“अचानाको पिर खुकुरीले जान्दैन” भनेझैँ बच्चाबेलामा सँगै खेल्दै गरेको साथी लड्दा, एकआपसमा झगडा गर्दा, रोएको देख्दा पेट मिचीमिची हाँसिन्थ्यो, उसलाई फकाउने त कुरै थिएन।

यो त भयो बच्चाबेला नबुझेको बेला तर अहिले बुझेर पनि अरूलाई दुःख पर्दा वा एकआपसमा झगडा गर्दा, अकल्पनीय घटना घट्ता सहानुभूति दिलाउनुको सट्टा उल्टै मूकदर्शक भई लडाउन प्रोत्साहन गरिन्छ । अझ भनौँ सामाजिक सञ्जालमा भाइरल बनाइन्छ ।

मानिसलाई अरू प्राणीभन्दा उत्कृष्ट भन्नुको के अर्थ यदि हामीमा मानवता नै छैन भने ? मानवता भन्नाले मानिसमा हुनुपर्ने मानवोचित गुण अर्थात् समानता, स्वतन्त्रता, भातृत्व र प्रेम भन्ने बुझिन्छ । आजको मानिसको कतिपय व्यवहारलाई  नियाल्दा मानवता हराएको वा पातलिँदै गएको भान हुन्छ । मानिस आफूलाई मात्र माया गर्छ । अरूलाई माया नगर्नेले आफ्ना लागि पनि माया पाउँदैन भन्ने कुराचाहिँ भुलेको छ । आ-आफ्नो दुनो सोझ्याउने प्रतिस्पर्धा बढाउँदै छ । सम्पन्न देशहरूले गरिब देशहरूको प्राकृतिक स्रोत आफ्नो बनाउन हरतरहले प्रयास गर्छन् । आफ्नो इसारामा काम गर्नेलाई सत्तामा पुऱ्याइदिन्छन् । देशहरू प्रविधि र भौतिक समृद्धिको उन्मादले शक्तिशाली बन्ने होडमा छन् ।

दिलिप अधिकारी

व्यक्तिमा पनि यही प्रवृत्ति हावी छ । आधुनिक प्रविधिको आडमा कतै जातीय द्वन्द्व, कतै रङ्गभेद चर्काएर आफू शक्तिशाली बन्ने अमानवीय व्यवहार बढ्दै गएको छ । समाजमा देखापरेका यस्ता द्वन्द्वहरूले काँडाझैँ घोचिरहँदा पनि मानिसहरू निदाएको बहाना गरिरहेका छन् ।

आजसम्म आइपुग्दा शिक्षादीक्षा मानवताका लागि भएनन् । शिक्षाले शक्तिशाली हुने, प्रविधियुक्त बन्ने र अथाह सम्पत्तिको मालिक बन्ने सपना देखायो । विकासका नाममा विषादी फैलिन थाल्यो । मानवताका नाममा स्वार्थ हावी भयो । मानिसमा एकता, समता, सहिष्णुता, स्नेह, करुणा र दया कमजोर बन्दै गए । अमानवीय र असंवेदनशील क्रियाकलापहरू बढ्‌दै गए । मानवता हराउँदा कति छोरीहरू आफ्नो ज्यान कोखमा नै गुमाउन बाध्य छन्, कति चेलीहरू बलात्कार, एसिड एट्याक, बोक्सी आरोप लगायत दाइजाेको नाममा पीडित छन्।

ज्येष्ठ नागरिकले आफ्नै परिवारबाट अपहेलित महसुस गर्नुपरेको छ, गरिब र बोल्न नसक्ने जहिल्यै पिछडिनुपरेको छ । हिजो भगवान्को दर्जा दिइएका स्वास्थ्यकर्मीहरू आज दिन-रात नभनी कोरोनाको महामारीमा सेवा गरिरहँदा तिरस्कृतमात्र नभई बस्ने बाससमेत नपाउने अवस्थामा पुगेका छन् ।

विश्वमा रिस, इर्ष्या र द्वेषको डढेलो सल्किएको छ । पैसाको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने होड बढ्दो छ । मानवताबिनाको मानवअधिकारको कुरा चर्कियो । जनप्रेमी, देशप्रेम र विश्वप्रेमको नारा र मानवता हराउँदै गए । शान्तिका नाममा युद्ध र रासायनिक, आणविक एवं जैविक हतियारहरू विस्फोट भए ।

अझ अहिले त मानिसलाई रोइला गर्ने माध्यम सामाजिक सञ्जाल बनेको छ । आफ्नो एउटा वचनले अरूलाई कति पीडा दिन्छ कसैले कहिल्यै सोच्दैनन् । समानता , स्वतन्त्रता र भातृत्व प्रेम सबै आदर्शका कुरा भए, व्यवहार साह्रै तुच्छ हुन पुग्यो । सबै दाजुभाइ दिदीबहिनी हुन् भन्ने हाम्रो सांस्कृतिक मान्यता र परेको बेला सहयोग गर्ने प्रवृत्ति हराउँदै गयो । फलस्वरूप न त यहाँ समानता भोग्न पाइन्छ न  त स्वतन्त्रताको मर्मलाई सही रूपमा आत्मसात् गरेको देख्न पाइन्छ ।

मानिस हुनुको मर्यादा आजको भौतिकवादी मानिसले गुमाएको छ । मानिसले सबै प्राणी खायो । छटपटाउँदै गरेको जीवलाई आफ्नो स्वादका लागि उम्लिँदै गरेको तेलमा हाल्यो । प्रकृति जीवित राख्ने सारा जीवजन्तु मानवका आहार बन्दै जाँदा प्रकृतिमा विकृति पैदा भयो । आजका भयानक रोगहरू यही प्रवृत्तिका परिणाम हुन् ।

अब त आफूले आफैँलाई प्रश्न चिह्न खडा गर्नुपर्ने बेला आएको छ । कतै मानवता मानिसको हराएको कित्तामा परेको त छैन ? अरूको आँसु र पसिनामा आफ्नो खुसी देख्ने प्रवृत्ति पनि के मानवता? अरूलाई सहयोग गर्नु, विपद्मा अर्काको सहारा बन्नु र आफ्नो जीवनकालमा एउटा सत्कर्म गरेर जिवन सार्थक पार्नु पो मानवता ।

अब हामीले घरमै बसेर सोच्नुपर्ने बेला आएको छ । हामीलाई पुस्तकले सिकाउन सकेन, विद्वान्का प्रवचनले बुझाउन सकेन, कोरोनाले घरमै बसेर आफूलाई चिनाएको छ । आफ्नो भुल सुधारेर अगाडि बढ्ने प्राणी मानिस नै त हो । प्रकृतिको उपहारलाई जोगाउँदै मै खाऊँ  मै लाऊँ प्रवृत्तिलाई हटाई, म नभनी हामी भनेर बाँच्न सिकौँ।

मानवतायुक्त मानिस बनौँ, अन्यथा मर्दाको दिनमा मलामी पनि कम हुने कटु सत्य लुकाएर त लुक्तैन । आज अरूलाई परेको दुःख भोलिका दिनमा आफूलाई नपर्ला भन्न सकिन्न, त्यसैले हामीले मानवतालाई अलिकति भए पनि ख्याल गर्न आवश्यक छ ।