
२०७७ सालको दशैँ महासप्तमी (कार्तिक ७ गते)
सार्त्र निरन्तर
हिजो सन्ध्याकालमा विना छोरी हलुङ भएको खबर पठाए नानीहरुले लुना–सेवा उतै छन्, भाइ देवेन्द्र आएर आठबजे सबैलाई खाना लिएर गए, अञ्जनाले बनाइदिएकी थिइन् । एक प्रकार ढुक्क भयो । बिरामीहरू क्याविनमा सरेका छन् । मेरा पुराना विद्यर्थाी प्रा.डा. दानवबहादुर प्रतिपल सम्झेको छु । उनले यसपल्ट ठूलो गुन लगाए । प्रोफेसर भइसकेका दान एउटा विभागीय प्रमुख पनि हुन् । तुरुन्तै सानी चन्द्रमाको तस्वीर हेर्न पाएँ । ऋचाले के नाम जुराउने हो थाहा छैन ।
बिहानभरि लेखेर सात्रको विषयमा प्रथम निबन्ध पूरा गरेको थिएँ । खानापछि सोच्तैछु— अर्काे थालौँ । अब बिइंग एण्ड नोथिङनेसमा गहिरिनु छ ।
आज दशैँको कत्रो बढाइँ हुने दिन महासप्तमी । तर कहिल्यै नसोचेको दिन छ बाहिर । कोही आउने कुरा छैन, कतै जाने सम्भावना छैन । आफ्नो टेबलमा कलमकापीसँग निहुरेको छुु । आफ्नो मात्र केही थिएन तर जगत्ले जुन उमंगले यही दिन पर्खिरहन्थ्यो आज त्यो छैन । हिजो मात्र कोरोनाको कारण देशमा १६ जना बिदा भएको खबर आयो, कति हजार विरामी लडेका छन् । घर घरमा मृत्युको नाच चल्दो छ, मृत्यु भन्दा ठूलो स्वरमा भय व्याप्त छ त्यही चिच्याइरहेछ । सारा मौन कोलाहलका सहभागी छन् । प्रत्येक दिन थपिँदो छ । बजार कस्तो भयो होला, मन्दिर कस्ता, दशैँघर कस्ता, लिङ्गे पिङ रोटे पिङ कस्ता ? बिहानै उठेर मृत्युको गीत शीर्षक एक कविताको अनुवाद गरेँ जुन यसप्रकार छ
मृत्यु गीत (कोरोना भाइरस) डोनाल्ड ट्रम्प, बोरिस जोन्सन, जेयर बोल्सोनारोलाई समर्पित)
हे मृत्यु !
हामी तिमीलाई पिउँछौँ
यी आँखाले तिमीलाई पिउँछौँ
यी कानले पिउँछौँ
तिमीलाई दिनानुदिन पान गर्दछौँ
हे मृतक !
तिमीलाई ‘बिदा !’
भन्ने समय पनि रहेनछ
तिम्रा लागि चिहान खन्ने पनि समय रहेनछ
नेताहरुले बाटा पिच गरे
पाखण्ड र उत्पातको असत्यले ।
हे मृत्यु !
हामी तिमीलाई पिउँछौँ
यी आँखाले तिमीलाई पिउँछौँ
यी कानले पिउँछौँ
तिमीलाई दिनानुदिन पान गर्दछौँ
०००
इथाका ६५४, जर्मेन बुगेयन बू्रट
लेखक पौल सेलान, इटालियन
एकछिनमा अनीताले गरिन् गाउँबाट । मैले साधेँ कस्तो छ अनिता ?
अरु राम्रो छ दशैँमा सबै भेला भयौँ सर तर यो मन अलिक उदास छ । कहिलेदेखि मसँग खेल्दै हुर्केको पाठो आज बिदा गरिएको छ । खानेले खाउन् तर यो क्रूरता मलाई भने खपी नसक्नु हुन्छ । पशुप्राणीको हत्या गर्ने, अरुको प्राणको ख्याल नगर्ने मानिसले कस्तो परम्परा बनाएका ! म सबैतिर धमिलो अँध्यारो देख्तैछु सर आज मलालाई मात्र किन यस्तो भएको होला ।
आफूू पनि सम्झेँ— कस्तो उत्साही मांसहारी थिएँ । यतिबेला आएर त्यो पाप कसरी धुनुहोला जस्तो लाग्न थालेको छ । पिता पुर्खाले सिकाएको त्यो कला, गाउँलेले परिवारले सिकाएको कुरा उत्साहले पालना ग-यौँ । आमा नखाने, श्रीमती नखाने, एउटी छोरी नखाने । प्रत्येक परिवारमा यस्तै होला तर ती नखानेप्रतिको हिंसा कति भयावह थियो । त्यसको अलिकति पनि होस् नराखिँदो रहेछ । मदोमत्त भएको बेला घोर हिंसा पनि स्वीकार्य हुँदोरहेछ ।
अनिताको गहिरो अभ्यस्तहरुको परिवारसंख्या ठूलो छ । यसको संस्थागत अभ्यास छ । जति मानिस मांसप्रेमी बढ्छन् त्यति यस्तो कर्म बढ्दो रहेछ । ऋग्वेदमा एउटा मन्त्र छ— धर्तीलाई ठूलो हलले नजोत्नू तिनलाई दुख्छ, उनलाई पीडा नहुने औजार प्रयोग गरेर कृषिकर्म गर्नू भन्ने छ । तर यतिखेर ठूला ठूला उद्योगले पशु उत्पादन गर्छन्, यन्त्रले तिनको प्राण लिन्छन् । मानिस भित्रको बर्बरता झन् बलियो, पशुत्व झन् बलियो हुँदैछ कसले रोक्ने ? यस उत्पातको धेरै वर्णन र विस्तार गर्न म असमर्थ छु । म आफैँ पनि किञ्चित दोषभागी छु । यौवनकालका अँध्यारामा यात्रारत अवस्थामा प्रत्येक इन्द्रियले अति स्वच्छन्द भई सीमा नाघेर कति काम गर्दारहेछन् । सबै इन्द्रियको वशमा विवेक थियो । आज नदी तरेर पारि डीलमा पुगेपछि देख्छु आफू तरेको जीवन–नदी भ्यागुत्ता माछा गँगटा गोही पानीसाप सबै हिंस्रकको एक मात्र पनि आश्रयस्थल थियो । आफैँभित्रका ती हिंस्रकले कतिलाई टोकेमारे होलान् ।
नयाँ ज्ञानको खोजी गर्नु पर्ने रहेछः चेतना–विज्ञान अथवा ज्ञान–शास्त्रद्वारा; हरेक कुरामा त्यो लागू हुन्छ । सार्त्रले उनका पालासम्मका जीवन अस्तित्व र बचाइका स्थापित सत्यलाई हल्लाएर उखेले र आफ्नोले त्यसलाई प्रतिस्थापित गरे । आधुनिक पाश्चात्य दर्शनको आद्यपिता (सन् १५९६–१६५०) डिकार्टेले म सोच्तछु त्यसकारण म छु भन्ने सिद्धान्त बनाएर । त्यसको धारलाई सार्त्रले उल्टाए र नयाँले प्रतिस्थापित गरे, कार्टेजियन “कोजिटो” उल्टियो, “म” सचेत हुनुप¥यो कि म सन्देह गर्दैछु, त्यसपछि मात्रै “म छु” अर्थात् “त्यो मै हुँ” भन्ने पक्का हुन्छ त्यसकारण अस्तित्व पहिले आउँदो रहेछ, सारतत्व पछि । अस्तित्वबोध भएपछि सारको निरुपण गर्ने हो चेतनाले । कत्रो कुरा रहेछ त्यो अस्तित्वबोध !
त्यसो त यो विचार सर्वप्रथम सोरेन किर्केगार्डले राखेका थिए । यी डेनिश दार्शनिक (सन् १८१३–१८५५) धर्मशास्त्री, कवि र समालोचकलाई सबैले अस्तित्ववादका अग्रणी ठान्दछन् । उन्नाइसौँ शताब्दीमै यो धारणाको बीजारोपण भएको थियो। । किर्केगार्डले जस्तै आफ्नो समय र अस्तित्व (टाइम एण्ड विइङ) नामक ग्रन्थमा पनि यस्तो अस्तित्वको पूर्ववर्ती अवधारणा ल्याएका थिए ।
सार्त्रको यस (अस्तत्ववादी) दर्शनको सारतत्व के हो भने मासिनको व्यक्तित्व पहिल्यै बनिएको हुँदैन, उसको उद्देश्य, धारणा केही पनि निर्माण भएको ता हुँदैन । अत्यन्तै सानो, सूक्ष्मरुपको अस्तित्व मात्रै हुन्छ तर यात्रारम्भ गर्नु पहिले अस्तित्वले यात्रा गरेको हुँदैन , यात्रा थालेको हुँदैन । त्यसैले निर्माण गर्छ, त्यसैले बाटो खन्छ, कता जाने त्यही अस्तित्वले अह्राउँछ । त्यसैले नै मानिस स्वयम् आफ्नो भाग्य निर्माता हो, जो जे बन्छ ऊ आफ्नै छनौटको परिणाम हो । जो कोही भरोसा गर्नेवाला छैन, सुरक्षा दिनेवाल छैन, दुःख सुख जे भोगिन्छ आफ्नै रोजाइको परिणाम । त्यसैले उनी भन्छन्— मानव एउटा मार्ग रोज्न बाध्य छ । स्वतन्त्रता पनि बाध्यात्मक रोजाइ नै हो । एउटा बाटो नपक्री ता मानिस बाँच्ने सक्तैन । कि ढुङ्गा, मूढा हुनुप¥यो निर्जीव अनि कुनै चयन र चुनौति हुँदैन; बन्धन वा स्वतन्त्रताको कुरो हुँदैन । नत्र ता एकथोक पर्छ ।
मानिस स्वतन्त्र छ यस्तरी आफ्नो बाटो रोज्न तर रोजेर मात्र कहाँ पुग्छ ? मृत्युसम्म मात्र हो । बीचमा आउने दुःख कष्ट वन्धन ठेल्दै भत्काउँदै जानुपर्छ ।
अस्तित्ववादको समग्र रुप प्रकट गर्ने सार्त्र एक अग्रणी हुन् । म यस आलेखमा विइङ एण्ड नोथिङनेसका अनुवादक… ले लेखेको अनुवादकीयबाट केही सारतत्व प्रस्तुत गर्दछु । सार्त्रको अस्तित्ववादी दर्शन भनेको जर्मनीले फ्रान्सलाई कब्जा गरेको विरुद्धमा उत्पन्न क्रोध अनि युद्धोत्तर कालको संकट मात्रा होइन अर्थाेकै गहिरा कुरा पनि हो भन्ने बुभाउन धेरै दार्शनिकले निकै प्रयत्न गर्नुप¥यो ।
यस सिद्धान्तलाई यस्तो समग्रतामा प्रस्तुत गर्ने सार्त्रजस्तो शक्तिशाली अर्काे बौद्धिक छैन । कति विद्वान्ले सार्त्रका समकालीन वा पूर्ववर्तीका सोचका अंशहरु अघि सार्छन् तर सारा मोडेर मिलाएर गाँसेर सार्त्रले एक समग्र चित्र दिए त्यो ठूलो कुरा छ ।
सार्त्रले भविता र रहितता तयार पार्नुभन्दा पहिलेका पृष्ठभूमिका र पछिका केही कुरा पनि अलिअलि बुझाउनु पर्ला ।
आइ थिङ्क देअरफोर आइ एम ‘कोजिटो’मा चाहिँ सेन्डरी कर्म अघिल्तिर भयो । सार्त्रले पि–रिफ्लेक्टिव कोजिटो स्थापित गरे, त्यसलाई प्रथम चेताको रुपमा लिए । यो पहिलो प्रस्थान–विन्दु हो ।
सार्त्रको धारणामा ‘हुनु’ र त्यो थाहा पाउनु एउटै कुरा हुन् । एउटा वस्तुको चेतना भन्नु नै सचेत रहेको चेतना हो । त्यसरी सम्पूर्ण चेतना नै स्व–चेतन हो । उदाहरणको लागि म एउटा कुर्सीको बारेमा सचेत भएँ भने म आफ्नो सचेतताबारे केही चिन्तन नगरे पनि सचेतै हुन्छु । तर जब म सचेत छु कि छुइँन भनेर सोच्न लागेँ भने चेतनाको त्यो नौलो कुरा हुन जान्छ । यहाँ म आफैँ आफूलाई चित्रको अब्जेक्टका रुपमा प्रस्तुत गर्दै हुन्छु । तसर्थ एक व्यक्ति र उसको चेतना एके हुन् ।
यो कुरा स्थापित भएपछि सार्त्रले हुसर्लको मसर्थन गर्दै अर्काे कुरा लेखे— सम्पूर्ण सचेतता भन्नु नै सचेतता हो ।
उनले ‘रहितता’ को विषयमा पछि थपे । पहिले त कल्पना र धारणाका बीच भेद थाहा पाउनु पर्दछ । उनले कल्पना भनेको अस्पष्ट र धुमिल अवधारणा हो भन्ने मान्यतालाई अस्वीकार गर्दछन् । उनका विचारमा दुवै एकै हुन्; तर यिनीहरुलाई छुट्याउने कुरा चाहिँ वस्तुप्रतिको सचेत धारणा हो ।
कल्पनामा त्यो वस्तु अनुपस्थित ठानिन्छ (जस्तो प्रेमी) अरु अस्तित्वमै नभएको ठानिन्छ । कुनै वस्तुलाई अनुपस्थित र अस्तित्वमै नभएको कल्पना गरिन्छ भने त्यसबेला एक रिक्तता वा रहितताको भाव हुनुपर्छ भने त्यसबेला एक रिक्तता वा रहितताको भाव हुनुपर्छ । प्रत्येक कल्पनाको कर्ममा दोहोरो लोप हुन्छ । यसै सम्बन्धमा संसारमा हुनु र संसारका बीचमा हुनुमा फरक छ, तर सचेतना संसारमा हुन्छ । चेतना भनेको अतिक्रमित वस्तुको सचेतना हो । तर वस्तु र सचेतना फरक छ । कुनै वस्तुको चेतना छ भने त्यो स्वयम् वस्तु नहुनुको स्थितिको चेतना हो ।
कल्पनाले दुईवटा संसार ओगट्छ, त्यो वस्तु नभएको यो संसार र भएको अर्काे संसार । दुवै कर्म नभएका निहिलटिङ हुन् । जस्तै मेरो सामू एउटा रुख रहेछ भने म त्यसैको कल्पना गर्दिनँ, नभए मात्रै । त्यो कल्पित वस्तु कहीँ त होला भन्ने हुन्छ, गर्मीका हिउँको कल्पना गर्दा झैँ । यसरी कल्पना कर्मभित्र पृथक्कीकरण र निहिलिटिङ दुई कुरा आउँछन् ।
कल्पना बाहिरको सचेतता असम्भव छ । हाम्रो सचेतताले कल्पना गर्दैन भने त्यो चाहिँ निहिलेशनमा मात्र संभव छ । त्यो भनेको नकारात्मक प्रत्याहार हो । जसको तात्पर्य चेतनालाई संसारमा डुबाउनु हो जसले गर्दा चेतनाले आफ्नो र संसारको बीच भेद गर्न असमर्थ हुन्छ ।
कल्पनाको चर्चा गरिसकेपछि दोस्रो विन्दुमा सार्त्र संवेगको व्याख्या गर्छन् । उनको परिभाषा अनुसार संवेग भनेको सचेतताको संसारसितको निजी सम्बन्ध हो । त्यसकारणले या तत्कालको लागि तुष्टिकर हुनसक्छ तर यो मौलिकरुपले प्रभावहीन र अस्थिर हुन्छ, यससँग परिवेशलाई प्रभावित गर्ने प्रत्यक्ष शक्ति हुँदैन ।
जाँ पल सार्त्रका शब्दहरू
डा. गोविन्दराज भट्टराई
उनको परिचय भनेको एक उपन्यासकार, नाटककार, जीवनीकार र चिन्तक मिसिएको छ । उनको जाँ पाल सार्त्रको एक प्रशिद्ध जीवन संग्रह छ वडर््श (शब्दहरु) नामको । आफ्नो जीवनको प्रथम दश वर्षलाई सम्झेर उनले लेखेको तर धेरै पछि ५९ वर्षको उमेरमा यसलाई धेरैले रुसोको कन्फेसन्ससँग तुलना गरेका छन् । रुसोको कन्फेन्सन्स ता विश्वसाहित्यको एक अमूल्य निधि हो नेपाली साहित्यमा पनि त्यो अनूदित छ । कवि एवम् स्रष्टा बासु शशीले कन्फेसन्स शीर्षकमा अनुवाद गरेको, नेपाल राजकीय प्रज्ञााप्रतिष्ठानले प्रकाशित गरेको । सो पढेर म पनि धेरै प्रभावित छु । विश्व साहित्यको अमर कृति सबैलाई पढ्ने सल्लाह दिन्छु ।
तर सार्त्रको वर्डस्को भने नेपालीमा अनुवाद भएको छैन । यो आत्म विश्लेषणको ‘माष्टरपीस’ मानिएको छ । यसमा सार्त्रको वाल्यकालका इमानदारीको त्यही कठोरता छ र यसको अन्तर्दृष्टिलाई उनले अरु स्रष्टामाथि कति मजाले त्यसको प्रयोग गरेका छन् ।
उनी पुस्तक–प्रेमी परिवारमा जन्मिएका थिए । विधुवा आमा र अतिअनुरक्त हजुरआमाले हुर्काएका सार्त्रको बाल्यकाललाई कतिले छापिएका शब्दसितको लामो प्रेम–सम्बन्ध । यस पुस्तकले मानव अनुभवको विकासमा पुस्तकको र भाषाको महत्वबारे प्रकाश पार्दछन् ।
दुई सय पच्चीस पृष्ठको यस कृतिको अंग्रेजी अनुवादक हुन बर्नार्ड फ्रेक्टम्यान । फ्रेन्चमा आएको अर्काे वर्ष (सन् १९६४) नै अंग्रेजीमा निस्कियो । यसको विषयवस्तुका पाँच भाग लगाइएका छन् । लेखकको पारिवारिक पृष्ठभूमि, एक कल्पित जगत्को एकान्तता; बदमासी, आकस्मिक छटपटी, मृत्युमय र कुरुपता; नयाँ बदमासीको विकास लेखकको भ्रम ।
मैले आफ्नो धर्म पत्ता लगाएँ ः मलाई एउटा पुस्तकभन्दा बढी महत्वको कुरा केही लागेन । मैले पुस्तकलाई एउटा मन्दिर देखेँ ।
नोजिया (वाकवाकी) उपन्यास
सार्त्रले ३३ वर्षको उमेरमा प्रकाशनमा ल्याएको कृति हो नोजिया (वाकवाकी) शीर्षक उपन्यास । उनको यो प्रथम कृतिमै दार्शनिक विषय रहेको छ । यसलाई उनले सर्वाेत्तम कृति भनेका छन् । यो उपन्यास बुभिल नामक हिले शहरको पृष्ठभूमिमा रचित छ जुन शहर परोक्ष रुपले उनको जन्मस्थल लि हाव हो— प्रतीकात्मक रुपले ।
यो एक फ्रान्सेली लेखक–पात्र आत्तोइन रिक्वेन्टिनको कथा हो । जुन पात्र आफ्नै अस्तित्वदेखि त्रसित छ । यो प्रभाववादी डायरीको रुपमा लेख्तैजाने पत्रले आफ्नो प्रत्येक अनुभूकिो उल्लेख गर्दै जान्छ, यो आफ्ना परिवेशका मानिसका र जगत्का सनसनी लेख्तै जान्छ ।
यसमा आफ्ना परिवेशका निर्जीव वस्तु र परिस्थितिले पनि उसको मनोभावमा आफ्नो बौद्धिक र आध्यात्मिक स्वाभावलाई अतिक्रमण गर्ने सामथ्र्य राख्तछन् । अनि त्यो नायक वाकवाकी लाग्ने जस्तो जुगुप्सा उत्पन्न गर्दछन् ।
सार्त्रकी आजीवन मित्र सिमन दि बुभारले स्वीकारेकी छन्— यस कृतिले सचेततालाई उल्लेख्य स्वतन्त्रता प्रदान गर्दछ अनि यथार्थतालाई यसको अर्थको पूरा महत्व दिन्छ । यो अस्तित्ववादको एक क्यालोनिकल (विहित) कृति हो ।
यो उपन्यास एन्टोनि रिक्वेन्टिन नामक पात्रको डायरीको रुपमा प्रस्तुत छ । तीस वर्षको सो पात्र आफ्नै अस्तित्वको चेतना (ज्ञान) भएपछि त्यसैप्रतिको विकर्षण भाव भावसँग लड्दैछ । आफ्नो र आफ्ना वरिपरिका व्यक्ति र वस्तुको अस्तित्व सोचेर ऊ हैरान छ । ऊ पूरा एक्लो छ, विना मित्र, विना परिवार, यो जीवनको विसंगति बोध गर्ने क्रममा एक प्रकारको “मीठो विमार” को अनुभव गर्दछ । यो शारीरिक मात्र होइन, मानिसक पनि, यस्तो सनसनीलाई ऊ ‘नसिया’ नाम दिन्छ । यो आख्यान बिभिल नामक फ्रान्सको एक काल्पनिक शहरमा बन्दरगाह नजिकै घट्छ । त्यहाँ विगत तीन वर्षदेखि पात्र रोकिन्टिन बसिरहेको थियो । ऊ त्यहाँ त्यसै बसेको होइन एक अठारौँ शताब्दीको फ्रान्सेली राजनीतिज्ञको जीवनी लेख्न बसेको थियो । अन्त्यमा यो व्यर्थको परियोजना रहेछ भन्ने भाव उत्पन्न भयो र ऊ त्यो ठाउँ छाड्ने निर्णयमा पुग्छ । उसले निर्णय लियो— मेरी पूर्व प्रेमिका आनीसित फेरि भेट गर्छु, मिल्छु । त्यस प्रेमले यो वाकवाकीको विमार निको होला । अनि एनीलाई भेट्न गयो; उनले पुनः अस्वीकार गरिन् । अनि रिक्वेन्टिव संकटमा फँस्यो । आफ्नै अस्तित्व उसलाई झन घृणास्पद लाग्न थाल्यो । त्यसपछि अर्थाेक छोडेर एउटा दार्शनिक परियोजनातिर लाग्ने निर्णय लियो— अब एक उपन्यास लेख्नु प¥यो । त्यो सिर्जना नै त्यस जुगुप्साको औषधि हुनेछ ।
नोजिया शब्दले अस्तित्वको दार्शनिक खोजीको उदाहरण प्रस्तुत गर्दछ । यसले त्यो पात्रले सामना गर्नुपरेका चुनौतिको पनि औषधि हुनेछ । त्यो पात्र जो जीवनकै मौलिक विसंगतिको उदाहरण भएको छ । क्रमशः सार्त्रले चेतना के हो एकान्तिकता के हो, ट्रान्सफर्मेशन र स्वतन्त्रता के हुन्— अस्तित्ववादी दर्शनले तिनीलाई कसरी व्याख्या गर्छ्— खोज्न लागे यो मूल यो पात्रलाई लागेको शारीरिक एवम् मानसिक विमार हो । एक ठाउँ पात्र बोल्छ— अनि मलाई नोजियाले पक्रियो । म कहाँ छु भन्ने कुरा पनि पत्ता पाइनँ । मैले वरिपरि रङ्गहरु तिरिमिरी घुमेको देखेँ । मलाई उल्टी गर्न मन लाग्यो । अनि त्यसबेलादेखि त्यो नोजियाले मलाई छोडेकै छैन, मलाई पक्रिरहन्छ ।
रोकेन्शनले आफ्ना दिनहरु पुस्तकालयमा बसेर आफ्नै पुस्तक लेख्नमा व्यतीत गर्दछ । अनि वरिपरिका क्याफेमा बसेर साँझ । कहिलेकाहीँ सडकतिर घुमेर साँझ बिताउँछ, मानिसहरुको निरीक्षण गर्दै, आइलकर शहरका सडकमा टहल्छ— मध्यमवर्गीय इज्जतिला शहरियाको चाला हेर्दै घुम्छ । उनीहरु आइतबारे बिदामा राम्रा ठाउँतिर घुम्दै हुन्छन् । घुम्दै परिचितहरुसित आनन्द साटासाट गर्दै ।
पुस्तकालयमा आफँै पढेको मान्छे (एकपात्र) सित ऊ परिचित छ । किन त्यसो भनेको भने ऊ त्यो पुस्तकालयका सबै पुस्तक पढेर निखानऐ प्रक्रियामा छ । ऊ वर्णानुक्रमले अघि बढ्दै छ ।
एकदिन रिकोन्टिनले अकस्मात पूर्वप्रेमिका एनीको एक चिठी पायो । ऊ बेलायती नर्तकी हो जससित बिताएको तीन वर्ष भयो । तीन वर्ष राम्ररी बिताएर छुट्टिएका छ वर्ष बिते । यता भेटेको थिएन । “म रमारितिर घुम्न आउनु छ, भ्याउँछौँ भने आऊ, भेटौँ” भनी एकदिन खबर पठाई ।
रिकेन्टिन बुभिल आई म्युजिम जान्छ र त्यहाँका पेन्टिङ हेर्छ । त्यस ग्यालरीमा शहरका संस्थापकहरुको पोन्टिङ छ । तर तिनलाई देखेर ऊ खिल्ली उडाउँछ किनकि ती चित्र ता ती मान्छेको शहरमा प्रभाव देखाउन बनाइएका मात्र हुन् ।
तीन वर्षसम्म काम गरेपछि (इतिहास लेखेपछि) उसलाई यो व्यर्थ कर्म रहेछ भन्ने लाग्छ । कति वर्ष चढाएको योजना परित्याग गर्छ । त्यसपछि उसलार्ई झन ठूलो संकटमा परेँ भन्ने लाग्छ ।
त्यसपछि ऊ रेल चढेर प्यारिस जान्छ एनी भेट्न । अझै प्रेममा छु भन्ने भ्रान्तिमा ऊ जान्छ । एउटा होटलमा भेटेर एनी बताउँछे— यसरी मेरो जीवन दर्शन बदलियो । जीवनप्रति नै आफ्नो धारणा बदलियो । ऊ पनि नोजियाबारे आफ्नो धारणा बताउन खोज्छ । तर एनीको ऊप्रति कुनै चाख देखिएन । एनीले ता बिहे नगरी एक धनीसँग संसार घुम्छु भनी । उसलाई त्यहीँ छोड्छे र ऊ रेलमा चढ्छे, त्यो धनीसँग पुग्छे, रिकेन्टिनलाई नदेखेको झैँ गर्छे ।
यस उपन्यासभित्रको मूल सार
आफूभित्र अनि आफ्ना परिवेशमा अचानक परिवर्तन आउन थालेका अनुभवले उसलाई ती कुरा डायरीमा लेख्न मन लाग्यो । त्यो परिवर्तन अमूर्त प्रकृतिको कुनै वस्तु विनाको लाग्यो । जीवनभरि आइरहने यी परिवर्तनले हैरान पारेका छन् । उसले ठान्यो— यी ससाना कायाकल्पका भीडहरु थाहा नपाइने गरी आएको आयै गर्छन् एकदिन त्यस्तैले मभित्र ठूलो एक उत्पात मच्चाउन सक्छन् । अनि यो नयाँ प्रवाहदेखि ऊ डराउँछ । केके निस्केर मैलाई कब्जा गर्ने हुन् कि भन्ठान्छ ।
यसरी नोजियाले रुपान्तरणको प्रक्रिया बताउँछन्, यसले कायाकल्पको र पुनर्जन्मको प्रक्रिया बताउँछन्, यो कुरा आख्यानको केन्द्रीय तत्व हो । दोस्रो थीम छ सचेतना र आत्मानुभूति ।
यो उपन्यास मूल पात्रको आफ्नै अतित अनि अरु बारेको अनुभूतिले बनेको छ । रोकिन्टेनको डायरी आत्म प्रतिविम्बको दृष्टान्त हो । धेरै पल्ट ऊ धेरै बेर ऐनामा आफ्नो अनुहार हेर्दछ । आफ्नो मुहारको स्वरुप हेरेको । उसले आफ्नै मानवत्वको अर्थ खोज्ने प्रयत्न गर्दैछ । यो आत्म चिन्तनको मूलभाव हो । गर्दा गर्दै एउटा विन्दुमा पुगेपछि आफ्नै चिन्तनमा प्रक्रियाद्वारा आक्रान्त ठान्दछ । अनि कराउँछ “यसले मलाई सोच्न नसक्ने पार्न सक्छ ।” अन्त्यमा रिकेन्टिन यो निर्णयमा पुग्छ— आफ्नो निरन्तर सोचाइले अनि आफ्नै निरन्तर चेतनाले नै उसको अस्तित्वलाई परिभाषित गर्दछ । ऊ द्विविधामा छ त्यसैले ऊ केही गर्न सक्तैन, सोच्न बाहेक । ऊ भन्छ “मेरो विचार (चिन्तन) नै म हुँ । त्यसैल म रोकिनै सक्तिनँ । म अस्तित्वमा छु किनकि म सोच्तछु अनि नसोची हरन पनि सक्छु ।” पछि ऊ एक निष्कर्ष बोल्छः म छु , म अस्तित्वमा छु, त्यसकारण म छु; म छु किनकि सोच्तछु, म किन सोच्छु ? म अर्थाेक केही सोच्न चाहन्नँ, म छु किनकि म सोच्छु कि म हुन चाहन्न, म सोच्तछु कि म …. किनभने उफ !
यो आख्यान— पढेपछि अरु पनि सम्बन्धित कृतिको अध्ययन गर्नानाले अस्तित्ववादको साङ्गोपाङ्गो बुझिन्छ ।
फ्रान्सेली अस्तित्ववादी दर्शनका अग्रणी सार्नु । उनलाई अझ राम्ररी बुझ्न अर्थर शोपेन्हावर फ्रेडरिक नित्से, मार्टिन हाइडेगर, कार्ल जेस्पर्स, मार्टिन ब्यूबर, अल्बेअर कामु र सिमो्न दि बुभारलाई चिन्नु पर्छ । यी अरुका तुलनामा सार्त्र कसरी भिन्नै छन् यो कुरा थाहा पाउनु पर्दछ ।
साथै बीसौँ शताब्दीका नामी फ्रान्सेली स्रष्टालाई पनि चिन्नु पर्छ— ती हुन् आन्द्रे ब्रितों, लुई आरागन, पौल इलुआर्ड, आन्द्रे माल्रो, स्याम्युअल बेके, युजिन आययोनेस्को, मार्गारिट डुरास ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

