चैत्र २७, २०७६, अप्रिल ९, २०२०
आज पनि ३ः १० मा स्टडी पुगेर बसेको छु । हर्बल चिया सेलाउँदै गर्छ; योगेन्द्र दाइको यो पुस्तकबारे अन्तिम शब्द लेख्नु छ, यसमा लागेको पाँचदिन भैसक्यो त्यसो त उहाँको पाण्डुलिपिका पनि ए फोर साइजमा ३३० पृष्ठ छन् । पुस्तकमा सेटिङ गर्दा ५०० पुग्ला ।
उहाँले दुःख गरेर काम गर्नुभएकाले मलाई यति गर्न कर लाग्यो । त्यस विषयमा मैले यसको भूमिकामा प्रकाश पारेको छु; आज बिहानै त्यसलाई पूरा गरेँ— यस्तो छः श्री योगेन्द्र तिमिल्सिनासित हाम्रो परिवार जोडिएका ४६ वर्ष पूरा भएछन् । हामीलाई उसबेला साहित्यले जोडेर छोडेको थियो; पुनः साहित्यले नै आह्वान गर्यो र हामीले त्यस सम्बन्धको नवीकरण गर्यौँ । लामो अन्तराल पछि उहाँका कथासंग्रह र उपन्यास प्रकाशित भए हामीले खुसी मनायौँ।
उहाँभित्रको साहित्यकार, साहित्यप्रेमी र पाठक व्यक्तित्व सदैव क्रियाशील बसेको रहेछ त्यसैको प्रमाण हो प्रस्तुत ग्रन्थ विश्वका विख्यात साहित्यकार ।
नेपाली साहित्यमा एक सन्दर्भ ग्रन्थको खाँचो भएको समयमा यो कृति तयार भएको छ । यसको प्रारम्भिक पाण्डुलिपिसँग ता गतवर्ष नै मेरो भेट भएको थियो तर बीचमा अझ राम्रो पार्ने कामहरु थिए— यसलाई वर्णानुक्रमले राख्ने सल्लाह गर्यौँ, तस्वीर दिने सल्लाह गर्यौँ— त्यसपछि उहाँले १६० शीर्षक एक एक चाल्नु पर्यो, प्रत्येकका तस्वीर खोजेर राख्नु पर्यो, अरु पनि थप्नुपर्ने र मिलाउनु पर्ने प्राविधिक कुरा थिए । ती पूराभएपछि मात्रै एक वर्ष पछि यो पाण्डुलिपि प्रप्त गरेको थिएँ तर फेरि आफ्ना निजी उत्सवहरु आए र त्यतै लागेँ । धन्य भन्नु ता हुँदैन तर यो कोरोना काल आइदियो र एक ढुक्कले एकान्तवासमा बसेर यो पढने संयोगका दिन आए; नत्र अझै पर पुग्थ्यो होला ।
नेपाली साहित्यमा पाठकीय दृष्टिकोणको विस्तार गर्नका निमित्त यस्ता कृतिको साह्रै ठूलो अभाव रहेको थियो । धेरै अघिको तानासर्माको पश्चिमका महान् साहित्यकारले धेरै काम गर्दै आएको हो, पछि शारदा उपाध्यायको पनि आयो तर ती दुवै कृतिभित्र चुनिएका कम्ती साहित्यकार समावेश छन् । अघिल्लो दशकमा डा. लक्षण गौतम र हरिहर पौडेलले मिलेर बनाएको नोबेल साहित्य बिजेता शीर्षक कृति पनि आयो जसमा सन् २००५ सम्मका स्रष्टा समावेश थिए ।
तर प्रस्तुत ग्रन्थ सबैभन्दा महत्त्वाकांक्षी बनेको छ । संख्यामा पनि यति धेरै स्रष्टा एउटै ग्रन्थमा समेटिएको पहिला पल्ट हो । यसमा आइसल्याण्ड, दक्षिण अमेरिका, अफ्रिका, जापान अनेक भूभागका श्रेष्ठ कवि लेखक समेटिएका छन् ।
यसमा नोबेल पुरस्कार प्राप्त मात्र होइन साहित्यिक इतिहास आरम्भ भएको समयदेखिका विश्वस्रष्टा जस्तै कालीदास, तुलसीदास, अरस्तु, दाँतेसम्म पुगेर लेखकले सकेसम्म व्यापकता दिनु भएको छ ।
लेखक आफैँ एक कुशल स्रष्टा र गम्भीर पाठक भएकाले यहाँ प्रस्तुत साहित्यकारहरु एकएक गरेर वर्षाैं लगाएर चुनेर संग्रह गरेर, सुनिश्चित गरेर यति भएका हुन् ।
यस्ता ग्रन्थमा लेखकहरु प्रस्तुत गर्ने अरु पनि तरिका छन्— कालक्रमअनुसार, देशअनुसार, भाषाअनुसार, विधाअनुसार, धर्मअनुसार । तर एउटा पाठकको मनमा कुनै लेखकको नाम आउनासाथ पृष्ठ पल्टाउन सकिने यो मात्रै एक तरिका हो । हामीले सल्लाह गरेरै यो शैली रोजेका हौँ, कारण यति लामो दुःख श्रमले निर्मित यो ग्रन्थ पाठक–मैत्री पनि होस् भन्ने हाम्रो उद्देश्य हो । डिजिटल पाठहरु सर्वसुलभ भएको समय आएको छ तर गुगलले अथवा विश्वकोश (इन्साइक्लोपिडिया) ले पनि भाषाको बन्धन देखाउँछन् । अंग्रेजी साहित्यका पाठकलाई ती सामग्री उपयोगी होलान् तर भिन्न मार्ग लिने अन्य विषयक्षेत्रका विद्यार्थी कति छन्, शिक्षक अध्यापक कति छन्, स्रष्टा साहित्यकार पाठक कति हो कति छन् । यो कृति तिनै पाठक प्रयोक्ताको घरघरमा पुगोस् भनी निर्माण गरिएको होला । यसको निर्माणमा लाग्ने परिश्रम र लगानी सानो छैन । त्यसैले म यसको हार्दिक प्रशंसा गर्दछु ।
आधिजति स्रष्टा नोबेल पुरस्कारभन्दा बाहिरका छन् । यो पुरस्कार ता आरम्भ भएको भर्खरै हो उता ईशापूर्वदेखि लेख्नेहरु विश्वसभ्यताका निर्माताहरुलाई पनि उचित स्थान दिनु पर्यो भनी अध्येता यागेन्द्र तिमल्सिनाले यत्रो खोजी र अध्ययनको कष्ट गर्नुभयो । त्यसैले होला मलाई पनि कति नाम नौला लाग्ने खालका छन् ।
राम्ररी बुझेर खोजेर तयार पारिएको यस कृतिको गम्भीर पठनबाट मैले आनन्द र ज्ञान दुवै कुरा प्राप्त गरेँ तर त्यस क्रममा कताकति केही कुरा यसो गर्न पाए हुन्थ्यो भन्ने नराखी दाइलाई सल्लाह पनि दिएँ । पहिलो कुरा छ— थप केही सूचनाको ।
कुनै स्रष्टा पढ्दै जाँदा उनको यस्तो कृति पनि हुनुपर्छ भन्ने लाग्यो भने विशेष महत्वको यस्तो कृति वा कर्मलाई थप्ने संकेत दिएको छु । अथवा अमुक विश्वस्रष्टाको यो कृतिको नेपालीमा पनि अनुवाद भएको कुरा थाहा भएछ भने त्यसको जानकारी थपेको छु । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित, अनुवादक परिचय कोश (२०७४) को सम्पादन गर्ने अवसर आफूलाई प्राप्त भएकाले मैले त्यसको सहाराले थाहा पाइएका तर यहाँ जोड्न छुटेका (अनुवाद विषयक) कुरालाई जनाउ गरेको छु ।
तेस्रो कुरा छ उच्चारणको । हरेक भाषामा उच्चारण व्यवस्था बेग्लाबेग्लै हुन्छन् । प्रत्येक नाम रोमन उच्चारण अनुसार होइन उनीहरुको परम्परा अनुसार हुन्छन् । जस्तै इटालेली कवि Carducci को नामको उच्चारण गर्दा यहाँ शुरुको c ले ‘क’ को उच्चारण बनाउँछ, अन्त्यका ‘cc’ ले ‘च’ को । यसरी यसको उच्चारण ‘कार्डुचि’ हुनजान्छ; Cervantes मा c को उच्चारण ‘क’ अथवा ‘च’ नभएर ‘स’ हुन जान्छ ‘सर्भान्तेस’ वा ‘तिस’, Proust त्यस्तै प्राउष्ट जस्तो लाग्छ तर ‘पू्रष्ट’ मात्र हुन जान्छ ।
जर्मन Hesse हेसे अथवा हेस्से हुन जान्छ; त्यस्ता कुरालाई अंग्रेजी भाषाले सिकाएको Phonetic pronountiation अनुसार प्रोग्राम हेरेर सुनेर सुनिश्चित गरेर त्रुटि भएका ठाउँलाई त्रुटिरहित बनाउने काम गरेको छु । अनुवाद कलामा आफूले अध्ययन गरेको How to pronounce proper names ले यस्तो निर्णय लिन मलाई अलिकति सहायता गरेको छ ।
सबैभन्दा गहिरो त्रुटि हुने ठाउँ छ ‘द्वित्व’ अंग्रेजीमा यसलाई Gemination भनिन्छ जसमा एउटै स्वर वर्ण दोहोरिन्छ जस्तै dinner, summer, little, Russia । हामीलाई लाग्छ, दुई अक्षर भएपछि उच्चारणमा द्वित्व कायम होला र हाम्रो उच्चारण सम्मर, लिट्टल, रस्सिया, डिन्नर होला तर त्यो उच्चारण त्रुटिपूर्ण हुन जान्छ । अंग्रेजीमा द्वित्य अनुच्चारित हुने हुनाले माथिका शब्दको उच्चारण समर, लिटल, रसिया, डिनर मात्रै हुन्छ । काठमाडौँको एउटा प्रशिद्ध स्कूल छ ‘लिटल एन्जल्स् स्कूल’ तर सबैतिर उनीहरु लिट्टल एन्जल्स् लेख्छन् ।
सबै भाषामा त यो नियम बेग्लाबेग्लै हुन्छ । संस्कृत प्रभावित नेपालीमा द्वित्वको उच्चारण प्रष्ट सुरक्षित सुनिन्छ ‘फुस्स’ ‘घर्र’ आदि । इटालियन भाषामा पनि यही नियम हुँदोरहेछ— उच्चारण हुने । जस्तै fato फातो (भाग्स), fatto फात्तो (पूरा भयो) आदि सकेसम्म नियम थाहा भए अनुसारको एकरुपता कायम गरिएको छ । यस ग्रन्थबाट ती उच्चारण (नामहरु) सिकेपछि अन्यत्र त्रुटि नहोस् भन्ने चाहना छ ।
ग्रन्थमा मैले नसुनेका नपढेका नाम (साहित्यकार) पनि समावेश छन् । त्यसैले गर्दा अत्यन्तै गहिरो रुचिसाथ यसको अध्ययन गर्ने अवसर पाएँ ।
त्यसो त सबै पाठको लम्बाइ (शब्दसंख्या) एकरुप छैन । कुनै एकपेजी छन् । कुनै तीनसम्म (लेखकको ज्ञान र श्रद्धा अनि विशेषता र सामग्रीको उपलब्धता नै निर्णायक तत्त्व होलान् जस्तो) । पाठकलाई लगभग बराबर ती भैदिए हुन्थ्यो जस्तो लाग्छ ।
आजको नेपाली भाषा विश्वतिर व्यापकरुपले वितरित छ । नेपाली जातिले विभिन्न प्रकारले ज्ञानको आदानप्रदान गर्दैछन् । यस्तो समयमा हामीले पनि अलिकति विश्वक्रम ग्रहण गर्न सकेनौँ भने त्यो स्थिति जाति र देश दुवैको लागि लज्जास्पद हुनजान्छ । त्यसकारणले गर्दा यस कृतिमार्फत साहित्यिक विश्वको छोटो भए पनि परिभ्रमण गर्न सकौँ भन्ने सम्पूर्ण पाठक समक्ष मेरो निवेदन छ । मुख्य कुरा त प्रेरणाको छ । कति संघर्षले त्यागले मानिसहरु साहित्यकार बने, कसरी गरिबी अभाव, अशिक्षा, असमर्थन, राज्य आतङ्कविरुद्ध लडेर मात्रै ती विश्वप्रशिद्ध बने तिनलाई पढेर हाम्रा जीवनले नव सन्देश प्रेरणा र ऊर्जा प्राप्त गर्न सक्छ ।
एउटा लेखकले ख्याति आर्जन गर्नेसम्म स्थितिमा पुग्दा त्यो राष्ट्रको भाषा कति माथि पुग्छ, जाति कति माथि पुग्छ, साहित्य कति माथि चढ्छ । यो सहज मार्ग होइन तर पनि त्याग गर्ने प्रेरणाले बलेका केही व्यक्ति जन्मिदा रहेछन्, साहित्य केवल तिनैले गर्ने कर्म हो । विश्वविजय गर्छु भन्ने प्रतीज्ञा लिएर उभिने व्यक्ति चाहिन्छ नत्र जाति र देश कसरी चिनिन्छ ?
यस कृतिलाई अनेक दृष्टिले हेर्न सकिन्छ— कुन भाषाका स्रष्टा कति परे, कुन महादेशका कति, कहाँका नारी–पुरुष कति, कुन कुन विधामा ज्यादा योगदान हुँदैछ यस्ता अरु पनि विश्लेषणात्मक दृष्टिकोण बन्न सक्छन् । ज्ञानशास्त्रले त्यस प्रक्रियालाई एउटा ग्रन्थको वैज्ञानिक विश्लेषण (विब्लिओमेट्रिक अनालिसिस) भन्दछ । त्यसले यस भित्रका कृति र स्रष्टा हेर्नुपर्छ ।
यसमा अरु पनि सैद्धान्तिक, वैचारिक, कला विषयक कुरा उठ्न सक्छन् तर मेरो विचारमा साहित्य नै सर्वप्रथम एक भिन्न भाषा हो, कलाले बनिएको, जुन विचार प्रिय छ त्यसको पक्षधरता रहोस्, निर्विवाद छ तर त्यसको राजनीतिक सिद्धान्तको, पार्टिको अथवा सरकारको पक्षधरतामा नगाइयोस् । हामी कलामै पसेर कलाबाटै निस्कौँ । । कलापूर्ण प्रस्तुतिले मात्र साहित्य बन्दछ ।
राजनीतिक प्रलोभन अथवा तृष्णातिर समर्पित व्यक्तिले साहित्यलाई दुषित नगरिदिउन्, स्वतन्त्र स्रष्टाले स्वविवेकले लेख्य विषय, शैली, विधा, प्रविधि रोज्ने अवसर पाउन् । लेखाएको साहित्य टिक्तैन हावाले उडाएको पातपतिङ्गर अथवा धानका भुसजस्तै हो । प्रत्येक लेखन एक नवीनता हो । तर हृदयमा त्यो चेतना बलिरहोस् । लेखनले गरीबी, दुःख संघर्ष अभावलाई निर्मूल गर्न सकोस् यद्यपि लेखनका उद्देश्य अनेक छन् विविध हुन्छन् । किनभने यो जीवनमा हर्ष, विस्मात्, प्रेम, घृणा, उत्साह, निराशा सबै तत्त्व आउँछन्, जान्छन् ।
यस्तो महत्त्वपूर्ण र उपयोगी ग्रन्थ तयार पारेर योगेन्द्र तिमिल्सिनाज्यूले नेपाली वाङ्मयलाई ठूलो योगदान दिनुभएकोछ । उहाँलाई हार्दिक बधाई अर्पण गर्दछु ।
उक्त भूमिका तयार पारेर ytimilsina@gmail.com मा पठाएँ । उहाँले यसरी प्राप्ति सूचना गर्नुभयोः
प्रिय गोबिन्द सर,
मैले यो भूमिका पढेँ । मलाई राम्रो लाग्यो, तर यसमा धेरै टाइपिङका गल्तीहरु छन् । आफू स्पष्ट भएको कुरा मात्र मैले सच्याएको छु, भूमिका लेखकले भन्न खोजेको भाव बिग्रेला कि भन्ने डरले मैले सबै शुध्याएको छैन । आफैँ एक पटक राम्रोसँग हेरी सच्याउनु हुनेछ भन्ने आशा राखेको छु । मलाई अशुद्ध जस्तो लागेको ठाउँमा मैले रातो रङ दलेको छु । कतिसम्म टाइपिङ् गल्ती छ भने एक ठाउँमा तिम्सिना, अर्को ठाउँमा तिमसिना अझ अर्को तिमलसिना भएको छ । तसर्थ कुनै पनि शब्द ठिकै होला भनी टाइपिष्टको भर पर्नुपर्ने अवस्था छैन । त्यसैले एकपटक आफैँ हेरेर सच्याउनु पर्ने अवस्था देख्छु । यति महत्त्वपूर्ण भूमिकाको कुनै पनि शब्द अन्यथा नहोस् भनी मैले दुक्ख दिने जमर्को गरेँ, क्षमाप्रार्थी छु । सदा मित्रवत् सहयोगको आकांक्षी,
योगेन्द्र तिमिल्सिना
०००
आज मेरो जिउ धेरै हल्का भएको छ । आनन्दको सञ्चार हुन थालेपछि बेला मन पनि त्यस्तै हुँदो रहेछ । कोरोना आँधी चलेको १६ औँ दिन पुगे । जगत् स्तब्ध छ । दैनिक ज्यालादारी, विपन्न ठाउँका विद्यार्थी, भिखारी, दोबाटे वा डुलुवा बेपारी आदिलाई यो महामारीले विवशतामा पारेर वशीभूत होलान् । जहिले पनि धनीको मात्र रहेछ यो जगत्; विपन्नहरु नउठ्ने रहेछन् । राहत सामग्रीमा त्यस्तै लूट छ भन्ने खबर आइरहेको छ । अहिले यो चलेको कोरोना–भाषा पनि शिक्षित वर्गले मात्र बुझ्ने छ सरकारले त्यसैलाई व्यापक पार्दैछ ।
यो योगेन्द्रदाइको भूमिका सकेपछि यताका १६ दिनमा एघार काम सकेँछुः
१) नेत्र शर्माको पीएचडी थिसिस (त्रिवि) को मूल्याङ्कन
२) अस्मिना मानन्धरको अंग्रेजी कविता अध्ययन र त्यसमाथि लेखन
३) मदन कार्कीका नेपाली कविता; अध्ययन र लेखन
४) ज्ञान उदासका दुई नेपाली कविता (अनुवाद)
५) दार्जीलिङका लक्ष्मण श्रीमलबारेको स्मृतिलेख
६) कलानिधि भाइलाई एक कविता
७) सिक्किमका राजेन्द्र भण्डारीको शब्दहरुको विनिर्माण कवितासंग्रह माथिको आलेख
८) जादपवपुर विश्वविद्यालय, कलकत्ताको एक पीएचडी थिसिस मूल्याङ्कन, र
९) कोरोना डायरीका— १५० पृष्ठ लेखन ।
अरु दुई कृति पढ्नु छ, पाँन्थरका मधु केरुङद्वारा सम्पादित कविता मारोतिका फूलहरु र वीरगंजका स्रष्टाको एक अंग्रेजी उपन्यास । ती अलिक पछि गरौँला । अरुबेला भए तीन महिनामा नसकिने काम सोह्र दिनमा सकेँ । यो सुनसानलाई धन्य छ । यस्तो आइसोलेशन पूरा पालना गरियो फेरि थपिन्छ कि ?
त्यसो त यो (कोरोना) भूकम्प जति त्रासद र त्यति भयावह छैन । बजारमा दलालहरुले ग्यास चिनी चामल सारा लुकाएर भूकम्पभरि लुुटेका थिए । तर यसमा त्यस्तो भएको छैन । सकेको वितरण गर्दैछन् । खाँँचो भएको छैन । भूकम्पमा घर देख्तै डर लाग्न थालेको थियो । यसपालि घरबाहिर निस्कनै डर लाग्न थालेको छ । गेट खोलेकै छैन बिहानैदेखि ।
आज योगेन्द्रदाइको करेक्सन सकेँ र थन्क्याएँ । मलाई ढुक्क भयो । अब मेरो श्रीलंका यात्राबारे करेक्सन गर्न बसेको छु । गत भाद्रको १० दिने श्रीलङ्का यात्रा एक प्रकाशकले मागेका छन् । टाइपमा १०० पृष्ठ प्रकाशनमा १५० नाघ्ला । तर धेरैपल्ट हेरेपछि मन र आँखा त्यहाँ थाक्नेगरी कुधाएपछि, एक दुई जना हितैषीले पढेपछि मात्र सन्तुष्टिकर हुन जान्छ । त्यसलाई समय लाग्छ होला तर धेरै दिन परसेवालाई छुट्याइयो, कोरोनाको वारना गरियो र आजदेखि आफ्ना दुई पुस्तकको पहिलो सुद्धासुद्धी नसकिन्जेल अन्य कर्ममा म नचल्ने विचारमा छु— श्रीलङ्का यात्रा र हङकङ यात्रा दुई अलग्गै छन् ।
यसरी समर्पित भएर नयाँ कामको लागि बसेको थिएँ । कसको कृपाले एक सुन्दर कविता आइपुग्यो । सुनेँ मलाई आफ्नी छोरी बिदा हुने बेलामा हाम्रो गह भिजाएको जस्तो भयो ।
त्यसो त हामीले आँखामा आँसु झर्न दिएनौँ, मन हर्षित थियो तर माइत आएकी नवविवाहित छोरी सेवा त्यही रातदेखि लकडाउन लाग्यो र हामीसित बसेकी छिन् । उनकै जन्मघरमा उसैगरी उही कोठामा । लाग्छ उनी कहीँ गएकी छैनन् ।
आजसम्म बजार सपिङ उनै गर्दैछिन्, हामी घरमै बसेका छौँ, ‘सेल्फ कवारेन्टाइन’मा । तर यो कविता पढ्दा लाग्यो, यो आज भन्दा ४४ दिन पहिले सेवाले बिदाको क्षणमा गाएकी हुन् । त्यो यहाँ सबै समक्ष पस्तुत गर्न चाहन्छु । शीर्षक छ, कर्मघरको यात्रा । शार्दूलविक्रीडित रचना गर्ने युवतीको पनि नाम रीता पौडेल, वाचन सरु गुरागाईं । कविता यस प्रकार छः
बज्दैथ्यो जब नौमती मुटु यता भक्कानु पर्दै थियो
छाति जल्दछ देख्छु नित्य अहिले जल्दै गरेको दियो
मै मात्रै पनि ह्वैन आज घरको भण्डार रोयो सँगै
कोठा खाट दिवार सूर घरका भान्सा करेँसा सबै ।
फुल्थे फूलहरु अनेक पुतली डुल्थे उता पातमा
आफैँ फूलसरी थिएँ जब थिए माता पिता साथमा
सारा ूपूर्ण थियो थिएन कम क्यै त्यो छत्रछायाँ हुँदा
के के मिल्छ बुबा पराय घरमा छोरी बुहारी हुँदा ।
कोरी एक गयो जहाँ म सुखले नाच्ने र खेल्ने गरी
छोडिन्छन् हर चीज आज कसरी यो बाध्यता आखिरी
टेक्नै पर्दछ पाउले अब नयाँ त्यो कर्मको आँगन
जन्मेको घर यो र भाइ बहिनी छोडेर जाँदै छु म ।
बाबा साथ मुमा र भाइ बहिनी खूसी रहून माइती
हाँसौँला अब सँगसँगै म सुखले चिन्ता नराख्नु रति
आशीर्वाद दिनू लिएर म बुबा जान्छु पराई घर
तेरो होइन माइती घर भनी कैल्यै नसोच्नू तर
प्यारो जन्मथलो सदा फुलिरहोस् समृद्धिको मार्गमा
जस्ले नित्य दियो अथाह ममता संस्कार ऊर्जा ममा
जानै पर्दछ रे म माग्छु ल बिदा पाखा पखेरा वन
भेटौँला कहिले कुनै बखतमा मौका मिलेका क्षण
०००
सारै सुन्दर रचना । अनुकरणीय कार्यहरु नामक समूहले निर्माण गरेको यो क्लिप अत्यन्तै मीठो स्वर लिएर आएको छ । यसरी सानो यन्त्रमा पनि स्वर रेकर्डिङ गर्ने सचित्र पठाउन मिल्ने सुविधा नमिलेकाले घरघरका गीत गजल कविता र अरु प्रस्तुति तत्काल विश्वव्यापी हुन थालेका छन् । त्यसमा पनि एक दशक जति भयो, नेपाली छन्द कविताको गुणस्तर बढ्दैछ; यसको लोकप्रियता बढ्दो छ । ठाउँठाउँ अभ्यास केन्द्र र मास्टर रचयिता गायक बढ्दा छन् । त्यसमा पनि अधिक नारीस्वरको देश विदेशमा प्रशंसा बढेको छ । नेपाली कविताको लागि यो प्रशंसनीय वातावरण । धेरै ता ‘सिलोक’ हुन्छन्, केही कलात्मक कविता पनि । यसमा कथ्य कम्ती हुन्छ गेयता बढी ।
ठीक यति नै बेला स्कटल्याण्डबाट फोन आयो— भतिज उद्धवको । मधुसूदन दाजै समेत भिडियोमा देखेर हामी तीन बोल्यौँ । गतसाल पनि म पुगेर बास बसेको ठाउँ, स्कटल्याण्डका तल अब्र्राेथ भन्ने सानो शहरका भित्तामा, त्यहाँ उद्धवको घर छ, परिवार छन् । मैले मेरो पहिलो बेलायत यात्रामा लेखेको छु ।
काका, हाम्रा बुबालाई बेलायतमा सधैँ बस्न पाउने अनुमति दियो र दाजु–भाइ यतै छौँ । अब हामीलाई ढुक्क भो, बुबा उता हामी यता गर्नु परेन ।
धन्य छ बाबु, हामी पनि ढुक्क भयौँ ।
अनि त्यहाँ कस्तो छ ?
उही क्वारेन्टाइन । ऐले बिहान हामी निस्केको काकाले देख्नु भो नि घरपछाडिको सल्लेरीमा ?
देखेँ मैले पोहोर देखेको स्कटल्याण्डको सल्लेरी । अनि घुम्न निस्कनु भएको रहेछ नि । घुम्न दिन्छ र ?
दिँदैन, तर यो पुलिसले नदेख्ने जंगलमा फेरि बिहान बेलुकी कुकुर घुमाउनु पर्छ अनिवार्य, त्यो गर्न पाइन्छ अनि हामी यता आएका ।
त्यसपछि मधुसूदन दाइसँग एकछिन बोलेँ । चाराली (झापा) को महल एक्लो छ, बेलायतको निजी निवासमा छ अहिले तीन पुस्ता । नेपाल कता जाँदैछ त यतिबेला ?
त्यसपछि अब गम्भीर कर्म थालनेवाला थिएँ— मेरो श्रीलङ्का यात्रा तर टाढाको फोनकल आयो, भाइ डा. शिवको । उनले पठाइदिएको एउटा अट्याचमेन्ट जसलाई खोलेर हेरेँ यहाँ के छैन ? आएको रहेछ जुन यस प्रकार छः
के छैन र हामीसँग छोरा जापान छोरी अष्ट्रेलिया नाति नर्वे ज्वाइँ अमेरिका नातिनी बेलायत अनि जन्मने पनाति पनि एनआरएनकै गर्भे छ सबैले महीनैपिच्छे पैसा पठाउँछन् खाताभरि पैसा आउँछ आहा यो पो जिउनी कहिलेकाहीँ सम्झेर ल्याउँछ खेतबारी बाँझै भएर के भो यता भकारी भरि धान छ शाखासन्तानै युरोप र अमेरिकातिर भन्दा पनि समाजमा कति शान छ ।
दराजभरि पैसा अनि सिरानेमुनि त्यसको साँवा र व्याज छ । फ्रिजभरि दूध र दही अनि किचनमा वर्षदिन पुग्ने आलु र प्याज छ रत्न जडित आलिशान महलमा सुत्न एटेच रुम छ गाडी टिभी मोबाइल र कम्प्युटर जे खोज्यो उही उधुम छ । पकाउने ग्यास चुलो राइस कुकर अनि आलिसान पलङ छ अहा हाम्रो जिन्दगी गाउँको झुपडीबाट एकैचोटि युरोप र अमेरिका छलाङ छ धन दौलत घडेरी गाडी अनि भव्य घर छ । शाखा सन्तान युरोप र अमेरिका हामीलाई केको डर छ ? हो देख्नेलाई यस्तै हो हाम्रो सम्पति अथाह । एकैछिन् सुन्नोस् है छातीभरि हाम्रो आफ्नै दुःखको कथा छ ।
चाडबाड आउँदा आइएमइबाट पैसा र म्यासेन्जरबाट शुभकामना आउँछ । सन्तान कुनै फर्किदैनन् छिमेकीको परिवारले सँगै बसेर टीका लाएको देख्ता विरह लाग्छ । दशैँमा कोही नआएपछि घरमा पालेको कुकुरलाई टीका लाइदिएँ छिमेकी र इष्टमित्र पनि नआएपछि विदेशबाट पठाएको सबै परिकार त्यही कुकुरलाई खुवाइदिएँ ।
हो डिभी र पिआरले धेरै नेपालीलाई न गाउँ न शहर दियो । चाडबाडमा आफ्नै आँगनमा बसेर भाइटीका लगाउने कत्रो रहर थियो । छोरो जापान, छोरी अष्ट्रेलिया हाम्रो त चाडवाडमा पनि भेटै हुँदैन अनि दराजभरिको सम्पत्ति हेरेर यो आत्मा कसको रुँदैन ? दराजभरि गहना छन् तर तिनले शप्तरंगी टीका लाएनन् आमा सिकिस्त विरामी छन् भनेर बोलाउँदा पनि कुनै सन्तान फर्केर आएनन् । भाइतिहारको दिन पनि दिदी भाइ सँगै भेट्न पाइएन । धिक्कार छ यस्तो सम्पत्ति र यस्तो जिन्दगी हामीलाई चाहिएन ।
(सहयात्री सुमनको यो रचना राइटर्स फोरम बाट साभार )
धेरै कवितात्मक मूल्य छ तर गद्यमा पनि त्यत्तिकै सुहाउने वर्तमान नेपलको यथार्थ छ । यसको ।
घरबाट व्यञ्जना बैनीले फोन गरिन्— भिनाजु यता सबै राम्रो छ । बल्ल आज पुराना बोरा प्याकिङ खोल्दा मेरा पाण्डुलिपि फेला पारेँ ।
विद्यावारिधि गर्न अष्ट्रेलिया गएका उनीहरु फर्केको पनि सात वर्ष बिते बल्ल घरमा स्थायी भएर बोरा खोलेछन् । यो जीवनलाई अलिकति शिक्षा दीक्षा ज्ञानले सिंचित गर्न कत्रो त्याग र तपस्याको आवश्यकता पर्दाेरहेछ !
के के रहेछन् बैनी ?
तीनवटा फेला परेँ— एक उपन्यास, एउटा लेख–रचना संग्रह र एक डायरी ।
तिनैमध्ये एउटा टाइप गराएर पठाऊ यो कोरोना कालमै, प्रकाशनमा अघि बढाऔँला । सके उपन्यास अघि बढाऊ; प्रकाशन प्रबन्ध गरौँला— मैले भनेँ ।
त्यसलाई ता अलिक समय लाग्छ ।
तर उपन्यास भयो भने मानिसमा छिट्टै भिज्दछ । सिर्जनात्मक साहित्यको सिधै परिचय जान्छ । यता ल्याउने उपाय छैन, त्यतै टाइप फाइनल गराएर इमेल पठाउनू ।
हवस्, भोलिदेखि नै सुलभलाई टाइपमा अह्राउँछु, सय पेज जति होला, दश दिनमा सिध्याउँछन् ।
०००
मलाई धेरै खुशी लाग्यो । परिवारका सबै जना स्रष्टा हउन् भन्ने लाग्छ । त्यसैले हामी मूलघर दमकमा एउटा केन्द्रीय अध्ययन केन्द्र पुस्तकालय/संग्रहालय बनाउने कुरा गर्दैछौँ । मेरो मन त्यसैमा छ । त्यो जसरी पनि पूरा गर्छु भन्नेछ । त्यसमा अञ्जना र छोरीहरुको अनि भाइको पनि साथ छ । त्यसैले यहाँ काठमाडौँको कोठेबारी बेच्तै छु । किनभने यहाँ किन आयौ भन्ने पनि कोही हुँदैन; किन गयौ भन्ने पनि यान्त्रिक काठमाडौँ सदा निश्चेष्ट छ । हाम्रा बाबुबाजेले पानी आएका धारा कुवा नभए के र यस ठाउँमा सत्र ठाउँमा बसैँ सर्दा पनि अन्तिम टुङ्गो पुुगिएको हुँदैन । बरु त्यहाँको (दमकको) त्यहाँको कोठेबारीमा एक स्मारक बनोस भनेर ।
दमकमा भाइ खगेन्द्रसँग एकछिन् बोलेँ । गाउँको गरlबी र दुःख देख्ता, यी अवोध मानिस देख्ता हामीले यो गरेको उन्नति जस्तो कुरा पनि कतिबेला व्यर्थ लाग्छ । यतिखेर धनीको पीर छैन तर गरlब झन् तल खस्तै छ। मृत्युको मुखमा पर्ने उही पहिलो हुन्छ । कहिले समान होला भाइ ?
कहिल्यै हुँदैन दाजु अघि पनि थिएन, पछि पनि । शिक्षा र चेतनाले पनि नथाम्ने रहेछ । एक थरी मानिस त्यतैतिर हाम्फाल्छ । मैले त्यस्तै विषयमा अध्ययन गरेर लेखेको छु । उपायहीनताको । मान्छेको जोडले नहुने फ्री विल (स्वतन्त्र इच्छा) को परिणाम ।
त्यो अस्तित्ववादी कुरा हो ।
त्यही दृष्टिले हरेको छु दाजु ।
त्यो रचना पनि मलाई पठाइदिनू भाइ ।
फाइनल गरेर छिट्टै पठाउँछु दाजु ।
म खुसी भएँ । हाम्रो परिवारका सबै, दाजु भाउजू, भतिजा–भतिजी, भाइ–बुहारी, बैनी लेखनमै छन् । केही दिनअघि देवेन्द्रलाई पनि भनेँ— भाइ, तिम्रो त्यस्तो शक्तिशाली लेखन । पत्रकारिताको सेप लाग्यो । अब एक निबन्धसंग्रह तयार पार । कोरोना कालभरि लेख ।
हवस दाजु, म लेख रचना भेला गर्दैछु ।
अर्का भाइ लक्ष्मण गाम्नागेलाई पनि त्यसै भनेँ । यति गर्दा समय निकै व्यतीत भयो । कोरोनाको विश्व आँकडा ता हेरिनँ तर त्यसपछि आफ्नी कान्छी बहिनी कमला (शशी) ले फोन गरी — दाजु मैले सम्झनाको सागरमा केही दिनका चारै भाग सुनिसकेँ । त्यसपछि सुन्न सकिनँ ।
किन ?
मुटुले थामेन भनेको होइन ?
कसो कसो आज सुनेँ र एउटा कविता पनि लेखेकी छु ।
मलाई सुना न त ।
बहिनीले कविता सुनाई ।
बेजोड रहेछ, अति राम्रो, मलाई इमेल गरिदे नानी ।
नभन्दै तत्कालै यो कविता बोकेर इमेल आयो ।
त्रासदीपूर्ण दिनहरू
न कुनै हातहतियार
न त कहिँकतै बम, बारुद
हेर्दै छौ नि हैन !
संसार कसरी ध्वस्त हुँदैछ !
तिमी जहाँ छौ, त्यहीँ बस
जंगलहरुतिर नभाग,
खोलामा हाम् नफाल,
भाइरसले तिमीलाई नछोला
तर
बोल्ने कोही नहोलान् तिम्रा निम्ति
छन त हामी सबै छौँ
त्रासै त्रासले छोपेर चुपचाप बसेका !
हामी रित्तो छौँ, शून्य छौँ
तिमीलाई साथदिन सायदै सकौँला
कुनै बेला सोच्छु,
हामी कतै ओडारमा त छैनौँ ?
मान्छे देख्दा डरलाग्छ,
आफन्त बीच आवत्जावत् छैन
विज्ञानको हारसँगै हामी कतै
ढुङ्गे युगमा त पुग्दैनौँ ?
सबै अर्थहरू अर्थहीन छन्
सुत्नुको के अर्थ ?
पन्ध्रौँ दिन भैसक्यो,
निन्द्रा नै डराएर भागेको !
रुनुको के अर्थ ?
आँसुको मूल्य बुझिदिने को छ र यहाँ ?
तिम्रो खाली पेटको याद
आज फेरि
कोरोनाको त्राससँगै,
दिनभरि मजदुरी गर्ने उनै
दुःखीहरुको मलीन अनुहारमा
समानान्तर देख्दैछु।
तिमी त्यो आँधी खोला र
अक्करे भीरहरु हिँडेको कथा
आज, नेपाल पस्ने
उनै मेरा दुःखी दाजुभाइहरु
सम्झाउँदै छन्।
तिम्रो आँखा अगाडिको
मसानघाट र
आज संसारभरि छरिएका लासहरुमा
केही फरक देख्दिनँ म।
तिम्रो भोको पेटको कथा
तिमी आफैँले लेख्यौ,
सरकार चलाउनेहरू
आफु अघाएको कथा
आफैँ लेख्दैनन्।
तिम्रो नाङ्गो शरीरको कथा त
तिमी आफैँले लेख्यौ,
देश नाङ्गिएको कथा
अब ख्वै कस्ले लेख्ला र ?
०००
मनमा अज्ञात भयले ढाकेको छ । भर्खरै वाशिङ्टन डिसीबाट ऋचाले फोन गरी— होसियारीले जीवन चलाउँदैछु भनेर । तै पनि विश्व बैंकले काम बिसाएको छैन । भारतमा महाराष्ट्रतिर बढ्यो भन्छ समाचार । बेलायतमा प्रधानमन्त्री आइसीयुमा, महारानी पनि अनि अमेरिकामा अत्यधिक छ । चीन, स्पेन, फ्रान्स अमेरिकाको आँकडा हेर्दा डरलाग्दो छ । भोलि र पर्सि दुई दिन काठमाडौँ बाहिर जान दिने भनेको छ, थाह छैन सरकारले के गर्छ ।
यो मौनता नै डरलाग्दो छ । फेरि अरु समक्ष व्यक्त गर्नु भएको पनि छैन । आफै एक अभिभावक, उनीहरुलाई ढाढस दिँदै हृदयको अज्ञात कुनाबाट कुनै आशावादी शक्ति र भरोसा जस्तो वस्तु निकालेर बात गर्नु छ ।
सन्ध्या पख छत्रले गरे आसामको तेजपुरदेखि । उनी मेरो आराधना पढेर अति प्रभावित छन् ।
खासगरी हिजो र आज दुईपल्ट टाल्सटाय पढेँ गुरुजी अस्ति शेक्सपियर पढेँ, आज टालस्टाय दोहोर्याएँ, मेरो मन श्रद्धानत छ । कत्रो महान् तीर्थ यात्रा, कत्रो साहित्य । हाम्रा मानिसले बुझ्नुपर्ने रहेछ । अन्त्यमा विश्रामको समय नजिक थियो इथाकाबाट एक कविता आयो— यसको अनुवाद सिध्याएर सुत्न झरेँः
कोरोना भाइरसबाट असमयमै दिवंगत हुनेहरुको स्मरणमा
असामयिक विदाइ
जब
अब उप्रान्त प्रभात नै नदेख्ने गरी
आफ्नै प्रकाशमा
सूर्यको अवशान हुन्छ
अनि
रात्रिले आकाशका ताराहरुको
अस्तित्व निर्मूल गरिदिन्छ
बोटै भाँचिदिन्छ
पातहरु च्यातिदिन्छ
जर्मेइन् ड्रूगनबू्रडट— बेल्जियमको फ्लेमिश भूमितिर— रोलेजेममा जन्मेका हुन् । डच त्यहाँको कार्यालयीय भाषा पनि हो । सन् १९८७ मा उनी अल्टिया भन्ने ठाउँको मेडिटरानिअन आर्टिकट भिलेजतिर सरे । त्यहाँको स्प्यानिश साहित्यिक जीवनमा समावेश भए । उनी अन्तर्राष्ट्रिय रुपले प्रशंसित कवि, अनुवादक र आधुनिक अन्तर्राष्ट्रिय कविताको प्रमोटर । उनले आजसम्ममा एघारवटा कविता संग्रह प्रकाशित गरेका छन् । उनको अर्काे कविता यस्तो छः
उधारो मागिएको प्रभात
छायाँ र अन्धकारका
आफ्ना हातले
सन्ध्या उघारे
त्यो अरक्षित प्रकाशले
भविष्य उघार्यो
त्यो जादू
त्यो उधारो मागिएको प्रभात
त्यसको बाती ताने
तेल खन्याए
समय निभाए
(यी दुवै कविता स्रष्टा जर्मेन ड्रूगेनबुड, अनुवादक स्प्यानिशबाट अंग्रेजी—स्ट्यान्ले बार्कान्; अंग्रेजीबाट नेपाली— गोविन्दराज भट्टराई, मिति २८ चैत्र २०७७ कोरोना आइसोलेशनको १६ औँ दिन) ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।