
आज विश्वभरिकै नेपाली जातिको एक आस्था मन्दिर, जातीय एकता अनि यसको अस्तित्वको प्रतीक सन् १९२४ मई २५ मा दार्जेलिङमा स्थापित नेपाली साहित्य सम्मेलन अर्थात् दार्जेलिङ पहाडको प्रज्ञा–प्रतिष्ठान । यसको शतवार्षिक उत्सवको प्रवन्ध र तयारीलाई हृदयमा राखेर वर्तमान कार्य समिति एक वर्षदेखि चिन्तासँग समर्पित रह्यो । वर्तमान अध्यक्ष डा. चन्द्रकुमार राईले एक वर्षअघि नै हामीलाई जानकारी दिनुभएको थियो ।
यसको मुखपत्र दियालोको ‘शतवार्षिकी विशेषाङ्क‘मा प्रकाशनार्थ हामीलाई समकालीन नेपाली भाषा विषयक एक एक लेख÷रचनाको पनि आग्रह गर्नुभएकाले हामी छ सदस्यीय सद्भाव टोलीले निम्नानुसार लेख–रचना तयार पारी २०८१ को दशैं अघि नै पठाएका थियौं । ती रचना हुन्— सर्वश्री रोचक घिमिरेको भाषा बचाउने संघर्षमा दार्जीलिङ र नेपाल, डा. तुलसी भट्टराईको तत्सम शब्द : सानो विवेचना, प्रा. गोविन्दराज भट्टराईको प्रत्येक जातिलाई सभ्यतातिरको यात्रा–पथ देखाउने उज्यालो नै भाषा रहेछ, शरच्चन्द्र वस्तीको वर्तनीको विवाद र ‘नेकशुले २०६९’, चूडामणि गौतमको बृहत्तर नेपाली शब्दकोशको कहानी, शरद प्रधानको नेपाली साहित्य सम्मेलन : भारत–नेपालको मितेरी साँघु, अनि प्रा. कुमारप्रसाद कोइरालाको लेख्य नेपाली भाषामा देखिएका समस्या र तिनको निराकरण ।
अनेक विशिष्ट स्रष्टाका नेपाली साहित्य सम्मेलनको इतिहास र भविष्यसँग सम्बद्ध चयनित लेख रचनाको संग्रह दियालो (नेपाली साहित्य सम्मेलन पत्रिका वर्ष ६०, हाँगो १५६) मा हामी सात नेपाली नागरिक प्रकाशित भएछौँ । तर एक अग्रणी बृहत्तर नेपाली शब्दकोषका निर्माता श्री चूडामणि गौतम केही महीना अघि नै दिवङ्गत हुनु भएकाले हामी छ जनाले यस निमन्त्रणाको पालना गर्दै आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्ने निर्णय गर्यौँ ।
विसं २०८२ जेठ नौ गते बिहान काठमाडौंबाट पूर्वतिर उडेका चार सज्जनहरूलाई हामी दाजु–भाइले झापाको चारालीमा भेट गर्यौँ र चन्द्रभाइको इभी चढेर क्रमशः इलामतिर उकालियौं । हर्कटेस्थित ‘झापाली होटल‘को एक एक पेला अर्ग्यानिक चियाले हामीलाई पशुपतिनगर पुर्यायो । त्यहाँको सिमानामा पानी ट्यांकीमा जस्तो कुनै झन्झट नहुँदो रहेछ । विस्तारै उहिलेका हमजाएगा जस्ता देखिने गुरुजीले चार सीटे भ्यानमा छ जना हामीलाई अटाए । धारे पारेर नहल्लिई बसेपछि उनको भ्यान बग्न थाल्यो, धाराप्रवाह वार्ता पनि शुरु भयो । त्यो सुन्दर बनाञ्चलभित्र आकाश छुने धूपीहरू सुसाएको ख्याल गर्दै अघि बढ्यौं । सुकिया, घुम, बतासे आदि काट्तै घना बजार पस्यौं र र अन्त्यमा दार्जेलिङको प्रसिद्ध चौरस्ता तल्तिरको ब्रिटिशकालीन होटेल एलिस भिल्लामा प्रवेश गर्यौं । सुविधायुक्त थियो, सुन्दर, शान्त र शीतल थियो । उहाँहरूले प्रवन्ध गरिदिनुभएको ।
एकछिनपछि बाहिर निस्केर हेर्यौं— अपराह्नको आकाश छ्याङ्ग उज्यालो अनि धर्ती आँखाले भ्याएसम्म हरियै हरियो विस्तृति । सेता, राता तारा जस्ता थोप्ला र टीका जङ्गल भित्रभित्रै छरिएका, सबै मिलेर बसेका थिए । अनि सामान थन्क्याएर हामी सरासर उकालियौं । चौरस्ता पुगेर सर्वप्रथम सुनको दौरा–सुरुवाल लगाएका सुनैको विर्के टोपीसँगै उभिएका आदिकवि भानुप्रति शिर झुकायौं । त्यो डाँडाको शिरमा बनेको विशाल पटाङ्गिनीमा मानव सागर छचल्किएको छ । सारा देश विदेशका नागरिकहरू देख्ता मलाई आदिकवि जेफ्रि चसरको जन्मस्थल बेलायतको क्यान्टरबरी पुगेको दिन जस्तै लाग्दैछ आज । नीलो आकाशमुन्तिर उभिएर पण्डित धरणीधर शर्मा कोइराला रचित भानुभक्त श्रद्धाञ्जलीबाट दुई श्लोक प्रार्थना गुनगुनाएँ—
भाषा प्रचार गरि देश विषे फिँजाई,
निःस्वार्थ राम प्रति भक्ति दिई जगाई,
नाना विभक्त जन जो अविभक्त पारी,
सेवा गर्यौ अटल यो गनिनेछ भारी ।
हे भानुभक्त, अनुरक्त छ जाति सारा,
तिम्रा सुधासरि मिठा पढि वाक्य धारा,
तिम्रा मिठा मधुर काव्यकला निमित्त,
आजन्म देश रहनेछ कृतार्थचित्त ।
अनि भानुलाई नमस्कार चढाएर अघि बढ्यौं । सूर्यास्तपछिको पटाङ्गिनी झलमल थियो । तेर्सै अलिक पर गयौं, दोकानका लहर, तिरिमिरी पार्ने सामान विक्रीमा थिए । चिसो बढ्दै गएको लागेर एकएक ऊनी टोपी किन्यौं । त्यहाँका ऊनी सामान कति सस्ता ! दोकानमै उभिएर शरद भाइले भने— “दाजु, यहींबाट अलिक पर पुग्दा इन्द्रबहादुर राई सर पहिले बस्नु भएको ठाउँ आउँछ ।” त्यो सुनेर दोकानका मालिक बंगाली भाइले भने, “ए त्यस ठाउँमा ता ऐले आई वी राई सरको नाममा एउटा मार्ग पनि छुट्याएको छ नि ! थाहा छैन ?”
हामी छक्कै पर्यौं किनभने यहाँका भाषा–भक्तहरूले, “मेरो समुदायले भानुभक्तलाई चिन्दैन” भन्ने सार्वजनिक घोषणा गरेको भर्खर सुनेर उता गएका थियौं । त्यहाँ इतिहासका अगणित दिनदेखि सबै जात–जातिले आफ्नो ज्ञान, चेतना, शक्ति सवै अर्पण गर्दै महाजातिको एक महान एकता स्तम्भ निर्माण गरेको देख्न पायौं । हर्षले हृदय भरिएर आयो । दियालोको वर्तमान अङ्क अध्ययन गर्दा यो विराट स्वरूपलाई जोडने एक मात्र तत्व महाजातीय भाषा र त्यसमा जोडिएको एकताको भाव रहेछ भन्ने भयो । त्यो देख्ता कत्रो हर्ष लाग्यो ! सम्मेलनको स्थापनाको लक्ष नै ‘नेपाली जाति अनि समाजको उन्नति साथै नेपाली भाषाको विकास थियो‘ (दियालो पृ. ६) ।
दार्जेलिङको उज्यालोले नेपाली भाषा र साहित्य कसरी निरन्तर चम्किरहेको छ भन्ने कुरा श्री मननारायण प्रधानको लेखमा छ— विश्व नेपाली साहित्य मूल रूपमा नेपाल र भारतमा अधिक मात्रामा सिर्जन भएको पाइन्छन् । भारतको पश्चिम बंगालअन्तर्गत दार्जीलिङ, कालेबुङ जिल्लाहरू, तराई–डुवर्स, कलकत्ता, सिक्किम राज्य, पूर्वोत्तर राज्यहरू असम, मणिपुर, अरूणाचल प्रदेश, नागाल्याण्ड, मेघालय, त्रिपुरा आदि, देहरादून, वाराणसी, भाक्सू–धर्मशाला, दिल्ली क्षेत्रका नेपालीहरू भाषा–साहित्य, संस्कृति तथा सभ्यतातर्फ दिशानिर्देश गर्दै संरक्षण र संवर्द्धन गरिरहेका छन् । (दियालो १३७)
तर नेपाली जातिभित्र नेपाली भाषीभित्र प्रधान, शर्मा, छिरिङ, गिरी, राई, लामा, बोस, सुब्बा, छेत्री, उपाध्याय, देवान, सुन्दास, कुमाई, दर्नाल, यादव, आले, थामी, मुखर्जी, मोक्तान, मास्के, नामदुंग, योञ्जन, रसाइली, गुप्ता— नेपाली थर र जातजातिको समग्रता, त्यसमाथि निकटवर्ती अन्य जात गोष्ठीका विहारी, बंगाली, पञ्जावी विविध भाषा–भाषीको पनि नेपालीप्रतिको प्रेम र सद्भावले यो प्राचीर स्तम्भ खडा भएको रहेछ ।
यसपालिको ऐतिहासिक भेलाले देखायो, दियालोले प्रस्तुत गर्यो— नेपाली भाषा चिन्तामा सिक्किम, शिलाङ, मणिपुर, नागाल्याण्ड, आसम, डुवर्स, सिलिगुडी, भाग्सू, देहरादून, देल्हीबाट साक्षी बन्न आउने सदस्यहरूको संख्या ठूलो थियो । सबैजना जातीय भाषाको चिन्ताले जातीय अस्तित्व रक्षाको आशाले भेला भएका थिए ।
कति लामो समयदेखि अनेक प्रकारका चिन्ता बोकेर वर्तमान समितिले एक शतकभरि हुर्काएको नासो, यो सम्पदा, यो विरासत नयाँ समयलाई बुझाउनु कत्रो कुरा थियो ! यो एक शतकले भोगेका दुई महासमर, भारत–पाक विभाजन र स्वतन्त्रता प्राप्ति, नेपाली जातिको व्यापक परिक्षेपण कत्रा कुरा थिए ! त्यसमाथि विज्ञान र प्रगतिको उत्तेजक उन्नतिको तीव्र गति खप्नु पर्ने दिनहरू झन् बाक्लिएका छन् । झोसुवा बन्दुक र खुकुरी भिरेर युद्ध मैदानमा ओर्लेका बाजेहरू आज नातिका पालामा डिजिटल आणविक क्षेप्यास्त्र बोकेर उडेका छन् । चिठी–पत्र र लेटर–प्रेसले जोगाएको सिर्जना र प्रकाशन आज दिक्कालका अनुरेखनहरू मेटिएका समयमा सभ्यताको दिशा, गति र प्रारूप मेटिएको समयसम्म पनि आफ्नो गोरेटो नछोडी सम्मेलनले यहाँसम्म अवतरण गरेको छ ।
देहरादून, भाग्सू, दिल्ली, कलकत्ता, बनारस, शिलाङ सम्पूर्ण आसाम र मणिपुर सबैले भरोसा दिएको, सबैले भरोसा लिएको हे साहित्य सम्मेलन ! यति पुरानो भाषा–साहित्यसेवी संस्था नेपालमा कुनै जोगिएको रहेनछ । भारतवर्ष भरिका सातवटा पुराना भाषिक संस्थाभित्र नेपालीको पनि गणना हुन्छ भने नेपाल यताको कुरा गर्दा कठोर अधिनायक तन्त्र सकिएपछि १९५१ पूर्वका सबै संस्था काल कवलित भए । गोरखापत्र एउटा छ तर त्यो अन्नदाता सरकारको मुखपत्र मात्र हो ।
पहिलो दिन (२४ मई) हामीले सम्मेलन भवनमै व्यतीत गर्यौँ । कुनै ठूलो औपचारिक ढर्रा बेगर— संस्थाको इतिहासदेखि वर्तमानसम्म अनि यस संस्थालाई थाम्दै ल्याउन परेको कठिनाइ, यसलाई जीवन्त राख्न सक्दो सहयोग गर्ने व्यक्ति संस्थाहरू, यस जमीनमा थपिएको नव निर्माण अनि पुरानो भवन पुनः निर्माण, केही मन्तव्य अनि दुईवटा कार्यपत्र प्रस्तुति कर्म सम्पन्न भए । भाग्सू, हिमाञ्चल प्रदेशका लक्ष्मीनारायण प्रधान ‘मधुप’ अनि साहित्य एकेडेमी दिल्लीका ब्रजेन्द्र त्रिपाठीका विचार अनि डा. कुमार कोइराला एवम् डा. तुलसी भट्टराईका भाषिक पत्र प्रस्तुत भए ।
भोलिपल्ट (२५ मई) को अघिल्लो सत्रमा पहिलो दिन जस्तै उच्च पदाधिकारीहरूको प्रस्तुति थियो । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेलाई दिल्लीबाट बिदा नमिलेकाले उहाँको सल्लाहकार एवं परि प्रकाशनको अध्यक्ष सीपी शर्माले प्रतिनिधित्व गर्नुभयो ।
त्यसपछि रोचक घिमिरे, गोविन्दराज भट्टराई, शरद प्रधान, शरच्चन्द्र वस्ती, साहित्य अकादमीका देवेन्द्र देवेशले आआफ्ना प्रस्तुति राख्यौं । नोवल किशोर राईका निजी विचार थिए । प्रत्येक मूल्यवान् थिए । तिनमा पनि अध्यक्ष सी के राईको अत्यन्तै सन्तुलित अध्यक्षीय सम्बोधन अनि डा. जीवन नाम्दुङका मनमा रहेको विशाल भारतवर्षको भाषिक÷जातीय प्राङ्गणमा नेपालीलाई उभ्याउने चिन्ता बिसाउने कुरा— कति गम्भीर र कति बौद्धिक अभिभारा थिए ।
वास्तवमा सम्मेलन स्थापनाका दिनमा प्रथम विश्वयुद्धको डढेलो सल्किएर खरानी भइसकेको थियो । सम्मेलन भन्दा पहिले सय वर्षदेखि भएका भाषिक–साहित्यिक चिनारी—प्रयत्नहरू थिए तर नेसासले नै सर्वश्रेष्ठ चिन्तक–स्रष्टा जन्मायो । यसकै जीवनकालमा चलेको नेपाली भाषा मान्यता आन्दोलन एक सुखद अन्त्यमा बिसाउन कति दशक व्यतीत भए । यस भाषालाई संविधानको आठौं अनुसूची अन्तर्गत अन्तर्भुक्त गराउन कति परिश्रम लाग्यो । तर आज प्रत्येक वर्ष भारत वर्षका नेपालीहरूले हाम्रो जातीय गरिमा–ध्वज झन् उचा बनाइरहेछन् । साहित्य अकादमीको साहित्य पुरस्कार, अनुवाद पुरस्कार, युवा पुरस्कार, बाल पुरस्कार, उच्च सम्मानको प्रतीक पद्यश्री— गर्दागर्दै ज्ञानपीठसम्म पुग्ने मार्ग त खनिएकै छन् ।
दियालोले एकसय वर्षका सम्मेलनका कार्यकारिणी समितिको पूर्ण सूची प्रस्तुत गरेको छ । म इतिहासको उच्चासनमा बिराजित अध्यक्षहरूको मात्र नामसूची प्रस्तुत गर्दछु— सर्बश्री श्रीमान हरिप्रसाद प्रधान, एम.ए. वी.एल., श्री मोतीचन्द्र प्रधान, श्री हनजीत देवान, धरणीधर शर्मा कोइराला, श्री तुलसीबहादुर छेत्री, श्री जगत छेत्री, श्री एस. एन. प्रधान, श्री आर. पी. लामा, श्री भरत यादव, डा. लक्खीदेवी सुन्दास, श्री हरेन आले, श्री रामलाल अधिकारी, श्री प्रेम प्रधान, डा. जीवन नामदुंग, श्री सतीश रसाइली, गोपीचन्द प्रधान, कर्ण थामी, श्री सचेन राई, र डा. चन्द्रकुमार राई । एक जनाले तीन–चार पटक सम्मको कमिटीमा बसी सेवा गर्नुहुँदो रहेछ । आजसम्मका यति अध्यक्षीय नाम देखिए ।
यो अत्यन्तै ठूलो दूरगामी परिणाम प्राप्त हुने यात्रा थियो । मागेर, खोजेर, लडेर, संघर्ष गरेर आफ्नो भाषा जोगाएको इतिहास बोकेको संस्था । अरू भाषाभाषीहरू सरह महान् भारत वर्षमा नेपालीलाई स्थान दिलाउनु कत्रो कुरा थियो । नेपालमा जस्तो सत्ताधारीले गरिदिएका घोषणा–पत्र, इस्तिहार आदिको परिणाम थिएन यो । यो जनताले जनताकै लागि गरेको संघर्ष र बलिदानको इतिहास थियो । यो करोडौं जनसंख्याका सयौं भाषा भएको देशमा हामी छेलिन्छौं कि, नसुनिने पो हुन्छौं कि भनी ठूलो पीर बोकेर, अरू उन्नत साहित्यले कुन मार्ग लिएका छन्, त्यो बुझेर त्यतातिर हेर्दै आफ्नो भाषा–साहित्यलाई चिनाउने उत्तरदायित्व । त्यो सानो थिएन ।
भारतका विविध प्रान्तमा छरिएका नेपाली जाति र उनीहरूका भाषाको स्थिति डुवर्सको जस्तै थियो । मननारायण प्रधान भन्छन्— नेपाली साहित्यको विकासमा डुवर्सको योगदान महत्त्वपूर्ण रहिआएको देखिन्छ । साहित्य लेखन यात्रा सय वर्ष पुग्न लागेको डुवर्स आफ्ना प्रकाशित कृतिहरू संख्यात्मक दृष्टिमा सन्तोषजनक नभए तापनि हालको दुई दशकदेखि भने तीव्र रूपमा अघि बढिरहेको छ । विभिन्न जाति, भाषा, संस्कृति मिश्रित समाजमा अल्पसंख्यकका रूपमा बसोबासो गर्नुपर्ने स्थिति, मातृभाषामा अध्ययन र अध्यापन व्यवस्थाको कमी तथा हाम्रा बालबालिकाहरू अन्य भाषाका विद्यालयमा पढ्नुपर्ने बाध्यता, बन्द चियाकमानको दयनीय अवस्था, आर्थिक सङ्कट आदि कारणले साहित्य सिर्जना मन्द गति रहेको सम्भव देखिन्छ । डुवर्सको नेपाली जातिमा जागरणमुखी बन्ने सोच हैकमसिंह राई, डा. इन्द्रमान राई, दिलबहादुर सरदार, चन्द्रवीर प्रधान, एस. एन. छेत्री, मणिकुमार थापा, बद्रीनारायण प्रधान, मायादेवी योञ्जन आदिले सिँचेको लेखनकलालाई उत्तरवर्ती साहित्य सर्जकहरूले मलजल थप्ने कार्य गरेर यहाँको साहित्यलाई तीव्र रूप दिने प्रयत्न गरेका छन् । (दियालो पृ. १६६)
यो एक दृष्टान्त मात्र हो, अनेक ठाउँको प्रतिनिधि स्वर— शिलाङ, आसाम, मनिपुर, मिजोराम, पश्चिमाञ्चल पर्वतहरू सबैको नेतृत्व गर्ने दार्जेलिङको यसपालिको दियालो ग्रन्थ हाम्रा पितापुर्खाले सय वर्ष पहिले देखेका सपनाको तस्वीर रहेछ । कत्रो चिन्ता लिएर अघि लागेका पारसमणि प्रधानका कार्यबारे उदयमणिले यसरी बयान गरेका छन्— पारसमणि प्रधानले आफ्नो सम्बोधनमा मातृभाषामा शिक्षाको महत्त्व अनि भाषा र साहित्यको विकासमा जोड दिए । आफ्नो सम्बोधनमा उहाँले यसो भन्नुभयो– “अरूले शिक्षा हासिल गर्छन् मातृभाषाको माध्यमबाट तर नेपालीहरूले त्यस्तो गर्न पाएका छैनन् । यसर्थ अरूलाई केही सिक्नु जति समय लाग्छ नेपालीहरूलाई दोब्बर समय लाग्छ । विश्वविद्यालयहरूमा नेपाली पढ्ने अनुमति दिएको छ, तर त्यहाँ अध्ययन गर्ने नेपालीहरूको संख्या औंलामा गन्नु सकिने बराबर छ । तसर्थ नेपालीहरूले प्राथमिक पाठशालामै मातृभाषामा पढ्ने सुविधा पाउनुपर्छ । यसरी विद्याको प्रचार हुन्छ औ नेपाली भाषाको पनि उन्नति भएर जान्छ । भाषा र साहित्यको उन्नति नभई जातिको उन्नति कदापि हुनसक्तैन ।” (दियालो पृ. ८) । ती दिनमा नेपाली साहित्य सम्मेलनका तीन उद्देश्य राखिएका रहेछन्—
— नेपाली साहित्य प्रसार, उन्नति ।
— नेपाली भाषाको मौलिक तथा अनूदित ग्रन्थहरू अनि पत्रपत्रिकाहरू प्रकाशन गर्नु ।
— नेपाली भाषाको प्राचीन साहित्य अन्वेषण गरी भाषाको उन्नति गराउनु ।
नेसासले नैवेद्य, मनलहरी, वधूशिक्षा, कवि भानुभक्तको जीवनचरित्र जस्ता क्लासिक कृतिहरू ता सय वर्षअघि नै प्रकाशित गरेको रहेछ । यस्ता प्रकाशित कृतिको एउटा सानो सूची वर्तमान दियालोमा समावेश छ । यसैमा दियालो साहित्यिक प्रकाशनका कुनकुन अमूल्य अङ्कहरू निस्किए त्यसको पनि सूची प्राप्त छ, जस्तै— भानु विशेषाङ्क, देवकोटा विशेषाङ्क, भाषा विशेषाङ्क जस्ता १६ प्रकाशन ।
दार्जीलिङ भारतवर्षभरिका नेपाली भाषी, संस्कृति–अनुयायी जातिहरूको प्रकाशस्तम्भ (बीकन) थियो । त्यही उज्यालो हेर्दै टाढा टाढाका जहाजहरू आँधीबेहरीमा पनि तैरिरहे, ठीक दिशा पक्रिरहे । नेपालले पनि दार्जीलिङबाट थुप्रै कुरा लियो । धेरै प्रतिभा निम्त्याएर यहाँको न्याय, भाषा, साहित्य, संगीत र कलाको जग बसायो ।
भारतमा भाषा प्रयोगमा विवाद थिएन । यता नेपाल देशमा केही वर्ष अघिदेखि शिष्ट लेख्य परम्परा भत्काउने उद्योग चलेपछि उतातिर त्यसको छार्कोले हिर्काउन थाल्यो र त्यता पनि ठूलो चिन्ता बढेको देख्न पाइन्छ ।
नेसास शताब्दी पूरा गरेको केवल एक साहित्यिक प्रकाशन होइन । शिलाङ, बनारस, आसाम, देहरादून, दिल्ली, हिमाञ्चल सबैतिरका जोड्दा एक सय प्रकाशन प्रयत्न नाघे हुन् । यी कुरा उदयमणि प्रधान, डा. नरेशचन्द्र खाती, र डा. मोहनप्रसाद दाहाल जस्ता तीन समर्पित विद्वानका लेखले प्रष्ट पारेका छन् । मिरिकका श्री राजबहादुर राईको लेखांश यहाँ साभार गर्दछु :
नेपाली भाषा–साहित्यको उत्थान गर्नमा यस पत्रिकाको ठूलो भूमिका रहेको छ । नेपाली भाषालाई सरकारी भाषाका रूपमा मान्यता दिलाउने तथा दिल्ली साहित्य अकादेमीबाट मान्यता दिलाउनेजस्ता कार्यहरूका साथै संवैधानिक मान्यता दिलाउने काममा पनि नेपाली साहित्य सम्मेलनको प्रमुख भूमिका रहेको छ । नेपाली साहित्य सम्मेलन भारतीय नेपालीहरूका भाषा–साहित्य विषयक पहिलो खुड्किलो हो भन्ने भनाइ छ । यस संस्थाका प्रमुख संस्थापकहरूमा सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा, पारसमणि प्रधान, हरिप्रसाद प्रधान, मोतीचन्द प्रधान, हस्तलाल गिरी, शेषमणि प्रधान आदि हुन् । भाषा र साहित्यको उन्नतिबिना जातिको उन्नति हुँदैन भन्ने उच्च विचारको प्रेरणास्वरूप नै यो संस्थाको स्थापना भएको थियो । यसै संस्थाको नेतृत्वमा सन् १९४९ मा दार्जीलिङको चौरस्तामा नेपाली जातीय एकताका प्रतीक स्वरूप आदिकवि भानुभक्त आचार्यको प्रतिमा स्थापित गरियो । (दियालो पृ. ३०)
केही नेपाली विद्वानहरू प्रचलित ध्वनि, अक्षर, लिपि, शब्द सबै कुराको स्थापित आदर्श–परम्परा भत्कार (संयुक्ताक्षर अन्त्य गरेर) भाषालाई कुरूप बनाउने उद्योगमा लागे । त्यस बेला संविधानले पनि भाषाको रक्षा गर्न सकेन । भारतमा भने संविधानले नै देवनागरी लिपिको रक्षा गरेको रहेछ र त्यहाँ प्रयुक्त भाषाहरूमध्ये प्राचीनताको रक्षा गर्ने, लिपि, अक्षर, ध्वनि जोगाउने, लामो इतिहास भएकालाई शास्त्रीय भाषा (क्लासिकल ल्याङ्गुएज) को सम्मान दिने निर्णय सन् २००४ मा गरेको रहेछ । नेपालमा सारा संयुक्ताक्षर नै निर्मूल पार्ने उद्योग हुन गयो । यही चिन्तामा दार्जेलिङका विद्वान गोकुल सिन्हाले लेखेको देवनागरी लिपि तथा नेपाली वर्ण र वर्तनी (२०२४) शीर्षक प्रकाशनमा यो चिन्ता प्रकट गर्नुभएको छ—
नेपाली भाषाले पनि अक्षरको यही गरिमामय इतिहास बोकेर आज यहाँसम्म आई नेपाली भाषीहरूलाई गौरवान्वित तुल्याएको छ । देवनागरी लिपि नेपाली भाषाले विरासतमा पाएको अमूल्य निधि हो । यसको समुचित संरक्षण र सदुपयोग गर्नु हाम्रो कर्तव्य हुन्छ । भारतको संविधान ३४१ (१)– ले भारतको सरकारी लिपि देवनागरी अनि अङ्क, भारतीय अङ्कको अन्तर्राष्ट्रिय रूप हुनेछ भनेर भनेको छ । भारतीयहरूले, विशेष देवनागरी लिपि लेख्नेहरूले यस विधानलाई राष्ट्रको हितमा एकताको प्रतीक मान्छन् । मानव संसाधन विकास मन्त्रालय अन्तर्गतका हिन्दी निदेशालय विभागले तथा स्वायत्त शासित साहित्य अकादेमीले देवनागरी लिपिलाई मान्यता दिँदछ । (दियालो पृ. २)
भाषा सबै आधार लिपि भाषाको आधार भएकाले गोकुल सिन्हाको भाषा विषयक उक्ति मननीय छ : दण्डीले आफ्नो काव्यादर्शमा भनेकै पनि छन्– ‘संसारमा भाषारूपी ज्योति नभएको भए सारा संसार अन्धकारमय हुने थियो’ । अतः भाषा मानव प्राणीको बाहिरी आँखा, भित्री आँखा दुवै हो ।
सन् २०२२ मा पाली साहित्य सम्मेलनद्वारा प्रकाशित ‘भारतीय नेपाली भाषामा वर्तनीको आवश्यकता‘– डा. जीवन नामढुंग, प्रेम प्रधान, डा. चन्द्रकुमार राई, डा. वीणा हाङ्गखिम, गोपीचन्द्र प्रधान, मेघमणि दाहाल नेपाली भाषाको वर्तनीमा एकरूपता ल्याउने प्रयासमा माइलखुट्टी साबित भएको छ।
दियालोमा प्रकाशित धेरै जसो लेख साहित्य सम्मेलनका विविध योगदानका पाटा र पक्षको दर्पण रहेछन्, जस्तै— डा. इन्द्रबहादुर छेत्रीले अनुवादको पाटो हेरेका छन्, केदार गुरुङले नेसास भन्दा अघिदेखि गरिएका भाषिक प्रयत्नहरू जोड्दै सन् १९२५ सम्मको विवरण प्रस्तुत गरेका छन् । तर नेसासेले नै सर्वव्यापी र दीर्घजीवी हुनु रहेछ । केदार गुरुङले त्यो कुरा यसरी भनेका छन्—
यद्यपि ती सबै संघसंस्थाहरूमध्ये दार्जीलिङको ‘नेपाली साहित्य सम्मेलन’ सबैभन्दा सशक्त, सक्रिय, विद्वतवर्ग तथा कार्यकर्ताहरूद्वारा सञ्चालित भएकाले शुरूमै नेपाली भाषाको मान्यता प्राथमिकदेखि विश्वविद्यालयसम्म पढ्न र पढाउने शिक्षक, प्राध्यापकहरूको नियुक्ति विषयमा मान्यता दिलाउने र पाठ्यपुस्तकहरू तयार गर्ने र प्रकाश गर्ने प्रमुख कार्यहरू गरेको छ । (दियालो पृ. ७४)
हरियाणाबाट उदय ठाकुरले उत्तर पश्चिमाञ्चलको नेपाली लोक साहित्य शीर्षकमा कस्तो दुर्लभ अध्ययन सार राखेका । यतातिर मित्रसेनको स्मरण गर्दछन् उनी उताका लोकजीवनका आधार स्तम्भ थिए । अर्को लेखमा भवानी अधिकारीले मणिपुरको नेपाली भाषा–साहित्यको स्थिति चित्र प्रस्तुत गरेका छन् । अर्का अनुसन्धाता जे के बराइलीको अध्ययन कस्तो गहिरो र नौलो लाग्यो— दिल्लीमा नेपाली साहित्यिक गतिविधिको इतिहास : एक अध्ययन । त्यहाँ सन् १९५९ मा नेपाली सम्मेलन दिल्लीको स्थापना भए पश्चात् आजसम्म कत्रा काम भएका रहेछन् । म अनभिज्ञ थिएँ । त्यसैगरी डुवर्सको नेपाली साहित्य विषयमा बद्रीनारायण प्रधानसँग केहीको मात्र नाम सम्झिन्थें ।
मैले यी वृत्तान्त प्रस्तुत गरेको कारण के हो भने नेपाली जातिका सम्पूर्ण कर्महरू आफ्नो भाषा जोगाउने; यसको मूल्यवान् परम्पराको रक्षा गर्ने, त्यस मार्फत शिक्षा र चेतना भर्ने, जातीय एकता जोडेर विशाल राष्ट्रिय फूलबारीमा चिनिन सक्ने बनाउनु थियो । सुधपाले रोपेको चेतना–वीज त्यही थियो । अहिलेका नेसासका मूल सचिव महेन्द्रकुमार प्रधानको प्रकाशकीय मन्तव्यमा त्यही भावको सार छ :
दियालो प्रकाशन एक शताब्दीको उज्यालो यात्राको साक्षी हो । आज हामी नेपाली साहित्य सम्मेलन स्थापनाको १ सय १ वर्षलाई शतवार्षिकीकै रूपमा मनाइरहेका छौँ । यस महत् अवसरमा प्रकाशनमा आइरहेको दियालो केवल एउटा पत्रिकाको इतिहास होइन तर नेपाली साहित्य, समाज र चेतनाको यात्रालाई अग्रसर गराउने एउटा अभियान हो । (दियालो पृ. २१४)
यसरी दार्जेलिङ पहाडले दियालो बालेर धेरै प्रकारका उज्यालाहरू देखाउने लक्ष राखेको थियो, आआफ्ना क्षमताअनुसार बले— पादरी गंगाप्रसाद, टर्नर, टर्नबुल, इटन, हाम्रा सुधपा, उहाँहरूका अग्रणी र अनुयायीहरू, स्कूल कलेज विश्वविद्यालयसम्म नेपाली, एकेडेमी र संविधानसम्म नेपाली । त्यत्रो महादेशमा । सानो निर्मित होइन यो अमर प्राचीर वरिपरि ।
यसमा मुख्य चिन्ता ता भाषा बचाउनु थियो, चिनाउनु थियो । यसै बीचमा सम्पूर्ण भारतीय नेपाली साहित्य उत्कर्षतिर चढ्दै गर्दा यता नेपाली विद्वानहरूले विध्वंशक बाढी खोले, वितण्डा मच्चाए । नेपालीको संस्कृतसँग नाता छैन भने, संयुक्ताक्षर भाँचे, भाषा बारम्बार भत्काइरहनुपर्छ र यसलाई बोलीचालीमा झार्नुपर्छ भने, जोड्ने फुकाल्ने आफ्ना नियम बलात् लागू गर्नै थाले । यसका अग्रणी प्रा. हेमाङ्गराज अधिकारीले विश्वविद्यालयदेखिका नेपाली विभागहरू कब्जामा लिए, परीक्षा र पाठ्यक्रम भत्काए, प्राविदेखि विद्यावारिधि सम्मको स्थिर भइसकेको भाषा–भवन भत्काए र त्यसपछि एकेडेमी समेत कब्जामा लिएर उत्पात गरे ।
अघिल्ला यात्राहरूमा जाँदा पूर्वाञ्चल (आसाम, शिलाङ, मणिपुर) तिरका स्रष्टाहरूले नेपालबाट उठान गरिएका कुतर्कले बल्ल बल्ल स्थिर हुन लागेको नेपाली भाषा–साहित्यमा ठूलो दुष्प्रभाव खनिने चिन्ता प्रकट गरेका थिए । सम्पूर्ण भारतीय परिवेशलाई समेट्तै एक वृहत् शब्दकोश निर्माण गर्ने निर्णयमा तीनदिने गुवाहाटी सम्मेलन टुङ्गिएको थियो । त्यसको संयोजकमा दार्जीलिङका विद्वान प्रा. गोकुल सिन्हा हुनु भएकाले सबै ढुक्क थिए किनभने उहाँले नयाँसित सम्झौता नगर्ने प्रतिज्ञा गर्नु भएको थियो । यसपालिको दार्जीलिङ भेटमा उहाँले देवनागरी लिपि तथा नेपाली वर्ण र वर्तनी शीर्षक पुस्तिका उपहार दिनुभयो । यसमा नेपालमा देवनागरी लिपि भत्काउने कर्ममा समर्पित व्यक्तिहरूतर्फ संकेत गर्दै लेख्नुभएको छ ! नेपाली वैयाकरणका नव अभियान विरुद्ध अर्का विद्वानको एक शक्तिशाली लेख पनि दियालोले छापेको छ त्यो हो— कालेबुङका पं. गम्भीर राई “अग्निहोत्री”को देवनागरी लिपि शास्त्रीय परिपूर्ण अनि वैज्ञानिक सिद्ध ।
नेपालबाट चलेको आँधिले उडाएको धूलो–मैलो उतासम्म नपुगोस् भनी दियालोले एक नियमावली तयार पारी त्यसैमा छपाएको छ । पृृ. १८५ मा प्रकाशित पहिलो नियम छ : पञ्चमवर्णका नियमलाई पालन गरिएका रचनालाई मात्र प्रकाशनार्थ मान्यता दिइनेछ ।” यति मात्र सचेतताले कत्रो काम गर्दछ ! तर यो एक शताव्दीको अन्त्यमा नेपालका कर्मले उठाएको चिन्ता हो । हामी आफू, धूलो भयौं र छिमेकीहरूलाई आआफ्ना कोठेबारीमा घोचा–घारा तेर्छ्याउन सचेत गरायौं । यहाँ जस्तरी होइन उतातिर ता बडो मुश्किलले जोगाएको नेपाली बिरुवा हो । नेपालमा जस्तो होइन उताका स्रष्टाले संविधानले मानेका २२ भाषाभाषीका हारमा उभिने क्षमता कसरी निर्माण गरे होलान् ! तर उता संविधानले लिपिको समेत रक्षा गरिदिएर ‘क्लासिकल‘ भाषाको विशेषतायुक्त प्रावधान बनाइदिए । त्यो राष्ट्रिय सम्पदा भयो । हाम्रामा भने भाषा अति अरक्षित तत्व रहेछ र जसले पनि प्रहार गर्न सके ।
भाषाको चिन्ता आफूभित्र छ भने साहित्यको चिन्ता अरूको सामु उभिने बेलामा प्रकट हुन्छ । मेरा भाषाका आख्यान कस्ता भए, कविता, नाटक, कथा, निबन्ध, विचार–दर्शन कुन कोटीका होलान् ? अन्य भाषा–साहित्यको सामुन्ने म कुन कृतिमा, कुन स्रष्टामा गौरव गर्न सकुँला भन्ने यस्ता चिन्ताले भर्खर उठ्न खोजिरहेको नेपाली साहित्यको मनमा एक हीनताबोध पनि उब्जिरहन्छ ।
तर नेपालको नेपाली भाषा–साहित्यलाई कुनै चिन्ता छैन, एक्लै दौडिएर सधैं प्रथम हुनु मात्र हो । भारतीय नेपालीको चिन्ता र उत्तरदायित्व बोधले उठाएका चिन्ता डा. जीवन नाम्दुंगका शब्दमा सुनौं—
प्रत्येक भारतीय साहित्यका चयनित रचनाहरूलाई लिएर ‘रचना सञ्चयन’ को प्रकाशन शुरू गरेको छ । यसो गर्नाले प्रत्येक भाषाका साहित्यकारहरूका राम्रा शीर्षकको साहित्य शृङ्खला (Series) को रचनाहरू हराएर जाँदैनन् अनि ती रचनासित त्यस भाषाका लेखक पनि बाँचिरहन्छन् । साहित्य र साहित्यकारहरूलाई बचाउने यो एउटा अनुकरणीय पदक्षेप सर्वभारतीय साहित्यमा नै अहिले ज्यादै लोकप्रिय बन्दै गइरहेछ । पत्रिकाले लेखक जन्माउँछन्, प्रेरणा पनि दिन्छन्, धेरथोर पारिश्रमिक पनि दिन्छन्, तर पत्रिकाले पुस्तक प्रकाशित गरिदिँदैनन् । पुस्तक प्रकाशित नभएपछि जस्तै राम्रा, प्रतिभाशाली र लगनशील लेखकहरू पनि बिलाएर जान्छन् । हाम्रो साहित्यमा यस्ता अनेक उदाहरण छन् (सम्पादकीय) ।
यस्तो गम्भीर चिन्ता लिने र सम्पूर्ण जाति एवम् भाषालाई अद्यतन (अपडेट) गर्दै अरूका गति हेर्दै आफ्ना बढाउने चिन्ता बोक्ने विद्वान हुनुहुन्छ— डा. जीवन ताम्दुङ । उहाँको अभिभावकीय भूमिका सानो छैन ।
फेरि साहित्य लेख्ने वा लेखाइने सिद्धान्त पनि सदा एकै रहन्न । हाम्रो देशमा भने जड सूत्रताका पुजारी अधिक भएकाले गर्दा साहित्यलाई राजनीतिक पार्टीले चलाएको छ । यहाँको धेरै साहित्य संरचनावादी र स्थिर छ । यस्तो स्थितिका स्रष्टा र सिर्जना सबै पुतली मात्र हुन्छन् । त्यो जडत्वजन्य पीडा सम्झेर म उनै डा. नाम्दुंगलाई पुनः उद्धरण गर्दछु—
‘दियालो’ प्रकाशन एक शताब्दीको उज्यालो यात्राको साक्षी हो । आज हामी नेपाली साहित्य सम्मेलन स्थापनाको १०१ वर्षलाई शतवार्षिकीकै रूपमा मनाइरहेका छौँ । यस महत् अवसरमा प्रकाशनमा आइरहेको ’दियालो’ केवल एउटा पत्रिकाको इतिहास होइन तर नेपाली साहित्य, समाज र चेतनाको यात्रालाई अग्रसर गराउने एउटा अभियान पनि हो । (सम्पादकीय क)
जय नेपाली भाषा, जय नेपाली साहित्य ! जय नेपाली साहित्य सम्मेलन !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

