इलाम, मंसिर २८ / चितवनको नारायणघाटबाट किताब यात्रा शुरू गर्नुभएका बहुभाषाका लेखक गोविन्द गिरी प्रेरणाको ‘सुश्री पारिजात’माथि इलाममा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

इलाममा उद्योग वाणिज्य संघको भवनमा अवस्थित अमेरिकन कर्नरमा आयोजित कार्यक्रममा कवि विमल वैद्यले लेखक गोविन्द गिरी प्रेरणाको चिनारी गराउनु हुँदै तीसको दशकको समर्थ लेखकबाट महत्त्वपूर्ण कृति आएको बताउनुभयो ।

कार्यक्रममा लेखक प्रेरणाले आफ्नो लेखनयात्राको विषयमा तथा “सुश्री पारिजात” लेखनका क्रमका अनुभव र अनुभूतिहरू सुनाउनुभएको थियो ।

प्रमुख अतिथि इलाम क्षेत्र नं १ का संघीय सांसद महेश बस्नेतले लेखक प्रेरणासँगको आफ्नो चिनारी चालिसको दशकमा भएको बताउँदै गहकिलो पुस्तक प्रकाशनका लागि बधाई दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि युध्दप्रसाद वैद्य, इलाम नगर प्रमुख केदार थापा तथा कार्यक्रमका अध्यक्ष उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले शुभकामना मन्तव्य तथा अध्यक्षीय मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रकाश थाम्सोहांग, प्राज्ञ कोमल निरौला, जयनारायण भट्टराई, तुलाराम पुरी, दीपक लुंगेली, धर्म गौतम लगायतले विविध साहित्यिक जिज्ञासा राख्नु भएको थियो र लेखक प्रेरणाले जवाफ दिनु भएको थियो ।