
रक्सी खुवाएर या भाङ खुवाएर पनि बेहोस बनाउन सकिन्छ तर शल्यक्रिया गर्दा त्यस्तो बेसोहीले हुँदैन । त्यो अवस्थामा मानिसलाई अचेत बनाउन र शल्यक्रिया गर्नका लागि सहज पनि हुनुपर्छ ।
मानिस प्रत्येक व्यक्तिलाई उसको शारीरिक गुण, नाक, आँखा, मुख, कान, हृदय (मुटु), मस्तिष्क जे जहाँ हुनुपर्ने हो, त्यही बनाएको छ। मानिस प्रथमतः प्राकृतिक सृजना हो। प्राकृतिक भएर पनि किन प्राकृतिक नै रहन सकेन र सबैमा समानता किन छैन त भन्ने प्रश्नले आज मलाई गिज्याइरहेको छ ।
हो, शारीरिक, मानसिक, आध्यात्मिक र भावनात्मक रूपमा एकै किसिमको गुणवत्ता दिएर सृष्टि गरेको भए पनि किन असमानता त ? किनकि सबैका आँखा उही स्थानमा भएर पनि हेर्ने दृष्टिकोण फरक भयो। मुख सबैको एकै ठाउँमा भएर के गर्नु बोली वचन र शिष्टाचार सबैमा समानता छैन। मीठो बोली वचनका लागि कुनै अतिरिक्त खर्च लाग्ने पनि होइन र पनि मानिस किन सबैसँग मीठो बोल्न कन्जुस्याइँ गर्छ? मस्तिष्क सबैको उही स्थानमा र उही आकारमा भए पनि सोचाइ एकनासको छैन। सोच्ने अथाह शक्ति अस्तित्वले दिएको भए पनि सकारात्मकभन्दा नकारात्मक सोचमै अभ्यास बढाएको पाइन्छ।
मानिस बेहोसी छ र आफ्नो बोलीवचनप्रति समेत हेक्का छैन। कानले के सुन्ने र के नसुन्ने त्योसमेत हेक्का छैन। सकारात्मकभन्दा नकारात्मक कुरा सुन्नमा जोड दिन्छन् मानिसहरू। सबैको सुनाइ र बुझाइ फरक भएकै कारण अनुकूलताभन्दा प्रतिकूलता बढी र सहजताभन्दा असहजता बढी प्रस्तुत भइरहेको हुन्छ। हामीलाई के आवश्यक छ र के लिने त्यो फिल्टर गरेर लिन सकिन्न र?
ए साँच्चै, म पनि कस्तो बेहोसी भएको त । एनेस्थेसिया पोस्टिङमा आएर यस्तो सोचमा पो डुबेर बसेछु त । कति जीवन दर्शनका कुरा गर्ने; केही केही कुरा एनेस्थेसियाको बारेमा पनि गरौँ है त ।
शल्यक्रियाको अवस्थामा औषधिको सहायताले मानिसलाई नदुख्ने, अचेत, मांसपेशीलाई संवेदनाशून्य बनाउने र शल्यक्रियाका बखत भएका क्रियाकलाप थाहा नहुने बनाउनुपर्छ भने शल्यक्रिया गरिसकेको निश्चित समयपछि पुनः होसमा आउनु पनि पर्छ । शल्यक्रिया अवधिभर बेहोस बनाएर शल्यक्रियापछि पुनः पहिलेकै अवस्थामा ल्याउने चिकित्सा पद्धतिलाई एनेस्थेसिया(Anaesthesia) भनिन्छ ।
रक्सी खुवाएर या भाङ खुवाएर पनि बेहोस बनाउन सकिन्छ तर शल्यक्रिया गर्दा त्यस्तो बेसोहीले हुँदैन । त्यो अवस्थामा मानिसलाई अचेत बनाउन र शल्यक्रिया गर्नका लागि सहज पनि हुनुपर्छ । एनेस्थेसिया एक यस्तो अस्थायी अवस्था हो, जसमा बिरामी अचेत हुन्छन्, सम्झना हुँदैन, शल्यक्रिया गर्दाको पीडा हुँदैन र मांसपेशी चल्दैन । यो बिरामीको राम्रोका लागि गरिने बेहोसपना हो । तर, यस्तो बेहोसीपनाको उद्देश्य बिरामीलाई खतरा कम गराउनु हो । यी सबै कुरा औषधिको माध्यमबाट गराइन्छ ।
ऐनेस्थेसिया गर्नुअघि चिकित्सकले बिरामीको मुटुको अवस्था, फोक्सोको अवस्था, मिर्गौलाको अवस्था, ब्रेनको अवस्था राम्ररी अध्ययन गर्नुपर्छ । त्यसका साथै त्यसअघि प्रयोग गरेको औषधि र त्यसको असरको अध्ययन गरिन्छ । जटिल खालको शल्यक्रिया गरेको बिरामीमा कृत्रिम श्वासप्रश्वास गराइएको हुन्छ र फोक्सोलाई अचल रूपमा बनाइएको हुन्छ ।
त्यस्तै मस्तिष्क र मुटुलाई पनि निश्चित मात्रामा चल्ने बनाइएको हुन्छ । ती सबै प्रक्रियालाई पुनः पहिलेकै अवस्थामा ल्याउनु चुनौतीपूर्ण हुन्छ र औषधिको राम्रो कम्बिनेसन मिलाएर मात्र ती सबैलाई पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने चुनौती हुन्छ । यी सबै काम एक एनेस्थेसियाको चिकित्सकले मात्र गर्न सक्छन् , जो बाहिर नदेखिए पनि पर्दाभित्रको हिरोको रूपमा चित्रण गर्न सकिन्छ।
एनेस्थेसिया ३ प्रकारले गरिन्छ :
पूर्ण बेहोस
यस प्रकारको एनेस्थेसियामा शरीरलाई पूरै बेहोस बनाइन्छ । तर, विशेष गरी संवेदनशील अङ्ग प्रत्यारोपण, टाउकोको शल्यक्रिया, पेटको गहिरो शल्यक्रियाजस्ता जटिल शल्यक्रियामा यस्तो प्रयोग गरिन्छ । यस्तो अवस्थामा बेहोसी बनाउने औषधिको मात्रा मिल्न सकेन भने समस्या थपिन पनि सक्छ । यस्तो अवस्थामा फोक्सोले काम गर्न सक्दैन । श्वासप्रश्वासमा बढी समस्या देखिने गरेको छ । यस्तो अवस्थामा बिरामीको अवस्था विचार गरेर औषधि संयोजन गर्नुपर्ने हुन्छ ।
आधा बेहोस
यस्तो एनेस्थेसिया प्राय: गरी शरीरको कम्मरभन्दा मुनिको भागलाई बेहोस बनाउन प्रयोग हुँदै आएको छ । ढाडमा इन्जेक्सन दिएर गरिने यो प्रविधि विशेष गरी शल्यक्रियाबाट प्रसूति गराउने अवस्थामा उपयुक्त मानिन्छ । त्यसका साथै विभिन्न ठाउँमा भएका स्टोन निकाल्न पनि यही प्रविधि प्रयोग हुँदै आएको छ ।
क्षेत्रीय (रिजनल) बेहोसी
शल्यक्रिया गर्ने अङ्गको निश्चित क्षेत्रमा बेहोसी गरिने प्रक्रियालाई रिजनल एनेस्थेसिया (क्षेत्रीय बेहोसी) भनिन्छ । पछिल्लो समय प्रविधिमा आएको सहजतासँगै मानिसलाई ऐनेस्थेसिया गराउन पनि सहज हुँदै आएको छ । विशेष गरी, हातखुट्टालगायतका भागमा हुने शल्यक्रिया गर्दा निश्चित भागलाई लट्ठ्याउने र मानिसलाई निदाउने औषधि खुवाएर पनि शल्यक्रिया हुन थालेको छ । यो प्रविधि निकै राम्रो रहेको छ । हातखुट्टाको सम्पूर्ण शल्यक्रिया, एपेन्डिक्स, हर्नियाँ र पाठेघर निकाल्दा यही तरिकाले एनेस्थेसिया दिने चलन चलिसकेको छ । यो अन्य प्रकारभन्दा सुरक्षित रहेको छ ।
जे होस्, एनस्थेसियाको १५ दिनको बसाइले मलाई एनस्थेसिया दिएर बिरामीलाई बेहोस बनाएर पुन होसमा ल्याउने विभिन्न तरिका सिकाएर मात्र नभएर जीवन जिउने क्रममा बेहोसी भएको मलाई होसमा ल्याउन ; अझ भनौँ सोच्न बाध्य बनायो । म त होसमा आउन प्रयासरत छु । अब पालो तपाईँको है त ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

