जन्मदेखि मृत्युसम्म हाम्रा आमाले यथार्थ रुपमा भोगेको सामाजिक नियन्त्रण, पारिवारिक समस्या, संस्कारगत बन्धन, अशिक्षा र चेतनाहीनले निर्माण गरेको रुढ मानसिकताको सिकार हुनु परेको जिउँदो उत्खनन हो ।

‘हटारु’ले मलाई पच्चीस वर्षअघिको समाजमा धकेलिदियो ।

विस्मृतिको गर्तमा पुरिएका तमाम घटना परिघटनाहरु यादमा उज्याला भएर आए ।

प्युठानको दुर्गम बस्तीमा मैले हुर्किन पाएँ । गाउँमा युद्ध छिरिसकेको थियो र साँझ डराउन सुरु गरिसकेको थियो । तर गाउँबाट गाउँको अनुहार हराइसकेको थिएन । सल्लाको खोँटो बल्दै गरेको अँगेनो बीचमा पारेर सुत्थ्यौँ । अनि दाइ दिदीहरुले कथा भन्न सुरु गर्नुहुन्थ्यो । कहिलेकाहीँ आमा, ठूलो बुवा, ठूलो आमाले आफ्नो यौवनवयका किस्सा हाल्नुहुन्थ्यो ।

युद्धबाटै विस्थापित भएर हाम्रो परिवार तराई खस्यो । तराई गाउँ त थियो, तर मैले हुर्किन बानी परेको गाउँको अर्ग्यानिक सुन्दरता उतै छुटेको थियो । भीर, पहाड, खोला र खोल्सा पहाडमै छोडिआएको थिएँ । मेरो जीवन सिकाइको एउटा कक्षा टुटिसकेको थियो । पछि तराईमै पनि खाना खाएपछि अँगेना वरिपरि बसेर बुवा मम्मीले पुराना कथा भन्नुहुन्थ्यो । बुवाले युद्धका कथा सुनाउँदा माओवादीको सशस्त्र युद्ध चरम अवस्थामा पुगेको थियो । मैले कार्ल मार्क्सलाई पढ्न सुरु गरिसकेको थिएँ । २०६२ सालतिर म कक्षा ८ मा पहिलो पटक मार्क्सवाद बारे सुनेको हुँ ।

पछि बुवाको मृत्यु भयो । त्यसपछि म शहर पसेँ । परिवार, गाउँ र जिल्ला छोडेँ । अहिले परिवारको सदस्य सङ्ख्याअनुसारको चुलो बल्छ । खाना पाक्छ तर खाना खाएपछि बोल्ने सुन्ने छैनन् ।

फागुन १२-१३ गते सुर्खेतको चौकुने गाउँपालिकाको गुटुमा आयोजित एक कार्यक्रममा साहित्यकार ओम रिजालले एउटा विश्वविद्यालयको अन्त्य भएको बारे चर्चा गर्नुभयो । त्यो विश्वविद्यालय प्रत्येक घरमा बेलुकी खाना खाएपछि अँगेनाको डिलमा बसेर बाआमा, बाजेबराजुले सुनाउने कथा किस्साको विश्वविद्यालय थियो । जो अहिले छैन । प्रत्येकका आफ्नै कोठा छन्, सुत्ने विस्तारा र कुरा गर्ने च्याट लिष्ट छन् । र छन् संसार बारे क्षणको क्षण थाहा पाउने एउटा डिजिटल पात्रो । संसार कहाँबाट कहाँ पुगिसक्यो ।

उनै साहित्यकार ओम रिजालकृत “हटारु” उपन्यासले मलाई मेरो बाल्यवय पुर्यायो । बदलिएको समाजले गुप्त विगतमा जीवन शिक्षाको बहुआयाम छोडी आएकोमा मेरो उमेरका प्रत्येक युवाहरु थक थक मान्छन् होला । हामी यस्तो समयमा जन्मियौँ, पञ्चायत मरेर बहुदलले ठाउँको उठाउन खोजिरहेको समय थियो । युद्धले पखेटा हालेको थियो । र समाज परिवर्तन तथा रुपान्तरणको जटिल संक्रमणकालीन थियो । त्यसपछि हामीले चरम युद्धको अनुभूति गर्न पायौँ, आन्दोलनमा प्लेकार्ड बोक्यौँ, मसाल बालेर जमिनदारको घरको भित्तामा राजनीतिक नारा पनि लेख्यौँ ।

पचासपछि जन्मिने पुस्ताले नेपाली समाजको एउटा चित्र नजिकैबाट गुमायो । पढ्ला तर अनूभुत गर्न पाएन ।

– – –

हटारु पचास सालसम्म जसोतसो जिउँदो अवस्थामा रहेको नेपाली समाजको प्रतिनिधि चित्र हो । डिजिटल विकास नभित्रिँदासम्म समाज कस्तो थियो ? हटारु पढेपछि धेरै हदसम्म बुझ्न सकिन्छ ।

म आफैँले पश्चिम नेपालको सामाजिक यथार्थवादी किस्साकहानीमा काम गरिरहेको छु । त्यसका लागि पाएसम्मका किताब पढ्न र मान्छे भेट्न खोज्छु । त्यो सन्दर्भमा ओम रिजालको हटारु मेरो सूचीमै थियो तर किताब भेटिएको थिएन ।

अढाइ सय पेजको हटारु कहानी ५-६ घण्टामा सकिन्छ । दैलेखको भौगोलिक अवस्थिति, मनस्थिति र परिस्थितिलाई आधार बनाएर लेखिएको हटारु सामाजिक यथार्थवादी उपन्यास हो । लोकसाहित्य, परसम्परा, सस्कृति र संस्कारको उल्लेख्य उपयोग गरी निर्माण गरिएको यो उपन्यास सांस्कृतिक सङ्ग्रहालय तथा अभिलेखालयको रुपमा यसलाई मानिदिँदा कुनै कतैबाट आपत्ति हुँदैन ।

मेरो व्यक्तिगत अनुभूतिमा पश्चिम नेपालको भाषा रुखो, खरो लाग्छ । मिठो र मुलायम लाग्दैन । तर यो किताबले पहिलो पटक खस भाषा त्यसमा पनि दैलेखी पानीले भिजेको भाषागत आञ्चलिकता मलाई बढो स्वादिष्ट प्रिय लाग्यो । अर्ग्यानिक शब्द, शैली र लवजको भरपुर प्रयोगले किताब मिठो छ । ३१ वर्षको उमेर कहिल्यै नसुनेका अर्ग्यानिक शब्दहरुको उपस्थिति तर सुललित वाक्य निर्माणले उपन्यास कर्णालीजस्तै बग्छ ।

निरन्तर सुसाइरहन्छ कथा । सुनकेशाको मार्मिक, हृदयविदारक कथाले आँखाहरु बग्न सक्छन् । रोकिन सक्छ किताब पढाइ । र आमा हजुर आमाको सम्बन्धित कथाहरु पनि स्मृतिमा आउन सक्छ ।

विषयगत रुपमा नारी प्रधान उपन्यास हटारुले लैङ्गिक विभेदको चरम रुप चित्रण गरेको छ । चेतना निर्माण हुँदै गरेको सानो छोरोले आमालाई कथा सुनाउन ताकेता गर्छ । आमा अर्थात जियाले आफ्नो आमाको पनि आमाको कथाबाट व्यथा सुरु गर्छिन् । कथा भन्ने मौलिक परम्पराबाट प्रेरित यो उपन्यासले नेपालको श्रुति परम्पराको चित्रण गरेको छ ।

उपन्यासको मूल कथा हाम्रा आमा, हजुर आमाहरुले बाँचेको नेपाली कठोर समाजको व्याख्या हो । अहिलेको पुस्तालाई यति क्रुरता भोगे होलान् र ? भन्ने लाग्न सक्छ । जन्मदेखि मृत्युसम्म हाम्रा आमाले यथार्थ रुपमा भोगेको सामाजिक नियन्त्रण, पारिवारिक समस्या, संस्कारगत बन्धन, अशिक्षा र चेतनाहीनले निर्माण गरेको रुढ मानसिकताको सिकार हुनु परेको जिउँदो उत्खनन हो ।

पितृसत्ताले निर्माण गरेको महिनाद्वेषी समाजमा महिला नै महिलाका लागि दुख र यातनाको कारक छ । लोग्नेले श्रीमतीलाई, दाजुभाइले दिदीबहिनीलाई, ससुराले बुहारीलाई हुने गरेको, भए गरेको शोषण सँगसँगै सासु र सौता प्रवृतिबाटै नारी कसरी नियोजित रुपमा निरीह हुन्छे ? समाज विज्ञानका भित्री रुपहरु उपन्यासले पत्रपत्र गरी केलाएर भन्छ ।

अर्कोतर्फ खसआर्य समाजका जन्मदेखि मृत्युसम्मका संस्कारहरु, चार्डपर्व मेलापात र वनजंगलको धन्दा । राम रमाइलोको रुपमा हुने महिलामाथिको शोषण र त्यसका सम्पूर्ण सन्दर्भहरु पर्गेल्न उपन्यासले सहयोग गर्छ । सुर्जा पात्रमाथि उसको ससुराले गरेको करणी, काली पात्रले माङ्ल्याबाट भोग्नु परेको सामाजिक यौनबन्धन तत्कालीन नेपाली समाजका कुरुप कथाहरु हुन् । त्यसका सुर्जाजस्ता केही पात्रहरु छन्, जसले विद्रोह गर्छन्, गाउँ त्यागेर भए पनि बाँच्ने हिम्मत गर्छन् र नयाँ संसार समाज निर्माण गर्छन् । तर कालीजस्ता पात्रहरु पनि छन् बाँच्ने विकल्प देख्दैनन् र गर्भ रोपेको गोठमा पुगेर पासो हाल्छन् ।

यो समाज सुर्जा, काली र सुनकेशाजस्ता पात्रका दुखहरुले निर्माण गरेको समाज हो । उनीहरु बलि चढेर निर्माण गरेको सत्तामा अहिलेको पुरुषले बाँचेको छ । अझै डग्मगाउँदैन ।

उपन्यासले उठाएको अर्को सन्दर्भ हो – दैलेखी समाजको संस्कारगत फेहरिस्त । प्रत्येक समाजको आफ्नै परम्परा र संस्कृति हुन्छन् । त्यसको मिहिन चित्रण सम्भव तुल्याएको यो उपन्यासले दैलेखी खसआर्य समाजको जन्मदेखि मृत्युसम्मका सबै प्रक्रियागत वर्णन गर्छ । विवाह, व्रतवन्धदेखि सुत्केरी स्याहार, छैठीसम्म । यी परम्परामा महिलाहरुको अवस्थिति के हो ? हाम्रा चार्डपर्व, मेलापात तथा दिनमासको अवसरमा गरिने परम्परागत गतिविधि, नाचगान, गीतसंगीत, उखानटुक्का के हो के के । सबै छ यो उपन्यासमा, त्यस कारण पनि अब्बल छ ।

नेपालको जात व्यवस्थाले सबैभन्दा तल पिँधमा राखेको दलित समुदायको बलियो उपस्थिति छ उपन्यासमा । समाजमा जड बनेर बसेको विभेद लुकाउन खोजे पनि त्यसको छनक बुझ्न सकिन्छ । कथामा दलित समुदायको उपस्थिति गराउँदा लेखक चलाख छन् भन्ने बुझाउँछ । तर दलित समुदायमाथि न्याय भएको छ । कला, साहित्य, संगीत र सीपले भरपुर समृद्ध दलित समुदायले समाज निर्माणमा कसरी भूमिका खेलेका छन् भन्ने पुष्टि भएको छ । जात खस्ने, खसाल्ने प्रथा । अन्तर्जातीय विवाह, गाउँ छोड्न बाध्य पार्ने समाज र त्यसबाट उत्पन्न सामाजिक हलचल । ठालुहरुले लिने फाइदा र रच्ने षडयन्त्रलाई यथार्थ रुपमा चित्रण गरिएको छ ।

स्वर्गको टुक्रा हो दैलेख । दैलेखको प्राकृतिक तथा भौगोलिक सौन्दर्यको वर्णनले एक पटक दैलेख पुग्न मन हुन्छ । पर्यटकीय गन्तव्यका रुपमा बाँचेका सम्पदालाई आँखैअघि देखिने गरी अनुभूति गराउने वर्णन साँच्चै मनमोहिनी लाग्दो छ लेखकको ।

तर समाजले भोग्ने भोकको दुर्कथा । रोगले खाएको परिवारको आँसु । रुढीवाद र अन्धविश्वासको भरपर्दा गुमाउनु परेका प्रिय आफन्तको कथा प्रत्येक पटक कम मार्मिक छैनन् । यस्तो अभाव, रोग, भोक र अन्धकारमा पनि मानिसले कसरी जीवनको श्वास फेर्छ ? यो अहिले पनि लागु हुने प्रश्न हो । नुन बोक्न हिँडेको एउटा छोरो कहिल्यै फर्किन्न । छोरोको सन्तापले जलेको परिवारले वर्षदिनभर अलिनो खाएर समय काट्छ । यो चित्र त्यति बेलाको राज्य सत्ताले कसरी हेर्दो हो ? जिज्ञासा स्वाभाविकै रुपमा उठ्छ ।

जतिबेला अड्डा अदालत थिएन । प्रहरी थिएन । कानुनी न्याय निसाफ थिएन । स्थानीय ठालुले समाजका निमुखालाई कसरी चुस्थे ? कसरी फाइदा लिन्थे ? जारी विवाहको न्याय कसरी समाधान गरिन्थ्यो ? बहुविवाह कस्तो थियो ? प्रेमका रुप कुरुप अनुहार कस्ता थिए ? सुनकेशाकै कथा छ । श्रीमती किनेर लैजाने पहिलो श्रीमान, मेलापर्वको अवसर पारेर छोपेर, अपहरण गरेर अर्काकै श्रीमती लैजाने दोस्रो श्रीमान र प्रेमलाई पुज्ने, बुझ्ने र सम्बन्ध बनाउने तेस्रो श्रीमान् । यो कथाले प्रेम, पुरुष र प्रवृत्तिहरु देखाउँछ ।

उपन्यासको केन्द्र महिला हो । दुखको चरम रुप भोगिरहेका हाम्रै आमा, हजुर आमा हुन् । परिधि दैलेखी समाज र तत्कालीन समय । र यसका अधिकांश रुपहरु हामी बाँचेको समय र समाजसँग अलिअलि होइन, ठ्याक्कै मिल्छन् । मेल खान्छन् ।

पुरुष भएर यो किताब पढ्ने हो भने कति कति बेला आफ्नै अनुहार पनि देख्न सकिन्छ ।

– – –

यो उपन्यास वैचारिक होइन । कुनै पनि विषय, सन्दर्भ र सोचमा पक्षविपक्षको कित्ता निर्माण गर्दैन यो किताबले । लैङ्गिक विभेद, सामाजिक उत्पीडन, भोगोलिक विकटताले निर्माण गरेको कठोर जीवनशैली, जातीय संरचना, सामाजिक विसङ्गतिलगायत तमाम विषयहरुको एकमुष्ट रुपमा उठान गरेको उपन्यासले के ठिक के बेठिक भनेर पाठकलाई पढाउँदैन । सिकाउँदैन । मात्र फिल्म देखाएजस्तै देखाउँछ । तटस्थ रुपमा उभिएर इमान्दार कथा मात्र भन्छ । कुनै पनि प्रकारले वायस नभएर लेखिएको शसक्त उपन्यास हटारु पढिसकेपछि मानिसमा एउटा विवेक निर्माण हुन्छ । त्यो पाठकले पानीलाई पानीकै रुपमा र दुधलाई दुधकै रुपमा छुट्याउन सक्छ ।

खसभाषाको पहुँच नहुनेहरुमा भाषिक जटिलता उत्पन्न हुन सक्ला । तर खस भाषा दैलेखी लवज नै यो कृतिको सौन्दर्य हो । सामान्य भाषामा यो किताबको अर्थ छैन । त्यसैले जटिल लागेका केही शब्दको अर्थ पढ्ने व्यवस्था किताब भित्रै छ । २१ पेजको दैलेखी भाषाको शब्दार्थ छुट्टै पढ्दा केही फरक पर्दैन । राम्रै हुन्छ ।

हटारु – बेला मौकामा लाग्ने हाट वा बजारमा पसल राख्न जाने व्यापारीलाई जनाउने शब्द हो । हाटबजारमा किनमेल गर्न जाने व्यक्ति हटारु हुन् । उपन्यासको नाम हेर्दा हाट जाने हटारुहरुको कथा होला भन्ने सहज अनुमान हुन सक्छ । तर हटारुको संक्षिप्त एउटा सन्दर्भ बाहेक कुनै अर्को कथा छैन । तर यसलाई लाक्षणिक रुपमा अर्थ्याउन खोजिएको छ । कथाको पहिलो पेजमै बुआ अर्थात बजैले भन्छिन् – मुन्छेको जिन्नकी हटारुको हाटे यात्राजस्तै हो बाबै ।

यो संसार हाट हो । बजार हो । र हामी मानिस हटारु । हटारुको जस्तो दुख अरुको कमै हुन्छ । मान्छेको जीवन हटारुको जस्तो दुखैदुखले निर्माण भएको ।