बिहानै चिया सर्कन सक्छ
दुधभात घाँटीमै अड्किन सक्छ
रक्सीले उत्पात मात लगाइदिन सक्छ
महामारी घरआँगनमै डुलिबसेको छ
पन्जाबको छ्वाली सल्केर आँखा पोलिदिन्छ
सात समुद्रपारिबाट सलह ओइरिदिन्छ
भैँचालो त हाम्रै भाइ हो, नभए परकम्प नै सही
रातबिरात ठेगान हुन्न
खतरा कति छन् कति ?
मोबाइल पड्किन सक्छ
बिजुली सट हुन सक्छ
प्रेसर कुकर बिस्फोट हुन सक्छ
सिलिन्डर फुटिदिन सक्छ
बाथरुममा चिप्लिन सकिन्छ
भर्याङको स्टेप फड्किन सकिन्छ
बाटामा, गल्लीमा, पार्कमा, चौरमा
जताततै छन् शत्रु घुरेर बसिरहेका
कार्यालयमै छन् वैरी आफ्नो कमजोरी समातेर बसेका
अरू त अरू,
सरकार पनि शत्रु लाग्छ
र जागिरबाट बिनाकसुर निलम्बन गरिदिन्छ
नभए आफ्नो नियुक्ति खोसेर
आफन्तलाई दिलाइदिन्छ
विषैविष छ
चामलमा, तरकारीमा, नुनमा
पानीमा, फलफूलमा, मसलामा
भर्खरै जन्मेको नवजात शिशु
अस्पतालबाटै खोसिन्छ र
अपहरणकारी सहरमा बेपत्ता भइदिन्छ
योगगुरूहरू, स्वामीहरू भन्न त भनिदिन्छन्
आँखा चिम्लेर ध्यान गर्नू–स्वर्गीय आनन्द पाइन्छ
के थाहा,
एक निमेषमै लुटिदिनसक्छ
कसैले प्राण आँखा चिम्लेकै बखत
हेर, जीवनलाई चारैतर्फबाट खतरा छ
खतरामुक्त त त्यही छ जो हात बाँधेर
हल न चल बस्छ र
खतराबाट बच्न हात मोल्न जान्दछ
र अर्काको कुरा काटेर समय बिताउन सक्दछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










