साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

एक डाक्टरको गोसाईंकुण्ड यात्रा (नवपुस्ता/नियात्रा)

चकलेट खाएर हिँडेपछि भने टाउको दुखेको अलिक ठिक हुनुका साथै हिँड्ने जोश पनि बढेर आयो। तिलक दाइ पनि जोशका साथ हिँडिरहेका थिए ।

Chovar Blues Mobile Size

डाक्टर बन्ने अभिलाषा लिएर पढ्न सुरु गरेको पनि ५/६ वर्ष भइसकेको थियो । सिक्ने र सिकाउने रूपमा लिएको इन्टर्नसिपका दिनहरु पनि चलिरहेका नै थिए । ५ वर्ष संगत गरेका साथीभाइसँग कतै घुम्न जाने योजना बन्थे, कहिले पुरा हुन्थे त कहिले गफैमा सीमित हुन्थे ।

इन्टर्नसिपपछि सबै अझै व्यस्त हुने कुरामा दुइ मत भने थिएन । यही इन्टर्नसिपको बेला कतै जाने भन्ने योजना बनाउने क्रममा सबैको मानसपटलमा आएको ठाँउ थियो ‘गोसाईंकुण्ड’ । मनमा आए पनि कसैको बिदा मिलेको थिएन । जे पर्ला पर्ला गइदिम भन्दै थियाैँ, साथी अविनाश र म । तिमीहरूको पो बिदा छ त हामीलाई गार्हो छ भन्दै थिए साथी तिलक र मनोज । बि एम आइटी सकेर सरकारी जागिर साथै अन्य संस्थामा संलग्न मात्रिका साथी त झनै व्यस्त मान्छे उसको त कुरै नगरोँ । मेरो मनले भने किरण दाई र पुजन साथीलाई नी समेट्नु पर्छ भन्दै थियो । सबैको मन भएर पनि मिलिरहको नै थिएन ।

बिदा सदुपयोग गर्ने सोच बनाएका अविनाश र म यसै ओइलाएको फूलजस्ता भएका थिएँ । साथी मनोज र तिलकले मिलाएछन् क्यारे, सोमबार राती ११ बजे अविनाशले ल गोसाईंकुण्ड जाने पक्का भन्दै फोन गर्‍यो । मेरो निद्रा बिग्रिए पनि मन त्यसै फुरुङ्ग भो । सोच्दा सोच्दै निदाएछु ।

बिहानै उठेर तयारीमा जुटेँ । मौसम परिवर्तन भएसँगै लागेको रुघा र खोकी उत्तिकै थियो । यस्तो अवस्थामा घरमा झ्याप्पै भन्ने कुरा नि भएन । हिँड्ने बेला भने भन्नै पर्‍यो भनी घरमा भने । रुघा लागेको छ ख्याल गरी जाऊ भन्दै हुनुहुन्थ्यो । यता नारनघाट आमालाई काठमाडौँ जाने हो भ्याए भने गोसाईंकुण्ड जान्छु भने । आमाको प्रतिक्रिया के आउला भन्नेमा मन सजक थियो । ठाँउले पारेको प्रभाव होला पक्कै; आमा त खुसी भएर आउँदा जल लिएर आऊ भन्दै, हाम्रो नाममा यती पैसा चढाइदेऊ पो भन्नुभो । यती भनेपछि मेरो मन झनै उत्साहित भो ।

दिलिप अधिकारी

लगभग दिउँसो १२:३० बजे तिर लागियो ४ भाइ काठमाडौँ । मात्रिका उता काठमाडौँमा नै कुरिरहेको थियो । मनमा छुट्टै उमङ्गले होला ४ भाइको यात्रा रमाइलो नै भो । काठमाडौँ पुगी भोलि धुन्चेको लागि सुमोमा जाने निर्णय गर्यौँ । सबैजना एउटै सुमोमा बस्न नपाए पनि धुन्चेमा सँगै हुनेमा ढुक्क थियौँ । राती दिनेश दाइको बसियो । साथी पुजन पनि त्यतै आयो, गफगाफ र रमाइलोमा नै कतिबेला बिहान भएछ पत्तै भएन ।

भोलिपल्ट अर्थात बिहिबार ७ बजेतिर हामी सुमोमा रसुवाको सदरमुकाम धुन्चेको यात्राको लागि अघि बढ्यौँ । गल्छी, त्रिशुली हुँदै धुन्चे पुग्ने हो भन्दै हुनुहुन्थ्यो डाइभर दाइ । बाटोमा देखिएका हिमालका मनमोहक दृश्यले मन त्यसै लोभ्याइरहेको थियो । घरि निदाउँदै र घरि बिउँझ्दै बाहिरको दृश्य हेर्दाहेर्दै धुन्चे नजिकको चेकपोइन्टमा आइपुगिएछ । सुरक्षाको लागि साथै त्यही बाटो हुँदै चाइनाको बोर्डर नजिकै पुग्ने भएर पनि होला आफ्नो झोला सहित चेकजाँचको लागि आर्मी दाइलाई देखाइयो । त्यति बेला पो थाहा पाइयो ; साथी मात्रिकाको झोला त अर्कै गाडीमा पो परेछ । एकछिन अलमल्ल भइयो सबै । पछि अर्को सुमोमा पर्‍यो होला भन्ने आशंकामा डाइभरको नम्बर लिएर धुन्चेमा नै कुर्ने निर्णय गरियो ।

नजिकैको चिया पसलमा बसेर चिया खान थालियो । मात्रिकाको झोला कुर्ने क्रममै थिए । मैले जिस्काउने क्रममै त्यत्रो संस्था सञ्चालन गर्ने मात्रिका एउटा झोला सम्हाल्न सक्दैन भन्दै थिएँ । अरु साथीहरु गलल्ल हाँस्दै थिए । उताबाट हामीले कुरिरहेको सुमो आयो। यहाँ छैन भन्दै थिए डाइभर दाइ, हामीले भने पक्कै होला भन्दै खोज्ने क्रममा भेटियो झोला । लौ त झोला नि भेटियो भन्दै ५ दाजु भाइको फोटो खिच्न लगाएर एकैछिन त्यहीँ चिया पसलको दाइसँग गफ गरी लागियो पैदल यात्रामा ।

धुन्चेबाट लगभग ४० मिनटको गाडी पनि हिँड्न मिल्ने (कच्ची रोड) हिँडेपछि घट्टेखोला भन्ने ठाउँ आउँदो रहेछ । गाडीमा अप्ठ्यारो भएर हो वा हिँड्ने बानी नभएर हो ; हिँड्न असझिलो भए जस्तो गरिरहेका थियौँ । बाटोमा चौरीगाईहरु पनि देखिएका थिए, उनीहरू सायद आफ्नो गोठमा फर्किने क्रममा थिए होला तर हामीलाई भने हिँड्ने सहयात्री पनि बनेका थिए । सुरुमा तेस्रो बाटो भएता पनि बिस्तारै उकालो बाटो आउँदै थियो । तेस्रो बाटोमा जोसिएर हिँडेका तिलक दाइलाई उकालो लागिसकेको थियो । जुम्लाको साथी मात्रिका घोडा हो भन्दै थिए अरु साथीहरू । मनोज पनि कम छैन है भन्दै थियो साथी अविनाश । म भने सुरुमा नै अघि बढ्नुपर्छ भन्दै लागेँ घोडा भनी कहलिएको साथी मात्रिकाको साथअघि अघि; अरु साथी आउँदै थिए ।

घट्टेखोलामाथि उकालो हुँदै हामी देउराली पुग्ने तरखरमा थियौँ । बाटोमा भेटिएका विदेशी पर्यटकको हिँडाइले हामीलाई छुट्टै ऊर्जा दिइरहेको थियो । जे होस् जोशमा होस नगुमाई पुगियो देउराली । चाउचाउ, बिस्कुट खाँदै थकाइ मेटियो । अविनाश, मनोज र तिलक दाइ आउँदै थिए । उनीहरू आएपछि हिडौँला भनी कुरिरहेका थियौँ । यत्तिकैमा तिलक दाइले मलाई गाह्राे भो; देउराली नै बसौँ भन्दै फोन गरे । बिस्तारै हिँडेपछि सकिन्छ भन्ने आश्वासन दिँदै हामी चन्दनबारी पुग्ने योजना बनाएर अघि बढ्‌यौँ । अलिकति उकालो चढ्दैमा मनोजलाई देउराली आएका देख्यौँ । अब त जसै पुग्नुपर्छ भन्दै जोसिएर हिँड्‌याैँ साथी मात्रिका र म ।

आजको गन्तव्य पुग्नैपर्छ भन्दै हामी अघि बढ्‌दै थियौँ । साथी अविनाशले दाइलाई निकै गाह्राे भो त्यसैले अब अघि नबढ्ने भन्दै फोन गर्‍यो । उसको कुरालाई मध्यनजर गर्दै हामी चन्दनाबारी भन्दा अलिकति तल धिम्सा होटल खोजेर बस्ने निर्णय गर्यौँ । होटलको व्यवस्था गरेर त्यहीँ चिया खाएर उनीहरूलाई कुर्यौँ । एकघन्टापछि उनीहरू पनि होटलमा नै आए । तिलक दाइको अनुहार मलिन थियो । साथीहरू बुढेसकाल लाग्यो दाइलाई भनी जिस्काउँदै थिए । दाइ चुपचाप केही नबोली होटलको दिदीसँग चौरी गाईको घिउ मागेर खुट्टा मालिस गर्दै थिए । धेरै नै जिस्काएपछि भने भोलि हिँड्छु भन्दै जोशमा आएका थिए दाइ । हामीलाई दाइको बोलीको जोश व्यवहारमा हेर्नको लागि भोलि नै कुर्नु पर्ने थियो । होटलको दाइ दिदीको राम्रो आतिथ्य सत्कार साथै मिठो खाना खाएर हामी सुत्ने तरखरमा लाग्यौँ । थाकेर होला छिट्टै निदाएछौँ ।

भोलिपल्ट बिहानै हिँड्ने योजना भए तापनि लगभग ७ बजेतिर हामी धीम्साबाट उकालो उक्ल्यौँ । जंगल वरिपरि हिँडेको भएर होला कालिज साथै अन्य चराहरू देखिरहेका थिए । चौरीको घीउ लगाएर हो वा के तिलक दाइको जोश छुट्टै थियो । चन्दनबारी हुदैँ हामी चोलाङपाटी पुगेर चिया खाँदै विश्राम गर्ने योजना साथ अघि बढिरहेका थियौँ । बाटोमा गोसाईंकुण्डबाट फर्किनेहरूसँग सल्लाह पनि लिँदै थियौँ । सल्लाह दिने मध्य प्रायले धेरै उकालो एकैदिन नचढ; लेक लाग्न सक्छ भन्दै हुनुहुन्थ्यो । हामी भने औषधी पनि खाएका नै छौँ; जसरी हुन्छ गोसाइकुण्ड पुगेर फर्किने हो भन्दै अघि बढिरहे । योजनाअनुसार चोलाङपाटीमा चिया खाएर एकछिन आराम गरेर लौरीविनाको हाम्रो टोली अघि बढ्‌यो।

लौरीविना जाने क्रममा भने हामीले इन्जिनियर साथै नर्सिङ्ग पढ्दै गरेका साथीहरू पनि भेट्यौँ । सामान्य परिचय भएसँगै सबै मिली एउटै गन्तव्यमा जाने निर्णय गर्यौँ । लौरीविना पुगेर खाना अर्डर गरी खाना खान थाल्यौँ । हात धुन पानी चिसो हुन्छ भन्ने सोचेर होला प्रायः सबैले चम्चाले नै खाना खाइरहेका थियौँ । एकछिन गफगाफ र विश्राम गरेर हामी लौरीविना बाट गोसाईंकुण्ड  पुग्ने तरखरमा लाग्यौँ ।

लौरीविनाबाट गोसाईंकुण्ड पुग्दासम्म भने खासै बोट बिरुवा पनि छैनन्, लेक लाग्ने डर पनि उत्तिकै हुन्छ भन्ने कुरा सुनिरहेका नै थियाैँ । आज भने साथी मात्रिका र मनोज अगाडि अगाडि थिए । अविनाश र म पनि तिलक दाइको निउ पार्दै बिस्तारै उकालो चढ्दै थियौँ ।उचाइ बढ्दै गएपछि थोरै उकालो चढ्दा पनि फोक्सो नै बाहिर आउला जसरी श्वासप्रश्वासको वेग बढिरहेको थियो । हुन त उचाइ लाग्न सक्ने सम्भावनाले बेलुकी नै सबैले उचाइको औषधि खाइसकेका थियौँ । लगभग ३ बजेतिर गोसाईंकुण्ड  पुग्यौँ । मनोज र मात्रिका त एक घन्टा अगाडि नै पुगेको भन्दै थिए ।

….

बुढापाकाहरु १०८ कुण्ड छ रे वरपर भन्थे, हुन पनि नाम नै नजानेका कुण्ड कति थिए कति ! कुण्डहरु कोही साना, कोही ठूला, कोही जमेका, कोही पग्लिएका, कोही गोला, कोही लाम्चा, आ-आफ्नै किसिमका थिए । हामीले बाटोमा देखेका र नाम थाहा पाएका मध्य सरस्वती कुण्ड , भैरव कुण्ड र गोसाईकुण्ड नै भए । गोसाईकुण्ड बाट २/३ घन्टामाथि चढेपछि सूर्यकुण्ड पनि पुगिन्छ भन्दै थिए अरु साथीहरू । हामी भने हाम्रो लागि यति नै भन्दै गोसाइकुण्डमा नै रमाइलो गर्ने निर्णय गर्यौँ ।

यहाँ आइसकेपछि त नुहाउनुपर्छ भन्दै नुहाउन थाल्यौँ । मनोज र मात्रिका पहिलै आएर नुहाइसकेको हुँदा हामीलाई नुहाउन हौँसला दिइरहेका थिए । हामी पनि चिसो नै भए पनि हात खुट्टा कमाउँदै लुगा खोलेर डुबुल्की मार्‍यौँ । चिसोले पुरै हातखुटामा करेन्ट हानेजस्तो भइरहेको थियो । पानीबाट बाहिर निस्केर एकछिन ध्यान गर्यौँ । जल त लानै पर्‍यो भन्दै बोतलमा जल राख्यौँ। फोटो खिच्ने र एकछिन नाचगान गरेर नजिकैको होटलमा चिया, खाजा खान थाल्यौ । लगभग २ घण्टा गोसाईंकुण्ड बसेर हामी आज चन्दनबारीसम्म पुग्ने योजनामा तल झर्न सुरु गर्यौँ ।

अघि उकालोमा सास बढेर फोक्सो नै बाहिर आउला जस्तो भए पनि खुट्टा ठिकै अवस्थामा थिए । ओरालो झर्दा भने बढी चाप खुट्टामा पर्नेहुँदा दुखिरहेका थिए । ५ जनाको टोली राती मोबाइलको टर्च लाइट बालेर भए पनि चन्दनबारी पुग्ने हो भन्दै जोसिएर बिस्तारै गफ गर्दै, फोटो खिच्दै झर्दै थियौँ । कात्तिक अन्तिमतिरका छोटा दिन छिट्टै अँध्यारो हुने नै भो । टर्च लाइट बाल्दै तल झर्न थाल्यौँ । ओरालोमा त छिट्टै पुगिन्छ भन्ने सोच राखे तापनि बल्ल बल्ल लौरीबिना पुगेका थियौँ ।

साँझ ७ बज्न लागिसकेको र बाटो डरलाग्दो छ भन्दै होटलका दाइ दिदीहरू यतै बस्न सल्लाह दिदैँ हुनुहुन्थ्यो । हामी भने ५ जना छौँ ;के को डर भन्दै अघि बढिरहे । चिसो साथै भोकले टाउको पनि दुखिरहेको थियो सायद । चोलाङपाटीमा पुगेर चकलेट खाने निर्णय गर्यौँ । चकलेट खाएर हिँडेपछि भने टाउको दुखेको अलिक ठिक हुनुका साथै हिँड्ने जोश पनि बढेर आयो। तिलक दाइ पनि जोशका साथ हिँडिरहेका थिए ।

सबैको मनमा कहिले चन्दनबारी होटलमा पुगौँला र राहतको सास फेरौँला भन्दै बसिरहेका थियौँ । लगभग रातिको ८:४५ बजेतिर चन्दनबारी पुग्यौ । होटलका दाइदिदी पनि हामीलाई देखेर छक्क पर्नु भो । यस्तो राती पनि भाइहरू हिँडेकै हुन् भन्दै हुनुहुन्थ्यो दिदी । तपाईँकै होटलमा बस्नलाई हो नि दिदी भन्दै मख्ख पार्यो साथी अविनाशले । दिदी पनि मख्ख पर्दे तातो पानी दिएर एकछिन खानाको लागि धैर्य गर्नुहोला भन्दै किचनतिर लाग्नुभो ।

यहाँ पनि दिदीले पकाएको खाना मीठो मानेर खाइयो । आज त थकाइले पनि चरम सिमा काटिसकेको थियो । गफसफ त्यस्तै हो झ्याप्पै सुत्दिने हो भन्दै आआफ्नो बिस्तारा तिर लाग्यौँ । हैट्र, लगभग ११ धन्टा हिँडिएछ आज त भन्दै थिए तिलक दाइ । हामी पनि हो मा हो गर्दै टाउको हल्लायौँ । यसै पल्टिएका थियौँ : झ्याप्पै निदाएछौँ । भोलिपल्ट बिहान सिँदै ७ बजे पो बिउँझियो । थकाइ पछिको निद्रा मिठो हुँदो रहिछ भन्दै उठ्‌यो साथी मनिज पनि । भ्याएसम्म आजै चितवन पुग्ने सोच राखेका त थियौँ तर धुन्चेबाट जतिबेला पनि गाडी पाउने नपाउने एकिन भने थिएन ।

जे पर्ला पर्ला भनी लगभग बिहानको ८:३० बजेतिर तल झर्ने तयारी गर्यौँ । आज त के को हतार भन्दै आनन्दले हिँड्दै थियौँ । बाटोमा भेटिएका अपरिचित अंकलले डाक्टरको टिम भनेको हजुरहरू हो भन्दै सोध्नुभो । हामी पनि मख्ख पर्दै हजुर हो भन्यौँ । अघि तल झर्दे गरेका भाइ बहिनीले लेक लाग्नबाट जोगाउने औषधी तपाईँहरुसँग होला भन्दै हुनुहुन्थ्यो ; त्यसैले सोधेको भन्न थाल्नुभो । हामीले उनै इन्जिनीयर साथीको टीमले होला भनी अडक्कल काटी बाँकी रहेको औषधी अंकललाई दियौँ । अंकल औषधी पाएर मख्ख हुनुहुन्थ्यो भने हामी आफ्नो पेसामा निभाउनुपर्ने धर्म र पाउने प्रतिष्ठा सम्झेर मख्ख पर्यौँ । बाटोमा गोसाईकुण्डबाट फर्किँदा ल्याएको भन्न हुन्छ भनी ताजा ताजा छुप्री पनि किने । चौरी गाईको घिउ लाने की तिलक दाइ भन्दै जिस्काउँदै थियो साथी अविनाश । दाइ पनि तिमीले किन्दिने भए लाने भन्दै हो मा हो गर्दै थिए ।

यसरी हाँसीमजाक साथै समसामयिक गफ गर्दै ,फोटो खिच्दै धुन्चे आइपुग्दा लगभग १ बजेको थियो । अस्ति उकालो चढ्ने बेला चिया खाएकै दाइकोमा चिया खाँदै पुन त्यहीँ ठाउँमा फोटो खिचेर यात्रा रमाइलो भएको कुरा दाइलाई बेलीबिस्तार लगायौँ । दाइ पनि मख्ख पर्दे अर्को चोटी हजुरहरू मेरैमा बस्ने गरी आउनु भन्दै आत्मीयता देखाउँदै हुनुहुन्थ्यो । हामी पनि आत्मीय साथी सँगको यात्रामा हजुर जस्तै धेरै आत्मीयता प्राप्त गरेकोमा मन प्रफुल्ल भएको भन्दै फेरि भेट्ने वाचा गर्दे त्यहाँबाट बिदा भयौँ ।

धुन्चेबाट गल्छीसम्म त्यती बेला सिधैँ गाडी नपाउने हुँदा हामी त्रिशुलीसम्मको गाडी चढ्यौँ । सायद फर्किँदाको हत्तार सम्झेर होला ; घर भनेको घर नै रहिछ है भन्दै थियो साथी मनोज । पुन चेकपोइन्टमा झोला चेक गराएर प्राकृतिक दृश्य हेर्दै हामी त्रिशुली पुग्यौँ । त्रिशलीबाट पनि गल्छीसम्म पुग्ने माइक्रो जाने रहेछ । मन त्यसै हलुङ्गो भो । माइक्रोमा लाङटाङ पुगेर आएका दिदीहरू पनि हुनुहुन्थ्यो । लाङटाङ गएर आएकी एउटी दिदी ‘कस्तो पिंजडाको चरी जस्तो लागेको छ; ट्रेकिङमा पुरै खुला पन्छी जस्तै थियौं’ भन्दै हुनुहुन्थ्यो ।

साँच्चै कस्तो बन्दनमा आयौँ है हामी भन्ने भान भने मलाई पनि भइरह्यो । मानिसले आफूले आफैँलाई सिर्जना गरेको बन्दन त हो नि यो जीवन । खुल्ला पन्क्षी जस्तै प्रकृतिले दिएका उपहारहरु एकैछिन घोरिएर हेर्ने फुर्सद कहिले पाइएला त खै ! सोच्दा सोच्दै गल्छी आइपुगिएछ । नजिकैको होटलमा खाजा खाएर चितवनको लागि गाडी चढियो । राती ११ बजेतिर चितवन पनि आइपुगियो ।

यसरी मंगलबार सुरु गरेको गोसाईंकुण्डको यात्रा शुक्रबार सकाइयो । यता म भने जीवन यात्रा नै त हो भनेजस्तै यसलाई यात्राको एउटा पाना मात्र सम्झी अरु पाना पनि छिट्टै पल्टाउने प्रतीक्षा रहिरहेँ । आशा गरी ती दिन छिट्टै आउनेछन् ।

प्रतिक्रिया
Loading...