“कविले मानिसलाई कसरी चिन्छन् ? कवि भनेर भन्दा मान्छेको मस्तिष्कमा कस्तो आकृति बन्छ ? कविले के गर्न सक्छ ? कविले कति गर्न सक्छ ?”, प्रश्न सामान्य नै हुन् तर जवाफ मुस्किल छ । नेपाली कविता समाजको फेरो समाएर नेपाली कविलाई सम्झने हो भने एक कविको आकृति हाम्रो मस्तिष्कले अकै बनाउँछ वा बनाउँथ्यो । एक कविले कविता सुनाउनकै लागि विदेशसम्म पुग्छ भन्ने हामीलाई थाहा थियो कि थिएन ? कविता सुनाएको पैसा लिन्छ भन्ने हामीले सोचेका थियौँ कि थिएनौँ ? वा हामी कविता सुन्नकै लागि पैसा तिर्न तयार रहन्छौँ भन्ने हामीले कल्पना गरेको थियौँ कि थिएनौँ ? यी त प्रश्न न भए । तर पनि जवाफ हामीलाई नै थाहा छ ।
नवराज पराजुली अहिलेको नेपाली साहित्यिक फाँटमा कविताले विश्वास गरेको कवि हुन् । यदि कविताले उनलाई विश्वास नगरेको भए पराजुली यतिखेर जिन्दगीमा केही त जादु हुन्छ भन्ने विश्वासमा आफैँलाई पर्खिरहेका हुने थिए, सायद ।

कवि पराजुलीले हृदयमा नेपाल र मस्तिष्कमा कविता बोकेर थुप्रै देशमा कवितालाई नै विश्वास दिलाएका छन् ।

यस कवितामा भेटिने नेपाली समाजको चित्रण नै यस कविताको मियो हो ।

 

कविता भन्नेबित्तिकै अलिकति टाढै बस्न रुचाउने समाज अहिले कविताभन्दा अलि नजिक आउन थालेको छ । आफ्नो सरलता र वाचनले कविताबाट भाग्ने समाजलाई पराजुलीले तानिरहेका छन् । सत्तरीको दशकमा नेपाली कवितामा हलचल हुनुमा कवि नवराजको प्रवेश पनि एक कारण हो ।

नवराज पराजुलीलाई सगरमाथाको गहिराइले नेपालीमाझ कविको रूपमा चिनायो ।

नवराज पराजुली

फाट्फुट्ट कविताका लाइन लेखिरहे पनि सगरमाथाको गहिराइ शीर्षकको कविता नै उनले पहिलोपटक पूरा लेखेको कविता हो । यस कवितामा भेटिने नेपाली समाजको चित्रण नै यस कविताको मियो हो ।
पहिलोपटक यही कविता नै किन लेखियो ? प्रश्न छ र जवाफ पनि । यस कवितामा हृदयविदारक बिम्ब नै किन आयो ? प्रश्न छ र जवाफ पनि ।

युट्युबमा भेटिने नवराज पराजुलीका कवितालाई अक्षरमा सामाजिक सञ्जाल वा छापामा एकदमै न्यून भेटिन्छ । आज हामी उनको कविता र माथि उल्लेखित प्रश्नको जवाफ प्रस्तुत गर्नेछौँ ।
प्रस्तुत छ कवि नवराज पराजुलीको कविता :

सगरमाथाको गहिराइ

यो संसारको कुनै महान् चित्रकारलाई
यो विश्व नै पोत्न पुग्ने रङ चाहिए
मेरो देशका गुराँससँग सापटी माग्नु

म त गुराँसको देशको मान्छे !

तर
यो कुरा पछि गरौंला कि
मैले खाने चामलको रङ किन्न
म आँफुचाहिँ अरब आएको छु ।

यो संसारको कुनै महान् परोपकारीलाई
यो पृथ्वीभरिकै फोहोर पखाल्न पुग्ने पानी चाहिए
मेरो देशका नदीसँग सापटी माग्नु

म त नदीहरूको देशको मान्छे !

तर यो कुरा पछि गरौंला कि
मेरो छोराको घिटघिट गरिरहेको घाँटीलाई चाहिने
दुई थोपा औषधि किन्न
म आँफुचाहिँ अरब आएको छु ।

बिजुली उत्पादनमा संसारको सबैभन्दा बढि क्षमता राख्ने
मेरो देशले
मेरो बिदाइमा आएकी
मेरी श्रीमतीको आँखाबाट खसेको आँसुको उर्जाले
भेला गरेर नौलाख बत्ती बाल्न पुग्ने बिजुली निकाल्यो रे !

तर मेरो देशको आकाशमा
अझै पनि
काला ताराहरू चम्किरहन्छन् ।

मलाई थाहा थियो
खाडीमा पैसाको बाढी आउँदैन भनेर

तर के गरौँ ?

भन्दिनेले
मेरो प्वाल परेको छानोबाट राती ताराहरू झर्छन भन्दिए

र भन्दिए
ताराका ती तीखा टुक्राले
मेरो जोडिएको परिवारलाई टुक्य्राउनेछ

यो सुनेर मेरो मनमा गाठो पर्यो
त्यो पनि सुर्काउनीबिनाको
भन्दिनेले
‘पैसामा
बाआमाले पनि छहारी फेर्छन्’ भन्दिए

सोचेँ
तातेताते गराउने बुबाको हात
किन्नुपर्यो भने ?

हाऽहाऽहाऽ लोइलोइलोइ गराउने आमाको काख
किन्नुपर्यो भने ?

बहिनीले
‘म तपाईँको टाउकोमा निःशुल्क ठुङ हान्दिनँ ’
भनी भने ?

दिदीले
‘म तँलाई सुनकेस्रा रानीको कथा निःशुल्क सुनाउँदिन ’
भनी भने ?

मलाई लाग्यो

ईश..वर होइन
ईश.. पर थियो
तर के गरौँ ?
म त बुद्धको देशको मान्छे !

त्यसैले चुपचाप शान्ति खोज्दै
अरब आएको छु ।

मलाई जन्माउने देवता चटक्कै छोडेर
म आएको यो अरबमा ‘रब’चाहिँ कहाँ छ ?

यो मरुभूमिमा मरूँ भन्ने मान्छे मात्र भेट्छु म !

घडीमा बाह्र बजेको देख्दा
घडीका तीनवटै काँटाहरूले
सामुहिक आत्महत्या गरेझैँ लाग्छ ।

मेरो यो रुवाजस्तो मन
बालुवासँग लड्दालड्दा
यहाँ मेरो जवानी पग्लिन्छ
घरमा रुँदारुँदा
श्रीमतीको सिरानी पग्लिन्छ ।

ए देश !
सगरमाथाको शिखरमा उभिएको
संसारको सबैभन्दा अग्लो मान्छे म
आज खाडीमा गाडिएको छु
कसैले बाहिर निकाल मलाई !

म मर्नुअघि
मेरा बूढा भएका बुवाका हातका नङ
नदुखाइकन काट्न चाहन्छु

म मर्नुअघि
मेरी आमाले पकाएको माली गाईको बिगौती
चाख्न चाहन्छु
म मर्नुअघि
मेरो घरको पश्चिमपट्टिको मेवाको बोटमा
बाक्रै ताछ्न नमिल्ने गरी पाकेको मेवालाई
दुई टुक्रा पारेर
चम्चीले एक चम्ची आफू खाँदै
अर्को चम्ची
भर्खरै एउटा मात्र दाँत पलाएको
मेरो छोरालाई खुवाउन चाहान्छु

म मर्नुअघि
मेरी छोरीले
उसकी हजुरआमाले चुलेसीले तिखारिदिएको पेन्सिलले
जीवनमा पहिलोपल्ट लेखेको ठूलो “क” हेर्न चाहन्छु।

ए देश !
मेरी आमाले बनाएको
सानो काठको बाकस भर्ने पैसा बोकेर
म अरबबाट घर र्फकेँ भने त ठीकै हो
तर
त्योभन्दा ठूलो रातो काठको बाकसमा
म आफैँ भरिएर र्फकेँ भने ?

कहालीलाग्दो दृश्यले कविको हृदयमा प्रश्न गरेपछि जन्मेको यस कविताले आम नेपाली जनता वा आम मजदुरको भाषा बोलेको छ ।

 

प्रस्तुत कवितामा प्रयोग गरिएका बिम्बमा उनका आफन्त भेटिन्छन् । कहालीलाग्दो दृश्यले कविको हृदयमा प्रश्न गरेपछि जन्मेको यस कविताले आम नेपाली जनता वा आम मजदुरको भाषा बोलेको छ ।

सन् २०१० ताका कवि नवराज पराजुलीले कवि मनु मञ्जिलको गुरुकुल नाटकघरमा एकल कविता वाचन हेरिसकेपछि उनलाई “म पनि कविताको झरीमा भिज्न सक्छु ।” भन्ने विश्वासको टुसो पलाएको थियो । म पनि कविता लेख्छु भन्ने दृढ विश्वास बोकेका कविलाई कहिले कविता लेख्छु भन्ने थाहा थिएन तर थाहा चाहिँ थियो कि, म लेख्छु ।

थर्रर कामेको शरीरले बर्रबराउँदै निकालेको आवाजमा छोराको खुट्टामा आफ्नो टाउको राखेर निकैबेर बुवा बोले ।

 

सन् २०१२ ताकै कवि नवराज पराजुलीको अलि परेको नातामा बज्र पर्यो । कविको पर्ने मामाले आफ्नो सन्तान गुमाए, त्यो पनि विदेशमा । आफ्नो छोराको लास लिन काठमाडौँ आएका बुवाले त्रिभुवन विमानस्थलमा चौकीदार झैँ रुँघेर कहिल्यै नआउनेगरी आएको छोरालाई पशुपति आर्यघाट पुर्याए । त्यो समयमा कवि नवराज पराजुली पनि सँगै थिए । विमानस्थलमा कफनभित्रको छोराको अनुहार नदेखेका बुवाले आर्यघाटमा कफन खोलेपछि छोराको अनुहार हेरे र छोराको खुट्टा ढोगे । थर्रर कामेको शरीरले बर्रबराउँदै निकालेको आवाजमा छोराको खुट्टामा आफ्नो टाउको राखेर निकैबेर बुवा बोले ।

यो दृश्य देखिरहेको कविको हृदय र खुट्टा समानान्तर भएर काँप्यो । हिन्दू धर्ममा जन्मे र हुर्केका कविले बाउले छोराको खुट्टा ढोगेको देखेका थिएनन् । त्यही दृश्यले कविको हृदयमा हलचल ल्याएको थियो ।

छोराको खुट्टा ढोग्दै बर्रबराएका बुवाले बोलेको केही शब्द कविको कानको नेपथ्यमा बजेको धूमिल आवाज बनेर आइरहेको थियो । तेरी छोरी, दलाल, अब के होला ?, यस्तै शब्दले वातावरण मौन भएर बसेको थियो ।

कविले त्यस दृश्यमा देखिइरहेका बुवाले छोरालाई केही बताइरहेको सुने तर छोरो बोल्न सक्दैन ।

त्यसो त कवि नवराज यदि भन्ने शब्दमा अल्झन्छन् । कविले त्यस दृश्यमा देखिइरहेका बुवाले छोरालाई केही बताइरहेको सुने तर छोरो बोल्न सक्दैन । यदि उसले बोल्नसक्ने भएको भए के बोल्थे होला ? भन्ने कुरा कविको मनमा गड्यो ।

कवि आर्यघाटबाट फर्के । उनी फर्कदासम्म उनको हृदय कापिँरहेको थियो र प्रश्न आइरहेको थियो, “ती बितेका दाइले बोल्नसक्ने भए के भन्थे ?”, ती बितेका दाइ बनेर कविले बोलिसकेपछि सगरमाथाको गहिराइ कविताको जन्म भयो ।

सामाजिक सञ्जालमा उनी खासै छाएका थिएनन् । उनले स्ल्याम पोएट्रीमा सगरमाथाको गहिराइ सुनाए वा प्रतियोगितामा भाग लिए । त्यसपछि उनको चर्चा सुरु भयो । त्यसैबखत उनको कविता कवि रविन्द्र मिश्रको नजरमा पर्यो ।

जब कविताले मस्तिष्क र हृदय एकैपटक छुन्छ तब कविताले पाठकलाई न्याय गर्दछ ।

 

कवि नवराज पराजुलीका बारेमा कवि रविन्द्र मिश्र भन्छन् – “म बीबीसीमा कार्यरत रहँदा कवि नवराज लम्सालले मलाई पहिलोपटक सगरमाथाको गहिराइ शीर्षकको कविताबारे बताउन्ुभएको थियो । र उहाँले नै मलाई पहिलोपटक उक्त कविता देखाउनुभयो । जब मैले सगरमाथाको गहिराइ कविता पढेँ तब मेरो मस्तिष्क र हृदय एकैपटक छोएको थियो । जब कविताले मस्तिष्क र हृदय एकैपटक छुन्छ तब कविताले पाठकलाई न्याय गर्दछ । यति शसक्त कविता पढेपछि मैले आफ्नो वालमार्फत् समाजिक सञ्जालमा सेयर गरेको थिएँ ।”

मिति तय नभए पनि कवि नवराज पराजुलीको अर्को कृति प्रकाशोन्मुख छ । उनको आउने कृतिलाई शुभकामना !