
साहित्यकार गोविन्द गिरी प्रेरणाको पहिलो कथासङ्ग्रह ‘सुतेको समुद्र’को चालिस वर्षपछि पुनः प्रकाशनमा आएकाे छ । कथा लेखन यात्राकाे ४० वर्ष पुगेकाे अवसर पारेर एक विशेष कार्यक्रमका बिच कथासङ्ग्रहको दोस्रो संस्करणकाे विमोचन गरिएकाे हो ।
नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’, प्रमुख अतिथि वरिष्ठ समालोचक दयाराम श्रेष्ठ, कथाकार किशोर पहाडी, स्रष्टा समाजका सदस्य मधु पाठकले उक्त पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथि दयाराम श्रेष्ठले नाटकीय ढङ्गले कथाकार गिरीको लेखन शैली, विषयवस्तु र घटनाहरूको व्याख्या गरेकाे बताए । साथै, ३० को दशकदेखि लेखन कार्यमा सक्रिय रहँदै आएका गिरीले कथा, कविता, नाटक, उपन्यास, जीवनी तथा नियात्रा विधामा समेत सशक्त रूपमा कलम चलाउँदै आएको बताए ।
कार्यक्रममा कथाकार किशोर पहाडीले अहिले छापिएको पुस्तकको आवरणकर्ता स्वर्गीय कवि जीवन आचार्यको संस्मरण गर्दै ३० को दशकदेखिका स्रष्टा मित्र गोविन्द गिरीको बहुआयामिक प्रतिभाको चर्चा गरेका थिए । साथै, उनले गोविन्द गिरी स्पष्ट वक्ता भएजस्तै स्पष्ट एवम् उर्जाशील लेखकसमेत भएको र लेखाइमा इमानदार रहेको बताए ।
नेपालका प्रख्यात तथा ख्यातिप्राप्त लेखकहरूको नाम हाल विलीन हुँदै गइरहेको परिस्थितिमा गिरीलाई सक्रिय रहन र विलीन नहुनसमेत शुभकामना दिएका थिए ।
सभापतिको आसनबाट बोल्दै नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’ले सामाजिक सञ्जालको समयमा लेखक तथा कविहरू प्रशस्त देखा पर्ने गरेको र छोटो अवधिमा चर्चामा आउन चाहने र चर्चा चुलिन नपाउँदै हराउँदै जाने गरेको यथार्थ औंल्याए भने हरेक विधामा उत्तिकै सक्रियताका साथ कलम चलाउँदै आएका गोविन्द गिरीको चालिस वर्षपछि पनि संस्करण निस्कनु कुनै चानचुने कुरा नभएको बताए ।
कथाकार गोविन्द गिरी प्रेरणाले आफ्नो लेखन यात्रा बारे प्रकाश पार्दै स्व. जीवन आचार्यले तयार पारेको आवरणमा दोस्रो संस्करण छाप्न पाउँदा आफू ज्यादै भावुक भएको र स्रष्टा जीवन आचार्यप्रतिको संस्मरण ताजा रहेको बताए।
कथाकार गिरीका कथा, कविता, उपन्यास, जीवनी तथा नियात्रासमेत गरी ३ दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्।
कार्यक्रममा अन्य साहित्यकारहरू राधेश्याम लेकाली, देविका तिमिल्सिना, शंकर भारती, पवन आलोक, शरद प्रधान, ममता मृदुल, जयदेव भट्टराई, डा.विप्लव ढकाल, अश्विनी कोइराला, सुभाषचन्द्र पौडेल’भीमफेदीया’, लवप्रसाद भण्डारी, सरिता खनाल, सञ्जय खतिवडा, ठाकुर बेल्बासे, डा.रमेश शुभेच्छु,पदम खतिवडा,प्रकाश तथा उत्तमप्रसाद पन्त एवम् कथाकार गिरीकी धर्मपत्नी अञ्जु गिरीलगायत अन्य साहित्यप्रेमी तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा स्रष्टा समाजका उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’ले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन मधु पाठकले गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

