मलाई लाग्दैन कि उपन्यास लेख्दा कुनै नियममा आबद्ध भएर लेखिनु पर्छ भनेर । पछिल्लो समय प्रकाशित भएको सपना आचार्यको उपन्यास मलिलो माटो त्यस्तै एउटा उपन्यास हो जुन अहिलेसम्म प्रकाशित भएका उपन्यासभन्दा बिल्कुलै फरक किसिमको छ । सिनेमाको पर्दा खोलेपछि शुरु हुन्छ मलिलो माटो उपन्यास । त्यसै गरी यो उपन्यासको विषय पनि अलग छ । विषय अलगभन्दा पनि अलग दृष्टिकोणबाट लेखिएको छ । भर्खरै जसो सार्वजनिक भएको यो पुस्तकको नाम झट्ट सुन्दा कृषिसँग सम्बन्धित हो कि झैँ लाग्छ मलिलो माटो तर यो ‘प्रतीकात्मक’ नाम हो । यस उपन्यास, पृथ्वी र नारीबीच तुलना गरिएको एउटा सुन्दर सामाजिक कथा हो त्यसभित्र प्रेम र यौनलाई दर्शाइएको छ । उपन्यासको कथावस्तुअनुसार यस उपन्यासको शीर्षक नामकरण गरिएको होला । कथावस्तुअनुसार सुहाउँदो लाग्छ ।

‘मानिसको अन्तिम सुख खेतमा छ । खानेकुराको उत्पादनमा छ । जीवहरु र वनस्पतिको सामिप्यतामा छ । समग्रमा प्रकृतिको निकै नजिक हुनुमा छ । किनकी म आफैँ एक प्रकृति नै रहेछु । म त प्रकृतिभन्दा पनि बढी मलिलो खेत रहेछु । प्रकृतिमा पनि कहीँ डाँडा छन् । कतै बगर छ । कतै घना जङ्गल छ । कतै पानी नै पानी छ । कतै सुख्खा बालुवा र मरुभूमि मात्र छ । कतै अति तातो छ । कतै हिउँ नै मात्र जमेको छ । म त्यस्तै हो । सबै नारी त्यस्तै हुन् । सबै नारी खेत हुन् । कुनै बलौटे खेत हुन् त कुनै चिम्टाइला खेत हुन् । कुनै काँसघारीले भरिएका बगर हुन् त कुनै भिरालो अनि चट्टान अनि ढिस्काहरुले भरिएका पहाड हुन् त कुनै भिरालो अनि चट्टान अनि ढिस्काहरुले भरिएका पहाड हुन् ।’ (पृष्ठ : ११६)

नारी र पृथ्वी दुवै मलिलो खेत हुन् । यही भनाइको विस्तृत रुप नै “मलिलो माटो” उपन्यास हो । नारीको पेटलाई जमिनसँग तुलना गरिएको छ नारीको गर्भ र माटो उस्तै हो भन्ने जिकिर उपन्यासकारको रहेको छ ।

एउटा अलग दृष्टिकोणबाट लेखिएको यो मलिलो माटोभित्र हामी जन्मेदेखि मृत्युसम्मको परिघटनाहरुलाई सृष्टिसँग तुलना गरेर लेखिएको छ भने यसको भावभूमि, जमिन र नारीबीचको घनिष्ठतालाई देखाइएको छ । निचोड अथवा समग्रमा भन्नुपर्दा ब्रह्माण्डमा भएको सृष्टि र एक नारीले गर्ने सृष्टिलाई असाध्यै मिहिन किसिमले प्रस्तुत गरिएको छ । दिनहुँ हामीले भोगिरहेकाे सधैँ देखिरहेको कुरा हो तर हामीले ख्यालै नराखेको कुरालाई उपन्यासकारले आफ्नो उपन्यासको विषय बनाएकी छिन् । नियमित चलिरहेको कुरालाई आफ्नो शब्दमार्फत उतार्न सफल भएकी छिन् उपन्यासकार सपना आचार्य ।

असार, श्रावण र भाद्र यी तीन महिना धर्ती रजस्वला भएको जस्तै लाग्छ उपन्यासकारलाई । नारीको बहाव महिनामा तीन दिन मात्र हुन्छ । धर्तीको बहाव पनि मात्र तीन महिना हो । अनि बिस्तारै कम हुँदै जान्छ । भन्ने धारणा आफ्नो उपन्यासमा व्यक्त गरेकी छिन् ।

यस उपन्यासको मुख्य पात्र मन्जु हुन्छे । प्रथम पुरुषबाट लेखिएको यो उपन्यासमा म पात्रको नाम मन्जु हुन्छ ।
मन्जुको आफ्नो कथा त छँदै छ साथमा आफ्नी आमाको अनि हजुरआमाको कथा पनि यस उपन्यासमा समेटिएको छ । तीन पुस्ताको अलग अलग समय र परिवेशको उद्घाटन भएको छ । मन्जुकी आमा भन्छिन् , ‘म त्यो दुःखको दाग फोक्सोभरि बोकेर खोकिरहन्थे । तेरो दाइ आयो, मेरो सबै रोग भाग्यो ।’ (पृष्ठ : ३०)

उपन्यासभित्र भनिएकै छ, ‘यो एक छोरीको कथा हो । एक आमाको कथा हो । एक श्रीमतीको कथा हो । एक नारीको कथा हो ।’

पढ्दै जादाँ कहीँकहीँ उपन्यास होइन निबन्ध जस्तो कहीँ अनुभूति पढे जस्तो लाग्न सक्छ पाठकलाई । पात्रले काठमाडौंदेखि मुक्तिनाथसम्मको यात्राको वर्णन संस्मरण जस्तै लाग्छ । सायद यो तरिका उपन्यासकारको प्रयोग पनि हुनसक्छ ।

कहीँ सिनेमा भनिएर यो उपन्यास अघि बढेको छ भने कहीँ नाटक भनिएर । म पात्र अर्थात् मन्जुको जीवनमा आएका पुरुषहरुसँगको सम्बन्ध उनीहरुसँगको प्रेम सम्बन्धदेखि यौन सम्बन्धलाई प्रस्तुत गरिएको छ । नारी र पुरुषबीचको समागमलाई जमिन अर्थात माटो र बीजको मिलन भएको भनेर उपमा दिइएको छ । सामान्य लाग्ने कुरालाई महत्वपूर्ण ढङ्गले प्रस्तुत गरिएको छ यो नै यो उपन्यासको सुन्दर र महत्वपूर्ण पक्ष हो । नेपाली साहित्यमा खासै उल्लेख नभएको विषयलाई उजागर गर्ने काम गरेकी छिन् । यो नै उपन्यासको प्रमुख विषय पनि हो ।

यौन क्रियाकलापलाई माटोमा हलोले जोत्ने कार्यसँग तुलना गर्दा कताकता अलि अस्वभाविक जस्तो लागे पनि यो सत्य कुरा हो भनेर तत्काल पाठकले स्वीकार्न सक्ने ‘कन्भिसिन्ङ पावर’ उपन्यासकारको लेखाइमा भेटिन्छ । पछिल्लो समय उपन्यासमा चलेको ‘ट्रेन्ड’अनुसार मलिलो माटो उपन्यासमा पनि फरक फरक प्रसङ्गको लागि फरकफरक शीर्षक दिइएको छ यसले पनि उपन्यासलाई आकर्षक बनाउन सघाएको छ ।

‘माया र जीवन त्यो अनुभूति हो जसलाई कहिल्यै व्याख्या गर्न सकिँदैन तर महसुस गर्न सकिन्छ ।’ सबैले भन्ने यस्तै कुराहरु हुन् तर यस उपन्यासमा उपन्यासकारले फरक तरिकाले भनेकी छिन् । यौनलाई लुकाउनु पर्ने या खुलेर कुरा गर्न सङ्कोच मान्ने अझ भन्नु पर्दा अक्सर गरेर हाम्रो समाजमा यौनलाई तुच्छ ठान्ने प्रचलन पनि छ यस्तो स्थितिमा यो मलिलो माटो उपन्यास आउनु आफैमा सुन्दर कुरा हो । यौनलाई विस्तृत रुपमा प्रस्तुत गरिएको छ । सृष्टि नै हो यौन तैपनि आजको शताब्दीमा आइपुग्दासम्म पनि हाम्रो समाजमा यसलाई हेयको दृष्टिले हेरिन्छ । यस उपन्यास मलिलो माटोले यसको उत्तर दिएको छ । यौनको महत्व उजागर गर्न सफल देखिन्छ । खानी गाउँदेखि काठमाडौंसम्मको पृष्ठभूमि रहेको छ । मध्यम वर्गको प्रतिनिधि गरेको यस उपन्यासको प्रमुख पात्र नारीलाई एउटा बोल्ड चरित्रमा प्रस्तुत गरिएको छ । यस्ता नारी पात्र नेपाली उपन्यासमा आउन जरुरी पनि थियो त्यसको परिपूर्ति गरेको छ ।

‘नारीको कथा सकियो । हरेक नारीको कथा न नरले बुझे न गाउँ अनि सहरले । मलिलो माटोको महत्त्व न देशले बुझेको छ न हरेक बालकदेखि बुढा केशहरूले !’(पृष्ठ : १४४) यी उपन्यासको अन्तिम हरफ हुन् ।

१४४ पृष्ठ रहेको यो उपन्यास औसत उपन्यासभन्दा राम्रो रहेको छ । भाषागत रुपमा हेर्दा केही अशुद्ध भने देखिन्छ । अक्सर दोहोरिएका छन् केहीँ हरफहरु अलिकति मेहनत गरेको भए उत्कृष्ट हुन्थ्यो भन्ने लागिरह्यो । पाठकलाई फरक स्वाद दिन सफल हुन्छ भन्ने लाग्छ, उपन्यासकार सपना आचार्यको यो उपन्यास मलिलो माटो ।