मेडिकल अफिसर भएर काम गर्न थालेको पनि ६/७ महिना भइसकेको थियो । MBBS सँगै पढेका साथी पनि कोही USMLE भन्दै अमेरिका त कोही Plab भन्दै UK रेसिडेन्सी पढ्न जाने भन्दै थिए । नेपालमा नै बस्छु, इन्ट्रान्स परीक्षा दिएर यतै मास्टर पढ्छु भन्नेहरू नभएका होइनन् । आफू पनि यतै बस्ने भन्दै MBBS पछि १ वर्षको अनुभवकै क्रममा थिएँ । सदाझैँ इमर्जेन्सीको ड्युटीमा नै थिएँ । चितवनमा काम गरिरहेको साथी कृष्णको फोन आयो । ऊ भन्दै थियो – हामी त पोखरा आउँदै छौँ, भोली खुमै डाँडा जाने हो, मिल्छ भने जाऊँ।

उसको कुरा सुनेर म एकातर्फ खुसी त अर्कोतर्फ ड्युटी मिलाउन सकिएला/ नसकिएला भन्दै अन्योलमा थिएँ । घरमा कुरा गर्दा पनि खुसी हुँदै जाऊ भन्ने सङ्केत दिँदै हुनुहुन्थ्यो । जसो तसो गरेर ड्युटी मिलाइयो । साथीहरू भने ५ जनाको जम्बो टोली : चितवनकै हस्पिटलमा कार्यरत साथी कृष्ण सँगै प्रवीण र आलोक साथै काठमाडौंमा कार्यरत साथी रञ्जित र आयुष मेरो प्रतीक्षामा हस्पिटल नजिकै रहेछन् । इमर्जेन्सीको ड्युटीमा पनि मिलाएर भेटेँ र भोली जाने पक्का भन्दै उनीहरूलाई लेक साइड जाने बस चढाएर फर्कें आफ्नै कार्यस्थल ।

कार्यस्थलमा फर्किए पनि अप्रत्याशित योजना बनेको हुँदा मनमा छुट्टै उमङ्ग थियो । धेरै लामो समयदेखि योजना बनाएर जान माैका मिलिरहेकाे थएन । तर आज भने अचानक छोटो समयमै बनेको योजना पूरा हुने भो भन्दै दङ्ग थियो यो मन । कहिले ड्युटी सकिएला र जाने तयारीमा जुट्न आतुर थियो मन । आत्तिएको मन भएता पनि एउटै गतिमा चलिरहने समय किन आत्तिन्थ्यो र ? धैर्यता भन्ने के हो आज बुझ्दै थिएँ म । इमर्जेन्सीको घडीले ८ बज्यो भन्ने सङ्केत दिएपछि भने अर्को साथीलाई फोन बाट नै वार्डका बिरामीको बारे बताएर लागेँ म आफ्नै घर, जहाँबाट भोली म खुमै डाँडाको लागि हिँड्ने तर्खरमा थिएँ ।

घर पुग्दा सबैको मुहार अन्य दिनको भन्दा छुट्टै थियो । छोरो घुम्न जाने भयो धेरैपछि भनेर होला, सायद । हस्पिटल-हस्पिटल मात्र गरिरहेको मलाई देखेर उहाँहरूमा दयाभाव पनि जागेकाे हुन सक्छ, सबै खुसी देखिनुहुन्थ्यो । आज भने आफैलाई, आफ्नै माया औधी लागेर आयो । अरूका लागि समय दिँदा दिँदै आफ्नै लागि भने समय नछुट्याउने मलाई यो योजना कोशे ढुङ्गा साबित हुँदै थियो । भोली (२०८०/१०/२९) बिहान ५ बजे पोखराबाट हिँड्ने सोच हुनाले छिट्टै सुतेँ।

मनमा कुरा खेलेपछि निद्रा त के लाग्थ्यो ! तैपनि कति बेला निदाएछु पत्तै भएन । मोबाइलमा ४:३० को अर्लाम लगाए तापनि ३:३० बजे नै बिउँझिएँ । यसै सोचमा डुब्दै थिएँ । २ दिनको यात्राको भोलिपल्ट नै ड्युटी, नहिँडेको पनि धेरै भएको र फर्केर पुनः ड्युटीमा जान सकिएला \ नसकिएला भन्ने पिर छुट्टै थियो ।

जे होस् साथीहरूले जिप रिजर्भ गरेर नै लेक साइडबाट आएका हुँदा म पनि करिब ५ : ४५ बजेतिर गाडी चढेँ । धेरैपछिको भेट भएर होला सबै भाव विह्वल थियौँ । तैपनि आफ्ना आफ्ना कार्यक्षेत्रका अनुभव सुनाइरहेका थियौँ । बाटो मर्मत गर्ने कार्य चलिरहेको हुँदा सरी पाखासम्म गाडीमा पुग्ने भनेता पनि अलिकति तल नै झर्‍यौँ । ‘वास्तविक यात्रा सुरु भयो अब’ भन्दै थियो साथी कृष्ण । हामी पनि हो मा हो मिलाउँदै हिँड्न सुरु गर्यौं ।

सुरुसुरुमा जोस भए पनि बिस्तारै बिहान केही नखाएको हुँदा पेट कराउँदै थियो । हिजो प्रवीणको जन्मदिन भएको हुँदा केक राखेका रहेछन्, त्यही केक खाएर चढ्यौँ हामी उकालो । लगभग एक घण्टाको हिँडाइपछि पुग्यौँ सरीपाखा । त्यहाँबाट पनि मनमोहक माछापुच्छ्रे देखिरहेको थियो ।

फोटो खिच्दै गर्दा एकजना दाइले झोलामा पोका पन्तरा बोकेको देखेर सामान्य सोधपुछ गर्दा बुझियो – दाइको माथि टुबु टी हाउस रहेको र त्यतै जाँदै हुनुहुन्थ्यो । हामी पनि हजुरकैमा चिया खान्छौँ भन्ने आश्वासन दिएर दाइको पछि पछि हिँड्न थाल्यौँ । कृष्ण गोपिनीहरूसँग आउनुपर्ने मा ५ जना युवासँग आउँदै छ भनी जिस्काउँदै थियो साथी रञ्जित । कृष्ण भने गोपिनी धेरै भए तर राधा, रुक्मिणी भने अझसम्म भेटिएको छैन भन्दै थियो । सबैको मुहारमा हाँसो थियो । मिठा वार्तालाप, प्राकृतिक सुन्दरता साथै माथि पुगेपछि देख्न पाइने मनमोहक दृश्यले हाम्रा पाइलाहरूलाई लोभ्याइरहेको थियो ।

टुबु टी हाउसमा चिया खाएर एक घण्टाको हिँडाइपछि हामी पुग्यौँ हिलेखर्क जहाँ हाम्रो खाना खाने योजना थियो । मिठो खाना खाएर दाइसँग गफगाफ गरेर लाग्यौँ आफ्नो गन्तव्य । सबैभन्दा रमाइलो र सराहनीय कुरा त बाटो बाटोमा राखिएका डस्टबिन र अर्को डस्टबिन आउन यति समय बाँकी भनेर लेखिएका पोस्टर नै थिए । तैपनि बाटोमा प्लास्टिक र अन्य फोहोर देख्दा भने नरमाइलो लाग्यो । नेपालको स्वास्थ्य अवस्था र हामी स्वास्थ्य कर्मीको व्यथासँगै हाम्रा थाकेका खुट्टा र शरीरका कथाले आराम खोजिरहेका थिए । एकैछिनको आराम र हिँडाइपछि भने हामी पुग्यौँ चिचिम्ले । त्यहाँ भने काठबाट बनाइएका राम्रा राम्रा बस्ने कुर्चीको व्यवस्था थियो । फर्किँदा बसौँला भनी लाग्यौँ हामी देउराली डाँडातर्फ ।

होटेल सञ्चालक दाइ दिदीहरू भने कोरोनाको लकडाउन पछि मात्र परिचित भएको र क्रमिक रूपमा व्यवस्थित हुँदै छ भन्दै हुनुहुन्थ्यो । हिलेखर्क भन्दा माथि पानीको स्रोत नजिकै नभएको र तलबाट नै पानी बोकेर लानुपर्ने हुँदा समस्या रहेको तैपनि पानीको व्यवस्थाको लागि पाइपबाट नजिकै स्रोत खोजी ल्याउने क्रम जारी रहेको सकारात्मक कुरा त छँदै थिए । बत्तीको व्यवस्था र बाटो हिँड्ने बाटाहरू पनि व्यवस्थित हुनसकेमा पोखरा बाट २ दिनमा नै आउन जान सकिने कुरामा माछापुच्छ्रे गाउँपालिकाबाट खटिएका स्वयंसेवक दाइहरू बताउँदै हुनुहुन्थ्यो । खुमैडाँडाको प्रवर्धन र संरक्षणको लागि भन्दै आन्तरिक पर्यटकको लागि रू १०० र विदेशी पर्यटकको लागि रू ५०० लिने गरेको पनि बताउँदै हुनुहुन्थ्यो । दाइहरूसँग धेरै कुराको जानकारी लिएर हिँड्यौं । अब त खुमै डाँडा पुगिहालियो भन्ने मनसायका साथ ।

करिब ४५/५० मिनेटको हिँडाइपछि भने हामी पुग्यौँ खुमै डाँडा – जुन ३२४५ मी. उचाइमा अवस्थित छ । मन सयौँ पटक खुमाई पुगेपछि बल्ल शरीर खुमाइपुग्यो । आँखै अगाडि उभिएको माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमशृङ्खला, दक्षिणी भागमा विशाल फाँटमा फैलिएको पोखरा बजार, बाटोभरि रङ्गीचङ्गी गुराँसै गुराँसको जङ्गल, पाखैभरि हिउँ र भर्खरै अस्ताउँदै गरेको घाममा मोहित थियौँ हामी । होटेलको दाइको आतिथ्य र खाना सँगसँगै अरू आन्तरिक पर्यटकको गफले सुनमा सुगन्ध थप्ने काम गरेको थियो । भोली बिहान करिब २ घण्टाको हिँडाइपछि भने खोर्चन डाँडा पुगिने र घामको पहिलो किरण हेर्न छिट्टै पुग्नुपर्ने दाइको सल्लाह अनुरूप हामी सबेरै उठेर हिँड्ने सल्लाह हुँदै थियो ।

खाना खाएपछि आइसबाट पग्लेको पानी छुन नपरोस् भनी चम्चाले खाना खाएका साथीहरू भने शौचालय जानु पर्दा भने हातै झरेको अनुभव गरेको बताउँदै थिए । एल पी ग्याँसबाट हिटरको व्यवस्था र चार्जको लागि जेनरेटरको व्यवस्था रहे तापनि मोबाइलमा टावर तलका डाँडाहरूमा जस्तो टिपेको थिएन । गफगाफ धेरै भयो भन्दै लाग्यौँ हामी बिस्तारा तताउन ।

भोलिपल्ट ४ बजे नै हिँड्नुपर्छ भने तापनि ५ बजे भने खुमै डाँड बाट खोर्चन डाँडा हिँड्यौं । ५/६ दिन अगाडी मात्र हिउँ परेकोले बाटोभरि आइस जमेकोले बाटो अप्ठ्यारो त छँदै थियो । लड्दै र पड्दै २ घण्टाको हिँडाइपछि भने हामी पुग्यौँ खोर्चन डाँडा, जुन ३६८२ मी. उचाइमा अवस्थित छ । लाग्थ्यो हाम्रो ती हिँडेका दुःख यी मनमोहक दृश्यले छिनभरमै मेटिदिएका छन् । एक घण्टा जति फोटो खिच्ने र आराम गरेपछि भने फर्कियौँ हामी होटेल । मिठो खाजा र दाइहरूको सम्मान पश्चात् अब ओरालो झर्ने भन्दै करिब ११ बजेतिर मन भारी पार्दै बिदा भयौँ त्यहाँबाट ।

झर्दा खुट्टा दुखे पनि आफ्नो गन्तव्य पूरा गरिसकेपछिको आनन्दले भने पुऱ्यायो हामीलाई करिब ६ बजे जहाँबाट हामी पैदल यात्रा सुरु गरेका थियौँ । जे होस् धेरै पछिको साथीसँगको भेट त्यस माथि खोर्चन डाँडा सम्मको पैदल यात्राले मन नै आनन्दित बनाइदिएको छ । यात्रामा साथ सहयोग गर्नुहुने सम्पूर्ण प्रति नमन साथसाथै न्यानो सम्झना छ । छोटो मिठो खोज्नेहरूका लागि उपयुक्त ठाउँ हो खुमाई डाँडा ।

हामी त पुगेर आयौँ, अब पालो तपाईँको है त ।