विषयप्रवेश
पौराणिक आख्यानभित्रका विविध प्रसङ्गलाई समसामयिक पृष्ठभूमिमा ढालेर प्रस्तुत गर्ने कलाका मालिक हुन् भागवत खनाल ।
कथाकार खनालकाे “बाबा मेरो पीआर आयो” कथासङ्ग्रह भर्खरै पाठकसामु आएको छ । सामाजिक यथार्थका साथै आदर्शवादी प्रवृत्ति प्रयोग भएको खनालको यो सङ्ग्रहको आकारलाई दृष्टि दिँदा जम्मा २७९ पृष्ठमा संरचित रहेको छ । आवरण पृष्ठको साजसज्जालाई हेर्दा कृतिको मूल शीर्षकको कथ्यलाई प्रतिबिम्बित गर्ने गरी तयार गरिएको छ । आवरपृष्ठको पश्चभागमा साहित्यकार नयनराज पाण्डे र अभय श्रेष्ठका शुभेच्छामूलक समीक्षात्मक टिप्पणीले कथाकार भागवत खनालको कथा लेखनको प्रवृत्तिलाई सङ्केत गरेको पाइन्छ । प्रस्तुत सङ्ग्रहमा २४ वटा कथा समेटिएका छन् ।
० ० ० ०
पुस्तान्तरले निम्त्याएको समस्या

बाबा मेरो पीआर आयो
भागवत खनालका लेखनमा पुस्तान्तरणले निम्त्याएका समस्यालाई गम्भीर रूपमा उठाउने काम गरिएको छ । ‘बिर्सेको प्रेम र गण्डकीका छालहरू’, ‘भीआइपी बा’, ‘साधुनाथ बा काठमाडौँ पुगे’, ‘फेरि उज्यालो भयो’, ‘मुनि’, ‘बाको कोठा’ शीर्षकका कथाहरूमा अघिल्लो पुस्ताको योगदान र भावनालाई वास्ता नगरी दम्भपूर्ण व्यवहार प्रदर्शन गर्ने सन्तानहरूको प्रवृत्तिलाई झल्काउने काम गरिएको छ ।
बा–आमाले सन्तानको भविष्यका लागि गरेका सङ्घर्ष र त्यागको पाटोलाई सजीव रूपमा चित्रण गरिएको छ । छोरा–बुहारीमा आएको आधुनिकता र व्यक्ति स्वार्थका कारण वृद्धवृद्धाहरू अपमानित भएर बाँच्नुपरेको पीडापूर्ण निराशालाई कथामा प्रस्तुत गरिएको छ । विदेशको भूत जागेका सन्तानले बाबु र आमाको भावना बुझ्न नसकेको यथार्थलाई राम्ररी प्रकाश पारिएको छ ।
आफ्ना सन्तानप्रति गर्वबोध गरेका बाबुआमा जीवनको उत्तरार्द्धमा आइपुग्दा एक्लो र अपमानित भएर बाँच्नुपरेको वास्तविकतालाई वर्तमान नेपाली समाजको जल्दोबल्दो समस्यालाई बाहिर ल्याउने काम गरिएको छ । हिजोको युवा आज बुढो भयो, आजको युवा भोलि अवश्य बुढो हुन्छ यो ध्रुवसत्य यथार्थ हो तर यौवनले मत्त भएकाहरू भोलि आउने अवस्था र परिस्थितिलाई वास्ता गर्दैनन् । उनीहरू अग्रज पुस्तालाई हेय र तिरस्कारका आँखाले हेर्छन् । तितो व्यवहार प्रदर्शन गर्छन् तर सबैले जराजीर्ण जीवनलाई भोग्नै पर्छ भन्ने दार्शनिक मर्म यस्ता कथामा व्यक्त भएको छ ।
० ० ० ०
इतिहास चेतना
भागवत खनालका केही कथामा इतिहास चेतना प्रबल रूपमा मुखरित भएको पाइन्छ । पाल्पाली इतिहास लेखनमा नसमेटिएका वा उत्खनन हुन बाँकी रहेका घटना र विषय सन्दर्भलाई आख्यानात्मक कलेवरमा प्रस्तुत गर्ने काम गरिएको छ । सेनकालीन समयमा पाल्पाको खस्यौली सेरोफेरोमा राजधानी रहेको कुरालाई त्यस क्षेत्रको परिवेशगत झलकबाट प्रस्ट पार्ने काम गरिएको छ ।
‘बिर्सेको प्रेम र कालीगण्डकीका छालहरू’, ‘शुक्रे डिट्ठाको भूत’, ‘पर्खालभित्र’, ‘बले एक जीवनी’ जस्ता कथामा इतिहासको रङ पोतिएको पाइन्छ । पाल्पा राज्यको प्रभाव तथा शक्तिलाई प्रस्तुत गर्ने काम यी कथाहरूले गरेका छन् । नेपाल एकीकरणका सिलसिलामा पाल्पालाई नेपालमा गाभ्ने प्रकरणलाई पनि कथात्मक पाराले उल्लेख गरिएको छ ।
पाल्पाली परिवेशको झलकका साथमा इतिहास, संस्कृति तथा जीवन व्यवहारहरू मुखरित भएर आएका छन् । लेखकभित्र पाल्पाली इतिहासमा गुप्तलुप्त रूपमा रहेका घटना र प्रकरणलाई उधिन्ने क्षमता रहेको छ । स्थानीय मूल्यमान्यता विश्वासलाई पनि उठाउने काम गरिएको छ । परिवर्तन र आधुनिकतामा यात्रा गर्दै गर्दा अतीत र इतिहासलाई भुल्न नहुने सन्दर्भहरू कथामा प्रस्तुत भएका छन् ।
० ० ० ०
प्रेमिल विषयको प्रस्तुति
मानिसभित्र प्रकट वा अप्रकट रूपमा रहने प्रेमको पाटो पनि खनालका केही कथामा मार्मिक रूपमा छचल्किएका छन् । मानवीय योगी र महात्मामा पनि प्रेम र वासनाको पाटो सुषुप्त रहेको हुन्छ भन्ने मर्म कथाबाट प्रकट हुन्छ ।
‘बिर्सेको प्रेम र कालीगण्डकीका छालहरू’ कथामा राजा मुकुन्दसेनको चुम्बनका साथै मौका मिल्नासाथ रानी बनाएर दरबारमा लैजाने आश्वासन पाएकी सुवर्णप्रभाको हार्दिक र पवित्र प्रेमलाई कथामा उच्च महत्त्व दिइएको छ । राजाहरूको प्रेममा विश्वास नहुने कुराको बोध नभएकी सुवर्णप्रभाको जीवन स्वप्निल प्रतीक्षामा बितेको अवस्थालाई ऐतिहासिक पृष्ठभूमिमा प्रस्तुत गरिएको छ । राजाको वास्तविक स्वभाव थाहा पाएपछि आफ्नो पवित्र प्रेम र समर्पण भावलाई प्रकट गराएको देख्न सकिन्छ ।
‘मी टु’, ‘फेरि सपनाहरू’, ‘अचेतन’, ‘बले एक जीवनी’, ‘सिडनीकी सानुमाया’, ‘धर्मपत्नी’, ‘उर्वशी भाउजू’ आदि कथामा प्रेमिल प्रसङ्ग आएको छ । प्रेमको सौन्दर्यलाई उद्घाटन गराउने क्रममा मार्मिक शैली र अभिव्यक्तिलाई प्रस्तुत गरिएको अनुभूति हुन्छ । पशुपक्षीका पृष्ठभूमिमा मानवीय प्रेमलाई तुलना गरेर प्रस्तुत गर्ने काम कथामा भएको छ । पक्षीहरू आफ्ना सन्तान प्वाँख हालेर उड्न सक्षम भएपछि छुट्टिँदा खुसी हुन्छन् । पाश्चात्य समाजमा पनि उमेर पुगेका सन्तान घर छाडेर हिँड्छन् तर हाम्रो समाजमा तल बग्ने मायाको प्रकृति र गुनासो गर्ने वृद्ध पुस्ताको प्रवृत्तिलाई सजीव रूपमा प्रकाश पारिएको छ । पवित्र प्रेममा कुनै स्वार्थ नहुने स्वार्थमा प्रेरित भएको प्रेम वास्तविक प्रेम हुन नसक्ने विषय पाइन्छ । प्रेमको आदर्शीकरणको पाटो कथाहरूमा सशक्त बनेर आएको पाइन्छ ।
० ० ० ०
डायस्पोरिक चेतना
भागवत खनालका कथामा वर्तमान नेपालको यथार्थ झलक प्रस्तुत भएको पाइन्छ । अहिलेको नेपाली समाजमा विदेशप्रतिको मोह बढ्दो छ । यसै समस्यामा केन्द्रित रही उठान गरिएका केही कथामा डायस्पोरिक चेतना सघन बनेको छ । विदेश गएपछि रुखमा पैसा टिप्न पाइन्छ भन्ने मानसिकता अनि ठुलो मात्रामा सम्पत्ति खर्च गरेर विदेश गएपछि त्यहाँको प्रतिकूल परिस्थितिबाट असन्तुष्ट भई सिर्जना भएका पीडापूर्ण सन्दर्भ र अभिव्यक्तिलाई हेर्दा यस सङ्ग्रहका कथालाई डायस्पोरिक कोणबाट अध्ययन गर्न सकिन्छ । ‘बाबा मेरो पीआर आयो’ कथालाई यसको ज्वलन्त नमुनाका रूपमा लिन सकिन्छ ।
सन्तान विदेश गएपछि पीआर प्राप्त गर्नका लागि नेपालबाट अभिभावकले दिने दबाब अनि अस्ट्रेलिया लगायतका देशहरूको यथार्थ अवस्थालाई प्रस्तुत गरिएको छ । दसौँ वर्ष बस्दा पनि पीआर प्राप्त नभएपछि त्यहाँकी अधबैँसे महिलाको अधीनमा रहेर पीआर लिएको सन्दर्भलाई हेर्दा नेपालीहरू विदेशमा कति सङ्घर्ष गर्न बाध्य छन् भन्ने कुराको तस्बिर अङ्कित हुन्छ ।
‘भीआइपी बा’ शीर्षकको कथालाई पनि डायस्पोरिक पाटाबाट अध्ययन गर्न सकिन्छ । सन्तान परदेश लागेपछिका बाबुआमाको मानसिकता र विदेश घुमाउने छोराहरूको आश्वासनमा व्यग्र बनेका बाबुहरूको नियतिलाई कथामा राम्ररी विश्लेषण गरिएको छ । छोराले विदेश घुमाउन लैजान्छ भन्ने आशामा बस्दा जीवनलीला नै समाप्त हुने स्थिति अनि विदेश जान नसकेको भनी हेय भावले हेरेको गाउँकै युवकका काखमा मर्नुपर्ने विवशताको चित्रण मार्मिक रूपमा गरिएको छ ।
यसैगरी ‘सिडनीकी सानुमाया’ कथामा डायस्पोरा अझ चुलिन पुगेको अवस्था देखिन्छ । विदेश गएका नेपालीहरूको यथार्थ अवस्थालाई झल्काई सिप र दक्षता नभएकाहरूले तुच्छ काम गरेर जीवन गुजारा गर्नुपर्ने वास्तविकताको चित्र प्रस्तुत गरिएको छ । हप्ता–पन्ध्र दिनसम्म भेट नहुने परिवारका सदस्यहरू काममा जोतिएर जीवन निर्वाह गर्नुपर्ने अवस्थालाई यथार्थपूर्ण रूपमा देखाइएको छ ।
पीआर लिने चिन्ता अनि जीवनभर बैङ्कलाई किस्ता तिर्ने चटारोलाई प्रकाश पार्दै कथामा नेपालको र विदेशी जीवनशैलीको तुलना पनि गरेका छन् । जीवनभर विदेशीलाई जोताउन सफल अस्ट्रेलियाको सरकार बाठो र दूरदर्शी रहेको मर्मका साथमा डायस्पोरिक चेतना सशक्त बनेर आएको छ ।
० ० ० ०
कोरोनाको कहर
यस सङ्ग्रहका केही कथाहरूमा कोरोनाको त्रासदीय पीडालाई प्रस्तुत गरिएको छ । मानिसलाई एक्लो र निहत्था प्राणीका रूपमा साबित गरेको कोरोनाले अत्यन्तै त्रास र भय निम्त्याएको यथार्थलाई प्रकाश पारिएको छ । आफन्तको मृत्यु हुँदासमेत सँगै बसेर आँसु बगाउन र मलामी बन्न नपाइने विडम्बनापूर्ण अवस्थाको प्रस्तुति केही कथामा पाउन सकिन्छ । सरकार र सुरक्षाकर्मीले समेत गरिब र मजदुरको पीडालाई बुझ्न नसकेको कुरालाई दृष्टान्तसहित प्रस्तुत गरिएको छ ।
‘स्वीटेको भकुन्डो’, ‘कोरोना बाजे’, ‘धर्मपत्नी’ जस्ता कथामा कोरोनाले दिएको सास्ती अनि गाँस, बास, कपास र संरक्षण पाउन गाह्रो भएको विद्रुप अवस्थालाई प्रस्तुत गरिएको छ । कोरोना बाजे भनेर नामै राखिदिई घरका परिवार छिमेकीहरू टाढिन जानुले सहाराविहीन बनेर मानिस अकालमै मर्न पुगेको यथार्थलाई सङ्केत गरिएको छ ।
कोरोनाले मरणासन्न भएको पति मंगललाई बचाउन धर्मपत्नी प्रियङ्काले आफ्नो शरीरसमेत सुम्पन विवश भएको अवस्थालाई पढ्दै गर्दा अरूका पीडामा पनि आनन्द लिने संवेदनाहीन मानवीय प्रवृत्तिप्रति पाठकमा समेत घृणा जागृत हुन्छ । मानिस अनुशासनमा नबस्दा निम्तिने दुष्परिणामलाई कथामा व्यक्त गरिएको छ ।
कथा पढ्दै जाँदा कोही पात्रहरू बालकमै बाआमा गुमाउन पुग्छन्, कोही पात्रहरू पति वा पत्नी गुमाउन पुगेका छन् । कोही पात्रलाई समाजले पागलको संज्ञा दिएको छ भने कोही पात्रहरू सबै मानिसलाई पागलका रूपमा देख्दछन् । रहस्यमय जीवनका आयामलाई प्रस्तुत गर्नु अनि जीवनमा आइलाग्ने सबै परिस्थितिलाई धैर्य बनेर सामना गर्नुको विकल्प नभएको दार्शनिक निष्कर्ष लेखकको रहेको छ । भाग्यवादमा विश्वास गर्ने पात्र र प्रकरणहरू पनि कथामा मनग्गे रहेको पाइन्छ ।
भागवत खनाल पूर्वीय वाङ्मयको गहन अध्ययन गरेका व्यक्ति हुन् । महाभारतका प्रसङ्ग र गीताका सूक्तिहरू यिनका कथामा प्रचुर रूपमा आएका छन् । कथाका प्रायजसो पात्रमा जीवनको बुढ्यौली प्रहरमा ईश्वरप्रतिको आस्था प्रकट गराउनु पनि कथाकारभित्रको चेतना प्रतिबिम्बित भएको मान्नुपर्दछ । मिथक र बिम्बद्वारा लेखकभित्रको आस्था मुखरित भएर आएको मान्न सकिन्छ । कथाका पात्रले भोगेका नियति र परिणामलाई प्रारब्धको खेलका रूपमा लिइएको छ ।
यहाँ प्रस्तुत भएको जीवनदर्शन पनि आस्तिकताबाट निर्देशित रहेको देखिन्छ । वर्तमानको दम्भी र अचाक्लीपूर्ण व्यवहार गरेको व्यक्तिको हिसाब समयमा हुन्छ भन्ने सन्देश प्रवाहित गर्नुले यिनका कथामा नियतिवादी तारतम्य र ईश्वरप्रतिको भरोसा तथा विश्वास देख्न सकिन्छ । कथामा विसङ्गति र निराशाका प्रकरणहरू देखिए तापनि सारमा आशा र जीवनवादी दर्शन प्रवाहित भएर आएको छ । वर्तमान मात्र नहेर भविष्यका अप्ठ्यारालाई पनि आकलन गरेर यात्रा गर अनि मात्र जीवन सुखद हुन्छ आध्यात्मिक सञ्चार भएको स्पष्ट हुन्छ ।
० ० ० ०
निष्कर्ष
भागवत खनाल कवि, निबन्धकार साथै आख्यानकार व्यक्तित्व हुन् । समकालीन समाजको यथार्थलाई राम्ररी छामेर प्रस्तुत गर्नसक्ने कला यिनमा रहेको छ । हाम्रै सेरोफेरोबाट विषयको चयन गरी खास सन्देश प्रवाहित गराउन यिनका कथाहरू सफल रहेका छन् ।
जीवनमा सुखको पाटोभन्दा दुःखको पाटो लामो र पीडादायी भएको मर्म ध्वनित भएको छ । विविध विषय र समस्यालाई उठान गरी आदर्शीकरणतर्फ डोर्याउने उद्देश्य लेखकीय अन्तर्यमा रहेको देखिन्छ । पात्रका अन्तर मनलाई छाम्न सक्नु कथाकार खनालको सामर्थ्य हो । यिनका सबैजसो कथाले नेपाली समाजको यथार्थ बोलेका छन् । समाजका विविध समस्यालाई कथामा समेट्ने हुनाले यिनको कथालेखनमा रेखीय शैली तथा कतैकतै वक्र शैलीको पनि प्रयोग भएको पाइन्छ ।
देशको माटोप्रतिको आस्थाका साथमा पूर्वीय संस्कृतिको रुझान यिनको लेखकीय पहिचान रहेको छ । तत्समनिष्ठ संस्कृत भाषाका शब्दको ज्यादा प्रयोगका साथमा अङ्ग्रेजी तथा हिन्दी भाषाका शब्दलाई कलात्मक रूपमा प्रयोग गर्ने क्षमता रहेको छ । मनोहरपूर्ण अभिव्यक्ति अनि सूक्तिमय भाषाको प्रयोगले पाठकलाई कवित्वको सञ्चार गराउँछ । हिन्दी गीतका फाँकीका साथमा पाठक स्वयं गुनगुनाउँछ । उखान र टुक्काका साथमा भाषाको सजीवता र हार्दिकताको अनुभूति गर्छ । पात्रका नामहरू पनि विशिष्ट प्रकृतिका हुनुका साथै अनुप्रासीयताले फरक खालको शाब्दिक कलालाई साक्षात्कार गराउँछ ।
सत्यमेव जयतेको आदर्शलाई जोडेर कथालाई टुङ्ग्याउने शैलीले गर्दा कथाको अन्त्यसँगै पाठकमा एक प्रकारको सन्तुष्टि र कुतूहल पैदा गराउन सक्नु कथाकारको धनात्मक पक्ष हो । नेपालीपन र संस्कारको विशेष आग्रह कथामा पाइन्छ । कथाका पात्रहरू बौद्धिक र तार्किक क्षमताका छन् । अभाव र गरिबीमा बाँचेकाहरूको यथार्थ प्रस्तुतिले पाठकमा समेत संवेदना र सहानुभूति पैदा हुन्छ ।
पाल्पा र गुल्मीको परिवेशगत झलकमा पाइने स्थानीय रङरोगनले आञ्चलिकतालाई पछ्याएको ठान्न सकिन्छ । कतैकतै कथाभित्र निबन्धात्मकताको स्वाद पनि प्रस्तुत भएको देख्न सकिन्छ । समकालीन नेपाली कथामा कथाकार भागवत खनालको उपस्थिति सशक्त रहेको मान्न सकिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ कार्तिक २०८२, बिहीबार 










