
७ वैशाख २०७७ (१९ अप्रिल २०२०)
आज छिट्टै उठ्न सकेँ ३ः१० मा । राति पनि उठेर अलिकति लेखौँ भएको थियो र फेरि निद्राले जितेर ल्यायो, मलाई ओछिनमै लडायो ।
हिजो हरि भाइका चार निबन्ध पढेझैँ आज प्रा. कुमार कोइरालाले पठाएको एक निबन्ध पढेर त्यसको ओजन पहिचान गर्नेछु । त्यसपछि मात्रै आफ्नो लेखन । अरु काम गर्छु भन्ने भयो ।
त्यो भन्दा पहिले एउटा क्लिप आएको रहेछ । फेटा बाँधेको पंजाबी हो कि होइन डाक्टर ता । तर सारा व्यर्थ छ भन्दै सारांशमा सुनायो— यो मास्क भिर्नु पर्दैन यसले रोग छेक्तैन । यो ता चिनियाँ व्यापारीको चलाकी थियो । अनि यो महासंकटमा मानिसलाई कन्फ्युज पार्ने त्यत्तिकै छन् ।
अनि लाग्यो आजका काममा प्रवेश गर्नुभन्दा पहिले एउटा कविता नै राखौँ लकडाउन कडा छ ऐले । यद्यपि लकडाउन र नो लकडाउनमा विश्व विभाजित छ । पश्चिमी भाले देशहरु लकडाउन नगरी मान्छेलाई मरेर जाने मौका दिनेमा पुगेका होलान् । प्रतिरोधात्मक क्षमता हुने बाँच्ने, अरु मर्ने भन्ने योजना देखिन्छ । चीन के गर्दैछ थाहा छैन ।
नेपालमा लकडाउन कडा छ । उता पूर्वी भारतको खबर आयो हिजो, लीलबहादुर सरको खबर आयो, लकडाउन निकै कडा छ । फेसबुकमा राखेको लकडाउन शीर्षक कविता छ ब्रदर रिचार्ड नामक कविको सुन्दर; त्यसले छोएर म अनुवाद गर्दैछु ।
लकडाउन/बन्दाबन्दी
हो नि यसमा डर छ
एकान्त छ
सन्त्रासमा क्रय प्यानिक बाइङ छ
बिमारी छ
अझ माथि मृत्यु पनि छ
तर
उनीहरु भन्दैछन् वुहानमा
यति वर्षका कोलाहलपछि
फेरि चराहरु गाउँदै छन्
उनीहरु भन्दैछन्—
केही हप्ताको शान्ति पछि
आकाश धूवाँ र बादलरहीत छ
नील गगन सफा भएको छ
उनीहरु भन्दैछन् आसिसी (इटालीको पश्चिममा रहेको एक सहर)का सडकमा
मानिसहरु गीत गाइरहेका छन्
ती रित्ता चोक वरिपरि भरिएर
आफ्ना झ्याल खोलेर गाउँदैछन् जसले गर्दा
एक्लै बस्नेहरुले पनि
परिवारको आवाज सुनून
उनीहरु भन्दैछन्— पश्चिमी टापूतिर
निशुल्क खाना र सामान घरैमा पु-याइदिन्छन्
मैले चिनेकी एक युवती आज
पाकाहरूले कसैलाई बोलाउन सकून भनेर
छिमेक परिपरि आफ्नो फोन नं. बाँड्दै छिन्
आज यहाँ चर्च, सिनागग (यहूदीको पूजास्थल, मन्दिर) मस्जिद र मन्दिरले
निराश्रित, थकित र बिरामीलाई
स्वागत गर्ने तयारी गर्दैछन् ।
संसारभरि मानिस शान्त हुँदैछन् सोच्तैछन्
आफ्ना छिमेकीलाई नवीन दृष्टिले हेर्दैछन्
संसारभरि नवीन यथार्थतिर जागरुक छन्—
कि हामी वास्तवमै कति महान छौँ
महत्वका कुरामाथि कसरी हामी अज्ञात छौँ
कुन कुराको महत्व रहेछ भन्ने कुरा
प्रेम के रहेछ भन्ने कुरामा कति अञ्जान !
त्यसैले आज हामी प्रार्थना गर्छाैं र यो कुरा सम्झिन्छौँ
हो नि त्यागमा भय छ
तर घृणा आवश्यक छैन
हो त्यहाँ आइसोलेशन छ
तर एक्लो ठान्नु आवश्यक छैन
प्यानिक बाइङ हुनसक्छ
तर त्यसमा नीचता हुन आवश्यक छैन
हो त्यहाँ विमार छ
तर त्यसमा आत्माको विमार हुनु जरुरी छैन
हो त्यसमा मृत्यु पनि छ
तर सदैव प्रेमको पुनर्जन्म हुनसक्छ
आफ्ना आत्माका झ्याल खोल्नुहा्ेस्
अनि ती रित्ता चोकका पारिसम्म
हातले छुन नसके पनि
एकछिन त गाउनुहोस्
००००
यस कविताले लकडाउनमा पनि प्रेम र आशा नओइलाउन् भन्ने सन्देश दिन्छ ।
यसपछि तीन घण्टा व्यतीत भए । छ बज्यो । बाहिर निस्केर चार मिनेट जगिङ उफ्रेँ, बाटातिर झन सुनसान छ । आज टाढा कीर्तिपुर जंगलमा कोइली चरीले वसन्त गाएको सुनिन्छ । वरिपरि कतै बगैँचामा लुकेर एक पंक्षी गाउँदैछ । कुखुरा र परेवा थाकिसकेछन् । कुकुरहरुले बिहान बिहान सडकमा उफ्रिने बानि बदलिसकेका छन् । बेलाबेला एकजना देख्छु दूधको पोको हातमा झुण्ड्याउँदै उता कुधेको । मुखको मास्कले अन्दाज गर्न नसकिने छ को हो । सागहरु आयो कि ? सेवा छोरी निस्केलिन ।अञ्जना भुइँ तलाको आइसोलेशनमा खिमानन्दले पठाएको आफ्नै पुस्तकको सारांश पढ्दै होलिन् ।
हिजो बेलुकीको वार्ताका दुई प्रसंग भूलेछु— दक्षिणादेवी गजुरेलले फोन गरेकी थिइन्— काका सक्नै आँटेँ । अब दुई च्याप्टर छन् । अर्थात् उनले सुकरातका पाइला असमीयामा अनुवाद गर्न थालेको दुई वर्ष भयो । तिनले गर्लिन के ? कतिले सन्देह गर्छन् । पुस्तक पनि कठिन छ । उता ज्ञानबहादुरजीलाई थाहा होला अथवा डा. खगेन भाइलाई । अथवा मुक्तिजीलाई अथवा चन्द्रमणि भाइलाई ।
त्यसपछि आसामका अञ्जन बाँसकोटाले गरे— सर हिजो रातिदेखि थालेर आज यो मुगलान पढिसकेँ । मेरा आँखा रसाए । कसरी लेख्नु भयो होला ?
सबै त्यसै भन्छन् भाइ । यो लेख्ता म २१ वर्षको थिएँ । दुई वर्ष भूटान बसेर फर्केको थिएँ ।
यसको अनुवाद भएको छैन नि सर ?
अंग्रेजीमा भएको छ, लेखनाथ शर्मा पाठकले मुगलान शीर्षकमा । विश्वविद्यालयको पाठ्यक्रममा पनि छ ।
असमीयामा ता कसैलाई वचन दिनुभएको छैन होला ?
छैन ।
उसो भए म साथीहरुलाई सोधेर प्रयत्न गर्छु ।
हवस् भाइ, धन्यवाद ।
यी दुवै वार्ताले मलाई धेरै आनन्द ल्याए ।
अनि दोस्रो कप चिया बनाएँ, एक टुक्रा स्याऊ, एक पाना बिस्कुट लिएर दोस्रो पलेँटी कसेँ । अब प्रा. कुमार कोइरालाको रचना पढ्नु आवश्यक छ ।
बाक्लो खाँदिएको भाषामा लेखिएको छ । मसिनो गरी पढ्नु प¥यो प्राज्ञिक लेख हो परे कतै मिलाउने सङ्केत गर्दै त्यो गर्दै गएँ । बिस्तारै बिस्तारै ।
आज मौसम ओसिलो छ । साढेआठको घण्टी बजेपछि तल झरेँ । सेवा छोरीले शपिङ्ग गरिसकेकी । धेरै ढर्रा छैन, हल्का सबै आज सूप रहेछ, इस्कुस होवा कुनै तत्वको हरियो, बाक्लो कगतिसँगको एक बटुको दबाइ र तुलसी चिया समेतको हाम्रो ब्रेकफास्ट ।
यो चिया मेरा मित्र दिलबहादुर थापाको उपहार । तीन जना बस्छौँ । एक प्रकारको मौनता हुन्छ त्यसलाई फोर्छाैं तर धेरै बोलिचालि हुँदैन । तीस मिनेट बस्छौँ ब्रेकफास्टमा । त्यस्तै ३०० शब्द प्रतिव्यक्ति बोलिएला । आज के हुँदैछ, विशेष केही कतैबाट छ कि छैन । त्यस्तै केही कुरा बाहेक सारा सुनसान छ । भान्साको ढोकाबाट परसम्म हेर्दा नस्पाति, आरुका बोट, एउटा हुर्किरहेको, पल्लाघरको भित्तो र बिहान स्वच्छ बतास मात्रै छ ।
आज कतिको अजासु (क्वाक) हरु थपिए ।तिनीहरु के भन्छन् ? मैले छोरीलाई सोधेँ— तिम्रो काम हुँदैछ नानी ?
हुँदैछ बुबा ।
अल जजिरा पनि थालेकी ? होइन आमा मेरो पुरानै ।
अल जजिराको नाम कसरी आयो ?
अघि गुगलमा विजय मल्ल हेर्न खोज्दा उनको अनुरोध होइन ? मनोवैज्ञानिक उपन्यास ? त्यो हेर्दा अल जजिरा पनि देखियो अनि ।
अनि प्रशङ्ग परिवर्तित भयो । यसलाई संकथन विश्लेषण शास्त्रमा के भन्थे मैले भूलेँ । तर फेरि कुरो उठाएँ— अघि खगेन्द्र भाइले फोन गरेको थियो । घरमा राम्रै छ अरे । जय कता गएछ भाइ? सोधँे । पढ्छ लेख्छ अब क्याम्पसमा पढाइ हुन थाल्यो र त्यता पनि एक घण्टा दिन्छ ।
क्याम्पस खुल्यो र ?
होइन अनलाइन ।
म छक्क परेँ । हर्षित भएँ । प्रथम र द्वितीय विश्वयुद्धले संसारलाई कति नयाँ आविस्कार दिए । मान्छेलाई कति नयाँ आविष्कार दिए । मान्छेको जीवन शैलीमै कत्रो प्रभाव प-यो । हाम्रो देशको माओवादी संघर्षकालमा पनि कति नयाँ शब्द, पद र प्रविधि आए— कम्व्याट, मिलिसिया, शेल्टर जस्ता भनेकेही अघि आएको नेपाल–भारत नाकाबन्दीले ल्याएको यो इण्डक्शन(चुलो) सोचेको पनि थिएन । उता विदेशतिर अन लाइन कक्षा हुँदैछ, कामहरु घरबाट हुँदैछन् भन्थे; । अब नेपालमा उपत्यका बाहिरका गाउँका पनि अनलाइन पुग्नु एक क्रान्ति हो ।
समयले सिकायो सुरु गर्ने भन्दैछन् । बोडिङ्गले गर्ला ।
घरघरमा साधन चाहियो, ल्यापटप किन्नु, वाइफाइ जोड्नु दुःखीहरुले सक्लान् ?
हाम्रै मनितालाई सोध्दा उसले भन्थी— हाम्रोमा त छ तर उता छिमेकीकोमा पो छैन सर ।
अब हाम्रो स्कुल पनि अनलाइन लानुपर्ला जस्तोभएको छ । तल एउटा स्कूलले मेसेन्जरमा क्वेश्चन लेखेर पठाउने, घरमा कापीमा लेखेर फोटो खिची स्कूल पठाउने गर्दैछन अरे । (खगेन्द्रसित यस्ता वार्ता भए)
यो ठूलो वाध्यताले ल्याएको परिवर्तन हो । हाम्रो सानो देवांसुको पनि अनलाइन कक्षा हुने प्लेगू्रपको नानीलाई दुई घण्टा बाबुआमा सँगै बसेर गराउनु पर्ने भन्दैछन् ।
यस्ता वार्ता ग-यौँ अनि फेरि आइसोलेशनमा चढ्यौँ । माथि पुगेपछि दुई फोन वार्ता आए— भर्खर मेसेन्जर सिक्तै गरेका सिक्किमका कवि अमर बानियाँ‘लोहोरो’ र तेजपुरका छत्रमान सुब्बा । सामान्य वार्ता भए । साहित्य गर्दै गरौँ भन्ने भयो ।
फेरि दुई घण्टा पढेँ कुमार सरको । निकै अघि बढाएँ र खानामा भेला भयौँ । पहेँली मकैको चावल र दाल । दही मोही छुटाएको समय छ । साग तरकारी अभाव भएपनि अलिकति सूप पाइएछ । खानासँगै ३० मिनेट वार्ता पनि चलायौँ कुरा समाप्त भए अनि आइसोलेशनमा चढ्यौँ । एकछिन फेसबुकमा पसेँ । डर लाग्दै गयो । समवेदना भाव कहाँ व्यक्त गर्नु जस्तो भयो । चितवन पोष्टमा आएछ—अमेरिकामा १०० नेपालीले जीवन गुमाए । कोभिड १९ बाट विश्वभर ३० नेपालीको मृत्यु ।
निको भएर घर फर्किन् नेपालकी दोस्रो कोरोना संक्रमित युवती ।
संसारको कोरोना अपडेट हेरेँ । निकै खुसी लाग्यो किनभने दिनका हजार मर्ने अमेरिकामा आजको मृत्यु १ मात्र देखिएको छ । ती एक पनि हाम्रो नेपाली पो परे कि— चिन्ता छ । नाम ठेगाना जात धर्म खुलाउन नहुने विमार छ । मेक्सिकोमा आज अधिकतम बितेछन् १०४ जना, पाकिस्तानमा ७, हंङ्गेरीमा १७ पुगेछन् टोटल १२८ जना । अलिक आश लाग्यो ।
नेपालमा हिजो २ थपिए र ३३ बिरामी पुगेछन् । तीन निको भएर गएछन् । भेटेका निको होलान् ।
एउटा अत्यन्तै दुःखद खबर आयो भारतमा कोरोना भाइरसको कारण एकप्रहरी अधिकृतको मृत्यु । ४५ वर्षीय देवेन्द्र चन्द्रवंशी संयोजक उद्धारक थिए । पहरो जस्तो छाती उनको हिजो राति कोरोनाले गलायो । अर्काे पनि खबर आयो भारतीय प्रहरी आयुक्त अलिन कोहलीको मृत्यु । भारतमा आजसम्ममा ५२१ जनाले बिदा लिएका छन्, बिमारीहरु १६ हजार ३५६ । बिहानै दिल्लीबाट भाइ प्रमोदले गरेका थिए— दाजु बरबाद छ, बाँच्न मुश्किल पर्ला जस्तो छ । एउटा छोरो स्पेनमा छ, अर्काे बालकसाँगाको प्रहरी स्कूलमा, हामी दिल्लीमा ।
अर्काे एक दुई र शरमको समाचार आयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका वरिष्ट सरुवा रोग विशेषज्ञ पुनःलाई बिरामीको व्यक्तिगत विवरण चुहाएको आरोप लगाउँदै स्पष्टिकरण सोधेको समाचार आएको छ । क्याप्शनको भाषामा यति लेखिएको छ ः आफ्नो जीवनलाई जोखिममा पारेर भएपनि कोरोना संक्रमित विरामीको उपचारमा संलग्न चिकित्सकलाई कारवाही गरेर केपी ओली सरकारले बहादुरी प्रदर्शन गरेको छ । टीका कोइरलाको समाचार रहेछ । अब यो अनलाई प्रकाशनको पनि आयु पुग्ला जस्तो छ । देशको स्वासप्रस्वाश जस्ता समाचारका घाँटीमा निरङ्कुशको हात पुगेको छ । निचोर्न सक्छ ।
वातावरणमा उदासीनता छ । हावा चल्दै छ, झ्यालढोका ठोक्तै छ, कोरोनाले देशलाई ठोकेझैँ । यस्तै प्रकारले चोरलाई चौतारो साधूलाई सूली चढाउने देशको सरकार छ । ती डाक्टरको मनोबल कस्तो भयो होला, यसको प्रभाव अन्य स्वास्थ्यकर्मीमा कस्तो पस्यो होला । ती भारतमा मृतयुवरण गर्ने ४५ वर्षे योद्धालाई सम्झेँ । तत्कालै हिन्दीमा एक प्यारोडी गीत आयो कसैको क्लिपमाः
कोई पत्थर से नमारे बचाने वालोँ को
सुन के रोता हे ये दिल क्या हुवा है जमानेको
कोई पत्थर से नमारे बचाने वालोँ को
कोई पत्थर से नमारे ……….
सुन के रोता हे ये दिल क्या हुवा हे जमानेको
कोई पत्थर से नमारे …
कोई पत्थर से नमारे …
वे से निकाल खडा हम ये सितम उठानेको …….
ये सितम उठानेको
कोई पत्थर से नमारे
यसपछि दिन निकै ढल्यो । उठेर झ्याल बाहिर तल हेर्छु, बाँझो खेतमा एक दुई कुकुर निधाएका छन् । कसेैले फ्याँकेका गुन्द्री माथि । सधैँ यी बारीमा गहुँ हुन्थ्यो । अब यी कृषक नेवार हैरान छन् । मरेर खन्नु, खनेर छर्नु, मल बीउ गर्नु, डल्ला ठोक्नु, काट्नु, कुट्नु मरेर बोक्नु, दुई मुरी गहुँलाई २२ खेताला लगाउनु सारा व्यर्थ भो । लोभले नथाम्ने भो । बरु बाँझै होस् ।
यदाकदा गाई घुम्छन्, कुकुर मडारिन्छन्, ससाना केटाकेटी उफ्रेर झुम्राका भकुण्डा ठोक्ता ठोक्ता झार मरेर सबै नाङ्गो भएको छ, त्यही धूलो उडाउँछन् । एकछिन हेरेर बस्छु, देखेसम्म कतै कोही छैन । छन् होला सबै गरी असी हजार सक्रिय चिनारु संसारभरिमा जस्तो लाग्छ; तर अब बोल्ने कोही छैन । कसैलाई कोरोनाले भेटेको छैन तर यस्तो लाग्छ— कोरोनाको डरले आआफ्नै ठाउँमा डल्लो परेका छन्; अब बोल्ने कोही छैन । न जीवनबारे बोल्छन्, न मत्युबारे नै ।
घर जाने कहाँ पुगे होलान् । पुलिसहरु कहाँ डण्डा ठोक्तै होलान् । नर्स विचरा, डाक्टर विचरा । यो सुनसानमा एकपल्ट शिशिर योगीको गीत सुन्न मन लाग्यो खोलेर सुने ।
त्यसपछि पढ्न लागेँ प्रा. कुमार कोइरालाको लेख लामै थियो ३३ पृष्ठको अनि सूर्यास्त सँगै सिध्याएँ । त्यसमा सानो टिप्पणी लेखेर थन्क्यएँः यो संक्षिप्त छ, तर नेपाली समालोचनाका आरम्भ देखिका तीन कालको झल्का प्रस्तुत गर्दै २०५० यता प्रष्टिएर आएको उत्तरआधुनिकतावादी समालोचनाको आरम्भ, मध्य र विकाशको खँदिलो चित्र प्रस्तुत गर्दछ ।
उत्तरआधुनिकता भन्नु नै बहुलता, विविधता र नवीनतामा, नित्य आविष्कार गर्ने कला–चेतना हो । यो अन्तर्विषयक छ । पूर्णरुपले प्रत्यक्ष वर्तमानसित सम्बद्ध राख्तछ । नेपालमा यथास्थितिवादीहरु यसलाई रोक्न यसका विरुद्ध खनिएका हुन् । जुन कुरालाई पनि माक्र्सवाद भन्ने जडताले मात्र बुझ्न सक्ने उनीहरु समयभन्दा धेरै टाढा छन्, धेरै पछि अतीतमा छन् । यी कुरा तपाईंंले यसमा प्रस्ट गर्नुभएको छ ।
लेखाई खाँदिएको बौद्धिक र रोचक शैलीको छ । यो नवीन चेतनालाई, यो सुयोग र सचेत प्राध्यापकको आँखाले बुझाउने प्रयत्न गरिएको यस कर्मको म प्रशंसा गर्दछु ।
क) तर यसमा केही त्रुटी छन् तिनमा सुधार गर्नु होला ।
ख) कति नामको उच्चारण अशुद्ध छन् । जस्तै केट हुनुपर्नेमा काटे, लेभि स्ट्रस् हुनुपर्नेमा लभिट्रस । प्रत्येक नामको अंग्रेजी हिज्जे पनि लेखेर मलाई पठाउनु होला, पुनः जाँच गर्दछु ।
ग) विद्वान्हरुको नाम बोल्ड फेसमा दिनुहोला ।
यसबारे आजलाई यति; कोरोना मत्थर भएपछि भेटौँला ।
००००
गर्दागर्दै सन्ध्या भो । खानाको नयाँ तालिका बनाएकी छन् सेवाले । पाँच बज्दा खान बस्छौँ । दुई रोटी खाँदै प्रतिव्यक्ति ३०० शब्द आदानप्रदान गर्न कति बेर लाग्छ र ? सकेर फेरि चढ्यौँ आइसोलेशनमा । आकाशमा बादल भरिएको छ । मेघ गर्जन आरम्भ छ । टाढा एक कोइली गाउँदैछ । वरिपरि भँगेरा केहीको चिरबिर छ । वरिपरि पाँच छन, तिनमा एक घर रिक्त छ । त्यहाँ कोही प्राणी नभएभन्दा सुनसान छ । एउटा रुग्ण कुकुर थियो म्याक्सी— कोरोना आउनुभन्दा पहिला बिदा लिइसकेको छ ।
ऋचा छोरी हिजोदेखि कलमा आएकी छैनन् । आज बोल्नु छ । अमोघ भदासित बोलेँ राम्रै छ, विश्रुतको फोन लागेन । ठीक यसैबेला एकपछि अरु तीन म्यासेन्जर बजे । सर्वप्रथम केशव सिग्देलको एक सुन्दर कविता आएछ; त्यो पढेँ र उनलाई धन्यवाद दिएँ । युवा पुस्ताका सुन्दर कवि अनुवादक अंग्रेजी नेपाली दुवैका । नजिकै छन् अरुबेला भेट नहुने हम्मेसी कोरोना कालमा झन् आस छैन । बतासदेखि, वायुमण्डलदेखि, अज्ञातदेखि डराएर मानिस प्रत्येक क्षण कामिरहेको छ । क्यै बोल्न मन छैन, क्यै गर्न मन छैन, भन्छ खान पनि मन छैन । ब्रह्माण्डव्यापी संत्रास छ; अज्ञातसितको भय छ । त्यसपछि आएको ऋषिकेश भारद्वाजको कविता यसप्रसकार छः
यात्रा हुन्छ कठोर हुन्छ मनले हो ठाउँ त्यो दुर्गम,
हेर्दा दिव्य रहेछ खप्तड धरा भूस्वर्गको उद्गम ।
अग्लो सुन्दर फाँट छन् शिखरमा भन्छन्कतै खेचर,
हेर्दैमा मन मुग्ध हुन्छ सहजै सिजिन्छ नौलो घर।।१ ।।
गङ्गा निर्मल बग्दछिन् जुन नदी हुन मोक्षदायी पनि
इच्छा पूर्ण गरिददिने गति हुने हुन् पापनाशी यिनी ।
भन्छन् मानस खण्ड देव धरणी छन् पर्वतै पर्वत,
हेर्दैमा मन मुग्ध हुन्छ सहजै भू–स्वर्ग हो खप्तड।।२।।
ब्रह्मा विष्णु महेश आदि गण नै बस्ने गरेको वन
लाखौ दुर्गम वन्य गम्य सरले लोभिन्छ हेर्दा मन ।
अग्ला ती हिम शैलका हिम छटा छन् पर्वतै पर्वत,
हेर्दैमा मन मुग्ध हुन्छ सहजै भू–स्वर्ग हो खप्तड।।३।।
भेटिन्छन् शिवका अनन्त रूप ती यस्तै अनेकौँ अरु,
नामी छन् शिवलिङ्गी यी जगतमा छन् नाग ढुङ्गाहरू ।
अग्ला फाँटल छन् त्यसै निकटमा छन् ताल ती खप्तड,
हेर्दैमा मन मुग्ध हुन्छ सहजै भू–स्वर्ग हो खप्तड।।४।।
००००
एकछिन पछि अर्काे मेसेन्जर आयो नमस्कार लिएर भाइ भीष्म उप्रेतीको । औपचारिकतापछि थाहा पाए उनको पनि एक सुन्दर कविता आवाजमा छ । २ः२५ मिनेट सुनेँ… यस्तो बेला जातीय अहम् र राष्ट्रिय सम्मान उठाउने यो कविता सुनेर खुसी लाग्यो र उनलाई हार्दिक बधाइ दिएँ । उनी एक सफल कवि संयोजक हुन् । दिसम्बर अन्तिममा उनले आयोजना गरेको काठमाडौँ इन्टन्र्याशनल लिट्रेचर फेस्टिवल सम्झेँ— कत्रो भव्य थियो । अनि भनेँ— धन्य भाइ यस्ता सुन्दर कविता रचेको बेला मलाई पठाउनु होला ।
केही समयपश्चात् मोबाइल बज्यो । हेरेँ टाढाकी बहिनी दीपा लिम्बू राईको रहेछ । हाम्रै दमककी बहिनी; उनको एक लाहुरेसँग विवाह भएको । उनले प्रतिभा प्रतिष्ठान बेलायतमा काम गरिन् ब्रुनाइ, सिंगापुर, बेलायत कताकता सर्दै अहिले वेल्जियममा पुगेकी दीपाले सम्झेकी । उनको कवितासंग्रह कति शक्तिशाली थियो ।
त्यस्तो एउटा कुनै कविता पठाउनू बैनी यहाँ पढौँला भेट भएजस्तै हुन्छ ।
‘हवस दाजु’ भनी बन्द गरिन् ।
कोरोनाकालले यसरी एकथरी साहित्यका विभिन्न रुपमा विधामा संलग्न छन् । रहेका छुटेका नभ्याइएका कामहरु गर्दैछन् । कवि लेखक तर त्रासले नेपाली लोक साहित्यको आधारमा सहस्र प्रकृति, सिर्जना रच्दैछन् । सिलोक, लोक भाका, गीत, प्यारोडी वा उच्च कविता । गद्यमा यसका विविध पुस्टि हुने विष्लेषणात्मक लेख आइरहेका छन् ।
केही दिनदेखि नेपाल टेलिकमले आफ्नो विज्ञापन वाणीमा एक दुई शब्द बदलेको सुन्न पाइन्छ यथाः गएको तीन हप्ताभित्र यदि तपाईंं विदेशबाट फर्कनु भएको छ वा विदेशबाट फर्किएको व्यक्तिसँग सम्पर्कमा आउनु भएकोछ भने कम्तीमा पनि अबको दुई हप्तासम्म घरमै बसिदिन अनुरोध छ । यदि तपाईंंलाई रुघा, खोकी लागेको र सास फेर्न गारो भएमा ४२४ १९८ मा डायल गरी जानकारी गराउनु होला वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध छ । तपाईंंको सानो सहयोगले समुदायमा कोरोना भाइरस फैलिनबाट रोक्न ठूलो सहयोग पुग्नेछ । नेपाल टेलिकम राष्ट्रको संचार ।
आज यसरी रात प-यो । अब फोनहरु आउन छाडेका छन् । सन्ध्यापख यो रात अन्तिम ता होइन पढेर अनिताले फोन गरिन् कस्तो राम्रो लाग्यो । त्यसपछि पोखरा गरेँ कान्छा जुवाइँ अजित बराललाई— पिता मातालाई कस्तो छ बाबु?
यता सबै राम्रो छ बुबा ।
ठूली बहिनीलाई झापा गरेँ— कस्तो छ नानी ?
सबै राम्रेछ दाजु ।
माताजीलाई ?
राम्रो छ । बारीमा सागसब्जी, गोठमा लैना गाई र ढिकुटीमा धान छन् हामीलाई आनन्द छ दाजु ।
मैले भनेँ—त्यो स्वर्ग नछोड त्यसबाट विचलित नहोऊ ।
अन्त्यमा बैनीले पठाएको कश्मेवादे प्यार वफा वाते हे बातोँ …का सुनेर सुतेँ । निद्रा नलागुन्जेल दुई हप्ता अघि रचेको कविताको सम्झना भयोः
अन्तिम ता होइन यो रात
दिनको मौनता गएर
रातको एकान्तिकतामा
मिसिएपछि पनि
हुन्छन् अगणित दीपहरु जलिरहेका
यो नीरवतादेखि
किन डराइरहेका छौ
हे मित्र !
अन्तिम ता होइन यो रात
जब जगत्
तिमीसित बोल्न आउने छैन
स्वजन आफन्त छिमेकी
भेट्न कोही आउने छैन
अनि सम्झ
ती सारा अस्ताएका छन्
दिवा प्रकाशमा चन्द्रमा नदेखिएझैँ गरी
निविड अन्धकारमा सूर्य प्रकाश
नदेखिएझैँ कतै
अब अन्तिम रात टाढा छैन
तै पनि तिमीसितै बोल्ने कोही ता हुनेछन्
कुनै निजी अस्पतालको
आइसोलेशन वार्डमा
नाइट ड्युटी गर्दै
तिमीलाई नै पर्खिरहेकी परिचारिका
भयभीत भावको मुख–मुद्रालाई ढाकेर
टाढै उभिएकी हुनेछिन् ।
कतिबेला तिमीले बिदा माग्ने छौ
त्यति पर्खेर ।
रचना मिति — २७ चैत्र २०७६ राति



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

