मंसीर ६ गते २०७७

हिजोदेखि अञ्जनालाई धेरै राम्रो भयो । कानको बेथा छ, टाउकाको थेरापी । सेवा छोरी गराउँदैछिन् दिनमा माथि आउँछिन् । बिहानै स्नान गरेर आइन् । सबै मिलेर घाम ताप्यौँ, फलफूल खायौँ । पढ्न पनि कठिन छ, लेख्न जस्तै उनलाई यतिखेर । दिनमा लुना छोरी आइन् र तिहारका कोसेली दमकदेखिका ल्याइन् ।

ठूलीआमाको चौथो दिनको शोकमा घरबाट सबै जानुभो ।

एउटा लेखकलाई अलिकति प्रशंसा पनि उर्वरकजस्तो लाग्दोरहेछ । त्यसो त यतिखेरको प्रशंसा साँच्चै पाठकको हृदयबटै पलाइरहनु पर्दैछ । सिर्जनाले नै पघारेर ल्यायो होला भन्नु पर्दैन । यसै पनि प्रेमले, परिचितताले, भावुकताले चार अक्षर लेखाउन सक्छ । प्रत्येक व्यक्ति सुसज्ज्ति छ ।

तथापि हिजो आएको तीन प्रशंसाले मलाई अलिकति शक्ति दिएको छ । सर्वप्रथम विरञ्ची कुमार पौडेलले लेखे । विरञ्ची महाकविका निबन्ध (लक्ष्मी निबन्ध संग्रह) बाट एक दुई निबन्ध अनुवाद अभ्यास गर्ने व्यक्ति रहेछन् । मेरो परिचय थिएन तर उनले मेरो हालैको गोर्खा टाइम्समा प्रकाशित के नेपाल सानो छ शीर्षक महाकविको निबन्धको अनुवाद इज नेपाल स्मल ? पढ्दै छन् । त्यो अनुवाद मेरो सेलेक्टेड नेपाली एसेजबाट लिइएको थियो । त्यो पढेर उनले लेखे — सर नमस्कार सर, म विरञ्ची कुमार पौडेल हुँ । मैले तपाईंको के नेपाल सानो छ भन्ने निबन्धको अनुवाद द गोर्खा टाइम्समा पढ्ने अवसर पाएँ । यो चाहिँ देवकोटा फ्लेवर बोकेको (मिश्रित) रहेछ । तपाईंको यो रचना (अनुवाद) पढ्दा मलाई बोध भयो र धेरै कुरा जानेँ । साहित्यिक अुनवादको क्षेत्रमा नयाँ अन्तर्दृष्टि पाएँ । यसलाई शेयर गर्नु भएकोमा धन्य छु सर । तपाईं, मजस्ता धेरै अनुवादकर्मीका प्रेरणास्रोत हुनुहुन्छ ।

त्यसपछि दिउँसो आसामका देवेन सपाकोटाले लेखे— हजूरको कविताभित्र (पृ. २५३) पसेपछि मलाई निस्कन हम्मेहम्मे प-यो । साह्रै स्वादिलो ज्ञानवर्द्धक । असीम धन्यवाद यहाँलाई ।

आसाम निकै पछि छ । स्वाभाविक हो, घरघरमा मौखिक सिकेको भरमा पनि नेपाली साहित्य गर्दैछन् प्रेमले । यसपालि मैले चारवटा स्थानमा (तीन कलेजमा) प्रवचन दिएँ । समकालीन नेपाली साहित्यको प्रवृत्तिबारे आफ्नो उत्तरआधुनिक ऐना परिचायक हो भने पढनू भनेँ, पीडीएफ पठाइदिन्छु ।
आज देवेनले ती पृष्ठहरू देखाएर त्यति लेखे । अब गहिरिएछन् भन्ने लाग्यो । आसामकी नीलिमा आचार्यले सिक्किमको एक पीडिएफ पाइछन्, टीका ढुङ्गेलले पठाएको साहित्यिक पत्रिकाको जसमा मेरो एक निबन्ध थियो — हजुर नमन छ सर । आरामै हुनुहुन्छ आज हजुरको एउटा लेख पढेँ “पूर्वधार” पत्रिकामा । धेरै राम्रो लाग्यो “असारे झरीको एक साँझ” ।

यस्तै थोप्लाथोप्ली हेरेर टीकाटिकी टिपेर खुसी जस्तो केही उने भिर्न मन लाग्छ । अरुलाई देखाउनु पनि भए । एक फुली खुसी थपिएको पनि छ— आज बिहानै किरण गजुरेलले २४ अनलाइन न्यूजमा लक्ष्मण गम्नागेको पसिनाका पाइला पछ्याउँदै शीर्षकमा एउटा रिभ्यू प्रकाशित गरे । उनलाई सुनाएँ खुसी भइन् । अन्यत्रा पनि अलेली पठाएँ । अब फेसबुकमा आउला ।