त्यति गरिसक्ता आजको मध्यदिन टर्‍यो । अञ्जना भुइँ तलामा, सेवा बीच तलामा लकडाउन छन् । दुवै आआफ्नै किताबकापीसँग छन् । मैले सिरानतलाको आसन बदलेँ । उठेर व्यायामको तालमा चारपाँच फन्का भित्र–बाहिर गरेँ र चिया पानी उमालेँ । एक ‘साकुरा’ पौच ठूलो गिलासमा डुबाएँ । आधीमाना चिया तयार पारेर दुई पाना काठे बिस्कुट लिएँ, एक मुठी दालमोठ पनि घान हालेँ । त्यसपछि हेर्दा एक हिन्दी गीतको प्यारोडी ठिक्क परेको रहेछ— त्यो सुनेँः

बेवजाह घर से निकल्ने की जरुरत क्या है
मौत से आँख मिलाने की जरुरत क्या है
बेवजाह घर से निकल्ने की जरुरत क्या है
सबको मालुम है बाहरकी हावा है कातील
यूँही कातिल हे गुजरने की जरुरत क्या है
बेवजाह घर से निकल्ने की जरुरत क्या है
मै हुँ दीप्ति सुकान्त

एकछिनपछि दुईवटा ठट्टा आए । एउटामा दुई तस्बिर छन् जसमा दुई कुकुर देखिन्छन् । मुन्तिर लेखिएको छः Dressed like a dog to avoid traffic during lockdown (अर्थात् लकडाउनको समयमा ट्राफिकले रोक्ला भनी कुकुरको ड्रेसमा)

अनि गहिरिएर हेर्दा थाहा पाइन्छ सेता कुकुरका भुत्ला जस्ताको स्त्र लगाएर चार हात खुट्टा टेक्तै सडकमा हिँडेको मान्छे । अर्को पनि भिडियो क्लिप आयो— पाकिस्तान में दो लोगो की कोरोना रिपोर्ट निगेटिव् आयी । परिजनों ने खुसी से फायरिङ की, जिससे ५ लोगों कि मौत हो गई ।

गर्दागर्दा बेलुकी साढे नौ सम्ममा लक्ष्मण श्रीमल दाइका कविताको विषयमा रफ ड्राफ्ट लेखिसकेँ जम्मा १२ पृष्ठ मेरो ठूलो डायरीमा । अब मिलन आन्टी आएर टाइप गरेर अनेकपल्ट परिशोधन गरेपछि बल्ल यसलाई प्रकाशनयोग्य पारौँला । कृतिमै ज्यादा अशुद्धि देखेपछि मलाई पीर लाग्छ, आफ्नामा पनि त्यसरी त्रुटि देखिए भने त्यसप्रति पाठकको भाव कस्तो हुन्छ !

त्यसपछि आज दिउँसै अलिकति समय लिएर आसामका छत्रमान सुब्बाले फोन गरेका थिए—

‘प्रणाम गुरुजी ।’

‘प्रणाम भाइ ।’

‘मैले यो हजुरको उत्तरआधुनिक विमर्श पढिसकेपछि साथीहरुसित कुरा गरेँ— यस्तो अमूल्य ग्रन्थ रहेछ भनेर । त्यसपछि यहाँ धर्मेन्द्रमले एउटा ग्रन्थ निकाल्दै छन् अरे सर धर्मेन्द्र भट्टराई चिन्नु हुन्छ नि !’

‘राम्ररी चिन्छु उहाँलाई ।’

‘हो, उहाँकै एउटा विशेष प्रकाशनमा मेरो प्रिय ग्रन्थ शीर्षक केही लेख पनि समावेश गर्नु हुन्छ अरे । १६ जना लेखकमध्ये एक मलाई छानी एक लेख्न लगाउने हुनुभयो । यसको शीर्षक छ तपाईंलाई सबभन्दा बढी मन परेको पुस्तक । मैले यही उत्तरआधुनिक विमर्श नै रोजेँ गुरु । धन्य तीन वर्षअघि नेपाल आएँछु । धन्य एकदिन हजुरसित भेट भएछ । धन्य यस्तो कृति फेला पारेछु । मेरो निम्ति रामायण, महाभारत, गीता समान भो यो । यसबारेको लेख छ–सात पृष्ठ होला गुरुलाई सुनाउने अनुमति चाहन्छु ।’

‘बरु मलाई इमेल गर्नु होला ।’

फेरि लक्ष्मण श्रीमलको बारेमा लेख्तै गएँ, पढ्दै गएँ आज अन्त्य गर्ने इच्छा राखेको छु । धेरै बसेर होला जिउ भारी छ । तर सेवा छोरीले कडा व्यायाम ल्याइन्, आधा घण्टा मच्चिएर गर्‍यौँ मुटु फुल्ने गरीको…. कस्तो जमाना आएको ! केही असम्भव छैन ।

अनि त हरि भाइले प्रबन्ध गरेको मेरो सम्झनाको सागरमा केही दिनबाट आएको तेस्रो खण्डको पाठ सुनेँ । ती आफन्तहरुलाई ट्याग गर्दै बसेको थिएँ; केही प्रतिक्रिया जम्मा भएपछि तिनलाई टिपेँ; केही यसप्रकार छन्ः

१. जयराज अवस्थी सर— सरको स्मरण शक्ति तथा लेखन शैली अद्वितीय छ, ‘यो हाम्रो निधिको रुपममा रहने छ ।’ हामी बाँचुन्जेल सम्झना गर्नेछौँ र त्यसपछि नयाँ पुस्तालाई यो भण्डार हस्तान्तरण हुन्छ, पुस्तैनी रहिरहनेछ ।

२. केदार संकेत— भयङ्कर गुरु अब स्वरमा पनि आयो हजुरको कृति हामी एकदम खुसी छौँ ।

३. दुर्गा दाहाल— दुखद र विस्मयकारी तथा यथार्थपरक नयाँको प्रतीक्षामा सर ।

४. पीताम्बर— गुरुदेव अतुलनीय आत्मसंस्मरण श्रवण गर्दा मेरा कर्ण पवित्र भए ।

५. कमल— नमस्ते गुरु सुस्वास्थ्यको कामना बाल्यकाल रोचक हुन्छ । डरभित्र पनि आनन्दै हुन्छ ।The  village school master पढ्ने हामीलाई सम्झना भयो ।

६. डा. इन्दुप्रभादेवी— एकमा पनि राम्रो, एपिसोड दुई सुनेर कति रोएँ कति, एपिसोड तीनमा झन् मुटुमा नै घाउ भएजस्तो भो दाजु भाग २–३ सुन्न जोसुकैले सक्तैनन्, मुुटु दुख्छ ।

७. भानेन्द्र सम्बाहाम्फे— मन दुखले भरियो दाजु… ती शिक्षकप्रति अभिभावकप्रति रिस उठ्यो यता पनि तर त्यस्तै थियो दाजु शिक्षा व्यवस्था तपाईंले त्यो डरलाग्दो अतीतलाई कति सरल तर शक्तिशाली भाषामा उतारिदिनुभएछ ।

८. प्रणाम डा. साब आज हजुरको सम्झनाको सागरमा केही दिनको पहिलो एपिसोड सुनेँ । मलाई हरि दाजुबाट प्राप्त भएको हो । तेस्रो एपिसोडसम्म वाचन भएको रहेछ । सुन्नेछु र सबै छुटाउने छैन डा. साब । हाम्रा लागि अमूल्य निधि नै हुनेछ, डा. म्याडमलाई पनि मेरो प्रणाम। भाइ भानेन्द्र

९. सुरेन्द्र लिम्बू ‘परदेशी’— रचना वाचनको अनलाइन शृङ्खला सुने बडो आनन्द लाग्यो सर । कहिल्यै नफर्किने गरी बितेर गएका बालापनलाई फर्काइदिएको अनुभूति भयो ।

१०. ज्ञानेन्द्र खतिवडा— खण्ड तीन पनि पढेँ हजुर । मिठो लाग्यो । तपाईंले प्रयोग गर्नुभएको ‘भाले साँझ’ शब्द मन पर्‍यो । के ठूलो साँझलाई भाले साँझ भनिन्छ कि.. जस्तो लाग्यो । हाम्रामा यतातिर त्यो वाक्यांश प्रयोग हुँदैन । तर मनले टिप्यो सिङ्गो किताब पढेझैँ नै वाचनमा पनि स्वाद लिइरहेको छु गुरु प्रणाम ।

११. आरबी निश्चल—आजका प्रत्येक विद्यार्थी शिक्षक अनि अभिभावकले अवश्य सुन्नुपर्ने संस्करण– कलिला मन भाँच्ने … ।

१२. अयोध्यानाथ चौधरी— नमस्कार । सम्झनाको सागरको दोस्रो भाग सुनियो । पहाड र नदीका अविष्मरणीय दृश्यहरु, स्कुल जाँदा उकाला–ओरालाका कष्टहरु, पारिवारिक शिक्षामा शक्ति, शिक्षामा छात्रमाथिको पाश्वविक दुर्व्यवहार, भूतप्रेतका भय र आतंकले प्रताडित बालमन, शैक्षिक कुव्यवस्था, सम्बन्धित दुईवटा कविताहरु आदि बडो मनोयगपूर्वक सुनियो । कथा भन्ने व्यक्तिलाई सलाम । संगतिको स्वरमा उदासीन बनाई रुलाउने सामर्थ्य पाएँ । छोटा वाक्यहरु सजीव चित्रहरु उपस्थित गर्दा रहेछन् । सम्पूर्ण इपिसोड एउटा अत्यन्त महत्त्वपूर्ण शिक्षाविदको लामो अनुभवमा आधारित अवैज्ञानिक पारम्परिक शिक्षामा केन्द्रित पाइयो । अर्को इपिसोडको प्रतीक्षामा ।

१३. कलानिधि— भूत परम्पराप्रतिको झन्, शिक्षा क्षेत्रमा रहेका पाखन्डी विवेकशून्य परम्पराप्रतिको मूल्याङ्कनात्मक दृष्टि, बालमनोविज्ञानप्रति संस्कारतः विकसित हुँदै गएका नकारात्मक सोच, विद्यालयीय वितृष्णबाट उत्पन्न निरन्तरताको कहाली लाग्दो अवस्थाका कारक शिक्षक भएका र भइरहेकोले सुधारका लागि शिक्षककै मनोविश्लेषण हुनुपर्ने सन्देश, यिनै विषयमा केन्द्रित यो सामाग्री दाजु साब !
००००