५ वैशाख २०७७ (२० अप्रिल २०२०)

आज अलिकति ढिला उठियो ४ः४५ भैसकेछ । त्यस्तै हो शरीरले सुत्ने इच्छा ग¥यो भने त्यसमा छूट छ । माथि चढ्दा कौसीमा एकछिन उभिएँ । व्यापक शितलता छ, जाडो नमिसिएको । वरिपरि तीनै घरमा परेवा घुरिरहेका छन् । एक घर सामुन्नेको ता बन्द छ केसीजी चितवन गएकोबेला छ । सडक बत्ती एक दुई छन् । आकाशबत्ती सबै नै भिनेका । पानी वर्षा बिर्बिराएर रोकिएको बेला परेछ । तयारी गरेर बसेँ । त्यो भन्दा पहिले हिजोको श्रीलङ्का यात्राथन्क्याएँ । ५९ पृष्ठ पढिसकेको मलाई ढुक्क भो । छोटो सानो पुस्तक आउने छ ठिक्कको । यात्रा नै छोटो थियो एकै हप्ताको । तर यो मेरो सुन्दर यात्रामध्ये एक हो ।

अब आज ठूलो योजना छैन । कोरोना विषयका एकदुइ लेख रचना रकेही सूचना पर्खिन्छु अनि आजदेखि भीमनिधि तिवारीका कथा आरम्भ गर्दछु । म भीमनिधि तिवारी साहित्य समितिको अध्यक्ष पनि भएको नाताले यति काम गर्नु छ । डा. बेञ्जु शर्माले यति सुम्पेको धेरै भो— १२ कथा छन् । तिनको अनुवाद पनि एक जना रिमाल थरका विद्वान्ले गरेका रहेछन् । एकपल्ट सम्पादन गरेर छाप्ता मेरो पनि नाम र काम हुन्छ ।

हिजो बेलुका पढेर शुद्ध गरेँ रे ब्राडबरीको मेरो अन्तिम अन्तर्वार्ता । त्यसमा भनेका छन्— लेखकले पैसा नहेर्नू, नसोच्नु, प्राप्तिको आशा नराख्नू । पैसा तिनलाई हो जो समाप्त हुन चाहन्छन् । लेखक अमर कर्म गर्न चाहन्छ जसमा पैसाको कुनैसम्बन्ध रहँदैन । यो अन्तर्वार्ताले मेरो बाँकी लेखकीय जीवनलाई मार्ग–दर्शन गराउने छ ।

अलिकति स्याउ चाना ठीक पारेर र एक मग चिया रितयाएँ । अलिकति चिसो बतास भित्रै पस्न खोज्दैछ झ्याल खोलेपछि त्यस्तै हुन्छ । आफ्नो आसन पछिल्तिर ठूलो सिसा झ्याल छ । यो स्वच्छ बिहानको अप्रदूषित काठमाडौँ हेर्न मन लागेर पनि खोलेको थिएँ । चिसो बतासले पनि लुक्ने ठाउँ पत्ता लाउने रहेछ । त्यसैले पुलोभर नामको मनपर्ने ज्याकेट लगाएँ, ढाका टोपी लगाएँ र श्रीलङ्कन लुङ्गी सम्हालेर पलेँटी कसेँ, टेबल माथि अलिकति निहुरेँ । कोरोना आतङ्कले गर्दा मेरा कलम चाँडैसिद्धिन्छन् होला । मलाई सधैँ सधैँ चाहिएजति डायरी उपहार गर्ने मेरा भाइ माधव पनि कति टाढा छन्— मैतीदेवी ज्ञानेश्वर पुग्न लाग्ला डेढघण्टा । त्यति मात्र के थियो रित्ता बाटामा हिँडिन्थ्यो । जन्तरी आमाकोपनि दर्शन पाइन्थ्यो तर प्रत्येक दिन पुलिसले डण्डा लगाएको खबर छापिँदैछ ।

हिजो त मर्निङ वाक गर्नेलाई बाटामा कुखुरा बनाएको अस्तिको दिन गोलो घेरा (होल्डलिङ सेन्टर) मा दुईघण्टा उभ्याएको पनि सचित्र खबर आएको छ ।

ठिकै छ, पुलिसले गर्ने शान्ति र सुरक्षाको उपाय हो । प्रत्येक व्यक्तिको सुख सुविधा समस्या हेर्न लाग्दा समुदायमाथि अन्याय हुन्छ । यस्तो बेला कडाइ नै चाहिन्छ । कस्तो संकट कोरोना रोक्ने जिम्मा पुलिसकै छ ।

यति पुग्दा ऋचा डीसीबाट छोरीको मेसेञ्जर आयो— बुबा त्यो अस्तिको कोरोना डायरीमा प्रकाशित कविताबारे आज यहाँ एउटा न्यूज आएको छ, त्यो पठाएकी छु । त्यसकी स्रष्टा किटी ओमारा होइन; क्याथलिन ओमाराकै हो भन्ने छ ।
मैले अस्ति पनि उल्लेख ता गरेको छु, यस्तरी यो कविता विवादित छ, भनी । तर अब यसलाई निर्विवाद बनाउन सकिएला, म हेर्छु ।

‘हओस्’ भन्दै छोरी अदृश्य भएपछि मैले अट्याचमेन्ट खोलेँ । त्यसमा विवादको कुरा छः तथ्य कि आख्यानः अनि मानिस घरै बसे शीर्षक कविता भाइरल भयो यो क्याथलिन ओमाराको होइन, किटी ओमिराको हो ।

अनि मानिस घरै बसे— यो एउटा शीर्षकविहीन कविताको शुरुको पङ्क्ति हो । जुन कविता आज विश्वमा भाइरल बनेको छ । आजका सोसल मिडियाले दशौँ हजारको संख्यामा शेयर गरेका छन् कारण “यो क्याथलिन ओमाराद्वारा सन् १८६९ मा रचित कविताकै सन् १९१९ को महाव्याधिमा पुनर्मुद्रित संस्करण हो,” भन्ने कुराले उनीहरु छोइएका छन् । तर हाम्रो डिजिटल वार्प स्पीड हाइवेज्मा पुगेका अनेक कुरा झैँ; तपाईंंले इन्टर्नेटमा पढेका प्रत्येक कुरामाथि विश्वास नगर्नु होला ।
यसमा सत्यता के छ भने — यो प्रायः भनिएझैँ इतिहास आफैँ दोहोरिएको कुरा होइन (कविताको केही भाषाले त्यस असम्भावनालाई पुष्टि गर्छ) ।

यो कविता अघिल्लो महीना मात्रै लेखिएको थियो । (मार्च २०२० म) किटी ओमीरा नामक महिलाद्वारा । उनी विस्किन्सिनकी एक भूतपूर्व शिक्षिका साथै च्यापलेन पनि हुन् । यसपालि डरलाग्दो हुन थालेको कोरोना भाइरसको व्याप्ति देखेर उनले सो रचेकी थिइन् । त्यसो भएपनि यसको सेन्टिमेन्ट र सन्देश चाहिँ त्यत्तिकै व्यापक छ जसलाई गोप्यरुपले एक शताब्दीभन्दा पुरानो रचनाबाट पुन उद्भव गरिएको जस्तो लाग्छ ।

यो डायरी मेरो इच्छामा चल्ने कुरा हो । एउटा स्रष्टाले यतिबेरको जगत्लाई के कस्तो देख्छ त्यसको सानो झलक हो । सबै ता कोरोनामय छैन त्यसतिर पत्रकार बन्धुहरुले धेरै निरन्तर कठिन कम गरेका छन् । उनीहरुको मुख्य उद्देश्य छ यतिबेलाका विकृति विसंगति अझ दुःखीजनले भोगेका कष्ट र अत्याचारहरुतर्फ शासकको ध्यानाकर्षित गर्नु । यो समयको कष्ट र भय ता अवर्णनीय छ । दिनदिनको अखबारमा छ । म यस डायरीमा ता तिनै कुरा लेख्न चाहन्छु जो दिनभरि आइरहन्छन् जुन कुरा र कामले मलाई छोपिरहन्छन् ।

यता देशको कुरा गर्दा काठमाडौँ छोडेर आफ्ना ठाउँहरु जाने (फर्किने) जनताले धेरै दुःख पाएका छन् । त्यस्तालाई पनि पिट्नु भन्ने आदेश माथिबाट आउँछ ? पुलिस आर्मीको यो क्रूर पक्षले उनीहरु अमानवीय हुन्छन् भन्ने जनाउँछ यद्यपि यो उनीहरुको इच्छा होइन राजनीति गर्ने नेतृत्वको मूर्खता हो । उनीहरु छेलिन्छन्, उनीहरुलाई ठोक्न लगाउँछन् । जब विरोध आउछ,पुलिसले ग¥यो भन्छन् ।

मानिस भारीसँग, नानी झोलासँग वनको बाटो भाग्दैछन् उता पुलिसद्वारा छेकारो मारिएका देखिन्छन् । अब यो संकटको अन्त्य छैन, जसरी पनि घर पुगौँ भन्ने हुन्छ होला सोझा मनमा । त्यसो त यो नयाँ उत्पादित सोच हो । यसको आनिबानी थाहा छैन । आजैको पत्रिकामा देखियो जाँचेको २४ दिन पछि रोग देखियो । त्यसो भए कहिले अन्त्य हुन्छ ? अहिले कसैले भन्न सक्तैन त्यसैले योसँग भिड्नेभएर कतिपय डाक्टर स्वास्थ्यकर्मीले नै जीवन गुमाएका खबर आउन थालेका छन् । वनका बाटामा पुगेका कतिदिन हिँड्ने अठोट गरेका मानिस फर्काइएका, बाटाबाटै भोकभोकै सुतेका हृदयविदारक दृश्य छन् । आर्मी पुलिशका गाडीमा हालेर त्यहाँदेखि अर्कै ठाउँठाउँ पु¥याइदिँदा के हुन्छ ? त्यसैले हो आजको भिडियो क्लिपमा ती चित्रहरु आएका छन् । कतै सयौँ मानिसलाई बाटैमा रोटी बाँडेका, धेरै ता फिर्काइएर अभर परेका, तिनको चित्र र अमर गीत छः (गाई त बाँध्यो चमेली) घन्किन्छः

गाई त बाँध्यो ढुंग्रोमा मोइ छैन मोइ छैन
गरीबको चमेली बोल्दिने कोइ छैन
गरीबको बोल्दिने कोइ छैन कोइ छैन
गरीबको चमेली ……..
रातो भाले धुरीमा करायो करायो
गरीबको चमेली निसापै हरायो
गरीबको निसाफै हरायो हरायो
गरीबको……

यस्तै गर्दै थिएँ । उज्यालो छ्याङ्ग फाट्यो । घरमा भाइ खगेन्द्रलाई देखेँ र बोलाएँ, के कसो गर्दैछौ भाइ दमकमा ? चराहरु गाएको सुन्छु नि भाइ?

ऐले त रात दिन दाजु यो कुञ्जमा हरेक प्रकारका चराको गाना छ, चौबीसै घण्टा ।

मैले सम्झेँ— यतिबेला आमा भेट्न जानेबेला भएको थियो । नित्य उहाँकै सम्झना लिएर यता बसेका छौँ । उहाँ नहुँदाको महाशून्यमा धन्य ती चराचुरुङ्गी आमा नहुँदा पनि त्यसैगरी नाचिरहेका, गाइरहेका छन् । तीन महीना हुन लाग्यो । वसन्तमा घरवरिपरिका वृक्ष झ्याम्मै भए होलान् । आमा नभए पनि त्यहाँ पुगेर उहाँले टेकेको भूमिको श्पर्श गर्न मन कति आतुर छ । कहिले सामान्य हुन्छ र त्यसो गर्नू ? शायद आमालाई सम्झेर ती चराले गाएका होलान् ?

तर हामीले ती भोक तिर्खाले व्याकुल भएका श्रमिक नरनारीझैँ भएर कतै फाल हान्नु पर्दैन, सुरक्षा दिने घर छ सबै दाजु भाइका ठाउँ–ठाउँमा, काठमाडौँ, धादिङ विराटनगर, पहाड, भोटाङ, अष्ट्रेलिया, अमृका जहाँ गए पनि ।

अनि के गर्दैछौ?

आज बिहान कटहर तरकारी बाँड्यौँ । आफ्ना रुखका

कहाँ कहाँ ?

यता दाजु र तल दिदीको परिवार आफूखुसी लानू होला भनेका छौँ । अरु मास्तिर राम सुब्बा, सुब्बेनी काकी अगाडि भाइ र गौतम मामालाई एकएक दाना दियौँ ।

कति राम्रो यसै गर्नू । गाउँ भनेको सत्ययुग बसेको ठाउँ हो ।

हामीलाई पनि ल्याइदिन्छन्— कैले गौतम मामा, कहिले सुब्बेनी काकी, कैले अगाडि सुब्बा, उता लामिछाने बा… बन्दा, लौका, साग जे फल्ट त्यही ।

मेरो मन प्रशन्न भो र भनेँ— आमाको आशीर्वाद भनेको यही हो भाइ । आमाले जसरी इष्टमित्र राखेर बस्नुभो आज तिमीहरुसितै रहेछन् तिनीहरु सबै । प्राचीन प्रेम र आदान प्रदानको इतिहास निरन्तर भएको हो यो । सम्झेर ल्याउँदा उफ्रेर घर आउँ र सधैँ त्यहीँ बसौँ हुन्छ मन दमकमै तर मलाई केका केका साङ्लाले कसेको छ यो काठमाडौँमा ग्रीसेली भीरमा सिसिफसलाई झैँ ।

एकैछिनमा अमेरिकाबाट अन्तरे भाइ नारायणको भाइबर आयो ।

कस्तो भाइ हिजो गरेको थिएँ, टिपेन ।

म हिजो बाटैमा रहेछ दाजु, आज सम्झेर गर्दैछु; के कस्तो छ दाजु ?

यता राम्रो छ भाइ ।

आफ्नो स्टोर नित्य खोल्नै पर्छ । यताको एरियामा लकडाउन छैन ।

नानीहरु के कसो छन ?

सबै सञ्चैछन्, घरैमा । अब विश्व स्वास्थ्य संगठनले भनेको सुनियो— सन २०२४ सम्म यो रहन्छ अरे । यहाँबाट यो साम्य हुनासाथ अमेरिका छोेडेर म आइहाल्छु, आफ्नै ठाउँमा बस्ने दाजु ।

मरे पनि आफ्नो देश भनेको स्वर्ग हो बाँचे पनि स्वर्ग हो ।

हो दाजु म सारा छोडेर आउँछु ।

यता सारा स्वजन बाँचेकै छौँ ।

त्यति सक्ता घरबाट माल्दाइको एक मेसेञ्जर आयो घरबाट भिडियो कल ।

के कसो छ दाजु ? हिजो बोल्ने चेष्टा गरेँ, हुरीबतासले बाधा गर्यो।

दाजुले सोफामाथि एउटा गाग्रो जत्रै सेता तरुल देखाउँदै बोल्नुभो— तिमीहरु आइपुग्छौ भनेर यो बेलैमा (नखनी) राखेँ तर नयाँ टुसा पलाउने बेला भो, आउने कहिले हो, बिग्रेला भनेर खनेँ आज ।

मेरो मन भरिएर आयो । बा यसै गर्नुहुन्थ्यो । आमा यसै गर्नुहुन्थ्यो । बाहिरबाट छोरा आउलान्, छोरी आउलान र तरुल खनौला, आँप टिपौँला, लिची टिपौँला, मकै चढाउँला, बिगौती खाउँला… त्यो प्रेम र स्नेह दाजुमा पनि सरेछ । जान पाए हुने तर मलाई कुन साङ्लाले बाँधेर लडाएको छ यहाँ, यो काठमाडौँको भीरमा । अनादिकालमा ग्रीसेली पहरामा फलामे साङ्लाले बाँधिएको प्रमिथसझैँ ।

आमामा… यो पोहोर हामीले खाएकै होइन र दाजु ?

हो नि त्यही सेतो जाँते हो । कम्ती मीठो छैन ।

कत्रो रहेछ नि दाइ ?

कम्तीमा दश किलो होला; आफ्नै गर्डेनमा रोपेको

तर

अहिले आइएला जस्तो छैन, बिग्रेला भनेर खनेको । अलिकति पर्तिर भाइलाई अकिलति तल बैनीलाई बाँडेर रहेको । अझै यत्रो ।

सम्झेँ, जति प्रेम सद्भाव हार्दिकता गाउँमै घरमै छुटेछ । प्रकृति पनि उतै छुटिछन् ।

कोरोनाको भयले खुम्चिँदै एक पल्ट तथ्याङ्क पल्टाएँ— विश्वका कुल कोरोना केश— के कति भएछन्
कुल केश २१ लाख
मृत्यु— १ लाख ४७ हजार
निको भएका — ५ लाख
चलिरहेका केश— १४ लाख
बन्द भएका— ७ लाख

विश्वका कोरोना प्रभावित सात शीर्ष देश
१. अमेरिका— मृत्यु ३४ हजार
२. स्पेन— मृत्यु १९ हजार
३. इटाली — मृत्यु २२ हजार
४. फ्रान्स — मृत्यु १७ हजार
५. जर्मनी— मृत्यु ४ हजार
६. बेलायत— मृत्यु १३ हजार
७. चाइना— मृत्यु ४ हजार
८. नेपाल — भेटेका १६ जना मृत्यु (³) । यसो हुँदा निकै ढुक्क लाग्छ । फेरि भेटेपछि बिदा लिने थोरै र निका हुने धेरै देख्ताहुँदी पनि निकै ढुक्क लाग्छ । मानिसले सबै कुरा नबुझे पनि रोगबारे कुनै जानकारी खुलिनसके पनि एकान्तबास र सामाजिक दूरीलाई पालना गराएर धेरै जोगाएका छन्, विश्वको रक्षा गरेका छन् ।

तर जहाँको नागरिकलाई बिमार लागे पनि जहाँकोले मृत्युवरण गरे पनि ऊ यतिखेर हाम्रै परिवारको सदस्य हो । आज दिउँसो टेष्ट परीक्षणले पत्ता लाग्यो भने राति १२ बजे त्यो विश्वभर पुग्छ । संसार यति साझा छ । छिनछिनमा गुगलमा छिर्दै कहाँ कता मानिस आक्रान्त छन्, कहाँ कति जोगिँदै छन् । त्यो हेरिहरन्छौँ । किनकि यो एक ग्लोबल परिवार भइसकेको छ ।
मध्यदिन ढल्केपछि नौ मिनेट आराम गरेँ । ब्यूँझेपछि आफ्नै स्टोरको चिया उमालेँ विस्कुट दुईपाना निकाले र रिफ्रेश भएँ । त्यसपछि चार मिनेट जगिङ गरेँ र आसनमा बसेँ । बाहिर कौसीम निहुरेकी सेवा छोरीलाई सोधेँ— के गरेकी नानी ?
यो पेन्टिङ सिक्तै छु ।

अस्ति ट्याब्लेटमै गर्दै देखाएकी थिइन् आज ड्रोइङ पेपरमा । तर सेवा अलिक अन्तर्मुखी छन् सबै थाहा पाइन्न । के कति चित्रकला गरिन, कत पुगिन, कहाँ सिकिन् मलाई थाहा छैन । त्यतिबेला कलानिधिको एक रचना आइपुग्यो ।

कलानिधि दाहाल
वाचनः शिव त्रिपाठी

बस्ने यो घर ह्वैन केही सुजन हो भित्री बनाऊँ घर,
यो भन्दा गतिलो त्यता हुन गए हुन्छौँ सधैँ सुन्दर ।
माटोको भर हुन्न क्यै गरी सफा चिल्याऊ घोटी तर,
उस्तै फोहर हुन्छ क्यै पल यता बन्दैन यो सुन्दर ।।१ । ।

माझ्दै साफ विचारका बुरुसले गर्दा उज्यालो घर,
यी भित्री मनका दिवार जनका पार्दा हुने सुन्दर ।
काला बादलझैँ विचार मनका आकाशझैँ यो तन,
छोपी मात्र रहे यही छ सबको कालाग्नीको बन्धन।।२ ।।

पाश्चात्य जगत्को पनि एक कोरोना कविता सुन्न मन लाग्यो र खोज्दै जाँदा अ पोएम अबाउट कोरोनाभाइरस (कोरोना भाइरसको बारेमा एक कविता) शीर्षक रचना भेटियो । जसका स्रष्टा द्वय छन्— जोन वाकर र बोनी हिल्स । कविता यस्तो छः
लेख्नलाई अति उत्सुक बन्दै मैले यो कागज टिपेँ

यो फ्लुको बारेमा केही कुरा
यो सामान्य भाइरस हो भने यसले
हामीलाई टोइलेट्रि टिस्यू पेपरका लागि
छापामार्न प्रेरित गर्ने थिएनन् होला !
सुन्दैछु, नेताहरुले कठोर नियम लागू गरेका छन्
हाम्रा यात्रा र दैनन्दिन कर्महरुमा उनीहरुले
शाही कमिशन स्थापना गरेका छन्,
ठूलाठूला फिजिसियनसँग राय सल्लाह लिइरहेका छन्
तर आफैँ पनि कोरोनाभाइरस ता जाँदैन
अहिले उनीहरुले सारा हवाइअड्डा बन्द गरेका छन्
सम्पूर्ण आयात निषेध गरेका छन्
हात मिलाउने परम्परा प्रतिवन्धित छ !
उनीहरुले सार्वजनिक यातायात बन्द गरेका छन्
अनि फुटी फ्यानका खेलहरु बन्द गरेका छन्
त्यसैले यति बेला फुटबल खेलहरु रित्ता स्टाण्डसँग खेलिन्छ
यो संकट अझै पनि गहिरिन सक्छ
यद्यपि पेट्रोल झन् झन् सस्तो बन्दैछ ।
अब यहाँ परिपरि उत्सव मनाउने केही छैन
त्यकारण होसियार निर्दयी बूढी बाली काट्नेवालासित
जसै मृत्युको संख्या झन् माथि चढ्दैछ
अब तिमीलाई चाहिन्छ जस्तो लाग्छ भने स्वयम् एकान्तवासी बन
यो सम्पूर्ण नागरिकका निम्ति एक दुःखद स्थिति हो
अनि विशेषगरी बूढाबूढीका लागि यो ।
तर बढ्दो साफसफाइ र दुई हप्ताको एकान्तबासले
एक एक सुताइको राम्रो निद्राले हामीलाई केहीले छुनेछैन ।
(स्रोतः portenews.com)

वास्तवमा आज म अर्कै उद्देश्य पूरा गर्न चाहन्थेँ । त्यो हो भीमनिधि तिवारीका कथाको सम्पादन । कथा भन्नाले उनका चुनिएका कथाको रिमालज्यूले गरेका अंग्रेजी अनुवादको मूल्याङ्कन ।

भीमनिधि तिवारी (१९६८–२०३०) नेपाली साहित्यलाई आधुनिक कालमा अवतरण गराउने एक नाटककार, कवि र कथाकार हुन् । उनको योगदान तीनवटै क्षेत्रमा बराबरी छ । पुरानो एसएलसीमा उनको गरीब कविता पाठ्यक्रममा थियो, पछि बीए नेपालीमा सहनशीला सुशिला, सिद्धार्थ आदि नाटक परे ।

तर भीमनिधि पूरै प्रकाशमा आउन नपाएका केही ओझेलमा परेका श्रष्टा हुन् । किनभने उनका समकालीनमा महाकवि लक्ष्मीप्रसाद, लेखनाथ पौड्याल, बालकृष्ण सम जस्ता नेपाली साहित्यका उज्ज्वल नक्षत्रहरु चम्केको युग थियो ।

धेरै अघि भीमनिधिको जीवकालमै स्थापित एक संस्था छ, भीमनिधि तिवारी साहित्य समाज । यतिखेर म त्यसको अध्यक्ष छु । उनै भीमनिधि सुपत्री विदुषी कवि कथाकार डा. व्यञ्जु शर्मा यसकी महासचिव ।

कोठा विनाको संस्था छ । हामी झोलेहरूले बचाएको यो देशको शासनसत्तामा सधैँभरि साहित्य विरोधी नै आउँछन् । यसको महत्व नचिन्ने र यसलाई लगेर पार्टिको माला बनाइदिने व्यक्ति मात्र सत्तामा बस्छन् । वास्तवमा साहित्यकारलाई अयोग्य र साहित्यलाई एउटा व्यर्थको निरर्थक खेल ठान्ने मात्र व्यक्ति सत्तामा बसेका छन् । उनीहरुले कुनै ट्रष्टको लागि, साहित्यिक ग्रन्थ प्रकाशनको लागि अथवा साहित्यकारको संग्रहालय स्थापना गर्ने पक्षमा एक पैसा छुट्याउँदैनन् । विडम्वना छ । जाँदा भीक्षा माग्न गएजस्तो ठान्छन् । कुनै योजना बनाएपछि त्यस्ता मूढहरुका सामू बारम्बार जानु, निवेदन लेख्नु हात थाप्नु पनि व्यर्थ लाग्दछ । बीपी कोइराला जन्म शताब्दीदेखि मैले हारेको छु । हाम्रा देशका साहित्यकारहरु भिल्लका देशमा मणि हुन् । कि पार्टिका पुजारी नियुक्त हुनसके सबै आकाङ्क्षा पूरा हुन्छ । त्यसकारण हामीले हार्यौँ ।

त्यसो भए पनि भीमनिधिलाई अलिक प्रकाशनमा ल्याउन सकिन्छ कि भनी उनको एक संग्रह कथा छपायौँ, एकेडेमी मार्फत, सिद्धार्थ गौतम अनुवाद गरायौँ ।

बुद्ध भगवान्को देशमा त्यसको लागि पैसा जुटाउन सकिएन । सरकारले हाम्रा बिलौना सुन्छ तर केही गर्नु नपर्ने शर्तमा ।
भीमनिधि तिवारीका कथासंग्रहको नाम अनौठो, नेपाली संस्कृति सम्झाउने छ । त्यो संस्कृति आज लोप भइसक्यो । उनका समग्र कथा कर्मको नाम छ ‘सामाजिक कहानी’ जसका जेठो, माहिलो, साहिँलो, काहिँलो, राहिँलो, अन्तरे, जन्तरे, खन्तरे मन्तरे गरी जम्मा १२ भाग छन् । नेपाली सामाजिक कहानी निर्माणमा उनको कत्रो परियोजना थियो— जेठो अर्थात् पहिलो भाग प्रकाशित लेखककै भूमिका पढ्दा थाहा हुन्छ ।

उक्त पहिलो (जेठो) भाग विक्रम २०१४ सालमा छापिएको थियो । जसको पूरा विवरण यस प्रकार छ ः यो नमूना साहिँलो भागबट साभार गरेको छु । यो कृति २०१४ सालमा दोस्रो संस्करण प्रकाशनमा आएको रहेछ । त्यसबेला म चार वर्षको थिएँ । अझ पहिलो भागको प्रकाशन त वि.सं. २००८ साल रहेछ ।

यिनै भागहरुबाट छानेर चौधवटा कहानी श्री रिमालज्यूलाई अनुवाद गर्न दिइएको रहेछ । ती कथा हुन् ः

माहिलो भागबाट—दोषीकोअसारको पन्ध्र
मन्तरे भागबाट— अपराधी को ? रसान्त्वना
खन्तरे भागबाट—बालकको जन्म र अमर पुत्र
काहिँलो भागबाट— गाँजार नोकडाको बच्चा
राहिँलो भागबाट— महाराजको निगाह र रायो
ठाहिँलो भागबाट— जुत्तार ओस्ताज
अन्तरे भागबाट— खातावालको पूजा

आज मैले एउटा र आधी मात्र गर्न भ्याएँ । पहिलो कथा दोषीको ? पढ्दै भीमनिधि कथा लेख्ने परिकलित शक्ति र शिल्पको पूरा परचय प्राप्त हुन्छ । यो २००७ सालकै पृष्ठमूमिमा लेखिएको हुनुपर्छ । यसमा एक हवल्दारले नचिनेर आफ्नो छोरा मार्छ । तर कथाको संरचना र शिल्प ता मेरो विश्लेषणको विषय थिएन, मेरो विषय भनेको रिमालज्यूको अंग्रेजी अनुवादको स्तर कस्तो रहेछ र अनूदित कृति प्रकाशन योग्य छ छैन त्यो ठहर गर्नु थियो । पहिलो कथा राम्ररी अनूदित रहेछ यद्यपि बेलाबेला कुनै विन्दुमा आवश्यक शिल्पको अभाव देखिन्छ । त्यसैले पाँच छ ठाउँमा अनुवाद गरिसकेपछि अप्ठ्यारो लागेका शब्द र पदलाई विश्वस्त हुन नसकेको कुरालाई उनले कोष्ठकमा नेपाली समेत दिएका छन्, जस्तै
crunching (haram jharam)
lotus bt night (ratriko pbma)
यस्तो तरिका उनुपयुक्त मानिन्छ तर । यस्ता सांस्कृतिक अवधारण वा पदावलीलाई तल पाद टिप्पणीमा राख्नु पर्छ र माथि गतिशील पाठमा त्यो बाधा राख्नु हुँदैन; त्यसलाई बाधारहित प्रवाहमा लानु पर्छ ।

दोस्रो पाठ थियो— असार पन्ध्र । यसमा पनि त्यस्ता प्रकारका त्रुटिको आधिक्य ता छँदैछ त्यसमाथि अनेक सांस्कृतिक पदलाई कसरी बुझाइन्छ भन्ने थाह नभएर होला अति मुस्किल परेको देखिन्छ ‘कलेजो रेट्ने संगीत’को उपयुक्त समानार्थी नआएर त्यही छ, ‘मुस्तण्ड’को अंग्रेजी नआएर त्यही छ, त्यति मात्रै होइन धेरै लाइन छोडेर अनुवाद अघि बढाएका छन् । यस्ता सबै मिलाएर यसलाई पठनीय बनाउन ता मुश्किल पर्छ होला ।

अनुवाद गर्नुको तात्पर्य पाठलाई अर्काे भाषाको लिपिमा सार्नु मात्र होइन; लटपट्याएर अप्ठ्यारा ठाउँमा पाठकलाई एक्लै संघर्षमा डुबाउनु पनि होइन; त्यस पाठलाई जसरी पनि प्रस्ट समानार्थी तरिका खोजेर समतुल्यता स्थापित गर्नैपर्दछ । त्यसलाई सरल सहज पठनीय बनाउन सक्नु नै अनुवादको प्रथम परीक्षा हो । नत्र अनुवाद गर्नुको कुनै अर्थ हुँदैन ।
अब भोलि अरु कथा अनुवाद पढ्छु र अनुवादको सम्पादन गर्ने कि व्यर्थ जाने परिश्रमलाई जोगाउने निर्णय गरौँला ।
यति गर्दा समय सिद्धिएको थियो । फेरि एक कप चिया पानी बनाएँ, पिएँ । र आजको अध्याय समाप्त तल पारेर झरेँ । कलम डायरी त्यहीँ बसे टेबल छेउको ल्यापटप निभाएँ, बत्ती मारेँ र चप्पल टेकेँ ।