साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

त्यो एक संयोग

यौवनले पूर्णता दिँदै थियो, आसक्तिको रापिलो शिखाले त्यसो गरायो भनौँ पनि मेरा सङ्गतमा रहेका अन्यान्य सुन्दरीहरूसँगको अनुराग र आकर्षणमा कमी थियो म कसरी भनूँ ? यद्यपि तिनीहरूप्रतिको आसक्तिले मलाई दुर्बल गराउन सकेन, जति नै अनुरागी भए पनि ।

Chovar Blues Mobile Size

त्यो एक संयोग

अरुणोदयसँगै स्फुरित मनका अनेकानेक भीडहरू यो गरौं कि त्यो गरौं, यता जाऊँ कि त्यता जाऊँ, यसो गर्दा अनुकूल होला कि उसो गर्दा, कुन मार्गले जीवनको सही मूल्यबोध गराउला … इत्यादि । यस्तो द्विविधायुक्त मनस्थितिले उत्पादित घुइँचो, हेर न जुन पथावरोधको निम्ति कुन रीतले सक्रिय भएको । त्यो, ट्राफिक लाइटको मर्यादासम्म राख्न जान्दैन । जेब्राक्रसिङमा कैयन् पाउहरू चलायमान छन् । दृष्टि दिँदैछु उः त्यो एक जोडा के सम्झिएर हो कुन्नि बीच मार्गबाटै प्रत्यागमन भयो । हुनसक्छ भ्राम्य चेतनाले त्यसो गराएको थियो । कति पाउहरू अन्योलमा थिए, कुन दिशालाई अवलम्बन गरूँ ? अभर परिने पो हो कि ? त्यसै क्षण आफूलाई पर्गेल्दै रहें मेरा पनि विचरा ! अन्योलमै रहेछन् । परन्तु अघि बढिरहें, जसो होला । अब फर्किएर मार्ग बदल्ने समय थोरै पनि छैन, यस चिन्ताले गति बढाउन आग्रह गर्दा पक्डिएको अनिश्चित मार्गमा, थाहा छैन कहाँ पुगेर पूर्णविराम लाग्ने छ । गूगलमा खोज्दै थिएँ, अधिक दूरतामा थियो त्यो गन्तव्यको रातो विन्दु । हो, त्यसै दिन मेरो मार्ग समाप्त होला, जुन दिन लोकेसनको निलो थोप्लो रातो थोप्लोमा गएर प्रतिस्थापित हुनेछ । लामो गन्तव्यभित्रका अनेकन उपगन्तव्यहरू जुन हामीले नचाहेरै पनि हिँड्नु छ, कारण त्यही भोग्नको लागि हामी जन्मिएका छौं । यद्यपि हामीलाई त्यो ज्ञात हुँदैन । अदृश्य तर पूर्व नियोजित कार्य कारणका शृङ्खलाहरू जब घटित हुँदै जान्छन् अनि बाध्य भएर भन्ने छौं मेरो नसिबमा यस्तै लेखिएको रहेछ ।

ग्राम्य जीवन नगर परिवेशसँग एकाकार हुन समर्थ भइसकेको थिएन । बिदाको दिन, आज धेरै ठाउँमा पुग्नु छ । पशुपतिनाथको दर्शन गर्नु, प्रिय उन्नतिलाई भेट्नु … । हाम्रो परिचयको प्रथम दिन आज बार–बार स्मरण भइरहन्छ । जीवनटारमा अवस्थित उनकी शारदा दिदीको आवास नजिकै छ मेरो निवास । बाबुका दिदी बहिनीलाई उन्नति कहिल्यै फुपू भन्न रुचाउँदिनन् । फुपू भन्ने शब्द उनलाई धेरै टाढाको सम्बन्ध जस्तो लाग्छ रे । शारदा उनै फुपू हुन् जसलाई उनी कान्छीदिदी भन्ने गर्छिन् । शारदाको छोरो आर्जन मेरो अन्तरङ्ग साथी, समवयी । एउटै कलेजको विद्यार्थी पनि । हामी प्रायः ग्रुप स्टडीमा समाहित हुन्छौं । हार्दिक र मैत्री भावले जोडिएको आर्जनको र मेरो सम्बन्ध । त्यस दिनको पूर्व सन्ध्यामा आर्जन अध्ययनको निम्ति मकहाँ आइरहेको छ ।

बेलुकीको भोजन पश्चात् आर्जनको र मेरो सानो संसार अर्कै लोकमा अवतरित हुनेगर्छ । म गणितीय सूत्रहरू एकपछि अर्को गरी मस्तिष्कीय भण्डारबाट उघाउँदै थिएँ । आर्जनको फोन बजिरहेको छ । यद्यपि रिसिभ भएन । ऊ बाथरुम गएको थियो । मैले त्यसप्रति कुनै चासो राखिनँ । रिङ्टोनको आवृत्ति भइरह्यो, अझै पनि आर्जन आइपुगेन । हो, त्यसै दिन मैले उन्नतिको नाम पहिलो पल्ट सुनें । सायद कुनै महत्त्वपूर्ण सन्देश विनिमय गर्न आएको कल हुनुपर्छ, निश्चय । सामान्य हाई ह्यालोको निम्ति आएको फोन त्यो थिएन । किनकि फोनको पुनरावृत्तिले त्यही अर्थ सम्प्रेषण गथ्र्यो । सूचना प्रवाहमा कुनै विलम्ब नहोस् भन्ठानेर फोन उठाएँ, “हलो … ।”

मेरो आवाजले पक्कै पनि उता केही सन्देह उब्जायो होला । बन्धित स्वरमा कुनै यौवनाले भनिन्, “यो नम्बर आर्जनको होइन ?”

sagarmani mobile size

“निश्चिन्त रहनोस्, आर्जनको फोनमा अरू कोही बोलिरहेछ, … ” मैले भनें ।

“ऊ अहिले कहाँ छ ? किन उसले फोन उठाएन ? यस मोबाइलसँग तपाईंको सम्बन्ध चाहिँ … ?” युवतीका यस्ता प्रश्नसँग मलाई कुनै असहज अनुभूति आवश्यक थिएन । वास्तविकतामा कुनै नाटकीय तत्त्वको जरुरत नपर्ने रहेछ । संशय भाव जाग्नु नै थिएन । भनें, “आर्जनको अभिन्न मित्र हुँ, म । ऊ बाथरुम गएको हुँदा फोन उठाएँ, जसको निम्ति क्षमा चाहन्छु ।”

उनको कोमल वाणी कति मधुर र स्निग्ध, कर्णप्रिय स्वरमा भनिन्, “त्यसमा केही आपत्ति छैन, अन्यथा नलिनू । फोन जसलाई गरेको थिएँ, त्यसमा उसको ध्वनि नपाउँदा मैले स्पष्टीकरण मागेजस्तै भएछ । क्षमा माग्नुको अपरिहार्यता नै कहाँ ? यहाँ कसैको भूल छैन ।”

अपरिचित हुँदाहुँदै पनि मन भइरहेछ उनीसँग केही संवाद गरूँ । मानौं, हामी पूर्व परिचित थियौं । म उनको नामप्रति अञ्जान थिइनँ । फोनको रिङसँगै उनको आंशिक परिचय बोध हुँदै थियो । तथापि मैले उनीसँगको संवादलाई विलम्बित गराउन अबोधि भएर सोधें, “यति मीठो स्वर म कसको सुन्दैछु … ?”

सोचेको थिइनँ निष्कपट भावमा सहजै उत्तरित हुँला । निर्दोष बालक भएर भनिन्, “जस्तो सुन्दै हुनुहुन्छ त्यो उन्नतिको आवाज हो” उनले संक्षिप्त परिचय दिइन्, “म तपाईंको अभिन्न मित्र आर्जनकी बहिनी हुँ, अर्थात् मामाकी छोरी । ”

उन्नतिको एकै वाणीमा म अधिक प्रभावित भएँ । त्यस परिचयमा कुनै कृत्रिमता थिएन । मोबाइलमा जुन नाम सेभ गरिएको थियो, हो उनले त्यही नाम उल्लेख गरिन् । त्यस दिन हाम्रो संवाद त्यतिमै सीमित भयो । इच्छा थियो अरू थप कुरा गरौं । यस अघि आर्जनसँग म कहिल्यै यसरी क्रुद्ध भएको थिइनँ, जसरी यस घडी भइरहेको छु । भित्रभित्रै क्षुब्ध भएँ । तथापि मेरो क्षोभ अप्रकट थियो, उसले बोध गर्न सकेन । उन्नति र मेरो संवाद उसको प्रवेशसँगै विच्छेदित भयो ।

मेरो अन्तस्करणमा बाँचिरहेको त्यो अभीप्सा थाहा छैन पूर्ण हुन्छ या हुँदैन । त्यस दिन पनि संयोगकै खेल थियो, उन्नतिसँगको वार्तालाप । उसो त वार्तालाप पनि के भनौं ? कति नै कुरा गर्न पाइयो र ? सामान्य बोली मिसिनुदेखि अरू … । म त्यस्तै संयोगको प्रतीक्षामा बस्न थालें, तैपनि उन्नतिसँग फेरि कुरा हुन सक्छ कि … । ज्ञात भनौं या अज्ञात मेरा वाञ्छालाई आर्जन समक्ष देखाउनु छैन । बस, मनमनै कामना गरिरहें एक वचनमै मोहनी मन्त्र भेदेर जानेलाई ।

उन्नतिको चपलता मलाई मन परिरहेको थियो । अदृश्य वाणीमा त उनीप्रति म यति आकृष्ट हुँदैछु भने स्वयंलाई प्रत्यक्ष देख्दा मेरोे कुन गति होला ? कुनै यौवनाको निम्ति म यति दुर्बल भइहाल्ने युवक त होइन । उसो भए के भइरहेछ त ? किन यसरी अञ्जान अभिलाषा पालिरहेको छु ? सामान्य एक युवतीको आवाजमा क्लान्त हुनु के मेरो परिचय यही हो ? … कतिको मनासिब होला, … ?

आर्जनको घरमा के कति कारणले हो कुन्नि त्यस दिन बिजुली बत्ती आएको थिएन । त्यसैले यता मोबाइल चार्जमा राखेर ऊ कतै गएको छ । हो, त्यही समयमा फेरि उन्नतिको फोन आएको थियो । फोनको घन्टीसँगै मलाई आत्मीयताको आभास भइरहेको थियो, निशंकोच फोन उठाएँ । आज उनलाई मेरो आवाज अवश्य पनि अपरिचित लागेन । आर्जन र मबीचको वाणी खुट्याउन सकेकी उनले अलिकति रसिकता, धेरै जिज्ञासा र बाँकी स्वाभाविकताले भरिएर भनिन्, “आर्जनको फोन उठाउने ठेक्का तपाईंले नै लिनुभएको छ कि क्या हो ?”

“त्यसरी नै भनिहाल्न त अल्लि नमिल्ला कि … ” मैले भनें । अस्ति उन्नतिले मेरो परिचय लिन भ्याएकी नै होइनन् । त्यसो त उनी मेरो नाम जान्न इच्छुक छिन् या औपचारिकता पूरा गर्नु आफ्नो धर्म ठानिन् । सोधेकी छन्, “हजुरको शुभ नाम ?”

उनले मलाई आफ्नो वास्तविक परिचय दिएर गहिरो प्रभाव पारिसकिन् भने म किन आफ्नो परिचय छलेर उल्टो भ्रम फिंजाऊँ । म त उनीसँग निकट हुन चाहिरहेको छु, त्यस्तो मान्छेसँग फेरि कसरी झूट बोलूँ ? मेघमुक्त आकाश जस्तै उघ्रिएको स्वरमा भनें, “म प्रयास हुँ ।”

“प्रयास !”

“अँ, प्रयास ।”

“यति राम्रो नाम मैले पहिलो चोटि सुन्दैछु । सरल तर गम्भीर … ।”

“साँच्चि नै राम्रो लाग्यो ?”

“अँ, मन पर्ने, … ।”

“ धन्यवाद, मेरो नाम मन पराइदिनु भएकोमा ।” मैले यसो भनिसक्दा उताबाट स्मित हाँसोको मीठो गुञ्जन सुनियो, सँगै बाफिलो झोक्काले स्पर्श गरे जस्तो अनौठो अनभूति पनि । मानौं म उनकै समीपमा छु ।

आज उन्नतिको स्वर केही खुले जस्तो लाग्छ, उदात्त । आश्वस्त भइन्, निश्चय । हामी दोस्रोपल्ट दूरभाषमा कुरा गरिरहेका थियौं । मेरो नामलाई महत्त्व दिँदै फेरि भन्न लागिन्, “कस्तो अर्थपूर्ण, गहन … नामकरण गरिएको । कुनै पनि कार्य सिद्धि नहुन्जेल भिडिरहने प्रयासशील व्यक्तिहरू बडो पौरखी हुन्छन् रे ! जीवनमा प्रगतिगर्नेहरू तिनै हुन् । आफ्नो सम्बोधित नामलाई अर्थपूर्ण बनाउँदै जानू होला … ।” उनले यसो भनेको बेला मन्द हाँसोको उन्मादिलो राग प्रस्टै आइरहेको थियो ।

आजसम्म मैले आफ्नो नामको अर्थ खोजेकै रहेनछु । धन्य उन्नति ! तिमीले नै यसबखत आएर प्रयासको अर्थ र महत्त्वलाई बोध गराइदियौ । अज्ञानमै थिएँ, यतिको समय ।

मलाई यस्तो लागिरहेछ, बल्ल चेतनाको आवरण खुल्दै थियो । मैले पनि उन्नतिको अर्थ खोज्न लागें, कम अर्थपूर्ण थिएन उनको नाम । विकास, समृद्धि, प्रगति, परिवर्तन, उद्यम, अभिवृद्धि … यी सबै उन्नतिकै अभिप्राय थिए । प्रकारान्तरले अक्षुण्ण प्रयासको उपलब्धिमा आएको क्रमिकता नै के उन्नति होइन ? अर्थ लगाउँदै जाँदा मैले प्रयास र उन्नतिमा प्रशस्त समता पाएँ । एकार्काका परिपूरक जस्तै । प्रयास नगरी उन्नति के सम्भव छ ? उन्नति प्रयासकै पर्याय … । प्रयास छ र त उन्नति । उन्नतिकै सान्निध्यमा प्रयास । एकको अनुपस्थितिमा अर्कोले कसरी उच्चता भेट्टाउन सक्छ ?

मनमा अनन्त इच्छा जागृत भएर आउँछ कल्पित हिसाब गर्ने । ए, साँच्चि उनले प्रयास र उन्नतिबीचको सामञ्जस्यलाई खुट्याउन सकिन् कि सकिनन् होला ? संयोगले कसरी उही अर्थ र भाव जताउने हामी दुईको अप्रत्याशित भेट गरायो । कसले रचाउँदैछ यस्तो अमञ्चनीय संयोग ? विचारोद्रेक दीर्घ सुस्केरासँगै पूर्वस्थितिमा फर्किएर उलनाई भनें, “उन्नति ! तिमीले आफ्नो नामका अनेकन अर्थहरू के खोजिनौ ? तत्क्षणमै अरूको नामार्थ विश्लेषण गर्न सक्नेलाई आफ्नो नामको अर्थान्वेषण कसरी असाध्य हुन सक्छ ? थाहा छ तिमीलाई हर क्षेत्रमा उन्नति गर्न कसको खाँचो पर्नेगर्छ ? साधनारत जीवनको फलीभूत श्रेय कसलाई जानेछ ? उही प्रयासलाई होइन ? एक पटक फर्केर हेर त उन्नति र प्रयासबीच सम्बन्धको तादात्म्य ।”

मेरो कुरा उन्नतिले कति बुझिन् या बुझिनन्, मलाई थाहा भएन । त्यसो त मैले अरू कुरा नै के गरेको थिएँ र ? बस, उन्नति र प्रयासलाई एकअर्कामा अथ्र्याएको न थिएँ, शब्द तहमा अर्थको सम्प्रेषण । उनको अनुच्चस्वर मिठासपूर्ण थियो । त्यो मृदु हाँसोसँगै प्रतिजवाफको पर्खाइमा थिएँ, त्यसैबखत आर्जन आइपुग्यो । उन्नतिसँगको दोस्रो संवाद त्यहीं रोकियो ।

त्यस्तै एक दुई संयोग पश्चात् हामीलाई आर्जनको सान्निध्य र उसको भरोसामा रहनु परेन । उसको यन्त्र हाम्रो लागि बेकार भइसकेको थियो । निकटताको अनुभूति गराउन हामी आफ्नै दूरभाष र सञ्जालमा जोडिइसकेका थियौं । यौवनकालको संवेदनशील मन कति तरलित भइदिन्छ ! समय असमय कुनै पनि क्षण हाम्रो निम्ति बाधित थिएन । हाम्रा हरेक संवाद यसै त्यसै उन्मादित भई ब्यूँझिने गर्थे । आमोदपूर्ण वार्तालापले देहको रोम रोममा विद्युत तरङ्ग प्रवाहित हुन्थ्यो, आग्रह गर्दै थिए खै कुन्नि केके हो । लाग्छ, त्यतिबेला हामी एक आपस्त चुमिरहेका थियौं, त्यसै घडी आफ्नो असंयमप्रति सचेत हुँदै जति दूर हुन खोज्थ्यौं उति नै समीप … ।

उन्नतिसँगको प्रत्येक स्नेहपूर्ण भेट मलाई किन यति बिघ्न नवीन लाग्ने गर्छ ? प्रश्न अनुत्तरित नै छ । कलेजमा मेरा कैयन् साथीहरू थिए । परन्तु तिनीहरूको निकटतामा त्यस्तो कुनै अनुभूति हुन सकेन जस्तो उनीसँग हुनेगर्छ । यौवनले पूर्णता दिँदै थियो, आसक्तिको रापिलो शिखाले त्यसो गरायो भनौँ पनि मेरा सङ्गतमा रहेका अन्यान्य सुन्दरीहरूसँगको अनुराग र आकर्षणमा कमी थियो म कसरी भनूँ ? यद्यपि तिनीहरूप्रतिको आसक्तिले मलाई दुर्बल गराउन सकेन, जति नै अनुरागी भए पनि ।

मैले कतिलाई प्रेम प्रस्ताव राख्न सक्थेँ । अहँ, राखिनँ । कति आए प्रेम प्रस्तावहरू पनि … । त्यस घडी मनमा कुनै खलबली मच्चिएन । तथापि आज उन्नतिको एककल फोनले नै किन उद्वेलित गराउँदैछ यो हृदयलाई ? वासनाको वशीभूतले मलाई यसो गरायो त ? त्यसो भए अस्ति भर्खर प्रस्तावक प्रमिला प्रधानको प्रेम मलाई किन स्वीकार्य भएन ? के कमी थियो र उसमा । रूप, सौन्दर्य, दीप्तिमय आभा, आकर्षक वदन । सूर्योदयसँगै फक्रिएको फूल, शीतले शोभा बढाइरहेकै थियो । सूर्य तेजलाई नै भ्रम गराइदिने कत्रो सौन्दर्य ।

अस्थिर चित्त उन्नतिकै स्मरणमा भुल्न चाहन्छ, उनकै समीपको कल्पितलोकमा आफूलाई राजकुमारको दावी गर्ने यो मन प्रशस्त अबुझ भइदिन्छ । आफैंआफ कल्पनाको व्यवधान उठाएर विकट परिस्थितिको सामना गर्न मञ्जुर यो मन कति अघोरी छ । शब्द पाउँदिनँ जसलाई प्रस्तुत गर्ने । बोध भएर पनि अबोधि बन्न राजी … जसलाई म के भनूँ ? मनोजगत्को विकलतालाई मतलब राख्दैन । किमार्थ राख्दै राख्दैन ।

प्रतिक्रिया
Loading...