काठमाडौं । पत्रकार एवम् लेखक वसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘सिमसारा’ लोकार्पण गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान, डबलीमा आयोजित विशेष कार्यक्रममा लेखक बस्नेत, चलचित्र निर्देशक मीन भाम, कवि अस्मिता गौतम र संगीतकार एवम् गायक उज्ज्वल सागरले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा गायक उज्ज्वल सागरको पियानोका सोलो प्रस्तुतिसमेत रह्यो । उनले विभिन्न गीतमार्फत आफ्नो प्रस्तुति दिए । साथै कवि अस्मिता गौतमले लेखक बस्नेतसँग अन्तर्संवादसमेत गरिन् ।
कार्यक्रममा चलचित्र निर्देशक भामले आफू ‘सिमसारा’का पात्रहरूको प्रेममा परेको टिप्पणी गरे । ‘भेटघाटका क्रममा साथीहरू सोध्थे— वास्तवमा तपाईं कसको प्रेममा हुनुहुन्छ ? म उत्तर दिन्नथें,’ निर्देशक भामले भने, ‘तर वास्तवमा म पहिल्यैदेखि पारिजातको प्रेममा थिएँ । उनका उपन्यास एवम् कथाहरूको पात्रको प्रेममा थिएँ । अहिले पनि उत्तिकै प्रेम गर्छु । अहिले वसन्तजीको सिमसाराका पात्रहरूको प्रेममा परें ।’
वसन्त बस्नेतले नेपालको पूर्वी क्षेत्र इलामको सेरोफेरोमा रहेर उपन्यास लेखेको र आफू मुगुमा जन्मेहुर्केको भए पनि कथा आफ्नै भनिदिएको जस्तो लागेको चलचित्र निर्देशक भामले जनाए । ‘बसन्तजीले इलामको सेरोफेरोलाई आधार बनाएर उपन्यास लेख्नुभयो, तर म कर्णालीको मुगुको एउटा गाउँमा हुर्के–बढे पनि उहाँको र मेरो कथा मिल्दो रहेछ । मेरा बा पनि सरकारी जागिरे हुनुहुन्थ्यो, त्यति बेला मैले मेरी आमाको पीडालाई नजिकबाट नियालेको छु । ‘सिमसारा’ पढ्दा आफूलाई बाल्यकालमा पाएँ ।’, भामले बताए ।
कार्यक्रममा सांगीतिक प्रस्तुति दिने क्रममा गायक एवं संगीतकार उज्ज्वल सागरले यो पुस्तक आफूलाई असाध्यै मन परेको बताए । सरल भाषामा सुललित ढंगले लेखिएको उपन्यास ‘सिमसारा’ सबै पाठकलाई रुचिकर लाग्ने उनको भनाइ छ ।
लेखक बस्नेत अहिलेको समयको उपहारका रूपमा आफूहरूले पाएको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले बताए । उनले भने, ‘वसन्त बस्नेत हाम्रा लागि अहिलेको समयको गिफ्ट हुनुहुन्छ । किनकि आख्यान र गैरआख्यान दुवै विधामा उहाँको कमल जबरजस्त चल्छ ।’
‘सिमसारा’मा सरल एवम् सहज रूपमा बसन्त बस्नेतले कथा बुनेको उनले बताए । ‘जुन मार्मिक छ, यथार्थपरक छ र हृदयस्पर्शी छ,’ उनले भने ।
कार्यक्रममा लेखक बस्नेतले आफूले हृदय निचोरेर उपन्यास ‘सिमसारा’ लेखेको बताए । यसमा आफूले बाल्यकालमा देखेको र केही भोगेको कथालाई प्रस्तुत गरेको उनको भनाइ छ । ‘परिवार भनेको युद्ध हो, शान्ति हो, माया हो, र अलिअलि अप्रेम पनि हो,’ उनले भने, ‘मैले उपन्यासमा यसैको सेरोफेरोमा रहेर कथा बुनेको छु । मलाई लाग्छ, यसले तपाईंहरूको हृदय छुनेछ ।’
‘इमोसन’ मायाभित्र खतरनाक अभ्यासका रूपमा आउने गरेको उनले जनाए । यसलाई पनि आफूले उपन्यासमा उतारेको बस्नेतको भनाइ छ ।
डेढ दशकदेखि मूलधारको पत्रकारितामा सक्रिय वसन्त बस्नेत सटीक विश्लेषण र मिठासपूर्ण भाषाका लागि चिनिन्छन् । नागरिक दैनिक, कान्तिपुर दैनिक, अन्नपूर्ण पोस्ट दैनिक, नेपाल साप्ताहिक र शिलापत्र मल्टिमिडिया पोर्टलमा काम गरिसकेका बस्नेत हाल अनलाइनखबर डटकममा सम्पादक छन् । यसअघि उनका ‘७२ को विस्मय’ (गैरआख्यान) र उपन्यास ‘महाभारा’ प्रकाशित छन् ।
पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।