एकान्तको यो  विराट मरुभूमिमा

धूलो मैलो सोहोरेर भुमरी पार्दै

चल्यो आकाशमा चक्रवात

यो मनको नीरवतामा  उभिएको

नाङ्गो वृक्ष पो ढाल्ने हो कि

हेर न दशैँको भुमरी !

 

मनको गहिरो खोलामा ठोक्किएर होला

त्यो नजिकै सुसाउँदैछ

सम्झनाको अतीत पहरामा रोकिएर होला

त्यो रसाउँदैछ

 

अब पोका पार्ने बेला भयो–

झोला कुम्लामा बाक्सा बोरामा

रित्ता सिसी बट्टा छन् गुन्द्रुक बेसार घिउ अचार भर्न

अरु थैला रुमाल दाल चामल ओसार्न

आमालाई सप्पै काम लाग्छन् माइत माओल गर्न

धेरै ता यतै  कताकताका परदेश  ओसार्न

घर जाँदा यसपालि

घरेलुका एक दुई तन्ना पछ्यौरा

भाइबैनीलाई न्युरोडका पुष्टकारी

बालाई ज्वारिकोट, आमालाई टल्किने घडी

हेर्न नजानेर के हुन्छ र ? घडी ता

बुधबारे हाट जाँदा लाउने हो

आफूले होइन अरुले हेर्ने गहना हो, दमक बजारमा

आमाले भनेको दुई वर्ष भो

 

बिहानका राति भुक्भुकेमै

भारी कुम्लासँग नानी च्यापी

ए ! सँग सँगै हिडौं  है अञ्जना

चोकचोकका भुस्याहाले झम्टेलान्

एतिबेला ती बहुलाउन थालेका छन्

 

पुग्नु छ गोंगबु बस पार्क अँध्यारैमा  जहाँ

ढुकिरहेका चोर  गुण्डा र  गोजिकट्टाले सिध्याउने हुन् कि

सुन न थोत्रा बस कराएका यो दशैँमा !

हातमा हात समाएर हिँडौ है छुटेपछि हराइन्छ

आज यसरी घर जानुछ

 

जिन्दगीका जून घाम घरैमा हुन्थे

आज मनको एकान्तमा यत्रो आँधी मडारिँदैछ

बा आमा नभएपछि दशैँ  कहाँ हुन्छ !

***

२०८० दशैनो पूर्व सन्ध्यामा