आफू जन्मेको थातथलोलाई छाड्न त्यति सजिलो छैन । तर जीवन बाध्यता पनि हो । मानव जीवनको विकासक्रमलाई हेर्ने हो भने बसाइँ सराइ वा स्थानान्तरले एकपछि अर्को उन्नत जीवनको खोजी गर्दछ । यस्तै क्रममा वंशाणु गुण त जन्मँदा नै लिएर आएका हुन्छन्, त्यो बाहेक जन्मेको साइत र वातावरण, माटोको पहिलो स्पर्श र लिएको श्वास आदि इत्यादि कुराले पनि एउटा जीवनचक्रलाई केही न केही प्रभाव पारेको हुन्छ । प्रत्येक जीवनको गुण अवगुण फरक फरक भए तापनि कर्मलाई धर्म ठान्नेहरू पनि छन् हाम्रो समाजमा । त्यै समाजभित्र अटाएका छन् विविधतामा एकताका मिठा गीतहरू । जुन कवि र साहित्यकारको मानसपटलमा सुटुक्क घुस्दछ र फेरि निकास खोज्दछ । त्यसैको परिणाम हो ‘तादी किनारको गीत ।’

सबैले आआफ्नै विवेकीय हैसियतको जीवन बाँचेका हुन्छन् । कसैले आकासमा विमान उडाउँछन् त कसैले नदीमा माछा मार्छन् । यहाँ एउटा विमान चालक मछुवारा बन्न सक्छ कि सक्दैन ? तर एउटा माझीले आफ्नो छोरालाई विमान उडाएको हेर्न चाहन्छ, अङ्ग्रेजी बोलेको सुन्न चाहन्छ । कथानक प्रस्तुति बडो चाखलाग्दो छ, यो उपन्यासभित्र । सुनकोसी र इन्द्रवती नदी किनारमा पुस्तौँदेखि चलिखेली आएको माझी समुदायको मुख्य आयस्रोत माछा मार्ने, दोलाल घाटमा लगेर बेच्ने अनि डुङ्गा चलाएर मान्छेलाई नदी वारपार गराउने । कहानी एक, सन्देश अनेक दिने माझीहरूको वास्तविक जीवनलाई सलल  बगाएको छ लेखकले । कुनैकुनै उपन्यास पढ्दा उबडखाबडको झन्झटिलो लामो यात्राले थकित पार्ने गर्छ भने यो ‘तादी किनारको गीत’ले फास्ट ट्र्याकबाट सही गन्तव्य पुर्याएको प्रतीत हुन्छ । छिटोमा मिठो, एक बसाइमा पाठकले आस्वादन प्राप्त गर्न सक्नु, त्यो लेखनकलाको चमत्कारिक पक्ष हो ।

‘आमा अबदेखि म एक्लै सुत्छु ल ।’ लखुमको यो भनाइले परिपक्वताको सङ्केत गर्छ भने शरीरमा असहजता आउनु, स्वर परिवर्तन हुनु, छुट्टै कोठामा सुत्न थालेपछि नायिका र केटीहरूको फोटो भित्तामा सजाउनु जस्ता गतिविधिलाई समेटेर लखुम पात्रको उमेरलाई अर्को खुड्किला चढाइएको छ । उता बुल्कीलाई कोसी नदी तार्दा पानीको बहावभित्र समाउन, उचाल्न र बोक्न बाध्य परेथ्यो लखुमलाई । तर त्यो जिम्मेवारी बहन गर्ने क्रममा बुल्कीको चोली च्यातिएको विषय गाउँको नाइके माझीबासम्म पुग्यो । त्यो अनजानमै भए पनि माझी समुदायको विश्वास, इज्जत, इमानदारी र सोझोपनभित्र कहिलेकाहीँ धर्मसङ्कट पर्ने बिम्बात्मक प्रयोग देखिन्छ ।

उता दुखिनीलाई विवाह गर्नु पूर्व लखुमलाई रूखमा बाँधेर काइँला माझीबाले अर्ती उपदेश दिएको प्रसङ्गले आफ्नो विधि र पद्धतिप्रति अडिग रहेको देखाउँछ । नयाँ वर्षमा मारेको पहिलो माछा कुललाई चढाउने, श्रीमती गर्भवती भएपछि पालना गर्नुपर्ने नियमहरू, पुर्खालाई सम्झेर पूजा गर्ने, जलदेवीदेखि मत्स्यावतारको पूजापाठ लगायतका संस्कार, संस्कृति, रहनसहन र रीतिरिवाजको वर्णनले उपन्यासकार पनि त्यै माझी समुदायकै हुन् कि जस्तो लाग्नु लेखनशैलीको अर्को आकर्षण हो ।

पढ्दै जाँदा माझी समुदाय बसेको सेरोफेरोमा पुर्‍याउँछ र त्यहीँको समाजसँग घुलमिल गराउँछ । अनि लखुम, गम्फे, तिल्के, आते, बिकवा, दुखिनी, माबु, ओमे, जुल्फे, बुल्की जस्ता समुदायानुसारको नाम, नामानुसारको काम, कामानुसारको दाम, दामानुसारको पात्र, पात्रानुसारको चरित्र र चरित्रानुसारको चेतनास्तरलाई माथि नउठाई लेखकले उत्कृष्ट ढङ्गले कथा बुनेको छ । सम्पूर्ण माझीहरूलाई अनुशासित राख्न एकजना माझीबा खडा गरिएको छ जसको न्यायालयले समस्याहरूको छिनोफानो तुरुन्त गर्दछ ।

उता बालमस्तिष्कले उत्पन्न गराएका तरङ्गमा अनेक रङ्ग देखिन्छ । नौ दश वर्षकी बुल्कीले आमाको यत्रो बडे ब्राभित्र कपास खाँदेर लगाउँछे र निहुरो बेच्न हाटबजार जान्छे । सानोमा पानीकिरासँग रमाउँदै खेलेकी जानकी लखुमको भागमा परेकी थिई । तर लखुमले जानकीलाई स्वीकारेको थिएन । इच्छा विपरीत जबरजस्ती विवाहलाई रोकेर माझीबाले न्याय दिलाए । चुनौतीहरू थिए, तर पनि माझी समाजभित्र देखिएका अनमेल विवाहलाई चिरफार गरेको छ । यसले के देखाउँछ भने परापूर्व कालदेखि चलिआएको सानो उमेरमै बुहारी छान्ने प्रथालाई निरुत्साहित पार्दै परिवर्तनको नयाँ आयामलाई स्थापित गर्न खोजेको छ । पछिबाट लखुमले सबैभन्दा ठूलो माछा मारेर बाजी जिते भने दुखिनीले भदौरे आरु दिएर लखुमसँग माया साटे । अनि लखुम र दुखिनीको धूमधामले विवाह भयो, र ती दम्पतीबाट छोरा बिकवाको जन्म भयो ।

पुस्तौँदेखि डुङ्गा खियाउने र माछा मारेर जीविकोपार्जन गर्दै आएको श्रमसीपलाई अहिलेको प्रविधिले विस्थापित गर्दै लगेपछि माझी समुदायलाई ठूलो बज्रपात पर्यो । कोसी र इन्द्रवती नदीमा स्वचालित मेसिनबाट जहाज चल्न थालेपछि लखुम र गम्फे अर्को ठाउँको खोजीमा नुवाकोटतिर लागे । त्यहाँ पुरानो साथी तिल्केसँगको भेट र एक साथीले अर्को साथीलाई गरेको निःस्वार्थ मानसम्मान, सत्कार र आत्मीयताले एकलकाँटे सहरियालाई सबक सिकाएको छ । सल्लाह र वस्तुस्थिति बुझेपछि तादी किनारलाई नयाँ कर्मथलो बनाउने निश्चित गरेपछि लखुम फेरि परिवार लिन कोसी किनार फर्किए ।

परिवारसँग केही दिन छुट्टिनु पर्दाको छटपटीमा लखुमले बाटो या सहर, साना बच्चाहरूलाई देख्यो कि छोरा सम्झिहाल्थ्यो- ‘बिकवालाई यस्तो भयो होला कि उस्तो । भारमा राखिदिएको आला माछा सकियो भने सुकेको खान्छन् होला ! दुखिनी के गर्दै होली ।’ एक्लो छोरालाई सम्झेर अनेक प्रसङ्गहरू जोड्दै लेखक बहकिन्छ, ‘बिदाइको बेला त आँसुभन्दा पनि मुस्कान पो बढी दुख्दो रहेछ ।’ उता दुखिनी पनि श्रीमान् लखुम नहुँदा आफै माछा मार्न जान्थी । बल्छीको छेस्को हल्लिँदा खुसी हुने दुखिनीले नौतले धरहराको खुब याद गर्छे । आफूले हेर्न नपाए पनि श्रीमानले काठमाडौँको धरहरा पक्कै देख्यो होला, अनुमान लगाउँदै मक्ख पर्छे । भोक र शोकदेखि लखुमलाई सम्झेर बाटाभरि आँखा ओछ्याइरहन्छे । लखुम र दुखिनी छुट्टिएको केही दिन मात्र भएको छ, तर एक अर्काप्रतिको माया र अनुरागले यो संसार अडेजस्तो आभास दिलाउने प्रसङ्गले ध्यान खिच्छ ।

अन्याय, अत्याचार, शोषण अनि प्रविधिले गाँस खोसेपछि लखुमलाई बाध्य परेथ्यो बसाइँ सर्न । अन्तै सर्दाको पीडालाई नजिकबाट नियाल्दा माझीको सोझो र सरल जीवनले पाठकलाई पनि उतैतिर तान्दै लान्छ भने कतिपयले बहसको विषय बनाउन सक्छ । लखुम परिवारसहित झिटीगुन्टा बोकेर कोसी र इन्द्रवतीमा आँसु चढाउँदै नयाँ गन्तव्यतिर लागे । जहिल्यै लखुमलाई धम्क्याएर माछा, पैसा असुल्ने शोषकले उल्टै लखुमलाई पैसा दिएर गाउँ नछाड्न अनुरोध गरे, बाटो छेके । तर रोकिएन लखुम । गरिब, निमुखा माझीहरूलाई शोषण गरेर खान पल्केका महाफटाहा कुमारजस्ताको मन पगाल्ने कथानक प्रस्तुतिले पढ्दापढ्दै स्तब्ध बनाउँछ । सहनशक्तिले ढुङ्गाको मन पनि पगाल्छ भनेझैँ कुमारले लखुमसँग गरेको विनम्रपूर्ण संवादले मानवीय संवेदनाको कुनालाई मजाले भिजाउँछ । लाग्छ, लेखकले मसलेदार परिकारमा अचार पनि चट्ट राखिदिएको छ । जसको स्वादले जिब्रो होइन, आँखा रसाउँछ ।

आखिर लखुम परिवार नुवाकोटको तादी किनारको गीत बनेर त्यहीँ सुसाउन थाले । बस्दा रहँदा त्यहाँ तिल्केको छोरी मालश्रीसँग लखुमको छोरा बिकवाको नाम जाडिन थाल्यो । छोरा बिकवा बिस वर्ष पुगेपछि मात्र विवाह गरिदिने सोचमा थियो, लखुम । उता तिल्केले छोरी मालश्री बिकवाको भयो भनेर वचन दिइसकेका थिए । बालसुलभ मनहरू रमाउने, जोडिने क्रममा बच्चाहरूलाई हामी बुडाबुडी हौ भन्नेसम्म थाहा छ । तर व्यवहार, बिहे र घरजम भन्ने थाहा छैन । तर पनि भाँडाकुटी खेल्दाखेल्दै उनीहरूले धेरै चोटि बुढाबुढी भएर बालुवाको घर व्यवहार चलाए । रमाए । कहिले के सर्त त, कहिले बाजी राखे । दुखिनीले भनी, ‘मलाई बिहे गर्ने हो भने त्यो बग्न लागेको धुपीको रूखलाई रोक्नुपर्छ, नत्र हाम्रो बिहे हुँदैन ।’ नदीसँगै बग्दै गएको रूखलाई बिकवाले रोक्न खोज्दा उसैलाई बगाएर लग्यो, झन्डै ज्यानै गयो ।

यस्ता अन्धविश्वासका कुराले ठूलो दुर्घटना निम्त्याउन सक्छ भन्ने पाठ सिकाएको छ । परिवारले रोक लगाएपछि बिकवा सेराको तादी किनारतिर जान छाडे । पछि ठूलो हुँदासम्म बिकवा र मालश्रीको भेट भएन । मालश्री त्यो बाल्यकालको अतीत सम्झिँदै तादी किनारमा बसेर गीत गाइरहन्छे ‘तादी खोला कठै बग्यो सलल, मेरा आँसु कठै चुहिए तरर ।’

विशेष गरी मूल पात्रलगायत अन्य पात्रहरूलाई शिक्षातिर उत्प्रेरित नगराए तापनि बाल मनोविज्ञानले भरिपूर्ण यो उपन्यास युवावर्गको लागि अति उपयोगी छ । जसले भविष्यको अँध्यारो र उज्यालो पाटोलाई सानैदेखि छुट्ट्याउने शिक्षा दिएको छ । बाल्यकालमा न त छलछाम, न त छलकपट, न त घिन न त लाज केही नहुने भगवानकाे एक रूप देखाइएको छ भने किशोरावस्थाको कौतुहलता, शारीरिक विकास, वर्गीय विभेद अनि युवावस्थामा हुने आकर्षण जस्ता विषयलाई समेटेर ज्ञानवर्धक खुराक पस्केको छ ।

अर्कोतिर माझी समुदायको जीवनशैली, समाज, संस्कार, संस्कृतिको जगेर्ना गर्दै सानैमा बुहारी रोज्ने चलनलाई भत्काएर नयाँ संरचना खडा गरेको छ । पुस्तौँदेखि माझीहरूले बगाएको पसिनाले नदीको रङ्ग कहिल्यै बदल्न सकेन ।

त्यसैले होला, साहित्यकार महेश पौड्यालले ‘तादी किनारको गीत’ रचेर सीमान्तकृत समुदायको जीवनचक्रलाई इतिहासको पानामा सुरक्षित गर्नुभएको ।