चितवन मेडिकल कलेजमा इन्टर्नसिप गर्न लागेको पनि ११ महिना भएछ। मनमा अब त एक महिना मात्र बाँकी भन्ने खुसी एकातिर थियो भने अर्कोतिर ६/७ वर्षसम्म बसेको ठाउँ छाड्दाको छेड कस्तो होला सोच्दै थिएँ। यहाँको परिवेशमा घुलमिल भएर पनि होला गर्मी ठाउँ नै भए पनि मनमा शीतलता दिने धेरै कुरा थिए। गर्मी, शीतल जेसुकै होस् paediatrics (बालरोग) वार्डमा एक महिना रमाइलो गर्ने हो सोच्दै थिएँ।
बच्चाबच्ची भनेपछि हुरुक्कै हुने म, उमेरले ठुलै भए पनि आफूलाई बच्चा नै लाग्ने मेरो मानसपटल र स्नातक पूरा गरिसक्दा पनि बचेको मेरो केटाकेटीपनले बालरोग वार्डमा रमाइलो गर्नमा साथ दिने कुरामा दुई मत थिएन । तैपनि हातको हत्केलामा अटाउने बच्चालाई समाउने र अझै लुगा लगाइ दिने पनि हामीले नै हो भन्ने सुन्दा भने अल्लि अल्लि डर पनि लागेको थियो। अझ औषधीको मात्रा पनि बच्चामा तौल अनुसार मिलाएर दिनुपर्ने र उपचार पद्धति पनि हामीहरूलाई भन्दा फरक हुने हुँदा संवेदनशील हुनु पर्ने कुरा पनि छँदै थिए। मनमा थौरै डर साथै धेरै सिक्ने ऊर्जा लिएर गएपछि सकिन्छ भन्ने आत्मविश्वास भने थियो नै।
पोस्टिङ प्राय बहिरङ्ग विभाग (OPD), Ward, NICU (नवजात आइसियु) र PICU (बच्चाको आइसियु) गरी चार ठाउँमा हुने कुरा हामीलाई अवगत नै थियो। सुरुमा भने मेरो OPD पोस्टिङ थियो। रुँदा रुँदै आएका बच्चाबच्चालाई केही हदसम्म भए पनि हँसाएर पठाउन पाउँदा मन आनन्द थियो । रेसिडेन्ट दाइ दिदी र कन्सल्टेन्ट सर म्यामको सहयोगमा धेरै कुरा सिक्न पाइयो। सिक्ने सिकाउने क्रम चलिरहेको नै थियो। प्राय गर्मीको मौसम भएर होला झाडापखाला साथै भाइरल ज्वरोका बिरामी धेरै हुन्थे। सबैलाई सकेसम्म औषधी कम तर खानपिन साथै हेरचाह गर्दा ख्याल गर्नुपर्ने सल्लाह धेरै दिएर पठाउने गरिन्थ्यो ।
मान्छेको मन नै त हो नि कता कता सोच्न भ्याउँछ । म आफूलाई अझै केटाकेटी नै ठाने पनि; पछि आफ्ना केटाकेटी कसरी हुर्काउने होला त सोच्दै पनि बस्थेँ । कहिलेकाहीँ टोलाउँथे पनि । टोलाएको मलाई उठाउने भने फेरि बिरामी भएर आएका बच्चाबच्ची र उनीहरूलाई फकाउने माध्यम बनेका मोबाइल नै हुन्थे । साँच्चै आजकल हामी बच्चाबच्चीलाई मोबाइलबिना फकाउनै नसक्ने भएका हौँ र ? कि आफू मोबाइलमा नै धेरै व्यस्त हुनुपर्ने हुँदा उनीहरूलाई पनि त्यसैमा भुल्न छाडिदिएका हौँ ?
अब त हामीले सोच्नु पर्ने बेला आएको छ । घरमा पाहुना आउँदा पनि मोबाइलमा नै व्यस्त हुने बच्चा कसरी सामाजिक प्राणी हुन सक्लान् ? आजकल मोबाइल भएपछि कोही पनि नचाहिने भएका छौँ हामी । आफ्ना सन्तानलाई पनि त्यस्तै बनाइरहेका त छैनौँ ? प्रश्न गर्ने नै भने धेरै छन् तर उत्तर कसले खोज्ने, कहिले खोज्ने , पालना गर्ने नगर्ने भन्ने अझ ठुला प्रश्न छन्।
चाहे घरमा होस् वा हस्पिटलमा नै किन नहोस् आफ्ना बाबुनानीलाई हुर्काउने क्रममा अत्यधिक मोबाइलको प्रयोग गरिएन भने मात्र पछि खाली मोबाइलमा नै झुन्डिन्छ, एकोहोरो भाको छ, बोल्दै बोल्दैन, टोलाइरहन्छ भन्दै पुन हस्पिटलमा आउनु पर्दैन। फुलाउने र भुलाउने माध्यम मोबाइललाई नबनाऊँ । जतिबेला पनि मोबाइल भन्दा पनि जरुरी परेको बेला मात्र मोबाइल प्रयोग गर्ने बानी बसालौँ ।अलिकति समय भए पनि नानीबाबु सँग बिताऊँ ;चाहे कथा सुनाएर होस् वा उनीहरूका मनमा लागेका कुरा बुझ्न प्रयास गरेर होस् वा सम्झाउने बुझाउने गरेर नै किन होस् । बुझ्ने बुझाउने हामीले नै हो र पछि को देश कस्तो बन्छ , नागरिक कस्ता बन्छन् भन्ने कुराको यकिन गर्ने पनि हामीले अहिले आफ्ना बालबालिकालाई हुर्काउने तरिकामा नै भर पर्छ । आशा छ यी कुरा तपाईँले, मैले र हामी सबैले बुझ्ने छौँ र आउँदा दिनमा केही हदसम्म भए पनि परिवर्तन हुने छ ।
ए साँच्ची, म त यता मोबाइलकै कुरामा हराएछु । हराए पनि केही न केही त दिएँ होला है। धन्न मोबाइलमा हराइन : हराएको भए त त्यतै रुमलिन्थे होला । यसो भनिरहँदा मोबाइल अभिशाप भन्न खोजिएको होइन है; अन्यथा नलिनुहोला ।राम्रो तरिकाले प्रयोग गर्ने हो भने त यसका धेरै फाइदा छन् नि । हामीले मोबाइल चलाएउँ भने अवश्य राम्रो हुन्छ; प्राय मोबाइल ले हामीलाई चलाइदिन्छ र पो गाह्रो भएको हो त ।
मोबाइलका कुराले नै भुलाइदियो है आज त मलाई। अन्तिममा NICU( नवजात आइसियु) मा राखिएका चार जना बच्चा एक आपसमा गफ गरे भने कस्तो गफ गर्लान् त सोचेर लेखेको वार्तालाप पनि पढ्नु है त ।
बच्चा १. के गर्नु जिन्दगी यस्तै रैछ, ओडारमा बस्दा बस्दा झ्याउ लाग्यो, राम्रोसँग खेल्न पनि नपाइने । निस्किएँ म त खुल्ला आकाशमा समय नपुग्दै ।
बच्चा २. हेर्न यो बढी जान्ने भाको। यत्रो बेलै भाको थिएन, छिट्टै निस्केर तनाव थपिराछस् । मलाई हेर्न मलाई, आफैँ निस्किन मन थियो । के गर्नु ? दाइ आफैँ निस्किन सकेनछन्, मलाई पनि निकाल्दिए पेट चिरेर ।
बच्चा ३. के गर्नु ? मेरो त कर्म नै खोटो । निस्किन त समयमै आफ्नै घरमा निस्किएको थिएँ । आमाले पनि मुख नबार्ने, मलाई पनि राम्रो हेरचाह नगरेर यस्तो भाको हो भन्दै थिए, घाँटीमा के हो झुन्ड्याएका अङ्कल आन्टीहरू ।
बच्चा ४. मेरो त कथा व्यथा अर्कै छ | म पेटमा हुँदै आमा बिरामी हुनु भाको थियो रे । समय पुग्नुअगावै पेट चिरेर निकाल्न पर्यो र निकाल्दिए । त्यही भएर होला, तिमीहरूभन्दा लुरी छु नि म । बिचरा म ।
यसरी बालरोग वार्ड पनि रमाइलो गरी सकाइयो । आफ्ना बच्चा बच्ची पछि कस्तो बनाउने, समाज पछि कस्तो बन्छ भन्ने कुरा अहिले हामीले बच्चा जन्माउँदा गरिएका हेरविचार देखि लिएर उनीहरूको पालनपोषण र केटाकेटी बेला सिकाएका कुराले धेरै प्रभाव पार्ने हुँदा बेलैमा सजग बनौँ है। हाम्रो भविष्य हाम्रै हातमा छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










