मन पनि साह्रै अचम्मको चिज रहेछ । यही मनका बारेमा लेख्दै गर्दा मनमै प्रश्न आयो, मन एउटै होला कि अर्कै ?

प्रश्न पनि बढो गज्जबको पो बनेर आयो त । मनले सोच्ने सोचहरू फरक होलान् नि ? मन त एउटै होला नि है । कि सोचअनुसार मन परिवर्तन हुने हो र ? मलाई तिमी कस्तो मन पर्छ, आज मन हलुका भयो, यो मलाई गर्ने मन छैन जस्ता कुरा त हामीले सुनेकै छौँ नि अनि आफ्नै मनको कुरा शब्द बनाई बाहिर प्रस्फुटन पनि गरेका छौँ । भनेपछि मन उही रहेछ तर परिवेश र समयअनुसार मनले सोच्ने र गर्ने कुरा फरक रहेछन् । त्यसो भए मन नाम, क्रिया के हो त ? बच्चा वेला त नाम भनी पढेजस्तो लाग्छ ।

हुन त पढेको कुरा व्यवहारमा ल्याउन निकै गाह्रो छ, गाह्रै भए पनि लयाउनुपर्छ  भनेको त सुनेकै हो । मेरो मन पनि पढेका, भनेका कुरा व्यवहारमा ल्याउन तत्पर त छ  तर खै के कुराले रोक्छ यो मनलाई म त बुझ्नै सक्दिनँ । “पढेर भन्दा परेर जानिन्छ” भनेझैँ पढ्दा नाम भनी पढे पनि कता कता मेरो मनले, मनलाई क्रिया भन्न भ्याइसकेको छ ।

मेरो मन  पनि यसै दोधारमा छ, आफू को हो नै चिन्न सकिरहेको छैन । तैपनि अरूका बारेमा कति छिटो महत्त्वाकाङ्क्षी बनिदिन्छ है, अभिव्यक्ति दिनै हत्तार गर्छ । मलाई त त्यो मान्छे पटक्कै मन पर्दैन, कस्तो फोहोरी, कस्तो अक्कडो, काम नलाग्ने मान्छे भन्दै मेरो मनले अर्को मनलाई दुखाउने गरी अभिव्यक्ति दिन्छ । त्यही कुरा मेरो मनलाई भनिदिएको भए के मेरो मन चुप लागेर बस्थ्यो होला त ?

दिलीप अधिकारी

पक्कै बस्थेन, उल्टै उसकै बिरुद्धमा झन् कडा-कडा अभिव्यक्ति दिने थियो  मन रुवाउने गरी, दुख्ने गरी । अनि त  पत्रिकामा समाचार आउने थिए होला, एउटा मनद्वारा अर्को मनको हत्या । छानबिन टोली गठन, प्रहरीद्वारा आत्महत्या नभई सुनियोजित हत्याको आशङ्का तर पोस्टमार्टम रिपोर्ट आउन बाँकी ।

ए साँच्चै यस्तो त हुँदैन नि यहाँ त है । यहाँ त शरीर मरेको मात्र खबर आउँछ । फलानाले फलानालाई मार्‍यो, बलात्कार गरी, अपहरण गरी, माया नपाएर, सम्पत्तिको नाममा, सम्बन्धका नाममा हत्या आदि-इत्यादी । यहाँ  मनलाई बुझ्ने त कसको फुर्सद छ र ? बाहिर सुकिलो देखिए  भयो भित्र जस्तोसुकै भए पनि ।

कास एउटा मनले अर्को मनलाई मारेको पहिल्यै थाहा पाइदिएको भए शरीर पनि मनसँगै मर्नु त पर्थेन होला नि । कस्तो स्वार्थी छ है मन, आफ्नो बारे मात्र सोच्छ । आफ्नो घाउमात्र ठुलो देख्छ । अरूको घाउलाई सानो देख्ने मात्र नभई खिल्ली उडाएर उल्टै घाउमा नुन छर्केर बल्झाउने काम गर्छ । एउटा मनले अर्को मनलाई बुझ्न नसक्दा त झगडा, हत्या, हिंसाका घटना भएका होलान् नि है ।

मानिस आफूलाई जतिसुकै जान्ने र जे पनि आविष्कार गरेँ भन्ने घमन्ड गरे पनि यो मन बुझ्न सक्ने अविष्कार भने गर्न सकेको छैन । गर्न नसकेका हुन् वा तिनीहरूको मनले नै नचाहेको हो । खै के थाहा बिचरा मेरो मनलाई, तपाईँहरूलाई थाहा छ भने आफ्नै मनमा नराख्नुहोस् है, प्रस्फुटन गर्नुहोस् ।

“बन डढेको सबैले देख्छन् मन डढेको कसैले देख्दैनन्” भन्छन् आफ्नो मनलाई अरूले त जलाए जलाए, आफैँले जलाउने काम नगरौँ है । कोही त होला नि  आफ्नो मनले खाएको मानिस, उसलाई सुनाउनुहोस् है त । हुन त यहाँ आफ्नै मनको त विश्वास गरीसाध्य छैन, अर्को मनको के कुरा ।  विश्वासमा त अडिएको छ नि पृथ्वी पनि त्यसैले विश्वास पहिला आफूमा हुनुपर्छ अनि अरूलाई  होइन र ?

कस्तो अस्थिर छ है मन, कुनै वेला खुसी हुने अनि उत्ति नै वेला दुःखी । कहिले  आफूले भनेको भएपछि त्यही मान्छे राम्रो लाग्छ अनि आफूले भनेको जस्तो नभएपछि त्यही मान्छे नराम्रो । मन पनि दुई जिब्रे रहेछ है ।

मन ठुलो हो कि शरीर ?

मनको तुलना त शरीरसँग पो हुन थालेछ ।  कि शरीर नभई मन नहुने हो वा मन नभई शरीर नहुने हो ? कि शरीर र मन दुवै मिली हामी बनेका हौँ ? सुन्दा सरल लागे पनि कुरा त गहिरो छ होला नि ? यस्तै प्रश्नले भरिएको छ आज मेरो मन अनि त्यही मन फेरि उत्तर दिन पनि हतारिरहेको छ ।

पहिला आफ्नो मनलाई स्वच्छ बनाई आफ्नो मनलाई चिन्ने हो कि ? के गर्दा आफ्नो मन दुख्छ, के गर्दा खुसी हुन्छ, कस्तो व्यवहार मन पर्छ आदि इत्यादि । अनि त्यहीअनुसार आफूले पनि अरूलाई त्यस्तै व्यवहार गरे त कति आनन्द हुन्थ्यो होला है ।

“आफ्नो आङको भैँसी नदेख्ने अर्काको आङको जुम्रा पनि देख्ने” यो मनको प्रवृत्ति कहिले सुध्रेला त ?  म त सोच्दा-सोच्दा हराउँछु । “समृद्ध नेपाल सुखी नेपाली” बनाउन पहिला आफ्नो  र आफ्नो जस्तै मन भएकाको मनमा ‘म’ होइन ‘हामी’ भन्ने प्रवृत्ति हाबी गराउने हो भने सम्भव हुन्छ कि ?

क्या छ है यो मन बुझेर पनि बुझ पचाएजस्तो, बुझ्न खोजेर पनि बुझ्नै नसकेजस्तो । ह्या छाडिदिऊँ यो मनका कुरा मलाई त लेख्नै मन लागेन ।