जसै पढ्दै गए सर्जक गोकर्ण मल्लज्यूको उपन्यास- शुभारम्भका पाइलाहरू, एउटा फरक किसिमको अनुभूति मलाई हुँदै गयो, त्यो अनुभूति थियो स्वतन्त्रताको, मानवीय सोचमा आएको परिवर्तनको र समाजमा मौलाउँदै गएको नयाँ सभ्यताको । यद्यपि ग्रामीण भेगको जनजीवन कष्टकर छ तथापि युवा युवतीको सोचमा परिवर्तन छ ।
आजको बदलिँदो समयमा स्वतन्त्रता स्थापित हुँदै गएको छ । यसले के देखाउँछ भने हाम्रो समाजमा सभ्यता नजानिँदो रूपमा बदलिँदै छ । यस्तै समाजका पात्र लेखक गोकर्ण मल्ल पनि खुला र स्वतन्त्र बिचारका छन् । समाजले लुकाउन खोज्ने, मान्छेले आफ्नो हृदयमा दबाएर राख्न खोज्ने घटनाहरूलाई पनि निःसङ्कोच लेखेर लेखकले आफूलाई एक स्वतन्त्र विचारकको रूपमा प्रस्तुत गरेका छन् ।
मानव सभ्यतासँग जोडिँदै आएका जीवनका विभिन्न आयामहरूलाई इतिहास र संस्कृतिले नै दर्साउने गर्दछ र एउटा लेखकको कृतिले उजागर गरेको यस्तो तथ्य समाजको दर्पण हुन्छ जुन युगौँ युगसम्म पनि कुनै बेला यस्तो रहेछ भन्ने आधार हुन्छ ।
लेखक मल्लले यस उपन्यासमा नेपालको पहाडी भेगको ग्रामीण समाजका मान्छेहरूको दिनचर्या, त्यसैको सेरोफेरोमा रहेर विकसित भएको उनीहरूको सोचाई, त्यस्ता ठाउँमा आइपर्ने समस्याहरू र उनीहरूले भोगेका वास्तविक घटनाहरू अत्यन्त मिहिन रूपमा वर्णन गरेका छन् । त्यो प्रकृति र वातावरण जहाँ मान्छे बसेको हुन्छ, त्यसले मान्छेको जीवनमा प्रत्यक्ष असर पारिरहेको हुन्छ । त्यहाँ उपलब्ध स्रोत, साधन र सुविधाहरूले नै उनीहरूको जीवन यापनको तरिका निर्धारण गर्दछ ।
मान्छे जुन परिवेशमा बाँच्छ, जति सुविधा राज्यले त्यस ठाउँका मान्छेहरूलाई पुर्याउन सक्छ, जस्तो त्यहाँको भौगोलिक अवस्था छ, राजनीतिक चलखेल छ, तिनै परिस्थितिहरूको घेरामा रहेर उसले जीवन झेल्नु पर्ने हुन्छ भन्ने वास्तविक यथार्थको बोध लेखकले उपन्यासका विभिन्न पात्रहरूको जीवनकथा मार्फत अवगत गराएका छन् । यही कारणले गर्दा विकसित र अविकसित मुलुकमा बस्ने मान्छेहरूका जीवनमा धेरै फरक पर्न जान्छ ।
उपन्यासका मूल पात्र आरम्भ प्यारा भन्ज्याङ गाउँको विकाशको लागि के के कुराको कमी छ भनी अध्ययनको लागि तथ्याङ्क सङ्कलन गर्न हिँड्छन् । लेखकले यात्राको क्रममा ग्रामीण भेग छिचोल्दै अघि बढ्दै गर्दा भेटिएका विभिन्न पात्रहरू र प्यारा भन्ज्याङ गाउँमा अन्तरवार्ता लिने क्रममा सम्पर्क भएका मान्छेहरूको जीवन भोगाइको कथा व्यथालाई उपन्यासमा समेटेका छन् ।
जीवनका कथासँगै जोडिएर आएका छन् प्रकृतिको वर्णन, त्यहाँको कष्टकर दिनचर्या, माओवादी द्वन्द्व कालले दिएको अथाह पीडा र अभावजन्य परिस्थितिको मार । तर जे जस्तो भएता पनि मान्छेका इच्छा आकाङ्क्षाहरू भने मर्दा रहेनछन् । आफ्नो स्वतन्त्रताहरूलाई दबाएर केवल बाध्यताहरू बिच बाँचिरहँदा उपन्यासकी एक प्रमुख पात्र मंगलिकाले आरम्भको सामीप्य पाउने बित्तिकै आफ्ना यौन कुण्ठाहरूसँग तृप्ति पाउन खोज्छिन् ।
उनको श्रीमान् विदेश गएका केही वर्षदेखि कुनै खबर हुँदैन । सासू, ससुरा र खेतबारी सँभालेर बसेकी उनी तिनै बटुवा आरम्भमार्फत आफ्ना यौन आकाङ्क्षाहरू पुरा गर्छिन् ।
त्यो ग्राम्य जीवन सबैको कष्टकर नै छ । कतिका श्रीमान् माओवादी द्वन्द्वमा मारिएका छन्, कतिका घरबारी माओवादी कालमा कब्जा गरिएका छन्, कतिका परिवारबाट मान्छे बिदेसिएका छन् र धेरै वर्षदेखि कुनै खबर छैन, अनि कसैको घरबारी विदेश जान धितो राख्दा लिलाम भएको छ । अथाह पीडाको मार खेपिरहेका गाउँलेहरू खेतीको काम गर्दै, बनपाखामा च्याउ, फलफूल र दाउरा बटुल्दै परिवारको जिम्मेवारी बहन गरिरहेका छन् ।
पानी र दाउरा जस्ता मूलभूत आवश्यकताहरू पूर्तिका लागि पनि समय लगाएर परबाट ओसारेर ल्याउनु पर्ने भएपछि मान्छेको सम्पूर्ण प्रयास मात्र जीवन यापनको लागि भइरहेको हुन्छ । यस्तो ठाउँमा मान्छेको अधिकार के हो ? स्वतन्त्रता के हो ? त्यसको कुनै अर्थ रहँदैन । त्यस्तै आरम्भको पारिवारिक कथामा पनि धेरै सम्भाव्यता बोकेको उपल्लो दर्जाको राजनीतिक जीवनबाट मान्छेहरूको धोखाले च्युत हुनु पर्दा विभिन्न प्रकारका कष्टहरू सहँदै जीवन अघि बढाउनु परेको व्यथा अत्यन्त मार्मिक छ । समय र परिस्थिति परिवर्तनशील छ । आज भएको यस, वैभव र सुख भोलि नरहन सक्छ ।
जस्तोसुकै परिस्थिति आइपरे पनि समायोजन गरेर धैर्यतासाथ जीवन जिउनु नै एक मात्र उत्तम विकल्प हो भन्ने सिख आरम्भको पारिवाको सङ्घर्षको कथाले दिएको छ । उपन्यासमा उल्लेखित यस्ता मार्मिक जीवन गाथाहरू अत्यन्त हृदयस्पर्शी र प्रेरणादायी छन् ।
त्यसै गरी यस उपन्यासमा सँगसँगै बढ्दै गएको अर्को पक्ष छ शुभा र आरम्भको प्रेम । शुभाको आमाले आरम्भलाई नरुचाउँदा नरुचाउँदै पनि र अरू प्रतिकूल अवस्थाहरू हुँदा हुँदै पनि उनीहरू बिचको प्रेम मौलाउँदै गएको हुन्छ । अर्कोतिर आफ्ना अतृप्त यौन चाहनाहरू पुरा गर्ने क्रममा आरम्भलाई प्रेमी बनाएकी मंगलिका हुन्छिन् ।
मंगलिका, लेखकले बयान गरेका गाउँले परिवेशमा जीवन बिताइरहेका उपन्यासका विभिन्न पात्रहरू मध्य एक हुन् । मंगलिकाले आरम्भलाई प्रेमीको रूपमा लिएको कुरा जाहेर गर्छिन् । उनले आरम्भको अध्ययनको लागि तथ्याङ्क सङ्कलनको क्रममा महत्त्वपूर्ण भूमिका पनि निभाएकी हुन्छिन् । अब आरम्भ प्यारा भन्ज्याङ गाउँ जानुको उद्देश्य पुरा भइसकेको हुन्छ र घर फर्कने तर्खमा हुन्छन् । अब आरम्भ र मंगलिकाको साथ छुट्टिनेछ जुन कुराले दुवैलाई दुःखी बनाएको छ । उता आरम्भकी प्रेमीका शुभा छन् जो उनको बाल्यकालदेखिको साथी पनि हुन् । यस्तोमा न आरम्भले मंगलिकालाई म सँग हिँड भन्न सक्छन् । न मंगलिका समाजको घेरा र लोक लज्जाबाट उम्केर आरम्भलाई म तिमिसँगै जान्छु भन्न सक्छिन् ।
यात्राको क्रममा भेटिएको एउटा साथीसँग बन्न गएको सम्बन्ध अब सम्झनामा मात्र सीमित हुन गइरहेको हुन्छ । आरम्भले पनि मंगलिकालाई प्रेमीकाको रूपमा स्वीकारेका हुन्छन् र भन्छन् म यहाँ नभए पनि हरेक बिहान मेरो मन यही थुम्कामा पठाएर तिमीलाई हेरिरहुँला । साँझपख फेदी गाउँ चौतारीमा मन पठाउँला । तिमी बगर बनेर आउँछ्यौ भने म तिम्रो बाटोको किनारभरि बसिरहुँला । प्रतिउत्तरमा मंगलिका भन्छिन् तिमी बिहान तिम्रो मन यही थुम्कामा पठाउँछौ भने म त स्वतः हरेक बिहान यही थुम्कामा फूल चढाउन आउनेछु । साँझपख फेदी गाउँ चौतारीमा तिम्रो मन पठाउँछौ भने त म त्यही आरती गर्न आउनेछु । मेरो मन शान्त बनाउन प्रयासरत हुनेछु । यसरी प्रेमिल प्रसङ्गलाई महत्त्वपूर्ण रूपमा अगाडि बढाएर लेखकले उपन्यासलाई रोमान्टिक उत्कर्षमा पुर्याएका छन् ।
लेखक यसै समाजका पात्र भएकोले र उपन्यासको कथा वस्तु र साजसज्जा उनकै स्वेच्छामा भएकाले यसमा बगेका उनका सोचहरूले यो सम्पूर्ण समाजकै प्रतिनिधित्व गर्दछ । यसले देखाउँछ कि आज हाम्रो समाजका नरनारीको सोच फराकिलो बन्दै गएको छ । हिजो समाजको घेराभित्र मात्र आफ्नो संसार देख्ने बाध्यता थियो भने आज त्यो रहेन । त्यसैले आज पर्दा पछाडि पनि धेरै प्रेमी प्रेमिकाहरू हुने गरेका छन् ।
अब समाजमा प्रेमीका र श्रीमतीको स्थान, अनि त्यसै गरी प्रेमी र श्रीमानको स्थान छुट्टै स्थापित हुँदै छ । कसैले आफूलाई श्रीमती र प्रेमीका, अनि त्यसै गरी श्रीमान् र प्रेमी दुवैको रूपमा पनि आफूलाई उभ्याइरहेका हुन सक्छन् । साइबर युगले विश्व संस्कृतिलाई एउटै बनाइ रहेको बेला यसको प्रभाव हामीकहाँ पनि आइपुग्नु स्वाभाविकै हो । त्यसैले अब हाम्रो समाजमा पनि मंगलिका जस्ता थुप्रै प्रेमिकाहरू र आरम्भ जस्ता थुप्रै प्रेमीहरू नहोलान् भन्न सकिँदैन । पर्दाले ढाकिएका सत्यहरू अरूसँग ढाकिए पनि तिनले स्वयं आफ्नो हृदयको अन्तस्करणबाट निस्किएका वेदनाहरूलाई ढाक्न सक्दैनन् ।
त्यसैले एउटा गम्भीर प्रश्न अगाडि देखा पर्छ, त्यो के भने यसरी आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा गर्दै आजका नरनारी कतै डिप्रेसन र आघातको सिकार त हुँदै छैनन् ।
मान्छे स्वयंको चेतनाले उसलाई दिशा निर्दिष्ट गर्न सकोस् । समाजमा सही चेतको जागरण होस् ।
लेखक गोकर्ण मल्लज्यूमा कृतिगत सफलताको असीम शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।