मन—मानिसको त्यो अदृश्य घर हो, जहाँ शब्दभन्दा बढी मौनता बोल्छ, आँसुभन्दा बढी शून्य बग्छ, र हाँसोभित्र पनि कहिलेकाहीँ गहिरो पीडा लुकेर बस्छ । शरीरका घाउ देखिए जसरी मनका घाउ पनि सुन्निन्थे भने शायद विश्व नै बदलिन्थ्यो । मानिसको अस्तित्व केवल बाहिरी आवरण मात्र होइन; उसका भित्री अनुभूति, संवेदना, आशा–आकाङ्क्षा र अदृश्य पीडाको संसारले बनेको एउटा विशाल भूगोल हो । जीवनका हरेक मोडमा शरीर बोल्छ; तर धेरै समय मन मौन रहन्छ । त्यो मौनता कहिलेकाहीँ यति भारी बनिदिन्छ कि व्यक्तिको हाँसोभित्र लुकेको थकान, रुवाईभित्र दबिएको सन्नाटा, र बाँच्नुको निरन्तर प्रयास हामीले देख्दैनौँ । यही मनको रहस्य, यही मनको गहिराइ नै मानसिक स्वास्थ्यको मूल विषय हो ।

मानसिक स्वास्थ्य भनेको मात्र रोगको अभाव होइन; यो व्यक्ति कसरी सोच्छ, कसरी महसुस गर्छ, कसरी व्यवहार गर्छ, तनाव र संकटलाई कसरी व्यवस्थापन गर्छ, र सामाजिक सम्बन्ध कसरी कायम राख्छ भन्ने सम्पूर्ण क्षमतासँग गहिरो सम्बन्धित अवस्था हो ।

नेपालमा मानसिक स्वास्थ्यको कुरा उठ्दा अझै पनि धेरै मुख मौन हुन्छन् । ‘‘कसैलाई भन्नु नपर्ने कमजोरी’’ को रूपमा मानसिक समस्यालाई हेरिने सोच हाम्रो समाजमा अझै बलियो छ तर मौनले पीडा घटाउँदैन, मनको अन्धकार कम गर्दैन बरू उल्टै समस्यालाई लुकाउन खोज्दा, समाजका हजारौँ व्यक्तिमा दु:खको अदृश्य तर खतरनाक चक्र बिस्तारै फैलिँदै गएको छ। नेपालको आकाश जस्तै, यहाँका मनहरू पनि चैतको मौसमजस्तै बदलिरहन्छन्—कहिले उज्यालो, कहिले बादलले ढाकिएको, कहिले त आँधीले उडाएको, तर ती मनका मौसमहरू बुझ्ने कान हामीसँग कम छन्, सुन्ने धड्कन छ तर ध्यान दिने समय छैन ।

नेपालको भौगोलिक भूगोल जसरी पहाड, तराई, हिमालले बनेको छ; त्यस्तै यहाँका मानिसको मन पनि उतार–चढाव, डर, रहर, तृष्णा, स्मृति र पीडाका तहले बनेको छ । कसैको मनमा एक्लोपनको हिउँ जमेको छ, कसैको मनमा बेचैन नदी बगिरहेको छ । कसैले रातभरि निदाउन नसकेर तारागण गनिरहन्छ, कसैले बिहान उठ्ने आँट नै जोड्न नसकेर अँध्यारो ओढेर बस्छ । कसैले भीडमा हाँस्छ, घर पुगेपछि चुपचाप भत्किन्छ । यी सबै मानसिक स्वास्थ्यका आवाजहरू हुन्— तर हाम्रो समाजले ती आवाजहरूलाई प्रायः ‘‘नबोल’’ भन्छ ।

हाम्रा आँगनमा मानसिक समस्या ‘‘लाज’’ को पर्दा ओढेर लुकाइन्छ । कसैले डिप्रेशन भोग्दछ—समाज भन्छ, ‘‘कमजोर मन ।’’ कसैले एन्जायटीले श्वास फुलाउँछ—समाज भन्छ, ‘‘धैर्य गर ।’’ कसैलाई कानमा आवाज सुनिन्छ, एक्लै बोल्छन्—समाज भन्छ, ‘‘झारफुक गराइहाल ।’’ यिनै गलत धारणाले मानिसलाई झनै अँध्यारोतिर धकेल्छ । हामीलाई थाहा छैन— मौनताले उपचार ढिल्याइरहेको हुन्छ, र ‘‘लाज’’ ले धेरै मनहरू भत्काइरहेको हुन्छ ।

भूकम्पले भत्काएका घरहरू फेरि उठे, तर भूकम्पले भत्काएका मनहरू अझै उठ्न सकेका छैनन् । कोभिड–१९ को महामारी रोकिन्छ, तर कोही–कोहीको मनभित्रकै महामारी अझै रोकिन्न । सहरमा केही अस्पताल छन्, केही मनोचिकित्सक छन्—तर गाउँमा ? त्यहाँ मन दुख्छ, तर उपचार घन्टौँ टाढा छ । त्यहाँ भोक लाग्छ, तर मनको भोक बुझ्ने कोही हुँदैन । स्वास्थ्य चौकीका काठे मेजहरूमा शरीर दुखेको औषधि पाइन्छ, तर मनसम्बन्धी औषधि धेरैजसो खाली । कसैले हिम्मत गरेर बोल्यो भने—उत्तर आउँछ, ‘‘मनको रोग के हुन्छ र !’’

तर मन नै थाक्यो भने जीवन कहाँ टिक्छ र ?

कहिलेकाहीँ परिवार मनको बलियो छाता बन्छ । आवाज सुन्छ, आँसु पुस्छ, उपचारसम्म डोर्‍याउँछ तर कहिलेकाहीँ त्यही परिवार मानसिक पीडाको कारक पनि बन्छ—कसैलाई सताइने शब्द, कसैलाई नबुझिएको प्रेम, कसैलाई गलत आरोप, कसैलाई सुन्न नसकिएको मौनता । मानिसको मनलाई उज्यालो बनाउने वा अँध्यारो बनाउने शक्ति धेरैजसो परिवारकै हातमा हुन्छ ।

सबै अँध्यारा कुरामा पनि उज्यालोको धर्को हुन्छ । मानसिक समस्याको उपचार सम्भव छ । मन भत्किएको छ भने पनि उठाउन सकिन्छ । सडक भत्किएको भए निर्माण हुँदैन त ? मन पनि त्यही हो—संवेदना, उपचार, प्रेम र बुझाइ चाहिन्छ । नेपालमा समुदाय–आधारित सेवा बिस्तार हुँदैछ, टेलिसाइकेट्रीले पहाड चिरेर मनसम्म पुगिरहेको छ, युवाहरू मानसिक स्वास्थ्यका विषयमा खुल्न थालेका छन् । यो परिवर्तन साँच्चै आशाको उकाली हो ।

मनलाई बुझ्नु भनेको केवल भावनात्मक कुरा मात्र होइन—यो मानवता बुझ्ने कला हो । नेपालले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन थालेको संकेत देखिँदैछन्, तर यात्रा लम्बिँदै छ । अझै धेरै बाटो हिँड्न बाँकी नै छ । शायद एक दिन हामी मनका घाउलाई लुकाउने होइन, सामूहिक रूपमा मल्हम लगाउने समाज बन्छौँ । हामी ‘‘लाज’’ होइन ‘‘साहस’’ को भाषा बोल्छौँ । नेपालका पहाड, उपत्यका र तराईका मनहरूले पनि स्वतन्त्र रूपमा सास फेर्नेछन्—न त लुकाएर, न त डराएर, बरु गर्वका साथ—कि ‘‘मन पनि शरीरजत्तिकै महत्त्वपूर्ण छ ।’’