर अथक रुपले लागिरहोस् यद्यपि उहाँ बहुविधाको बीचमा हुनुहुन्छ ।

त्यसपछि म फेरि दलाइ मलामातिर लागेँ भरेसम्ममा हिन्दू, इसाई र इस्लाम धर्मका प्रधान गुणहरु सकिए । ती भिात्रका करुणा पक्ष, परहित परोपकार आदि धर्मले निर्दिष्ट गरेका कोमल मानवीय पक्ष के के छन् ती सकिए । यहूदी सक्ने बेलामा पाठ बन्द र्गे बेला भयो । यहूदीजातिलाई धर्मैले बाँधेको हरहेछ । त्यो पढेर ज्यादै प्रभावित भएँ । आज विश्वभरि छरिएका नेपाली जातिले पनि यहूदीले सरी भाषालाई र नेपाली जातित्वलाई आफ्नो पहिचानको मूल मन्त्र बनाउनुपर्छ । बन्द गर्नुअघि हिजोको पब्लिकनाममा प्रकाशित मेरो ग्रीस यात्राको भाग तीन खोलेर पढेँ, मनमनै भाइ राजा पुनियानीलाई धन्यवाद दिएँ ।

नेपाली भाषाको शक्ति चिन्तन गर्दागर्दै सिलिगुडीका साहित्यकार भाइ ज्ञानेन्द्र खतिवडाले पठाउनु भएको एउटा छोटो क्लिप (समाचारको अंश होला) सुनेँ— भारतमा पहिलोपल्ट एक वर्षे डिप्लोमा कोशी नेपालीमा र छ महीने सर्टिफिकेट कोर्स (नेपाली) प्रारम्भ गर्न सन् २००५ स्थापना भएको उत्तराखण्ड मुक्त विश्वविद्यालय नैनीतालका उपकुलपति प्रोफेसर ओमप्रकाश सिंह नेगीको समर्थनमा एकेडेमिक काउन्सिलले निर्णय लिई पाठ्यसामाग्री तयार पार्ने उत्तराखण्ड मुक्त विश्वविद्यालयका पी आर ओ डा राकेश राईलाई जिम्मेवारी दिइएको छ । डा. राईले प्रस्तावक डा. खगेन्द्र शर्मासित सम्पर्कमा रही सो कार्य सम्पादन गर्दैछन् । आउँदो वर्ष २०२१ बाट गढ्वाली र कुमाउली भाषामा साथै नेपाली भाषाका यी दुईटै पाठ्यक्रम प्रारम्भ हुने भनिएको छ । असम नेपाली साहित्य सभा गुवाहाटीको भएर लकडाउनभित्रै डा. खगेन शर्माको पहलमा यो कार्य यहाँसम्म आइपुगेको जानकारी छ । यसका लागि पछिल्लो समयमा श्रीमान बालकृष्ण आचार्यको पनि सहयोग प्राप्त भएको छ । खासगरी उत्तराखण्ड तथा यसका छेउछाउका नेपाली भाषीले अब उसो आफ्नो भाषा साहित्य र संस्कृति शुद्ध तरिकाले औपचारिक रुपमा पढ्न पाउने भएका छन् । भविष्यमा हाइस्कूल तहमा पनि नेपाली भाषा लागू भएको खण्डमा यो ४०० नम्बरको नेपाली डिप्लोमा प्रमाणपत्रले सहयोग गर्नेछ । कक्षा १२ र स्नातक उत्तीर्ण कुनै उमेरकाले पनि यो कोर्श पढ्न सक्ने छन् । यसमा एडमिसन गर्दा के फाइदा हुन्छ भने पाठ्य सामग्री पनि सबै पाइन्छ; किन्नु पर्दैन । परीक्षा पनि एक हातामा समाप्त हुन्छ । यसको स्टडी सेन्टरमा वा अनलाइन एडमिशन गर्दा हुन्छ । नेपाली भाषा साहित्य र संस्कृतिसित औपचारिक रुपमा परिचित भएपछि साहित्य सेवा र चर्चा गर्ने जोसुकैलाई थप अनुकूल हुन्छ । सरकारी तहबाट भाषा पढ्न पाउनु आफ्नो हक अधिकार हो । विश्वविद्यालयले आफ्नो कार्य गर्दैछ । अब आउँदा दिनमा राज्य सरकारले दुईवटा पोष्ट स्याङसन गरिदिने छ ।

यो क्लिपलाई दुईपल्ट सुनेँ र तेस्रोपल्ट विश्वका अनेक मित्रलाई पठाएँ अनि कलम कापी बन्द गरेर ओर्लेको थिएँ; आज जस्तो गहिरो आनन्दको निद्रा कहिल्यै लागेको थिएन ।