घरको मूलखाँबो पुरुष र त्यसलाई सम्हालेर राख्ने, भरणपोषण गर्ने शीतल छहारी महिला – यही नै हाम्रो समाजको स्थापित मान्यता रहेको छ । मन्दाक्रान्ता किन अक्रान्त छिन् ? केही वर्षले पतिभन्दा ठूली हुनु उनको दोष हो ? पतिबाट सामीप्य, माया र सहयोगको अपेक्षा राख्नु उनको दोष हो ?
…
धेरैपछि पढ्दै गरेको पुस्तक सकिएला भनेर डराएँ । ज्यादा से ज्यादा दुई बसाइमा सकिने पुस्तकको अन्त्यतिर पुग्दै गर्दा लोभी हुन पुगें । पाना बचाइबचाई पढें । सिमसराको चिसोपन मैले आफ्नै भोगाइमा मात्र नभई धेरैको आँखामा महसूस गरेकी छु, विशेषगरी आफूले केही समय पढाएका विद्यार्थीका आँखामा । चिसोपन, ती तमाम मनहरूभित्र लुकेका पीडाका, जो बेला बखत आक्रोश बनेर पोखिन्छन् सामाजिक सञ्जालका भित्तामा । केही समयअघि विद्यार्थीहरूलाई आत्मबोध गराउने क्रममा एउटा गोला बनाई त्यसमा उनीहरूले सबैभन्दा बढी र कम महत्त्व के कुरालाई दिने रहेछन् भन्ने बुझ्न खोजें । आफ्नो शारीरिक स्वास्थ्य, पढाइ, भविष्यका लागि बुनेका सपनाभन्दा माथि साथीभाइ र सबैभन्दा कम अंक परिवारलाई दिएको देख्दा मनमा नजानिंदो किसिमको भयले त्रसित भएँ ।
यो लेख्दै गर्दा आफ्नो पिठ्युमा फालहालेकी छोरीलाई अघिपछि गर्दै झुलिरहेका ती बाबुको अनुहार याद आइरह्यो । पढ्दै गर्दा मलाई किन हो कुन्नि मुख्य पात्र सम्वत्मा तिनै बाबुको अनुहार झल्झली सम्झिरहें जो खरो बोल्छन्, दर्हो लेख्छन्, आकलझुक्कल भेट हुँदा सधैं सौम्य तर कता कता हराएका, मनमा केही कुरा खेलाइरहेका झैं महसूस हुन्छ ।
अतीतमा पुगें : हावामा उछालेर च्याप्प दुई हातले समाउने र काँधमा बोकेर हिँड्ने आफ्नै बुवालाई । कति विश्वास थियो ती हातहरूमाथि । हिमाल झैं उच्च लाग्थे ती काँध । सम्झिंदा मात्र पनि एक किसिमको न्यानोपनले भरिन्छ मन । कसैको मृत्युलाई त पराजित गर्न सकिँदैन तर जीवित रहँदा यदि त्यो आड, भरोसा र विश्वास नै हरायो भने कस्तो हुँदो हो जीवन ? विशेषगरी हुर्कंदै गरेको बाल्यावस्थामा ।
सिमसारा त्यो चिसो बन्दै गएको घरको कथा हो जसको मूलखाँबो धनरूपले बाटो बिराएका छन् । या भनौँ कर्तव्यविमुख भई आफ्नो अलग बाटो रोजेका छन् । यो त्यो न्यानोपन निभेको घरको कथा हो जहाँ मन्दाक्रान्ता एउटा निरीह खाँबो झैं भत्किएको सम्बन्ध हेर्न बाध्य छिन् । यो त्यो अबोध बालक सम्वत्को उथलपुथल भएको मनोदशाको कथा हो जो बाबुआमाको चिसिएको सम्बन्धमा पिल्सिएर आफ्नो अलग काल्पनिक संसारमा रमाउन खोजिरहेका छन् । छातीभित्र विद्रोहको आगो दनकाउन मन भएको चिसो घरको चिसो बन्दै गएको बालक हो सम्वत् । चिसिंदै गएको सम्बन्धको वितृष्णाको फलस्वरूप उनलाई न आफ्नो बाबु जस्तो बन्नु छ, न त आफ्नै आमा जस्तो । यस्तोमा इस्वीसँगको सामीप्य आफूले घर भनेको अँध्यारो सुरुङको मुखमा रहेको उज्यालोको किरण बन्न पुगेको छ । इस्वी, ती सानी केटी हुन् जो एक महिनासम्म हराएका धनरूपको पछि पछि जसरी अचानक त्यो घरमा आइपुग्छे त्यसरी नै एकदिन कहिल्यै नफर्कने गरी सिमसारा फर्किन्छे । उनको अस्तित्व केवल सम्वत्को विचलित मनमा बाँकी रहन्छ । उनी हरदम सम्वत्को साथमा भेटिन्छे, कल्पनाको सुन्दर न्यानो घरमा ।
पहिलेको पालिघर सानै भए पनि त्यसमा माया थियो । नयाँ घर ठूलो भए तापनि त्यसमा बस्दै गर्दा सम्वत् कहिल्यै सहज हुन सकेको छैन । कारण, बाबुआमाबीचमा बढ्दै गएको दूरी । शुरुमा बाबु धनरूप हुलाकको जागीरको शिलशिलामा घर छाडेर जाँदा धर्के सर्ट, मिल्के घडी र चौधकाटे जुत्ता पाउने लोभमा फुरुङ्ग परेका अबोध सम्वत् आफ्नो बाबुलाई आदर्श मान्दछन् । उनलाई आमा मन्दाक्रान्ताले कचकच गरेको मन पर्दैन । उनलाई न त बाबुआमा औधी मिलेको नै सहज लाग्छ । घर हुनलाई बलियो पुरुष चाहिन्छ भन्ने सुनेको उनलाई आफ्ना बाबु बलियो खाँबो प्रतीत हुन्छन् । तर समय बित्दै जाँदा धनरूपको जागीरका कारण घर फर्कने क्रम दुई हप्ता, महिना हुँदै पातलिंदै जान्छ र उनी लामो समयसम्म हराउन थाल्छन् । यस्तो अवस्थामा आफ्नो कलिलो काँधमाथि छोरा मान्छे भएकोले समय अघि नै अनावश्यक जिम्मेवारी लिई बलियो हुन परेको महसूस गर्दछन् सम्वत् । उनको बाल्यपन बोझिलो छ । आफ्नो बाबुको आदर्शवादी पाइला पछ्याउने हुँदा उनले कहिले बालक हुनै पाएका छैनन् । न उनलाई आफू सरहका केटाकेटीहरूसित नागीको नागबेली बाटोमा उफ्रन पुगेको छ, न चिया बगानतिर अघाउन्जेल खेल्न । उनले केवल आमालाई सघाउन परेको छ । १३/१४ वर्षे उमेरमा नै सम्वत् परिपक्व हुन परेको छ, यसैले गर्दा उनका मनोवाद अबोध बालकमा हुनेझैं निस्फिक्री छैनन् ।
सेतोपाटीमा छापिएको समीक्षामा गणेश कार्की लेख्छन्, “सबै थोक ठीक हुँदाहुँदै पनि, जीवन एक रूपले मज्जासँग चलिरहँदा पनि, वा चल्न सक्ने हुँदा पनि मान्छे बरालिएर अन्तै अन्तै पुग्छ । त्यसरी बरालिनुको कारण के हो ? त्यसरी बरालिनुको गन्तव्य के हो ? – असाध्यै कम मान्छेले मात्र बुझ्छन् । जब बुझ्छन्, त्यो मान्छे औसतबाट उकालिन्छ र तिनको कथा बन्छ । अनि जब त्यो बरालिने मान्छे कुनै घरको मूलमान्छे हुन्छ, तब त्यो ‘सिमसारा’ बन्छ ।”
घरको मूलखाँबो पुरुष र त्यसलाई सम्हालेर राख्ने, भरणपोषण गर्ने शीतल छहारी महिला – यही नै हाम्रो समाजको स्थापित मान्यता रहेको छ । मन्दाक्रान्ता किन अक्रान्त छिन् ? केही वर्षले पतिभन्दा ठूली हुनु उनको दोष हो ? पतिबाट सामीप्य, माया र सहयोगको अपेक्षा राख्नु उनको दोष हो ? आफ्नो अस्तित्व र नामसमेत गुमाएर पतिको नाउँबाट परिचित उनी, त्यत्तिकै स्वतन्त्र छिन् बाटो बरालिन ? यदि मन्दाक्रान्ताले आफ्नो जिम्मेवारीबाट विमुख भई लोग्ने हुँदाहुँदै परपुरुषसँग माया गाँसेर नयाँ जीवन शुरु गरेको भए त्यो उत्तिकै सजिलो गरी पाच्य हुन्थ्यो यो समाजमा ? यहाँ महिलाको बाटो बरालिंदा घरमा चुल्हो समेत नबल्ने अवस्था रहन्छ । जतिसुकै क्रान्ति र स्वतन्त्रताका कुरा गरे पनि महिलालाई सधैं कर्तव्यनिष्ठ नै हुन पर्ने बाध्यता आइलाग्छ, अझै पनि । लोग्नेको गैर-जिम्मेवारीले गर्दा मन्दाक्रान्ताले छोरा सम्वत्को अभिभावक हुन परेको छ तर अशिक्षित महिला भनौं या महिलाले समाजका भोग्न परेको दोस्रो दर्जाले गर्दा उनको उपस्थिति सम्वत्को विद्यालयमा समेत रूचाइँदैन। आखिर आमाले के पो जानेका हुन्छ र, के पो बुझ्न सक्छे र ? महिलाले सधैं बिग्रेको बनाउन पर्ने, सम्हाल्न पर्ने, माया र करुणा भाव राख्न पर्ने, माफी दिनपर्ने, खुला विशाल हृदय राखेर स्वीकार्न पर्ने – यी कुराहरूबाट मन्दाक्रान्ता फरक छैनन् । चाहे धामीझाँक्री बोलाएर पाठपूजा गराएर होस्, उनले आफू र आफ्नो घरमाथि आएको अनिष्टको समाधान गर्ने हरसम्भव प्रयास गरेकी छिन् । यति मात्र नभई उनले सौताको रूपमा आएकी रातीपिरी, झरिली-भरीली कान्छीलाई समेत समाजमा महिला भएर भोग्न पर्ने अप्ठ्याराहरूका कारण करुणा देखाएकी छिन् । धनरूपले जितेर पनि हारेका छन् भने मन्दाक्रान्ताले हारेर जितेकी छिन्, स्वतन्त्र भएकी छिन्, नयाँ शुरुवातको लागि क्रान्ति गरेकी छिन् । उनीमा विद्रोह भावना आउनु स्वाभाविक हो ।
जुन मोडमा उपन्यासको अन्त्य हुन्छ, त्यहाँ महिला भएकै र हाम्रो सामाजिक संरचनाकै कारण मलाई उनका आगामी दिन अझै संघर्षले भरिएको महसूस भयो । पढ्दै गर्दा मलाई आफूले पटक पटक उल्लेख गरेको Virginia Wolf को निबन्ध ‘Cocksure Women, Hensure Men,’ फेरि पनि याद आयो, जसमा लेखकले कुखुराका भालेपोथी, चल्लाहरू र मानिसबीचको तुलना गरेकी छिन् । कुन्ता शर्माको कविता ‘पोथी बास्नु हुँदैन’ पनि यसैबाट प्रभावित लाग्छ । हामीमा भनाइ नै स्थापित छ, ‘पोथी बासेको राम्रो हुँदैन ।’ किन ? किन भने बास्ने काम भालेको हो र बिहान भएको सूचना दिनेदेखि पोथी र चल्लाहरूले टिप्ने दानाको व्यवस्था गर्ने काम पनि भालेको हो।
प्रकृति र जनावरहरूको analogy मार्फत् लेखक वसन्त बस्नेतले पनि Wolf ले झैं समाजमा विद्यमान महिला-पुरुषबीचको असमानता मीठो ढङ्गले प्रस्तुत गरेका छन् ।
“‘पागाहाबाट बाख्रा फुकाएर ले, सम्वत् !’ आमाले भारी नबिसाएरै मलाई अह्राउनु भयो । बाख्रा फुका भन्नुको अर्थ बाख्री नफुका भन्नु हो । बाख्रीलाई सिरुबारीमा चर्न छाडिदिनुभएको थियो उहाँले । बाख्रीलाई पनि छाडिदिए हुने नि ! खसीबोकाहरू कहाँसम्म घुमेर चरिरहेका हुन्छन्, बाख्री चाहिँ दाम्लोमै किन होला ?” ( पृष्ठ ९)
जनावरले त दाम्लो चुँडाएर फुस्किने प्रयास गर्ला, सक्ला तर दाम्लोमा बाँधिएकी मन्दाक्रान्तालाई त्यही पनि गाह्रो छ ।
आमा बोल्नुभयो, “आखिर खोल्मामा बाँधिएका गाईवस्तु, पगाहामा बाँधेका माउबाख्रा र खोंगीका कुखुरा जस्तै त भयो नि मेरो जीवन । हेर्दा यामानको घर चलाएर बसे जस्तो । तर केही काम नआउने खोटो पैसा जस्तो । मलामीले बाटोमा फलेको टिलो जस्तो बञ्जर जीवन। थुइय्या । चिहानघारी छेउको घर । लासै त हो ।” (पृष्ठ २२८)
“भैंसीले दाम्लोमा बाँधिएको आफ्नो पाडोलाई हेर्यो । भैंसीले मलाई हेर्यो । सोचें, सायद गोठको दाम्लोमा नबाँधिएर पनि आफ्नै जीवनको दाम्लोमा बाँधिएको मलाई उसले बुझ्यो ।” (पृष्ठ १५१)
यहाँ मन्दाक्रान्ता मात्र नभई एउटा अबोध बालक सम्वत् पनि घररूपी किल्लाको दाम्लोमा बाँधिएको छ । यस्तोमा “घरको छोरा मान्छेले ठीकसँग चल्न जान्नुपर्छ” भन्ने कुरामा आमा मन्दाक्रान्ता सही भए तापनि आफूखुसी बाटो रोजेका बाबुआमा भएर पनि टुहुरो महसूस गर्ने सम्वत्को भोगाइ कम निराश छैन । एकातिर उसले बाबुको मर्का बुझिदिनुपरेको छ भने अर्कोतिर पैयुँको रुखझैं आफूलाई हिउँद-बर्खाबाट जोगाउँदै हुर्काएकी आमाको एक्लोपन र बाध्यता । सम्वत्का बाबुले आफ्नी आमाको मात्र नभई उनको आफ्नै निश्चल स्वप्निल संसार पनि भत्काइदिएका छन् । युवावस्थामा आइपुग्दा घरको चिसो खालिपन र अझै आफूमाथि राखिएको अपेक्षाले विचलित भई केही समय बाटो बिराउँछ सम्वत् पनि । “छ वर्षको उमेर फरक छ तेरी आमा र मेरो । बचपनमा तेरा बाजेले करकापमा आफूभन्दा त्यत्रो जेठी केटीसँग मेरो बे गरिदिए । मलाई हरदिन पछुतो हुन्छ । मेरो जिन्दगी नै खेर गएको जस्तो लाग्छ ।” (पृष्ठ १०९)
सम्वत्लाई पछाडि फर्केर हेर्दा सम्झन लायकको लाग्दैन आफ्नो बालापन । “कहिलेकाँही त लाग्छ, यो बेला आएर बालक जसरी रुन, कुद्न, उफ्रिन, खिलखिलाउन मन गरूँ । पहिले त्यसो गर्न मैले उमेरलाई दिइनँ, अहिले उमेरले दिएन ।” (पृष्ठ १०९) पढ्दा मीठो लागे तापनि राम्रो हुँदा आफ्नो छोरा भनेर गर्व गर्ने बाबुआमा, आफूबीच नराम्रो हुँदा कताकता निभ्दै गएको त्यो अबोध बालकको मनोदशा कति भयावह हुन सक्ने हेक्का नराख्ने अभिभावक सम्झँदा दुःख लाग्ने रहेछ । यस्ता बालापन गुमाएका असंख्य छन् जसको मनस्थिति बुझ्नपर्ने टड्कारो आश्यकता छ ।
अक्सर अभिभावकहरूले आफूले के कस्तो परिस्थितिको सृजना गरिदिएका छौं, कतै आफ्नो हकहित, इच्छाआकांक्षाबारे सोच्दै गर्दा आफूले जन्माएको सन्तानप्रति कर्तव्यविमुख त भएका छैनौं ! कतै उनीहरूबाट गर्नुपर्ने भन्दा बढी नै अपेक्षा गरेका त छैनौं ! भन्ने सोच्न बाध्य गराउन पर्ने हो “सिमसारा”ले ।
वसन्त बस्नेतले समाजमा विद्यमान लैङ्गिक, जातीय र वर्गीय विभेद मात्र नभई यसमा आञ्चलिकता, संस्कार, मूल्यमान्यता, प्रेतात्मा, पूजाआजा, चालचलनको मान्यता, लिम्बुवान क्षेत्रका रैथाने लवज, द्वन्दपश्चात् स्थानीयमा आएको परिवर्तन र शक्तिको पनि मीठो प्रस्तुति गरेका छन् । सिमसाराको सबै भन्दा बलियो पक्ष हो बिम्वहरू प्रयोग, चाहे त्यो प्राकृतिक रूपले सुन्दर तर नागबेली बाटाझैं कठिन जीवन होस् या घरको भार बोकेको निष्क्रिय खाँबो, चिहानको चिसो शून्यतामा मस्त निदाएका जीवन होस् । न्यानोपन हराएको एक्लो घर, पैयुँको रुखमा फुलेको फूल होस् या एक्लै कराइरहेको वृद्ध चरा, दाम्लो बाँधिएका निर्बल जनावर होस् अथवा बाध्यताका जन्जिरमा जकडिएको जीवन नै किन नहोस् ।
‘म’ पात्रको सेरोफेरोमा कथा बाँधिएको भए तापनि सजीवदेखि निर्जीव सबैको आफ्नै कथा र भोगाइहरू छन् । ‘खाँबोको बयान’ र ‘ स्वप्नभंग’ले बोली भन्दा मौनता झन् डरलाग्दो भएको आभास दिन्छ । ठाउँ ठाउँमा उमेरभन्दा निकै पाको वाक्य शैलीको प्रयोगले भने ‘म’ पात्र नभई लेखक हावी भएको महसूस पनि नहुने हैन । इस्वी, चौधकाटेँ जुत्ता, मिल्के घडी आदि बारबार आउँदा अलिक झिझो नलागेको पनि हैन । तर समग्रमा भन्नु पर्दा अक्सर झिनोमसिनो लाग्ने विषय पछाडिको गम्भीरता, सरल भाषा शैली र प्रस्तुतिले उपन्यासलाई अब्बल र पठनीय बनाएको छ ।
वसन्त बस्नेतको “महाभारा” बारे अहिले सम्झँदा ‘ओके छ त’ याद छ भने ‘सिमसारा’ लामो समयसम्म याद रहिरहने छ । लेख्नेको आफ्नै उद्देश्य भए झैं पढ्नेहरूले के कुरा पाउँछन् त्यो नितान्त निजी हुने रहेछ । विभिन्न किसिमका सामाजिक, राजनैतिक, लैङ्गिक, धार्मिक, जातीय विभेदका कुरा त उठेकै छन्, मलाई भने ‘सिमसारा’ले उठाएको बालमनोविज्ञान र ट्रमाले मानिसलाई कतिसम्म असर गर्छ जसप्रति हामी अझै आँखा चिम्लन्छौं भन्ने कुराले धेरै असर गर्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।