लोकवार्ता परिषद् लोकसंस्कृतिको जगेर्ना गर्दै नेपाली लोकसंस्कृति, सम्पदालाई विश्वमाझ पुर्‍याउने उद्देश्यका लागि खोलिएको संस्था हो । नेपाल सांस्कृतिक, भाषिक र प्राकृतिक विविधताले भरिपूर्ण देशका रूपमा विश्वसामु आफ्नो परिचय स्थापित गर्न सफल छ ।

नेपालका विभिन्न जातिका बिचमा रहेका लोकसंस्कृतिलाई हेर्ने हो भने विविधतासँगै सम्पन्न देखिन्छ । नेपाली लोकवार्ताको अवलोकन तथा अनुसन्धान गर्न विदेशका विभिन्न विश्वविद्यालयबाट शोधार्थीहरूको ओइरो लाग्ने गर्दछ । लोकसंस्कृति, लोकसाहित्य, लोकउपचारका बारेमा बुझ्न चाहनेहरूले नेपालका कुनाकाप्चामा पुगी अध्ययन अवलोकन गरी विश्वमा प्रचार गरिरहेका छन् । यसैका बिच लोकवार्ता परिषद् नेपालको उद्देश्य पनि नेपाली लोकसंस्कृतिको अध्ययन लोकवार्ताका सामग्रीको सङ्कलन, संरक्षण, संवर्द्धन, अध्ययन, विश्लेषण, प्रचार, प्रसार, प्रकाशन तथा यस क्षेत्रमा योगदान गरेका व्यक्ति एवं संस्थालाई सम्मान गर्नु रहेको छ ।

नेपालका विविध जातजाति, धर्म र भाषाभाषीको पारस्परिक सद्भाव एवम् सौहार्द भावको संवर्द्धन गर्दै लोकवार्तासँग सम्बद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय तहका विद्वान् तथा सङ्घसंस्था बिचको सम्बन्ध सुमधुर तुल्याउनुका अतिरिक्त राष्ट्रिय एकतालाई सुदृढ बनाउन स्थापित संस्था हो । संयुक्त राष्ट्र सङ्घको पच्चिसौँ महासभाको ऐतिहासिक, सांस्कृतिक, सामाजिक, भाषिक र पुरातात्त्विक दृष्टिले उपयोगी तथा मूल्यवान् मानिने सम्पदाको विश्वव्यापी रूपमा संरक्षण गर्ने उद्देश्यलाई समेत मध्यनजर गर्दै २०७१ सालमा लोकवार्ता परिषद्, नेपालको स्थापना गरिएको हो । स्थापनाकालदेखि नै  लोकवार्ता परिषद्, नेपालले लोकवार्ता भित्रको विभिन्न विधाको अध्ययन, अनुसन्धान तथा नेपाली समाजको परम्परागत साहित्य, इतिहास तथा संस्कृतिको समष्टिगत भौगोलिक क्षेत्रको अवलोकनद्वारा खोज अनुसन्धान गरी त्यसको लिपिबद्ध दस्ताबेजको प्रकाशन गर्दै आएको छ ।

लोकवार्ता परिषद्ले नेपालले समग्र नेपाली भूगोल र समाजको अध्ययन, अनुसन्धान, लेखन, प्रकाशन, सङ्कलन आदि गर्ने क्रममा प्रत्येक वर्ष पृथक् भूगोल तथा समुदायमा राष्ट्रिय सङ्गोष्ठी गर्दै आएको छ । यसले सङ्गोष्ठी आयोजना गरिने क्षेत्रका समुदायको संस्कृति तथा परम्परालाई स्थानीयद्वारा नै लिपिबद्ध गराउने कार्यलाई प्राथमिकताका साथै निरन्तरता दिएको छ । यसबाट सम्बद्ध समुदायमा आफ्नो परम्परा एवम् संस्कार, संस्कृतिको जगेर्ना गर्दै तिनलाई पुस्तान्तरण गर्नु पर्दछ भन्ने भावनाका साथ सो अभियानमा संलग्न हुन लोकवार्ताका बारेमा जान्न खोज्ने सबैलाई प्रेरित गर्दछ ।

यसरी स्थापना कालदेखि नै लोकवार्ता परिषद्, नेपालले भिन्न भिन्न भूगोलमा लोकवार्ता सम्मेलनको आयोजना गर्दै विशेषतः आयोजना गरिएका भूगोलको  विषयगत लोकसंस्कृति विज्ञ वा जानकारी राख्ने लेखक /अनुसन्धाता / जानकार व्यक्तिहरूलाई नै कार्यपत्र लेखन तथा प्रस्तुतिका लागि अनुरोध / प्रेरित गर्दै आएको हो ।

सोही कार्यलाई निरन्तरता दिँदै लोकवार्ता परिषद्, नेपालको दसौँ राष्ट्रिय सङ्गोष्ठी मिथिला क्षेत्रमा आयोजना गरी सम्पन्न गरेको छ । नेपालको दसौँ राष्ट्रिय अधिवेशन मधेसका महोत्तरी, सर्लाही, धनुषालगायतका जिल्लामा सम्पन्न भयो तर विश्वव्यापी रूपमा फैलिएको कोरोनाको कहरपूर्ण कहालीलाग्दो समयको कारण सहज रूपमा हुन सकेन । यो समयमा सूक्ष्म जीवाणुले चीनको वुहान प्रान्तबाट निस्केर विश्वव्यापी हुँदै नेपालमा पनि निकै कठिन बनाएकाले सुन्दर मधेश प्रदेशको भ्रमण गर्दै, ज्ञान लिँदै दिँदै अधिवेशन सम्पन्न गर्ने रहरलाई थन्क्याएर डिजिटल अधिवेशन रूपमा सम्पन्न भएको हो । विभिन्न कठिनाइका बाबजुद सम्पन्न यस सङ्गोष्ठीमा प्रस्तुत भएका कार्यपत्रको लिखित दस्ताबेजका रूपमा नेपाली लोकवार्ता भाग १० प्रकाशन गरेको छ ।

आफ्नो इतिहासको नवौँ वर्षसम्म आइपुग्दा परिषद्ले पोखरा, भैरहवा, धनगढी, महेन्द्रनगर, डडेलधुरा, अछाम, डोटी, बैतडी, दाङ, सल्यान, दुल्लु, दैलेख, सुर्खेत, ताप्लेजुङ, पाँचथर, इलाम, कपिलवस्तु, रुपन्देही नवलपरासी, भोजपुर, रोल्पा र प्युठानमा सङ्गोष्ठीहरू सम्पन्न गरी नेपाली लोकवार्ता भाग १ देखि ९ सम्म पहिल्यै प्रकाशित गरिसकेको छ ।

दशौँ सङ्गोष्ठी नेपालको मधेस प्रदेशको ‘मिथिलाक्षेत्र’मा स्थानीय सहभागितामा २८ कार्यपत्रहरू सङ्कलन भएका थिए, जसलाई ९ जना विदुषी तथा १९ जना विद्वानहरूले लेखेका थिए । तिनमा विशेषतः मिथिलाको संस्कृति (लोकोक्ति, रेखामाई, कमला, गंगासागर, ऋतुकालीन पर्व, जितिया पर्व, भुइँया महाराज, छठ, माथि आदि), जाति/समुदाय (लहेरी, हिन्दु तेली, कुशवाहा), संस्कार (विवाह, मगही समाजका संस्कार) मगही भाषा, मधेसी महिला / शृङ्गार, दहेज प्रथा जस्ता विषयका कार्यपत्र सामेल भएका थिए ।

त्यस्तै नानपुर सिमरौनगढ यात्रा तथा लोक चलनचल्तीमा रहेका काठका भाँडाहरू जस्ता विषयहरूको खोज तथा अनुसन्धान गरिएको छ । यसका साथै काठमाडौँमा ३० विभिन्न कार्यपत्रहरू सङ्कलन भएका थिए जसलाई ७ जना विदुषी एवम् २३ विद्वान्हरूले लेखेका लोकसंस्कृति / संस्कार/गाथा (नेवार जातिको संस्कार/ चाड, मिथिला लोककला, गन्धर्व जातिको चौरी, खोटाहमा प्रचलित लोककथा, तामाङको माघे सङ्क्रान्ति, तीज, रोल्पा जिल्ला पाको लोकगीत / रोल्पा जिल्लाको मगर संस्कृति) समेटिएका छन् ।

त्यस्तै भारतबाट समेत कार्यपत्र प्राप्त भएको थियो । त्यसमा पूर्वोत्तर भारतीय नेपाली लोककथाको सन्दर्भ परेको छ भने अमेरिकी अनुसन्धाताबाट कलासम्बन्धी कार्यपत्र लेखिएको छ । त्यस्तै किराँत धर्म, मिथिलाको बहुआयामिक गौरव, संस्कृत शिक्षा र जनकपुर क्षेत्र, कीर्तिपुरको स्थान नाम, खस / खसान तथा धामी, प्युठानको उपभाषिका, धामी जातिको एउटा प्रथा, थारु समुदायको भित्ते चित्रकला – यस जातिले मनाउने पर्व र तिनमा गाइने लोकगीतहरू, मगर जातिको संस्कारमा महिलाको भूमिका, पुर्ख्यौली थलो तथा लोकसाहित्यमा ‘सेक्सीखोइजी’ आदि जस्ता विषयहरूलाई समेटेर नेपाली लोकवार्ता १० मा समावेश गरिएको छ । देशविदेशमा रहेर लोकसंस्कृतिलाई अध्ययन गरी त्यस विषयमा लेख्दै आएका विद्वान् / विदुषीहरूका विभिन्न ५८ कार्यपत्रहरू ‘नेपाली लोकवार्ता १०’ मा समावेश गरी प्रकाशित भएका छन् ।

त्यसैले कपितय कार्यपत्रहरूबाट महत्त्वपूर्ण सूचना पाइने भएकाले यथासम्भव सम्पादनका साथ तिनलाई प्रकाशन गरिएको छ । फलस्वरूप ’नेपाली लोकवार्ता-१०’ मा समावेश गरिएका कार्यपत्रहरू केही महत्त्वपूर्ण खोजका विषय छन् भने केही लोकसंस्कृति तथा संस्कारसम्बन्धी सूचनामूलक रहेको छ । त्यसैले अलग अलग विधिको प्रयोग गरिएको भए तापनि तिनलाई यसमा समावेश गरिएको हो । यस भागमा संलग्न लेखहरूको विषयवस्तुको छनोट, तिनमा प्रयोग गरिएका सूचनाको स्रोत, भाषा तथा विश्लेषण सम्बद्ध लेखकको नै हो । यस राष्ट्रिय सङ्गोष्ठीका लागि विश्वविद्यालयका प्राध्यापक/विद्यावारिधि उपाधि प्राप्त गरेका/विषयगत विशिष्टता हासिल गरेका/विषयगत ज्ञान तथा अनुभव प्राप्त गरेका लोकवार्तासँग सम्बद्ध व्यक्तित्वका कार्यपत्रहरू हुन् । आवश्यकताअनुसार तिनलाई मिहिनेतका साथ यथासम्भव सम्पादन गरी प्रकाशन गरिएको छ ।

नेपाली लोकवार्ता भाग १० को सम्पादन कार्यमा परिषद्का अध्यक्ष प्रा.डा. प्रेम खत्री, महासचिव प्रा.डा. ध्रुवप्रसाद भट्टराईका साथै पूर्व महासचिव डा.भक्त राई, सदस्यहरू प्रा. डा. ध्रुवकुमार घिमिरे, डा. मुकुन्द शर्मा, पूर्व सदस्य श्री दिव्येश्वरी जोशी रहनु भएको छ ।  विभिन्न विद्वान् /विदुषी, अन्वेषक अनुसन्धाता र स्थानीय विज्ञका ५८ वटा लेख समावेश गरिएको यस ग्रन्थ मुखपृष्ठसहित ५०२ पृष्ठमा संरचितछ ।

आवरणमा रामजानकी मन्दिर, लक्ष्मीनारायण मठ, सिम्रौनगढ, गढीमाई र सलहेस फूलबारीको चित्र समाविष्ट छ । विशेषतः मधेश प्रदेशको मिथिला क्षेत्रको लोकवार्तालाई उजागर गर्ने किसिमका स्थानीय सहभागिताका कार्यपत्र, पूर्वोत्तर भारतीय नेपाली लोककथाका अतिरिक्त सिङ्गो मुलुकका विद्वान्हरूद्वारा लोकवार्ताका विविध विधामा लेखिएका कार्यपत्रहरू संलग्न प्रस्तुत ग्रन्थबाट ‘मिथिला’ क्षेत्रका अतिरिक्त विभिन्न जातजातिको इतिहास, संस्कृति, संस्कार, परम्परागत साहित्य लगायतका अध्येता, अनुसन्धाता, विद्यार्थी, पाठकहरूलाई महत्त्वपूर्ण रहेको छ ।

यसका साथै ‘लोकवार्ता’ विषयको महत्त्वलाई बुझेर पहिलेदेखि लोकसाहित्यको अध्ययन अध्यापन गराएको देश विदेशका विभिन्न विश्वविद्यालय, भरखर मात्र लोकवार्ताको पठनपाठनको थालनी गरेका विश्वविद्यालय एवम् कलेजका अध्यापक, विद्यार्थी एवम् लोकवार्ताको अध्ययन गर्न चाहनेहरू सबैले यस ग्रन्थबाट यथेष्ट प्राज्ञिक खुराक प्राप्त गर्न सक्नेछन् ग्रन्थ पठनीय तथा सङ्ग्रहनीय रहेको छ । लोकवार्ता परिषद् नेपालले प्रकाशन गरेको यो पुस्तक लोकसंस्कृतिका बारेमा जान्न चाहनेका लागि निकै उपयोगी यस ग्रन्थलगायत अन्य भागहरू पनि बागबजारस्थित प्राज्ञिक बुक्समा पाइन्छ ।

यस ग्रन्थको मूल्य रु.१०००। – एक हजार रहेको छ ।