काठमाडौं । नेपालमा पठन संस्कृतिको विकास र विस्तारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बुकाहोलिक्सले ‘मासिक चकटी बहस’को ९५ औँ शृंखला सम्पन्न गरेको छ ।

यो शृङ्खलामा अग्रज साहित्यकार पद्मावती सिंहको कथाकृति ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’ माथि बहस गराएको थियो । थापाथलीमा आयोजित बहस कृतिमाथि वक्ता अनिता पन्थीले आफ्नो दृष्टिकोण राखिन् ।

कथाकार तथा समीक्षक पन्थीले पद्मावती सिंहका कथाहरूका विविध पाटाहरू रहेको चर्चा गर्दै सहज र सरल लेखनीले कथाकार सिंहका कथाहरूमा विचरण गर्न सजिलो हुने उनले बताइन् । उनले भनिन्, “पद्मावती सिंहको कथा लेखनमा सुक्ष्मता पाइन्छ । उहाँले नसोचेको विषयमा पनि कथा लेख्दै आउनु भएको छ । उहाँका कथाहरूमा जीवन्तता पाइन्छ । समय, समाज र परिवेश उहाँका कथाहरूमा पाउन सकिन्छ । उहाँका कथामा विद्रोह पनि छ, तर त्यो विद्रोह पनि शालीन छ ।”

पन्थीले कृतिभित्रका २२ कथामाथि टिप्पणी गर्दै पद्मावती सिंहका कथामा संस्कृति, सभ्यताका साथै यौन मनोविज्ञान पनि प्रस्तुत भएको बताइन् । उनले भनिन्, ‘कथाकार सिंहका यौनकथामा कलात्मकता प्रचुर रहेको छ । यौनकथा लेख्न कलात्मक सोच चाहिन्छ । कलाले अश्लीलता छोपिन्छ ।”

पन्थीले कथाकृतिभित्रका कमी कमजोरीहरूको पनि चर्चा गरिन् । कथाकार सिंहले आफूले कथा लेख्दा कल्पनाको उडान खासै नगरेको बताउँदै आफूलाई छोएको विषयलाई कथाशिल्पमा उन्दै आएको बताइन् ।

बहसमा सहभागीहरूका प्रश्नको जवाफ वक्ता र लेखक दुवैले दिए ।

सन् २०१३ देखि पठन संस्कृतिको विकासमा काम गर्दै आएको बुकाहोलिक्सकी संयोजक साहित्यकार सगुना शाहले संस्थाको बारेमा जानकारी दिँदै कथा लेखनका सन्दर्भमा आफ्नो विचार राखिन् ।